यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाख्राहरू
हितोपदेश 27 : 27
27 बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।
मत्ती 25 : 31 – 46
31 “जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ।
32 र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।
33 उसले भेड़ाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।
34 “तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर।
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
41 “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।
42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।
43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’
44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’
45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ।’
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
दानिएल 8 : 1 – 27
1 अघिल्लो दर्शन मलाई देखा परेपछि, राजा बेलसजरको राज्यकालको तेस्रो वर्षमा म, दानिएलले एउटा अर्को दर्शन देखें।
2 मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशनको किल्लामा देखें; दर्शनमा म ऊलै नहरको छेउमा थिएँ।
3 मैले हेरें, र मेरो सामु नहरको छेउमा उभिरहेको दुई सीङ भएको एउटा भेड़ा थियो, र ती सीङहरू लामा थिए। तीमध्ये एउटा अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो।
4 त्यो भेड़ाले पश्चिम र उत्तर र दक्षिणतिर हानिरहेको मैले हेरें। त्यसको विरुद्धमा कोही पनि खड़ा हुन सकेन र कसैले पनि त्यसको शक्तिबाट छुटाउन सकेन। त्यसले जे इच्छा लाग्यो, त्यही गर्यो र महान् बन्यो।
5 जसै मैले यसबारे विचार गर्दैथिएँ, अचानक आँखाहरूका बीचमा एउटा विशेष सीङ भएको एउटा बोका जमिनलाई नछोइकन पूरा पृथ्वीलाई पार गर्दै पश्चिमबाट आयो।
6 मैले देखेको नहरको छेउमा खड़ा भएको दुई सीङ्गे भेड़ातिर त्यो आयो र ठूलो झोँकले त्यसलाई हान्यो।
7 रीसले चूर भई त्यसले भेड़ालाई आक्रमण गरी हानेर त्यसका दुई वटै सीङ भाँचिदिएको मैले देखें। त्यसको विरुद्ध खड़ा हुन त्यो भेड़ा शक्तिहीन थियो। त्यस बोकाले त्यसलाई जमिनमा पछारिदियो र त्यसमाथि टेक्यो, र त्यसको शक्तिबाट भेड़ालाई छुटाउन कसैले पनि सकेन।
8 त्यो बोको अति ठूलो भयो, तर त्यसका शक्तिको चरम सीमामा त्यसको विशाल सीङ भाँचियो र त्यसको सट्टामा आकाशका चारै बतासतर्फ विशेष सीङहरू उम्रे।
9 तिनीहरूमध्येबाट अर्को एउटा सीङ आयो, जो सानोबाट सुरु भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्दर भूमितिर शक्तिशाली हुँदै बढ्दैगयो।
10 स्वर्गका सेनाहरूसम्म नपुगुञ्जेल त्यो बढ्दैगयो, र त्यसले केही ताराका दललाई तल पृथ्वीमा खसाल्यो र तीमाथि खुट्टाले कुल्च्यो।
11 त्यसले आफैलाई राजकुमार जत्तिकै महान् तुल्यायो। त्यसले उहाँबाट दैनिक बलिदान खोस्यो, र उहाँको पवित्रस्थान तल झारियो।
12 विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्यसलाई सुम्पियो। त्यसले गरेका सबै काममा त्यो सफल भयो, र सत्यलाई भूइँमा फ्याँकियो।
13 त्यसपछि मैले एउटा पवित्र जनले बोलेको सुनें, र अर्का पवित्र जनले उनलाई भने, “यो दर्शन पूरा हुन कति समय लाग्ला— अर्थात्, दैनिक बलिदान, उजाड़ पार्ने विद्रोह, र पवित्रस्थान र सेनालाई खुट्टाले कुल्चिनेसम्बन्धी दर्शन पूरा हुन कति समय लाग्ला?”
14 उनले मलाई भने, “दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ, तब पवित्रस्थानको पून:अर्पण हुनेछ।”
15 जसै म, दानिएल, दर्शन हेर्दैथिएँ र त्यो बुझ्न कोशिश गर्दैथिएँ, मानिसको रूपमा एक जना मेरो सामु उभिए।
16 अनि मैले ऊलैबाट यसो भनेर बोलाएको मानिसको स्वर सुनें, “हे गब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”
17 जसै तिनी म उभिएको ठाउँ नजिक आए, म डरले भयभीत भएर लम्पसार परें। तिनले मलाई भने, “हे मानिसको पुत्र, यो बुझ कि दर्शनले अन्तको समयलाई सङ्केत गर्दछ।”
18 तिनले मसँग बोल्दैगर्दा, मेरो अनुहार भूइँमा थियो र म मस्त निद्रामा थिएँ। तब तिनले मलाई छोएर मेरो खुट्टामा उभ्याए।
19 तिनले भने, “क्रोधको समयमा पछि के हुनेछ, म तिमीलाई बताउन लागिरहेछु, किनभने दर्शनले तोकिएको अन्तको समयलाई बताउँदछ।
20 तिमीले देखेको त्यस दुई सीङे भेड़ाले मादी र फारसका राजाहरूलाई जनाउँछ।
21 त्यो रौँले ढाकेको बोकाचाहिँ ग्रीसको राजा हो, र त्यसका आँखाका बीचमा भएको ठूलो सीङ त्यसको प्रथम राजा हो।
22 त्यस भाँचिएको सीङको सट्टामा उम्रेका चार सीङहरूचाहिँ त्यसैबाट निस्केका चार राज्यहरू हुन्, तर पहिलो राज्यजस्तो ती बलिया हुनेछैनन्।
23 तिनीहरूका राज्यकालका पछिल्ला दिनहरूमा जब विद्रोहीहरूको दुष्टता चरम सीमामा पुगेको हुनेछ, तब एक जना हठी, षड्यन्त्रमा पोख्त राजा उठ्नेछ।
24 त्यो धेरै बलवान् हुनेछ, तर त्यसको आफ्नो शक्तिले होइन। त्यसले अचम्मको विध्वंस ल्याउनेछ, र जे गर्छ त्यसमा सफल हुनेछ। त्यसले शक्तिशाली मानिसहरू र पवित्र जनहरूलाई नाश गर्नेछ।
25 त्यसले छललाई सफल पार्नेछ र आफैलाई उच्च ठान्नेछ। जब तिनीहरूले सुरक्षाको महसूस गर्छन्, त्यसले धेरैलाई नष्ट गर्नेछ र राजकुमारहरूका राजकुमारको विरुद्धमा त्यो खड़ा हुनेछ। तापनि त्यो नष्ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा होइन।
26 “तिमीलाई दिइएको साँझहरू र बिहानहरूसम्बन्धी दर्शन सत्य छ, तर त्यो दर्शनलाई मोहोर लगाई बन्द गर, किनभने यो धेरै पछिको भविष्यसँग सम्बन्धित छ।”
27 म, दानिएल, अति थकित भएँ र केही दिनसम्म बिरामी भई पस्रिएँ। तब म उठेर राजाको कामधन्धामा लागें। दर्शनको कारण म व्याकुल भएँ, यो समझदेखि बाहिरको कुरा थियो।
Leave a Reply