यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवानको नजिक
लूका 9 : 23
23 तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्।
मत्ती 6 : 16 – 18
16 “जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
17 तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ।
18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
१ तिमोथी 2 : 1 – 15
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र-निवेदन, प्रार्थना र मध्यस्थ-बिन्ती र धन्यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।
3 हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ।
4 सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।
5 किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू।
6 उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।
7 यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्वास र सत्यतामा अन्यजातिहरूका निम्ति चाहिँ शिक्षक। म साँचो भन्दछु, म ढाँट्दिनँ।
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून् भन्ने म चाहन्छु।
9 यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन,
10 तर असल कामद्वारा सुसज्जित होऊन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।
11 स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्।
12 तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्।
13 किनभने आदम नै पहिले सृजिएका हुन्, त्यसपछि हव्वा।
14 आदम छलिएका होइनन्, तर स्त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्।
15 तरै पनि, यदि तिनी सुशीलतासाथ विश्वास, प्रेम र पवित्रतामा रहिन् भने, बालक जन्ममा तिनी बचाइनेछिन्।
१ यूहन्ना 2 : 1 – 29
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।
2 उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि।
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं।
4 जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन।
5 तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं।
6 उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।
7 प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ।
9 जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै पनि अन्धकारमा नै छ।
10 जसले आफ्नो भाइलाई प्रेम गर्छ, त्यो ज्योतिमा रहन्छ, र त्यसमा ठक्करको कारण हुँदैन।
11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ, र अँध्यारोमा हिँड्छ, र त्यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ।
12 मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
14 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
17 संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।
18 ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्। यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो।
19 तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।
20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
21 तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
22 झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
23 पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।
24 जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्त जीवन।
26 तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्तछु।
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।
28 साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्।
29 उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ।
लूका 6 : 27
27 “तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,
२ राजाहरू 1 : 1 – 18
1 आहाबको मृत्युपछि मोआब इस्राएलको विरुद्धमा बागी भए।
2 अब अहज्याह सामरियामा माथिल्लो कोठाको आँखीझ्यालबाट तल खसेका थिए, र तिनलाई चोट लाग्यो। यसैले तिनले समाचारवाहकहरूलाई यसो भनी पठाए, “गएर एक्रोनको देवता बाल-जिबबसित सल्लाह लेओ, कि म यस चोटबाट निको हुन्छु कि हुन्नँ।”
3 तर परमप्रभुका स्वर्गदूतले तिश्बी एलियालाई भने, “गएर सामरियाका राजाका समाचारवाहकसँग भेट गर र तिनीहरूलाई सोध, ‘के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तिमीहरू एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिन जाँदैछौ?’
4 यसैकारण परमप्रभु यसो भन्नुहुन्छ: ‘बिरामी परेको ओछ्यानबाट तँ उठ्नेछैनस्। तँ निश्चय नै मर्नेछस्’।” तब एलिया गइहाले।
5 जब ती समाचारवाहकहरू राजाकहाँ फर्किआए, तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?”
6 तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्नुहुन्छ: के इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिनलाई मानिसहरू पठाउँदैछस्। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्’।”
7 राजाले तिनीहरूलाई सोधे, “तिमीहरूसँग भेट गरेर यसो भन्ने मानिस कस्ता किसिमका थिए?”
8 तिनीहरूले जवाफ दिए, “तिनी भुत्लाका लुगा लगाएका र कम्मरमा छालाको पेटी बाँधेका मानिस थिए। राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”
9 तब तिनले एक जना कप्तान तिनका पचास जना मानिसको दलसहित एलियाकहाँ पठाए। ती कप्तान उक्लेर एलियाकहाँ गए, जो डाँड़ाको टाकुरामा बसिरहेका थिए, र तिनलाई भने, “हे परमेश्वरका जन, राजाले तपाईंलाई भन्नुहुन्छ, ‘ओर्लेर आउनुहोस्’।”
10 एलियाले ती कप्तानलाई जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने, स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासै मानिसलाई भस्म पारोस्!” तब स्वर्गबाट आगो झरेर ती कप्तान र तिनका मानिसलाई भस्म पार्यो।
11 त्यसपछि राजाले अर्का एक जना कप्तानलाई तिनको पचास जनाको दलसहित एलियाकहाँ पठाए। ती कप्तानले तिनलाई भने, “हे परमेश्वरका जन, राजा यसो भन्नुहुन्छ, ‘झट्टै तल आऊ’!”
12 एलियाले जवाफ दिए, “यदि म परमेश्वरका जन हुँ भने, स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचास मानिसलाई भस्म पारोस्।” तब परमेश्वरको आगो स्वर्गबाट झर्यो र तिनी र तिनका मानिसहरूलाई भस्म पार्यो।
13 तब राजाले एक जना तेस्रा कप्तानलाई तिनका पचास मानिसहरूसँग पठाए। यी तेस्रा कप्तान एलियाकहाँ उक्लेर गए र तिनको सामुन्ने घुँड़ा टेकेर तिनलाई बिन्ती गरे, “हे परमेश्वरका जन, मेरो जीवन र तपाईंका यी दासहरूका जीवनप्रति निगाह राख्नुहोस्!
14 हेर्नुहोस्, स्वर्गबाट आगो बर्सेर ती अघिका दुई कप्तान र तिनीहरूका मानिसहरूलाई भस्म पार्यो। तर अब मेरो प्राणमाथि तपाईंको निगाह रहोस्।”
15 परमप्रभुका स्वर्गदूतले एलियालाई भने, “त्यससँग तल जाऊ। त्यससँग नडराऊ।” यसैले एलिया उठे र तिनीसँग राजाकहाँ तल गए।
16 एलियाले राजालाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: के सल्लाह लिनलाई इस्राएलमा कुनै परमेश्वर हुनुहुन्न र तैंले एक्रोनको देवता बाल-जिबबकहाँ सल्लाह लिन समाचारवाहकहरूलाई पठाएका छस्? यसो गरेको कारण तँ पस्रिरहेको ओछ्यान तैंले कहिल्यै छोड्नेछैनस्। तँ निश्चय नै मर्नेछस्।”
17 तब एलियाले भनेको परमप्रभुको वचनअनुसार तिनी मरे। तिनका छोरा नभएको कारण यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योराम तिनीपछि राजा भए।
18 अहज्याहको राजकालका अरू सबै घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
न्यायकर्ताहरू 20 : 26
26 तब जम्मै इस्राएलीहरू फर्केर बेथेलमा गए, र त्यहाँ तिनीहरू साँझसम्मै विलाप गर्दै उपवासमा परमप्रभुको सामुन्ने बसे। तिनीहरूले परमप्रभुको सामु होमबलि र मेलबलि चढ़ाए।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
प्रेरित 13 : 1 – 3
1 एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए।
2 तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।”
3 तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए।
प्रेरित 2 : 41
41 तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।
रोमी 14 : 1 – 23
1 विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।
2 कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ।
3 खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।
4 अर्काको चाकरलाई इन्साफ गर्ने तिमी को हौ? त्यो त आफ्नै मालिकको सामु खड़ा हुन्छ वा पतित हुन्छ। त्यो खड़ा गराइनेछ, किनभने, त्यसका मालिकले त्यसलाई खड़ा गराउन सक्छ।
5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ।
6 जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ।
7 हामी कोही पनि आफ्नै निम्ति बाँच्दैनौं र कोही पनि आफ्नै निम्ति मर्दैनौं।
8 यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै निम्ति मर्छौं।
9 चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्।
10 तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ? अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खड़ा हुनेछौं।
11 किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।”
12 यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं।
13 यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौं। बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं।
14 म जान्दछु, र प्रभु येशूमा मलाई निश्चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ, त्यसको निम्ति त्यो अशुद्धै हुन्छ।
15 यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्।
16 यसैकारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेओ।
17 किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
18 जसले यस किसिमले ख्रीष्टको सेवा गर्दछ, त्यो परमेश्वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्छ।
19 यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।
20 खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।
21 उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।
22 तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। धन्यको हो त्यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।
23 तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।
Leave a Reply