यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफै मर्ने
गलाती 2 : 20
20 म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।
लूका 9 : 23
23 तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्।
गलाती 5 : 24
24 तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्।
मर्कूस 8 : 35
35 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।
यूहन्ना 12 : 24
24 साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ।
मत्ती 10 : 38
38 जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
रोमी 6 : 1 – 23
1 अब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त?
2 त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु?
3 के तिमीहरू जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं?
4 यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
5 यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं।
6 हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।
7 किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ।
8 तर यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं।
9 हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन।
10 जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखि सधैँको लागि एकै पल्ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्छ, त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ।
11 यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ।
12 यसकारण शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ।
13 आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर।
14 किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।
15 अब के त? के हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन।
16 के तिमीहरू जान्दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ? कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?
17 तर परमेश्वरलाई धन्यवाद होस्, कि तिमीहरू, जो एक पल्ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियौ, त्यो हृदयले पालन गर्ने भएका छौ।
18 तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।
19 तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन्-झन् बढ़ी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर।
20 तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्वतन्त्र थियौ।
21 अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्त्यचाहिँ मृत्यु हो।
22 तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्यसको अन्त्यचाहिँ, अनन्त जीवन।
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
१ कोरिन्थी 15 : 31
31 भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्न सक्तछु, कि प्रतिदिन म मर्दछु।
फिलिप्पी 2 : 1 – 30
1 यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने,
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर।
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5 तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
6 परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
8 स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
9 त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
10 कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।
14 गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,
15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ।
16 जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ।
17 यदि तिमीहरूका विश्वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।
18 त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।
19 म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्न हुन सकूँ।
20 तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन।
21 येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्।
22 तर तिमोथीको योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे।
23 यसकारण मेरो निम्ति के-कसो हुन्छ सो बुझ्ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु।
24 अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।
25 इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु,
26 किनकि तिनले तिमीहरू सबैका निम्ति अति तृष्णा गरिरहेका छन्। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्याकुल भएका छन्।
27 तिनी साँच्चै मरणान्त बिरामी थिए, तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया गर्नुभयो।
28 यसकारण म तिनलाई पठाउन झन् बढ़ी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्ता पनि कम हुनेछ।
29 त्यसैले ज्यादै आनन्दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्ता मानिसहरूलाई आदर गर।
30 किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्टका कामको निम्ति तिनी मृत्युको मुखैमा पुगेका थिए।
रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
१ पत्रुस 2 : 24
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
२ कोरिन्थी 4 : 8
8 हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं। अन्योलमा परेका छौं, तर हताश भएका छैनौं।
१ पत्रुस 4 : 1 – 11
1 जसरी ख्रीष्टले शरीरमा दुःख भोग्नुभयो, त्यसरी नै तिमीहरूले पनि त्यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्यसले पाप गर्न छोड़ेको हुन्छ।
2 यसरी त्यसले आफ्नो जीवनको रहल समय फेरि मानिसको कुइच्छामा होइन, तर परमेश्वरको इच्छामा बिताउँछ।
3 बितेका दिनमा अन्यजातिहरूले गरेझैँ तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कड़पन र घृणित मूर्तिपूजामा प्रशस्त समय बितायौ।
4 तिमीहरू तिनीहरूसँग भ्रष्टताको बाटोमा नहिँड़ेका देखेर तिनीहरू छक्क पर्छन्, र तिमीहरूको बदख्वाइँ गर्छन्।
5 तर जीवित र मृतकहरूका न्याय गर्न तत्पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ।
6 यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्तै शरीरमा इन्साफ पाए तापनि आत्मामा तिनीहरू परमेश्वरजस्तै जिऊन्।
7 सबै कुराको अन्त्य नजिकै आएको छ। यसकारण आफ्ना प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरहो।
8 सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ।
9 विनागनगन एउटाले अर्काको अतिथिसत्कार गर।
10 जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
11 यदि कसैले बोल्दछ भने, परमेश्वरको वचन बोलेजस्तै त्यसले बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस्। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।
लूका 14 : 26
26 “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन।
एफिसी 4 : 20 – 24
20 तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु।
22 छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग।
23 र आफ्नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।
यूहन्ना 15 : 1 – 27
1 “साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्छ।
2 ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ।
3 मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।
4 ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ।
5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।
6 कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्।
7 तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ।
8 तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ।
9 “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।
10 यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु।
11 मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्।
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।
13 आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
14 म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्यौ भने, तिमीहरू मेरा मित्र हौ।
15 अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु।
16 मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ।
17 म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।
18 “यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो।
19 यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।
20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्दा ठूलो हुँदैन।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्।
21 तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्दैनन्।
22 म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुनेथिएनन्, तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन।
23 जसले मलाई घृणा गर्दछ, त्यसले मेरा पितालाई पनि घृणा गर्दछ।
24 यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुनेथिएनन्। तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्।
25 तर, व्यवस्थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’
26 “जब सल्लाहकार आउनुहुन्छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात् सत्यका आत्मा, जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ।
27 तिमीहरू सुरुदेखि नै मेरो साथ रहेका हुनाले, तिमीहरू पनि मेरा साक्षी हौ।”
१ यूहन्ना 2 : 1 – 29
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।
2 उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि।
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं।
4 जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन।
5 तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं।
6 उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।
7 प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ।
9 जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै पनि अन्धकारमा नै छ।
10 जसले आफ्नो भाइलाई प्रेम गर्छ, त्यो ज्योतिमा रहन्छ, र त्यसमा ठक्करको कारण हुँदैन।
11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ, र अँध्यारोमा हिँड्छ, र त्यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ।
12 मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
14 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
17 संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।
18 ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्। यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो।
19 तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।
20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
21 तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
22 झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
23 पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।
24 जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्त जीवन।
26 तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्तछु।
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।
28 साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्।
29 उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ।
कलस्सी 1 : 24
24 अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्द मनाउँदछु, र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु।
Leave a Reply