यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विश्वास उपचार
याकूब 5 : 15
15 र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ।
याकूब 5 : 13 – 16
13 के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।
14 के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्,
15 र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ।
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
२ कोरिन्थी 12 : 7 – 10
7 तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढ़ो मेरो शरीरमा दिइयो।
8 यो मबाट हटोस् भनेर मैले तीन पल्ट प्रभुसित बिन्ती गरें।
9 तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।
10 यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।
मत्ती 9 : 27 – 31
27 येशू त्यहाँबाट जानुहुँदा दुई जना अन्धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्” भनी कराउँदै उहाँको पछिपछि लागे।
28 उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।”
29 तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।”
30 अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्।”
31 तर तिनीहरू गए, र त्यस इलाकाभरि उहाँको कीर्ति फिँजाए।
प्रेरित 19 : 11 – 12
11 परमेश्वरले पावलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो,
12 यहाँसम्म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्थे, र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे।
लूका 8 : 50
50 तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र त्यो निको हुनेछे।”
उत्पत्ति 1 : 1 – 31
1 आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो।
2 पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो।
3 अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस्।” तब उज्यालो भयो।
4 र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नुभयो।
5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन।
6 अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।”
7 परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।
8 परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन।
9 अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो।
10 परमेश्वरले ओबानो भूमिलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
11 अनि परमेश्वरले भन्नुभयो, “भूमिले वनस्पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भइहाल्यो।
12 भूमिले वनस्पति, बीउ हुने बोटहरू र आ-आफ्नो किसिमको बीउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
13 साँझ पर्यो र बिहान भयो— तेस्रो दिन।
14 अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्हको रूपमा काम गरून्।
15 र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होऊन्।” तब त्यस्तै भइहाल्यो।
16 अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
17 अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
19 साँझ पर्यो र बिहान भयो— चौथो दिन।
20 अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरिऊन् र पक्षीहरूचाहिँ पृथ्वीमाथि आकाशमा उडून्।”
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
22 अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदैजाओस्।”
23 अनि साँझ पर्यो र बिहान भयो— पाँचौँ दिन।
24 अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले जात-जातका जीवित प्राणीहरू, अर्थात् जात-जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात-जातका वन-पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो।
25 परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
26 अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
28 परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
29 अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्।
30 अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो।
31 आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। वास्तवमा त्यो साह्रै राम्रो थियो। अनि साँझ पर्यो र बिहान भयो— छैटौँ दिन।
व्यवस्था 28 : 1 – 68
1 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ।
2 परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्:
3 तिमीहरूले सहरमा आशिष् पाउनेछौ, र गाउँ-बस्तीमा आशिष् पाउनेछौ।
4 तिमीहरूका सन्तानमाथि आशिष् पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा आशिष् पर्नेछ।
6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ।
7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन्।
8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष् दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
9 परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ।
10 तब पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन् र तिमीहरूसँग डराउनेछन्।
11 तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्तान, गाईबस्तु र भूमिको उब्जनीमाथि परमप्रभुले प्रशस्त उन्नति दिनुहुनेछ।
12 परमप्रभुले आकाश, आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
15 तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन् र तिमीहरूलाई उछिन्नेछन्:
16 तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्तीमा श्राप पर्नेछ।
17 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा श्राप पर्नेछ।
18 तिमीहरूका सन्तानमाथि, साथै खेतको उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
19 भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
20 उहाँलाई त्यागेर तिमीहरूले गरेका दुष्ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्जेल र खतम नहोउञ्जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्की पठाउनुहुनेछ।
21 तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ।
22 क्षयरोग, जरो, सूज, प्रचण्ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्याएर तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।
23 अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्तै हुनेछन्।
24 परमप्रभुले तिमीहरूको देशको वृष्टि धूलोपीठोमा बदल्नुहुनेछ। तिमीहरू नष्ट नभएसम्म आकाशबाट त्यो तिमीहरूमाथि आउनेछ।
25 परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रुहरूका अगि पराजित तुल्याउनुहुनेछ। उनीहरूसित लड्न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्नेछौ। पृथ्वीका सबै राज्यमा तिमीहरू तिरस्कृत हुनेछौ।
26 तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन।
27 निको हुन नसक्ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्यथाले प्रहार गर्नुहुनेछ।
28 परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ।
29 अन्धाले अन्धकारमा छामछुम गरेझैँ मध्यदिनमा तिमीहरू हिँड्नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्तर शोषणमा परी लुटिनेछौ।
30 तिमीहरूसँग मगनी भएकी केटीलाई अन्य मानिसले लानेछ र भ्रष्ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल अलिकति पनि आफै चाख्न पाउनेछैनौ।
31 तिमीहरूका आँखाअगि ढालेको आफ्नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।
32 तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिनीहरूको प्रवास रोक्ने तिमीहरूसँग शक्ति हुनेछैन।
33 तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ।
34 तिमीहरूका आँखाले देख्नुपरेको दृश्य हेर्दा तिमीहरू बौलाहा हुनेछौ।
35 परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्पादेखि पैतालासम्म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्याउनुहुनेछ।
36 तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ।
37 परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्कार, हेला र गिल्लाका पात्र बन्नेछौ।
38 तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्नेछौ, किनकि सलहहरूले त्यो स्वाहा पार्नेछन्।
39 तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्।
40 तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्।
41 तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्।
42 तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्वाहा पार्नेछन्।
43 तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि चढ्नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ।
44 त्यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्यसलाई ऋण दिनेछैनौ। त्योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ।
45 परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्ट नभएसम्म यी सराप तिमीहरूमाथि आइपर्नेछन्। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्नेछन्।
46 तिमीहरू र तिमीहरूका सन्तानमाथि सधैँको निम्ति ती चिन्ह र उदेकका कुरा हुनेछन्।
47 तिमीहरूसँग सबै चीज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्यास, नग्नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
49 परमप्रभुले टाढ़ाबाट, पृथ्वीको पल्लो छेउदेखि वेगसित गरुडले तल झम्टिएझैँ तिमीहरूले नबुझ्ने भाषा बोल्ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्याउनुहुनेछ,
50 एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन।
51 अनि उनीहरूले तिमीहरूका गाईबस्तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्ट हुने गरी खाइदिनेछन्। तिमीहरू खतम हुने गरी अन्न, नयाँ दाखमद्य, तेल, गाईबस्तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्नेछैनन्।
52 तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्ला पर्खालहरू उनीहरूले भत्काउनेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्।
53 घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्टले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएका सन्तान, आफ्नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।
54 तिमीहरूमध्ये सबैभन्दा कोमल र अति भद्र मानिसले पनि आफ्नै भाइ, आफूले प्रेम गरेकी पत्नी र आफ्ना बाँकी रहेका बालबच्चालाई टिठ्याउनेछैन,
55 यहाँसम्म कि उसले खाँदैगरेको आफ्ना बालबच्चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्टमा त्यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।
56 तिमीहरूमध्ये कोमल र शिष्ट स्त्री, जसले कोमलता र शिष्टताको कारणले भूइँमा आफ्नो पैतालोले टेक्न पनि चाहँदिनथिई, त्यस्ती स्त्रीले त्यसका पति र आफ्नै छोराछोरीलाई
57 त्यसको कोखबाट निस्केको साल र त्यसले जन्माएका बालकहरूको मासु पनि खान दिन मान्नेछैन। उसको दृष्टि खराब हुनेछ, किनकि त्यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्याउने सङ्कष्टमा त्यसले गुप्तमा त्यो मासु आफै खाने इच्छा गर्नेछे।
58 यदि परमप्रभु तिमीहरूका परमेश्वरको गौरवमय भययोग्य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने,
59 परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्चामाथि डरलाग्दो, असहाय र रहिरहने कष्टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्याउनुहुनेछ।
60 मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्।
61 यस व्यवस्थाको पुस्तकमा उल्लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूमाथि ल्याउनुहुनेछ।
62 तिमीहरू, जो अघि संख्यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन मानेनौ।
63 जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्यसरी नै तिमीहरूलाई खुशीसाथ ध्वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
64 तब पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरू तिमीहरूले पुज्नेछौ।
65 ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्यहाँ परमप्रभुले तिमीहरूलाई चिन्तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
66 तिमीहरूको जीवन निरन्तर दोधारमा झुण्डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन।
67 तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्यले गर्दा बिहान तिमीहरूले भन्नेछौ, “बेलुकी भएदेखि हुन्थ्यो!” अनि बेलुकी भन्नेछौ, “बिहान भएदेखि हुन्थ्यो!”
68 अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्यो देख्नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्नेछैन।
हिब्रू 11 : 6
6 विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।
रोमी 8 : 32
32 जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
गलाती 2 : 20
20 म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।
१ थेसलोनिकी 5 : 18
18 सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
यशैया 35 : 5 – 6
5 तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्।
6 तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाड़-स्थानमा पानी फुटेर निस्कनेछ र मरुभूमिमा खोलाहरू बग्नेछन्।
मत्ती 17 : 14 – 20
14 तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्यो,
15 “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्यसलाई छारेरोग लागेको छ, र ठूलो कष्ट भोग्दैछ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्छ।
16 मैले त्यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।”
17 तब येशूले भन्नुभयो, “ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्म मैले तिमीहरूलाई सहनु? त्यसलाई यहाँ मकहाँ ल्याओ।”
18 येशूले त्यसलाई हकार्नुभयो, र भूतात्मा त्यसबाट निस्किगयो। त्यो केटो तुरुन्तै निको भयो।
19 तब चेलाहरूले येशूकहाँ गुप्तमा आएर भने, “हामीहरूले त्यसलाई किन निकाल्न सकेनौं?”
20 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन।
यूहन्ना 20 : 30 – 31
30 येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो, जुनचाहिँ यस पुस्तकमा लेखिएका छैनन्।
31 तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्।
मत्ती 13 : 58
58 अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।
लूका 7 : 11 – 17
11 भोलिपल्ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए।
12 जब उहाँ सहरको ढोका नजिक पुग्नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो।
13 जब प्रभुले तिनलाई देख्नुभयो, तब तिनलाई टिठ्याएर भन्नुभयो, “नरोऊ।”
14 अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्नेहरू टक्क अड़िए। उहाँले भन्नुभयो, “ए युवक, म तिमीलाई भन्दछु, ‘उठ’।”
15 तब मृत मानिस उठेर बस्यो, र बोल्न लाग्यो। येशूले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।
16 तब सबै भयभीत भए, र परमेश्वरको महिमा गरे, र भने, “एक जना महान् अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ।”
17 उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्त जिल्लाहरूमा फिँजियो।
रोमी 4 : 1 – 25
1 अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्बन्धमा हामी के भनौं त?
2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्वरको अगाडि त होइन।
3 किनकि पवित्र-शास्त्रले के भन्छ? “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।”
4 अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो।
5 जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्तछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ।
6 परमेश्वरले कर्मविना नै धार्मिक गन्नुहुने मानिसलाई यी वचनद्वारा दाऊदले धन्यका भन्छन्,
7 “तिनीहरू धन्यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन्।
8 त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्न।”
9 के यो आशीर्वाद खतनावालहरूका निम्ति मात्र हो? कि बेखतनावालहरूका निम्ति पनि हो? अब्राहामको निम्ति त उनको विश्वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्दछौं।
10 तब कसरी यो उनको निम्ति धार्मिकता गनियो? उनको खतना हुनभन्दा अघि वा पछि? उनको खतना भइसकेपछि होइन, तर अघि।
11 खतना नहुँदै विश्वासद्वारा पाउने धार्मिकताको चिन्ह वा छाप स्वरूप उनले खतना पाएका थिए। खतनाविनै विश्वास गरेर धर्मी गनिएका सबैका उनी पिता होऊन् भन्ने उद्देश्यले यो भएको हो।
12 उनी ती खतनावालहरूका पनि पिता हुन्, जसका खतना भएको मात्र होइन, तर जसले विश्वासको त्यही नमूनालाई पछ्याउँछन्, जुन विश्वास खतना हुन अघि हाम्रा पिता अब्राहाममा थियो।
13 संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो।
14 यदि व्यवस्था पालन गर्नेहरू मात्र उत्तराधिकारी हुन्छन् भनेता विश्वास रद्द र प्रतिज्ञा व्यर्थ हुन्छ।
15 किनभने व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन।
16 त्यसैले यो प्रतिज्ञा विश्वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्ति पक्का होस्। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका निम्ति मात्र नभएर अब्राहामको जस्तो विश्वासमा हुनेहरूका निम्ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्।
17 जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे, उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ, र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ।
18 “तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्” भनेर परमेश्वरले भन्नुभएअनुसार, आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने।
19 प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्।
20 परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए।
21 प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो।
22 यसैकारण पनि उनको विश्वास “उनको निम्ति धार्मिकता गनियो।”
23 धार्मिकता “गनिएको हो” भन्ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन,
24 तर हाम्रा निम्ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छौं, यो हाम्रा निम्ति पनि गनिनेछ।
25 उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।
Leave a Reply