रातो चन्द्रमा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रातो चन्द्रमा

प्रकाश 6 : 12 – 14
12 जब उहाँले छैटौँ मोहोर तोड्‌नुभयो, तब मैले ठूलो भूकम्‍प गएको देखें। सूर्य भाङ्‌ग्राजस्‍तो कालो भयो, र पूर्णिमाको चन्‍द्रमा रगतजस्‍तै रातो भयो।
13 अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्‍वीमा खसे।
14 आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्‍ना ठाउँबाट हटेर गए।

प्रेरित 2 : 20
20 परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।

योएल 2 : 31
31 परमप्रभुको त्‍यो महान्‌ र भयङ्कर दिन आउनुभन्‍दा अघि सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।

प्रकाश 7 : 1 – 17
1 यसपछि पृथ्‍वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस्‌ भनी चार स्‍वर्गदूतहरू पृथ्‍वीका चारै बतासलाई रोकेर पृथ्‍वीका चार कुनामा उभिरहेका मैले देखें।
2 तब जीवित परमेश्‍वरको मोहोर साथमा लिई अर्को एक जना स्‍वर्गदूत पूर्वबाट उक्‍लेका मैले देखें। पृथ्‍वी र समुद्रलाई हानि पुर्‍याउने अख्‍तियार दिइराखेका चार स्‍वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने,
3 “हामीले हाम्रा परमेश्‍वरका दासहरूका निधारमा मोहोर नलाउञ्‍जेल पृथ्‍वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।”
4 तब मैले मोहोर लगाइएकाहरूको संख्‍या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्‍तानको प्रत्‍येक कुलबाट थिए।
5 यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,
6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई, मनश्‍शेको कुलबाट बाह्र हजारलाई,
7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,
8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्‍यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो।
9 यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें।
10 तिनीहरू उच्‍च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”
11 अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे।
12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!”
13 धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?”
14 अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।
15 यसैकारण, “तिनीहरू परमेश्‍वरका सिंहासनको सामुन्‍ने छन्, र दिनरात उहाँको मन्‍दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्‍नै उपस्‍थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
16 तिनीहरू कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन,
17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

प्रकाश 1 : 1 – 20
1 येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले चाँड़ै हुन आउने कुराहरू आफ्‍ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्‍नो दूत पठाउनुभएर यो कुरा आफ्‍नो सेवक यूहन्‍नालाई प्रकट गरिदिनुभयो।
2 यूहन्‍नाले देखेका सबै कुराहरूको, अर्थात्‌ परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको साक्षीको गवाही दिए।
3 त्‍यो धन्‍य हो, जसले अगमवाणीका यी वचनहरू उच्‍च स्‍वरले पाठ गर्दछ, र धन्‍य हुन्‌ तिनीहरू, जसले सुन्‍दछन्‌ र त्‍यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
4 यूहन्‍नाबाट एशियामा भएका सात वटा मण्‍डलीहरूलाई: [1] उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्‍माबाट,
5 विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई,
6 हामीलाई एउटा राज्‍य, उहाँका पिता र परमेश्‍वरका पूजाहारीहरू तुल्‍याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।
7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन।
8 “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ।
9 म यूहन्‍ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्‍ट, राज्‍य र सहनशीलतामा सहभागी छु। परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीको खातिर म पत्‍मोस भन्‍ने टापूमा थिएँ।
10 प्रभुको दिनमा म आत्‍मामा थिएँ, र तुरहीको जस्‍तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,
11 “तिमी जे देख्‍तछौ, सो एउटा पुस्‍तकमा लेख, र सातै वटा मण्‍डलीलाई पठाऊ, अर्थात्‌ एफिसस, स्‍मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्‍फिया र लाउडिकियालाई।”
12 मसँग बोल्‍नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान
13 र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।
14 उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए।
15 उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्‍काएका काँसाजस्‍ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्‍तै थियो।
16 उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो।
17 जब मैले उहाँलाई देखें, तब म मरेतुल्‍य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्‍नो दाहिने बाहुली यसो भनेर ममाथि राख्‍नुभयो, “नडराऊ, आदि र अन्‍त्‍य
18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।
19 यसकारण तिमीले जे देख्‍छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।
20 मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो: सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू हुन्‌।”

मत्ती 24 : 29
29 “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌।

प्रकाश 12 : 1 – 17
1 स्‍वर्गमा एउटा आश्‍चर्यजनक चिन्‍ह देखियो: सूर्य पहिरेकी एउटी स्‍त्री देखा परी, जसको पाउमुनि चन्‍द्रमा थियो, र त्‍यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।
2 त्‍यो गर्भवती थिई, र जन्‍माउने अवस्‍थाको पीडामा प्रसववेदनाले चिच्‍याइरहेकी थिई।
3 अनि स्‍वर्गमा अर्को एउटा चिन्‍ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्‍यो।
4 त्‍यसको पुच्‍छरले स्‍वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्‍वीमा फालिदियो। बालक जन्‍मनासाथ त्‍यसलाई निलिहालूँ भनी त्‍यो अजिङ्गर बालक जन्‍माउन लागेकी स्‍त्रीको सामुन्‍ने खड़ा थियो।
5 त्‍यस स्‍त्रीले सारा जातिलाई फलामको डन्‍डाले शासन गर्ने एउटा छोरो जन्‍माई। त्‍यसको बालक परमेश्‍वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।
6 त्‍यो स्‍त्रीचाहिँ उजाड-स्‍थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्‍म त्‍यसको पालनपोषण होस्‌ भनेर परमेश्‍वरले त्‍यसको लागि ठाउँ तयार राख्‍नुभएको थियो।
7 अनि स्‍वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्‍यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्‍यसका दूतहरूले पनि युद्ध गरे,
8 तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन।
9 त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।
10 तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ।
11 तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्, र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌।
12 यसकारण हे स्‍वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्‍वी र समुद्रलाई धिक्‍कार छ! किनभने आफ्‍नो समय अल्‍प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”
13 जब त्‍यस अजिङ्गरले आफू पृथ्‍वीमा फ्‍याँकिएको देख्‍यो, तब त्‍यसले छोरो जन्‍माउने त्‍यस स्‍त्रीलाई खेद्‌यो।
14 तर त्‍यस स्‍त्रीलाई त्‍यस सर्पको सम्‍मुखबाट उजाड-स्‍थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्‍यो उजाड-स्‍थान साढ़े तीन वर्षसम्‍म त्‍यस स्‍त्रीको पालनपोषणको निम्‍ति तयार गरिएको थियो।
15 त्‍यस स्‍त्रीलाई बाढ़ले बगाओस्‌ भनेर त्‍यस सर्पले स्‍त्रीको पछि आफ्‍नो मुखबाट नदीजस्‍तै पानी निकाल्‍यो।
16 तर पृथ्‍वीले त्‍यस स्‍त्रीलाई सहायता गर्‍यो, र अजिङ्गरले आफ्‍नो मुखबाट निकालेको नदी पृथ्‍वीले आफ्‍नो मुख उघारेर निलिदियो।
17 तब त्‍यो अजिङ्गर त्‍यस स्‍त्रीसँग क्रोधित भयो, र त्‍यसका बाँकी सन्‍तानसँग युद्ध गर्न गयो— अर्थात्‌ तिनीहरूसँग, जुनहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्‍छन्‌।

रोमी 10 : 9
9 किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ।

मत्ती 24 : 14
14 अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।

मत्ती 7 : 15
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।

प्रकाश 3 : 10
10 तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।

यूहन्‍ना 14 : 1 – 31
1 “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर।
2 मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु?
3 अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ।
4 जहाँ म गइरहेछु, तिमीहरू त्‍यहाँ जाने बाटो चिन्‍छौ।”
5 थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ, हामी जान्‍दैनौं, तब हामीले बाटो कसरी चिन्‍ने?”
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।
7 तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो उहाँलाई चिन्‍दछौ, र उहाँलाई देखेका छौ।”
8 फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्‌। त्‍यति भए हामीलाई पुग्‍छ।”
9 येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिको समयसम्‍म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्‍दैनौ? जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। तिमी कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्‌?’
10 म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ।
11 मलाई विश्‍वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्‍छ। नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर।
12 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।
13 तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस्‌ भनेर म त्‍यो गर्नेछु।
14 तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्‍यौ भने म गरिदिनेछु।
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
16 र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।
17 यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।
18 “म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
19 अब केही समयपछि संसारले मलाई कहिल्‍यै देख्‍नेछैन, तर तिमीहरूले मलाई देख्‍नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ।
20 त्‍यस दिन तिमीहरूले जान्‍नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु।
21 मलाई प्रेम गर्ने त्‍यही हो जससँग मेरा आज्ञा छन्‌ र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्‍छ। म त्‍यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्‍यसकहाँ प्रकट गर्नेछु।”
22 यहूदाले (इस्‍करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्‍नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्‍छ, र संसारलाई चाहिँ होइन?”
23 येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “जसले मलाई प्रेम गर्छ, त्‍यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्‍यसकहाँ आउनेछौं, र त्‍यससँग वास गर्नेछौं।
24 मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्‍छौ, त्‍यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो।
25 “यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ।
26 तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।
27 शान्‍ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस्‌ र भयभीत नहोस्‌।
28 “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्‍यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्‍दा महान्‌ हुनुहुन्‍छ।
29 अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु, र जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक।
30 म तिमीहरूसँग अब धेरै बोल्‍नेछैनँ, किनभने यस संसारको शासक आइरहेछ। त्‍यसको ममाथि केही शक्ति छैन।
31 तर म पितालाई प्रेम गर्दछु, र जस्‍तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्‌। उठ, हामी यहाँबाट जाऔं।”

मत्ती 24 : 30
30 तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।

रोमी 6 : 23
23 किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

रोमी 11 : 29
29 किनभने परमेश्‍वरका वरदान र बोलावट अटल छन्‌।

यशैया 26 : 18 – 20
18 हामीले पनि गर्भधारण गर्‍यौं, हामी पनि पीडामा पर्‍यौं, तर हामीले त वायु मात्र जन्‍मायौं। हामीले पृथ्‍वीमा उद्धार ल्‍याउन सकेनौं। संसारका मानिसहरूलाई हामीले जन्‍म दिएका होइनौं।
19 तर तपाईंका मरिगएका जनहरू जिउनेछन्‌। तिनीहरूका शरीरको पुनरुत्‍थान हुनेछ। हे माटोमा बस्‍ने हो, उठ र आनन्‍दले कराओ। तपाईंको शीत बिहानको शीतजस्‍तै छ, पृथ्‍वीले आफ्‍ना मरेकाहरूलाई जन्‍माउनेछ।
20 हे मेरा मानिस हो, जाओ, तिमीहरू आफ्‍ना कोठाहरूमा पसेर ढोकाहरू थुन। उहाँको क्रोध शान्‍त नहोउञ्‍जेल, केही क्षणको निम्‍ति लुकिबस।

दानिएल 12 : 1
1 “त्‍यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्‌। यस्‍तो सङ्कष्‍टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्‍यस बेलासम्‍म त्‍यस्‍तो कहिल्‍यै भएको छैन। तर त्‍यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्‍तकमा नाम लेखिएका सबै— बचाइनेछन्‌।

यूहन्‍ना 10 : 30
30 पिता र म एक हौं।”

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *