यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तपाईंको अभिषेकमा हिंड्दै
१ यूहन्ना 2 : 27
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।
एफिसी 4 : 1 – 32
1 यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर।
2 सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,
3 शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
4 शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा,
6 हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ।
7 तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
8 यसकारण यसो भनिएको छ: “उहाँ उच्चमा चढ़िजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”
9 (अब यो “उच्चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो।
10 उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।)
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्,
13 जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं।
15 बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।
16 उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
17 अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु, कि अन्यजातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिओ।
18 तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ।
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्।
20 तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु।
22 छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग।
23 र आफ्नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।
25 यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
28 चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।
29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।
30 अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ।
31 सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।
32 जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
यूहन्ना 14 : 12
12 “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।
प्रेरित 2 : 17
17 ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्।
२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
यूहन्ना 6 : 63
63 जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्मा र जीवन हुन्।
गलाती 3 : 27
27 किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ।
प्रेरित 4 : 13
13 जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए।
तीतस 3 : 5
5 तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,
यूहन्ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
रोमी 5 : 1
1 यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।
एफिसी 4 : 11
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्,
रोमी 10 : 17
17 जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
२ तिमोथी 4 : 3
3 किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
रोमी 1 : 1 – 32
1 म पावल, येशू ख्रीष्टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ,
2 जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो।
3 यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो।
4 येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो।
5 उहाँका नाउँको खातिर विश्वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं।
6 तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्टका हुन बोलाइएका छौ।
7 रोममा भएका तिमीहरू सबै, परमेश्वरका प्रियहरू, जो सन्त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
8 सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्वासको कुरा सारा संसारमा प्रचार भएको छ।
9 म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी म निरन्तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु।
10 अनि यो माग्दछु, कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ।
11 किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु।
12 यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउन सकौं।
13 भाइ हो, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु, कि म तिमीहरूका र बाँकी अन्यजातिहरूका बीचमा पनि केही फल बटुल्न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्ट इच्छा गरें। तर म अहिलेसम्म रोकिएको छु।
14 ग्रीक होस् वा अरू असभ्य जाति, बुद्धिमान् होस् वा निर्बुद्धि, सबैको म ऋणी छु।
15 यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु।
16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।
17 किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
18 परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्।
19 परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ।
20 उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
21 किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढ़ाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो।
22 बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,
23 र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे।
24 यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्।
25 किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
26 यसैकारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे,
27 र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नै शरीरमा आफ्ना कसूरको उचित दण्ड भोगे।
28 यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो।
29 तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाह, हत्या, झैँझगड़ा, छल, बदख्वाइँले भरिएका हुन्छन्, र तिनीहरू कुरौटे,
30 र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा-बुबाको आज्ञापालन नगर्ने,
31 मूर्ख, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्।
32 यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक-विधान जान्दाजान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्।
यूहन्ना 5 : 1 – 47
1 त्यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेममा जानुभयो।
2 यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्ड छ, जसलाई हिब्रू भाषामा बेथस्दा भनिन्छ।
3 त्यहाँ अनेक रोगीहरू, अर्थात्— अन्धा, लङ्गड़ा, पक्षाघातीहरू पस्रिरहन्थे। [तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे।
4 किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे, र पानी छचल्किएपछि जो पहिला पानी भित्र पस्थ्यो, जस्तै रोगले ग्रस्त भए पनि, त्यो निको भइहाल्थ्यो।]
5 त्यहाँ अठतीस वर्षदेखि बिरामी भएको एक जना मानिस थियो।
6 येशूले त्यसलाई त्यहाँ पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर येशूले त्यसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
7 रोगीले उहाँलाई भन्यो, “हजूर, जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ।”
8 येशूले त्यसलाई भन्नुभयो, “खड़ा होऊ, र आफ्नो ओछ्यान उठाऊ, र हिँड़।”
9 तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान बोकी ऊ हिँड़िहाल्यो। त्यो दिन शबाथ-दिन [1] थियो।
10 यसकारण निको पारिएको त्यस मानिसलाई यहूदीहरूले भने, “यो त शबाथ-दिन हो, तिमीलाई ओछ्यान बोक्नु उचित छैन।”
11 त्यसले तिनीहरूलाई जवाफ दियो, “जसले मलाई निको पार्नुभयो उहाँले नै भन्नुभयो, ‘आफ्नो ओछ्यान बोकेर हिँड़’।”
12 तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई ओछ्यान बोकेर हिँड़ भन्ने मानिस को हो?”
13 तर निको भएको त्यस मानिसले उहाँ को हुनुहुन्थ्यो भनी चिनेको थिएन, किनभने त्यस ठाउँमा भीड भएको हुनाले येशू त्यहाँबाट गइसक्नुभएको थियो।
14 त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। फेरि पाप नगर, र तिमीमाथि अझ बढ़ी खराबी आई नपरोस्।”
15 उसलाई निको पार्ने त येशू हुनुहुँदोरहेछ भनेर त्यस मानिसले गएर यहूदीहरूलाई भनिदियो।
16 त्यसकारणले गर्दा यहूदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम शबाथ-दिनमा गर्नुभएको थियो।
17 तब येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताले अहिलेसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु।”
18 यसकारण यहूदीहरूले येशूलाई मार्न अझ बढ़ी प्रयत्न गर्न लागे, किनकि उहाँले शबाथ-दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो।
19 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले त्यसै गर्छ।
20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान् काम उहाँले पुत्रलाई देखाउनुहुनेछ, र तिमीहरू आश्चर्यचकित हुनेछौ।
21 किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसलाई जीवन दिँदछ।
22 किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ,
23 ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।
24 “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ।
25 साँच्चै, म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ, र त्यो समय अहिले हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र सुन्नेहरू बाँच्नेछन्।
26 किनभने जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ।
27 अनि उसलाई न्यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो।
28 “यसमा अचम्म नमान, किनभने समय आइरहेछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्,
29 र बाहिर निस्किआउनेछन्: सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, र कुकर्म गर्नेहरूचाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति।
30 “म आफै केही गर्न सक्दिनँ। जस्तो म सुन्छु, त्यस्तै न्याय म गर्छु, र मेरो न्याय ठीक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
31 “यदि मैले आफ्नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन।
32 मेरो विषयमा गवाही दिने अर्कै हुनुहुन्छ, र म जान्दछु, कि मेरो विषयमा उहाँले जे गवाही दिनुहुन्छ, त्यो गवाही सत्य ठहर्छ।
33 “तिमीहरूले यूहन्नाकहाँ सोध्न पठायौ, अनि उनले सत्यको गवाही दिएका छन्।
34 मैले ग्रहण गर्ने गवाही मानिसको होइन, तर तिमीहरूको उद्धार होस् भनेर म यी कुरा भन्दछु।
35 यूहन्ना बल्दो र चम्किलो बत्ती थिए, र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्द मनाउन राजी भयौ।
36 “तर मसँग जो गवाही छ, त्यो यूहन्नाको भन्दा ठूलो छ। किनकि जुन कामहरू पूरा गर्न पिताले मलाई दिनुभएको छ, ती काम म गरिरहेको छु, अनि तिनैले मेरो विषयमा गवाही दिइरहेछन् कि पिताले मलाई पठाउनुभएको हो।
37 मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ।
38 उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो, तिमीहरू उहाँमाथि विश्वास गर्दैनौ।
39 तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,
40 तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।
41 “म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ,
42 तर परमेश्वरको प्रेम तिमीहरूमा छैन भनी म जान्दछु।
43 म आफ्ना पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्नै नाउँमा आयो भने त्यसलाई ग्रहण गर्नेछौ।
44 तिमीहरू कसरी विश्वास गर्न सक्छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्मान खोज्दछौ, अनि त्यो सम्मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्वरबाट आउँदछ?
45 “यो नसम्झ, कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोशा छन्, जसमा तिमीहरूले आफ्ना आशा राखेका छौ।
46 किनभने तिमीहरूले मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए।
47 तर तिमीहरू उनले लेखेका कुराहरू विश्वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्वास गर्छौ?”
Leave a Reply