यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् nahum
नहूम 1 : 1 – 15
1 निनवेको विषयमा ईश्वरवाणी। एल्कोशी नहूमले देखेका दर्शनको पुस्तक।
2 परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरपूर हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्नुहुन्छ।
3 परमप्रभु रीस गर्नमा धैर्यवान् हुनुहुन्छ र उहाँ अति शक्तिशाली हुनुहुन्छ। दोषीलाई परमप्रभुले दण्ड नदिई छोड्नुहुन्न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्।
4 उहाँले हप्काउनुहुँदा समुद्र सुकिहाल्छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्छन्।
5 उहाँको सामु पहाड़हरू कम्पायमान हुन्छन्, र पर्वतहरू पग्लन्छन्। उहाँको उपस्थितिमा संसार उजाड़ हुन्छ, जगत् र त्यसमा भएका सबै कुरा थरथर काँप्छन्।
6 उहाँका रीसको अगि को उभिन सक्छ? उहाँको भयङ्कर रीस कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ, र उहाँको सामुन्ने चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन्।
7 परमप्रभु असल हुनुहुन्छ, दु:खको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ।
8 तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेदिपठाउनुहुनेछ।
9 परमप्रभुको विरुद्धमा उनीहरूले जस्तोसुकै षड्यन्त्र गरे तापनि उहाँले त्यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन।
10 उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्। उनीहरू सुकेका ठोसाहरूझैँ भस्म हुनेछन्।
11 हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्लाह दिने एक जना निस्केको छ।
12 परमप्रभु यसो भन्नुहुन्छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्ती छन् तापनि उनीहरू बहिष्कृत हुनेछन्, र बितिजानेछन्। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ।
13 अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।”
14 हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्त तेरो नाउँ कायम राख्ने तेरो कोही सन्तान हुनेछैन। तेरा देवताहरूको मन्दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्ट छस्।”
15 हेर, सुसमाचार ल्याउने र शान्ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्। हे यहूदा, तिमीले आफ्ना चाड़हरू मनाओ, आफ्ना भाकलहरू पूरा गर। दुष्टहरूले अब उप्रान्त तिमीलाई आक्रमण गर्नेछैनन्। उनीहरू सम्पूर्ण रूपले सर्वनाश हुनेछन्।
नहूम 2 : 1 – 13
1 हे निनवे, एउटा छापामार तेरो विरुद्धमा बढ्दैछ। किल्लाको सुरक्षा गर्, बाटो राम्ररी हेर्, कम्मर कस्, तेरो पूरा बल लगा।
2 परमप्रभुले याकूबको गौरवलाई इस्राएलको श्रेष्ठताझैँ फेरि फर्काउनुहुनेछ, यद्यपि ध्वंसकहरूले तिनीहरूलाई उजाड़ पारेका छन्, र तिनीहरूका दाखका बोटहरू नष्ट पारेका छन्।
3 त्यसका सिपाहीहरूका ढालहरू राता छन्। त्यसका योद्धाहरूले गाढ़ा लाल पोशाक पहिरेका छन्। ती तयारी पारिएको दिनमा रथहरूका धातु चम्कन्छन्, सल्लोका भालाहरू उजाइएका छन्।
4 रथहरू सड़कमा खूब वेगसित हाँकिन्छन्, र चोकहरूमा तिनीहरू अगि-पछि गर्दै जोडले कुद्छन्। तिनीहरू जलिरहेका राँकाहरूजस्तै देखिन्छन्, तिनीहरू बिजुलीजस्तै वेगले कुद्छन्।
5 त्यसले आफ्ना चुनिएका सेनाहरूलाई हाजिर गराउँछ, तापनि उनीहरू आफ्नो बाटोमा धरमरिन्छन्। उनीहरू आतुरीसाथ सहरको पर्खालतिर दगुर्छन्। रक्षा गर्ने ढाल त्यसकै ठाउँमा राखिन्छ।
6 नदीका बाँधहरू खुला पारिन्छन्। दरबार ढल्छ।
7 यो अवश्यम्भावी छ, सहर निर्वासनमा लगिनेछ। त्यसका दासीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन्।
8 निनवेचाहिँ पानीको दहजस्तै छ, त्यसको पानी सुक्दैगइरहेछ। “पख्! पख्।” भनेर कराउँदा पनि कसैले पछि फर्केर हेर्दैन।
9 चाँदी लुट! सुन लुट! त्यसका सबै धन-सम्पत्तिको केही टुङ्गै छैन।
10 त्यो लूटपीट गरियो, लुटियो र नाङ्गो पारियो। हृदयहरू गल्छन्, घुँड़ाहरू काँप्छन्, र सारा शरीरमा पीडा छ, सबै चेहराहरू पहेँला-पहेँला हुन्छन्।
11 साना-साना सिंहहरूलाई खुवाउने गुफा खोइ? जहाँ सिंह र सिंहनी डमरुहरूसमेत नडराई हिँड्दथे।
12 आफ्ना डमरुहरूलाई प्रशस्त हुने गरी सिंहले शिकार मार्थ्यो, र त्यसकी सिंहनीको निम्ति पशुहरूलाई फहराउँथ्यो। त्यसले आफ्ना ओड़ारहरू शिकार गरेर ल्याएका पशुहरूले र आफ्ना गुफाहरू आफ्नो शिकारले भरपूर पार्दथ्यो।
13 सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, “म तेरो विरुद्धमा छु। म तेरा रथहरू धूवैधूवाँ हुने गरी जलाइदिनेछु, र तेरा जवान सिंहहरू तरवारको गाँस हुनेछन्। म तेरो लागि शिकार छोड्नेछैनँ, र तेरा समाचारवाहकका शब्द अब उप्रान्त सुनिनेछैनन्।”
Leave a Reply