pisgah

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् pisgah

रूथ 1 : 1 – 22
1 उहिले नै न्‍यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्‍यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एक जना मानिस आफ्‍नी पत्‍नी र दुई भाइ छोराहरूलाई लिएर मोआबीहरूको देशमा केही समयको लागि बस्‍नलाई गए।
2 ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्‍नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्‍योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्‍यहीँ बस्‍न लागे।
3 नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्‍ना दुई छोराहरूसँग छोड़िइन्‌।
4 यी छोराहरूले मोआबी स्‍त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्‍यहाँ प्राय: दश वर्ष बसेपछि
5 दुवै महलोन र किल्‍योन पनि मरे। यसरी ती स्‍त्री आफ्‍ना दुई छोराहरू र आफ्‍ना पतिबाट पनि बिछोड़ भइन्‌।
6 परमप्रभुले आफ्‍ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोजन दिनुभएको छ भन्‍ने कुरा जब तिनले मोआब देशमा सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्‍यहाँबाट घर फर्कन तयार गर्न लागे।
7 तब आफ्‍ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोड़िन्, र आफ्‍नो घर यहूदाको बाटो लागिन्‌।
8 तब नाओमीले आफ्‍ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू दुवै आ-आफ्‍नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र मप्रति दयापूर्ण व्‍यवहार गरेका थियौ, त्‍यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति दयापूर्ण व्‍यवहार गरून्,
9 अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आ-आफ्‍ना भविष्‍यका पतिका घरमा सुरक्षित राखून्‌।” तब तिनले उनीहरूलाई चुम्‍बन गरिन्, र तिनीहरू डाँको छोड़ी-छोड़ीकन रोए।
10 त्‍यसपछि उनीहरूले तिनलाई भने, “हामी तपाईंका मानिसहरूकहाँ तपाईंसँग जानेछौं।”
11 तर नाओमीले भनिन्, “हे मेरा छोरी हो, फर्क, तिमीहरू किन मसँग आउने? के तिमीहरूका पति हुनलाई म अझै छोराहरू जन्‍माउन सक्‍छु र?
12 फर्क, मेरा छोरी हो, जाऊ। किनकि फेरि विवाह गर्नलाई म बूढ़ी भइसकेकी छु। नानी पाउन अझै आशा भए, र मैले आज राती नै विवाह गरेर छोराहरू पाएँ भने पनि
13 तिनीहरू बढुञ्‍जेल तिमीहरू पर्खन्‍छौ र? के तिमीहरू विवाह नगरी बस्‍छौ? होइन, होइन मेरा छोरी हो, परमप्रभु मेरो विरुद्धमा हुनुभएकोले मेरो अवस्‍था तिमीहरूको भन्‍दा खोटो छ।”
14 तब तिनीहरू फेरि डाँको छोड़ी-छोड़ीकन रोए। त्‍यसपछि ओर्पाले आफ्‍नी सासूलाई चुम्‍बन गरेर आफ्‍ना मानिसकहाँ फर्केर गइन्, तर रूथचाहिँ तिनीसितै टाँसिरहिन्‌।
15 तब नाओमीले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्‍ना मानिसहरू र आफ्‍ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।”
16 रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्‌। तपाईं जहाँ जानुहुन्‍छ म पनि त्‍यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्‍छ म पनि त्‍यहीँ नै बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।
17 तपाईं जहाँ मर्नुहुन्‍छ म पनि त्‍यहीँ मर्नेछु, र त्‍यहीँ नै गाड़िनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्‍यवहार गरून्‌।”
18 रूथले आफूसँग जाने दृढ़ सङ्कल्‍प गरेकी देखेर नाओमीले अरू केही भनिनन्‌।
19 अनि ती दुवै जना हिँड़े, र बेथलेहेममा आइपुगे। जब तिनीहरू बेथलेहेममा आइपुगे तब जम्‍मै सहरमा हलचल मच्‍चियो। आइमाईहरूले भन्‍न लागे, “के यिनी नाओमी नै हुन्‌?”
20 तिनले भनिन्, “मलाई नाओमी नभन। मलाई मारा [1] भन, किनभने सर्वशक्तिमान्‌ले मेरो जीवन तीतो बनाइदिनुभएको छ।
21 म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्‍याउनुभएको छ। मलाई किन नाओमी भन्‍छौ? परमप्रभु मेरो विरुद्धमा उठ्‌नुभएको छ। सर्वशक्तिमान्‌ले ममाथि विपत्ति ल्‍याउनुभएको छ।”
22 यसरी नाओमीकी बुहारी मोआबी रूथ तिनीसँग मोआब देशबाट आइन्‌। तिनीहरू बेथलेहेममा आइपुग्‍दा जौको कटनी हुँदैथियो।

व्यवस्था 34 : 1 – 12
1 त्‍यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्‍ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्‍ले। परमप्रभुले तिनलाई समस्‍त देश देखाउनुभयो— गिलाददेखि दानसम्‍म,
2 समस्‍त नप्‍ताली, एफ्राइम र मनश्‍शेको देश, पश्‍चिमको समुद्रसम्‍मको यहूदाको समस्‍त देश,
3 नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्‍म।
4 तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “‘तेरा भावी सन्‍तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्‍यहाँ जान पाउनेछैनस्‌।”
5 तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे।
6 मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्‌नुभयो। तर आजसम्‍म कसैलाई तिनको चिहान थाहा छैन।
7 मोशाको मृत्‍यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन।
8 मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्‍म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए।
9 अब नूनका छोरा यहोशू बुद्धिको आत्‍माले परिपूर्ण थिए, किनकि मोशाले आफ्‍ना हात तिनीमाथि राखेका थिए। तसर्थ, तिनको कुरा इस्राएलीहरूले सुने, र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
10 त्‍यस समयदेखि इस्राएलीहरूमा मोशाजस्‍तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्‍नुहुन्‍थ्‍यो।
11 तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूकहाँ उनको समस्‍त देशमा आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाउनलाई परमप्रभुले पठाउनुभयो।
12 किनकि समस्‍त इस्राएलीहरूको दृष्‍टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्‍यै देखाएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *