जोसेफको सपना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोसेफको सपना

उत्‍पत्ति 37 : 1 – 11
1 याकूब आफ्‍ना बाबुले बसोबास गरेको कनान देशमा बस्‍थे।
2 याकूबको वृत्तान्‍त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्‍ना पिताका पत्‍नीहरू बिल्‍हा र जिल्‍पाका छोराहरूको खराब व्‍यवहारको कुरा आफ्‍ना बुबाकहाँ ल्‍याए।
3 आफ्‍नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्‍दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्‍ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए।
4 तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे।
5 एक पल्‍ट योसेफले एउटा सपना देखे। तिनले त्‍यो सपना आफ्‍ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन्‌ बढ़ी दुश्‍मनी राख्‍न लागे।
6 तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्‍नुहोस्‌। हामीहरू खेतमा अन्‍नका बिटा बाँधिरहेका थियौं।
7 मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्‍यसका चारैतिर जम्‍मा भएर मेरो बिटालाई दण्‍डवत्‌ गरे।”
8 तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्‍य गर्ने भइस्‌? के तेरो प्रभुत्‍व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन्‌ दुश्‍मनी राखे।
9 तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्‍नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्‍द्र र एघार वटा ताराले मलाई दण्‍डवत्‌ गरिरहेका थिए।”
10 जब तिनले आफ्‍ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्‍काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्‍ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्‍मै झुकेर तँलाई ढोग्नुपर्ने?”
11 तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *