सर्वनाश

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सर्वनाश

मत्ती 24 : 36
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।

प्रकाश 7 : 1 – 17
1 यसपछि पृथ्‍वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस्‌ भनी चार स्‍वर्गदूतहरू पृथ्‍वीका चारै बतासलाई रोकेर पृथ्‍वीका चार कुनामा उभिरहेका मैले देखें।
2 तब जीवित परमेश्‍वरको मोहोर साथमा लिई अर्को एक जना स्‍वर्गदूत पूर्वबाट उक्‍लेका मैले देखें। पृथ्‍वी र समुद्रलाई हानि पुर्‍याउने अख्‍तियार दिइराखेका चार स्‍वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने,
3 “हामीले हाम्रा परमेश्‍वरका दासहरूका निधारमा मोहोर नलाउञ्‍जेल पृथ्‍वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।”
4 तब मैले मोहोर लगाइएकाहरूको संख्‍या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्‍तानको प्रत्‍येक कुलबाट थिए।
5 यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,
6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई, मनश्‍शेको कुलबाट बाह्र हजारलाई,
7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,
8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्‍यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो।
9 यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें।
10 तिनीहरू उच्‍च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”
11 अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे।
12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!”
13 धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?”
14 अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।
15 यसैकारण, “तिनीहरू परमेश्‍वरका सिंहासनको सामुन्‍ने छन्, र दिनरात उहाँको मन्‍दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्‍नै उपस्‍थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
16 तिनीहरू कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन,
17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

यूहन्‍ना 3 : 1 – 33
1 फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए।
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”
4 निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?”
5 येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।
6 शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो।
7 मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान।
8 बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।”
9 निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्‍दछ?”
10 येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्‍दैनौ?
11 साँच्‍चै, म तिमीलाई भन्‍दछु, हामी जे जान्‍दछौं त्‍यो भन्‍दछौं, र हामीले जे देखेका छौं त्‍यसको गवाही दिन्‍छौं, तर तिमीहरू हाम्रो गवाही स्‍वीकार गर्दैनौ।
12 मैले तिमीहरूलाई पृथ्‍वीका कुरा भनें, र पनि तिमीहरू विश्‍वास गर्दैनौ, त तिमीहरूलाई स्‍वर्गका कुरा बताएँ भने कसरी विश्‍वास गर्न सक्‍छौ?
13 स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन।
14 जसरी मोशाले उजाड-स्‍थानमा सर्पलाई उचाले, त्‍यसरी नै मानिसको पुत्र उचालिनुपर्छ,
15 र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ।
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।
18 जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।
19 फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए।
20 किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।
21 सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।”
22 यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्‍यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्‍तिस्‍मा दिनुभयो।
23 यूहन्‍नाले पनि सालीमको छेउ एनोनमा बप्‍तिस्‍मा दिन्‍थे, किनकि त्‍यहाँ प्रशस्‍त पानी थियो। त्‍यहाँ मानिसहरू आउँथे र बप्‍तिस्‍मा लिन्‍थे।
24 त्‍यस बेलासम्‍म यूहन्‍ना झ्‍यालखानमा परेका थिएनन्‌।
25 त्‍यसै बेला यूहन्‍नाका चेलाहरूको एक जना यहूदीसँग शुद्धीकरणको विषयमा वाद-विवाद भयो।
26 यूहन्‍नाकहाँ आएर तिनीहरूले उनलाई भने, “गुरुज्‍यू, यर्दन पारि जो तपाईंसँग हुनुहुन्‍थ्‍यो, जसको बारेमा तपाईंले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्‍तिस्‍मा दिइरहनुभएको छ, र सबै उहाँकहाँ जाँदैछन्‌।”
27 यूहन्‍नाले जवाफ दिए, “मानिसलाई स्‍वर्गबाट नदिइएसम्‍म त्‍यसले कुनै कुरा पाउन सक्‍दैन।
28 ‘म ख्रीष्‍ट होइनँ, तर म उहाँभन्‍दा अगाडि पठाइएको हुँ’ भन्‍ने मेरो गवाही तिमीहरू आफै दिन्‍छौ।
29 जससँग दुलही छ, दुलहा त्‍यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्‍छ, उसको सोर सुनेर अत्‍यन्‍त आनन्‍दित हुन्‍छ। यसकारण मेरो यो आनन्‍द अब पूर्ण भएको छ।
30 उहाँ बढ्‌नु, तर मचाहिँ घट्‌नु आवश्‍यक छ।
31 “माथिबाट आउनुहुनेचाहिँ सबैभन्‍दा उच्‍च हुनुहुन्‍छ। पृथ्‍वीबाट हुने पृथ्‍वीकै हो, र पृथ्‍वीकै कुरा बोल्‍छ। स्‍वर्गबाट आउनुहुने सबैभन्‍दा उच्‍च हुनुहुन्‍छ।
32 उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्‍यसको गवाही उहाँ दिनुहुन्‍छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन।
33 जसले उहाँको गवाही ग्रहण गरेको छ, त्‍यसले परमेश्‍वर सत्‍य हुनुहुन्‍छ भन्‍ने कुराको प्रमाण दिन्‍छ।

प्रकाश 17 : 8 – 10
8 तिमीले देखेको त्‍यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्‍डबाट त्‍यो माथि उक्‍लन लागेको छ। अनि पृथ्‍वीका बासिन्‍दाहरू, जसका नाउँ संसारको उत्‍पत्तिदेखि जीवनको पुस्‍तकमा लेखिएका छैनन्, तिनीहरू त्‍यस पशुलाई देखेर अचम्‍म मान्‍नेछन्, किनकि त्‍यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।
9 “बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्‍यो स्‍त्री बसेकी छे।
10 तिनीहरू सात राजाहरू पनि हुन्‌— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्‍यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।

प्रकाश 12 : 1 – 17
1 स्‍वर्गमा एउटा आश्‍चर्यजनक चिन्‍ह देखियो: सूर्य पहिरेकी एउटी स्‍त्री देखा परी, जसको पाउमुनि चन्‍द्रमा थियो, र त्‍यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।
2 त्‍यो गर्भवती थिई, र जन्‍माउने अवस्‍थाको पीडामा प्रसववेदनाले चिच्‍याइरहेकी थिई।
3 अनि स्‍वर्गमा अर्को एउटा चिन्‍ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्‍यो।
4 त्‍यसको पुच्‍छरले स्‍वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्‍वीमा फालिदियो। बालक जन्‍मनासाथ त्‍यसलाई निलिहालूँ भनी त्‍यो अजिङ्गर बालक जन्‍माउन लागेकी स्‍त्रीको सामुन्‍ने खड़ा थियो।
5 त्‍यस स्‍त्रीले सारा जातिलाई फलामको डन्‍डाले शासन गर्ने एउटा छोरो जन्‍माई। त्‍यसको बालक परमेश्‍वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।
6 त्‍यो स्‍त्रीचाहिँ उजाड-स्‍थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्‍म त्‍यसको पालनपोषण होस्‌ भनेर परमेश्‍वरले त्‍यसको लागि ठाउँ तयार राख्‍नुभएको थियो।
7 अनि स्‍वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्‍यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्‍यसका दूतहरूले पनि युद्ध गरे,
8 तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन।
9 त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।
10 तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ।
11 तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्, र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌।
12 यसकारण हे स्‍वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्‍वी र समुद्रलाई धिक्‍कार छ! किनभने आफ्‍नो समय अल्‍प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”
13 जब त्‍यस अजिङ्गरले आफू पृथ्‍वीमा फ्‍याँकिएको देख्‍यो, तब त्‍यसले छोरो जन्‍माउने त्‍यस स्‍त्रीलाई खेद्‌यो।
14 तर त्‍यस स्‍त्रीलाई त्‍यस सर्पको सम्‍मुखबाट उजाड-स्‍थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्‍यो उजाड-स्‍थान साढ़े तीन वर्षसम्‍म त्‍यस स्‍त्रीको पालनपोषणको निम्‍ति तयार गरिएको थियो।
15 त्‍यस स्‍त्रीलाई बाढ़ले बगाओस्‌ भनेर त्‍यस सर्पले स्‍त्रीको पछि आफ्‍नो मुखबाट नदीजस्‍तै पानी निकाल्‍यो।
16 तर पृथ्‍वीले त्‍यस स्‍त्रीलाई सहायता गर्‍यो, र अजिङ्गरले आफ्‍नो मुखबाट निकालेको नदी पृथ्‍वीले आफ्‍नो मुख उघारेर निलिदियो।
17 तब त्‍यो अजिङ्गर त्‍यस स्‍त्रीसँग क्रोधित भयो, र त्‍यसका बाँकी सन्‍तानसँग युद्ध गर्न गयो— अर्थात्‌ तिनीहरूसँग, जुनहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्‍छन्‌।

फिलिप्पी 2 : 14 – 17
14 गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,
15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ।
16 जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ।
17 यदि तिमीहरूका विश्‍वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्‍दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *