ephod

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ephod

प्रस्‍थान 28 : 1 – 43
1 तैंले इस्राएलीहरूका बीचबाट तेरो दाजु हारून र त्‍यसका छोराहरूलाई तँकहाँ ले, र तिनीहरूले मेरो निम्‍ति पूजाहारीको काममा सेवा गरून्‌— हारून र त्‍यसका छोराहरू, नादाब, अबीहू, एलाजार र ईतामार।
2 गौरव र शोभाको निम्‍ति तैंले तेरो दाजु हारूनको निम्‍ति पवित्र पोशाकहरू बनाउनू।
3 जति शिल्‍पकारहरू छन्, जसलाई यस्‍ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्‍नू, कि तिनीहरूले हारूनका पोशाक त्‍यसलाई यो कामको निम्‍ति नियुक्त गर्नलाई बनाऊन्, र त्‍यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्‌।
4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्‌: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्‍यसका छोराहरूका निम्‍ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्‍त्र बनाऊन्‌।
5 तिनीहरूले सुन, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ा प्रयोग गरून्‌।
6 तिनीहरूले एपोदचाहिँ सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी सूती कपड़ाले निपुणताका साथ बनाऊन्‌।
7 त्‍यो गाँस्‍नलाई त्‍यसका दुवै छेउमा गाँसेका दुई काँधे-बन्‍धन होऊन्‌।
8 त्‍यसमाथि भएको खूब राम्रोसँग बुनेको कमरपेटी एपोदको त्‍यही टुक्राको र त्‍यस्‍तै काम भएको सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्‌।
9 “तैंले दुई वटा आनिक्‍स लिएर त्‍यसमा इस्राएलका छोराहरूका नाउँ खोप्‍नू।
10 तिनीहरूका जन्‍मअनुसार तिनीहरूमध्‍ये छ जनाका नाउँ एउटा पत्‍थरमा र बाँकी छ जनाका नाउँ अर्को पत्‍थरमा खोप्‍नू।
11 पत्‍थर खोप्‍ने शिल्‍पकारले जसरी छाप खोप्‍छ, त्‍यसरी नै ती दुवै पत्‍थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्‍नू। तब तैंले ती पत्‍थर सुनका रत्‍न जड़िने मणिघरमा जड्‌न लगाउनू।
12 ती दुवै पत्‍थर एपोदका काँधे-बन्‍धनमा इस्राएलका छोराहरूका निम्‍ति सम्‍झनाको पत्‍थर हुनलाई लगाउनू, र हारूनले तिनीहरूका नाउँ परमप्रभुको सामु आफ्‍ना दुवै काँधमा सम्‍झनाको निम्‍ति बोक्‍ने गरोस्‌।
13 अनि तैंले सुनका मणिघर बनाउनू।
14 डोरीजस्‍ता बाटेका निखुर सुनका दुई वटा सिक्री बनाउनू, र ती बाटेका सिक्री ती मणिघरमा लगाउनू।”
15 “न्‍याय गर्नलाई छाती-पाता सिपालु शिल्‍पकारद्वारा बनाउनू, — एपोदको बनावटजस्‍तै त्‍यो पनि सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको होस्‌।
16 त्‍यो वर्गाकार र दोबर पट्ट्याइएको होस्‌। त्‍यसको लमाइ एक बित्ता र चौड़ाइ एक बित्तै होस्‌।
17 तब तैंले त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड्‌नू— पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको होस्‌।
18 दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको,
19 तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको,
20 चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको होस्‌। यी सबै सुनका मणिघरहरूमा जड़िऊन्‌।
21 ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्‌। हरेकमा छापमा खोपेजस्‍तै बाह्रै कुलमध्‍ये एउटाको नाउँ होऊन्‌।”
22 “छाती-पाताको लागि डोरीजस्‍तो बाटेको निखुर सुनका सिक्रीहरू बनाउनू।
23 तैंले त्‍यसको निम्‍ति सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका दुवै कुनामा लगाउनू।
24 सुनका दुई वटा सिक्री छाती-पाताको छेउ-छेउमा भएका ती दुई मुन्‍द्रीमा लगाउनू।
25 दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जड़ेर एपोदका काँधे-बन्‍धनमा अगाड़िपट्टि लगाउनू।
26 फेरि सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाउनू।
27 सुनका अझ दुई वटा मुन्‍द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्‍धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाउनू।
28 छाती-पाताचाहिँ त्‍यसका मुन्‍द्रीहरूद्वारा एपोदका मुन्‍द्रीहरूमा नीलो फित्ताले कमरपेटीमा बाँध्‍नू, कि त्‍यो एपोददेखि सर्न नपाओस्‌।”
29 “जब हारून पवित्रस्‍थानमा प्रवेश गर्नेछ, तब त्‍यसले आफ्‍नो हृदयमाथि न्‍यायको छाती-पातामा परमप्रभुको सामु निरन्‍तर सम्‍झनाको निम्‍ति इस्राएलका छोराहरूको नाउँ बोकोस्‌।
30 तैंले न्‍यायको छाती-पातामा “ऊरीम” र “तुम्‍मीम” राख्‍नू, ताकि जहिले-जहिले हारून परमप्रभुको सामुन्‍ने जान्‍छ तहिले-तहिले ती त्‍यसको हृदयमा होऊन्‌। यसरी हारूनले इस्राएलीहरूका निम्‍ति न्‍याय गर्ने साधनहरू आफ्‍नो हृदयमा परमप्रभुको सामुन्‍ने निरन्‍तर बोकोस्‌।
31 तैंले एपोदको सम्‍पूर्ण अलखा नीलो रङ्गको बनाउनू।
32 त्‍यसको बीचमा टाउको छिराउन प्‍वाल बनाउनू, र नच्‍यातिनलाई कठालोको प्‍वालजस्‍तै बुनेको बिट होस्‌।
33 त्‍यसको तलको फेरोमा नीलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू र बीच-बीचमा सुनका घण्‍टीहरू लगाउनू,
34 एउटा सुनको घण्‍टी र फेरि एउटा दारिम पर्ने गरी अलखाको वरिपरि होस्‌।
35 हारूनले सेवा गर्दा त्‍यो लगाओस्‌। पवित्रस्‍थानभित्र परमप्रभुको सामुन्‍ने प्रवेश गर्दा र बाहिर निस्‍कँदा, त्‍यसको आवाज सुनिओस्‌ र हारून नमरोस्‌।
36 “तैंले निखुर सुनको एउटा पाता बनाएर त्‍यसमा औँठीको छाप खोपेझैँ यो कुरो खोप्‍नू, ‘परमप्रभुको निम्‍ति पवित्र’।
37 त्‍यो नीलो फित्ताले फेटामा बाँध्‍नू, र त्‍यो फेटा अगाड़ि होस्‌।
38 हारूनको निधारमा त्‍यो होस्, र इस्राएलीहरूले जे-जति पवित्र भेटी चढ़ाउँछन्, ती पवित्र थोकहरूको दोष हारूनले बोकोस्‌। त्‍यो निरन्‍तर त्‍यसको निधारमा रहनेछ। यसरी ती भेटीहरू परमप्रभुको सामु ग्रहण हुन सकून्‌।”
39 “लबेदाचाहिँ मसिनो सूती कपड़ाको बुन्‍नू र फेटा पनि मसिनो सूती कपड़ाको बनाउनू। बुट्टा हाल्‍नेद्वारा पटुका पनि बनाइओस्‌।
40 तैंले हारूनका छोराहरूका निम्‍ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्‍ति बनाउनू।
41 ती तैंले आफ्‍नो दाजु हारून र त्‍यसका छोराहरूलाई पहिराएर तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूलाई पवित्र पार्नू, र तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्‌।”
42 “तैंले तिनीहरूका शरीर ढाक्‍नलाई सूती कपड़ाका भित्री वस्‍त्र बनाउनू। ती कम्‍मरदेखि जाँघसम्‍म पुगून्‌।
43 हारून र त्‍यसका छोराहरू भेट हुने पालमा प्रवेश गर्दा अथवा पवित्रस्‍थानमा सेवाको निम्‍ति वेदीको नजिक आउँदा, ती लगाएका होऊन्, ताकि तिनीहरू दोषी नहोऊन्‌ र नमरून्‌।” “योचाहिँ हारून र त्‍यसका सन्‍तानका निम्‍ति अनन्‍तको विधि होस्‌।”

प्रस्‍थान 29 : 1 – 46
1 तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्‌ भनेर तिनीहरूलाई पवित्र गर्न तैंले तिनीहरूका निम्‍ति गर्नुपर्ने काम यही हो: एउटा बाछा र दुई वटा निष्‍खोट भेड़ा लिएर आइज,
2 र रोटी, र तेलमा मुछेको फुरौला र तेल दलेका पातलो बाबर— ती सबै अखमिरी मसिनो गहूँको पीठाको बनाउनू।
3 अनि ती डालोमा हालेर त्‍यो टोकरी, बाछा र ती दुवै भेड़ा ल्‍याउनू।
4 त्‍यसपछि हारून र त्‍यसका छोराहरूलाई भेट हुने पालको ढोकानेर ल्‍याएर तिनीहरूलाई तैंले पानीले नुहाइदिनू।
5 ती पोशाकहरू ल्‍याएर हारूनलाई चाहिँ लबेदा, एपोदको अलखा, एपोद र छाती-पाता पहिराएर निपुणताका साथ बुनेको कमरपेटी त्‍यसमाथि बाँधिदिनू।
6 त्‍यसको शिरमा त्‍यो फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट लगाइदिनू।
7 त्‍यसपछि अभिषेक गर्ने तेल लिएर त्‍यसको शिरमा खन्‍याई त्‍यसलाई अभिषेक गर्नू।
8 अनि त्‍यसका छोराहरूलाई ल्‍याएर तिनीहरूलाई लबेदा पहिराइदिनू,
9 र तिनीहरूका शिरमा फेटा लगाइदिनू। तब हारून र त्‍यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको विधिद्वारा तिनीहरूले पूजाहारी पद पाउनेछन्‌। यसरी तैंले हारून र त्‍यसका छोराहरूलाई नियुक्त गर्नू।
10 “त्‍यो बाछा भेट हुने पालको सामुन्‍ने ल्‍याउनू, र हारून र त्‍यसका छोराहरूले बाछाको शिरमा आफ्‍ना हात राखून्‌।
11 त्‍यस बाछालाई परमप्रभुको सामुन्‍ने भेट हुने पालको ढोकाको अगाड़ि बलि गर्नू।
12 तेरो औँलाले बाछाको रगतबाट केही लिएर वेदीका सीङहरूमा लगाउनू, र त्‍यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याइदिनू।
13 अनि तैंले आन्‍द्रा-भुँड़ी ढाक्‍ने सबै बोसो र कलेजाको मासु र दुवै मिर्गौला र तीमाथिको बोसो लिएर वेदीमा जलाउनू।
14 तर बाछाको मासु र त्‍यसको छाला र त्‍यसको गोबरचाहिँ छाउनीदेखि बाहिर आगोमा जलाउनू। त्‍यो पापबलि हो।”
15 “फेरि एउटा भेड़ा लिनू, र हारून र त्‍यसका छोराहरूले भेड़ाको शिरमा आ-आफ्‍ना हात राखून्‌।
16 भेड़ालाई बलि गरी त्‍यसको रगत लिएर वेदीमा वरिपरि छर्कनू।
17 त्‍यस भेड़ालाई टुक्रा-टुक्रा पारेर त्‍यसका आन्‍द्रा र खुट्टाहरू धोएर त्‍यसका टुक्राहरू र शिरसँगै राखिदिनू।
18 त्‍यो सिङ्गै भेड़ा वेदीमा जलाउनू। त्‍योचाहिँ परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना भएको, आगोद्वारा चढ़ाइएको होमबलि हो।”
19 “तैंले अर्को भेड़ा लिनू, र हारून र त्‍यसका छोराहरूले भेड़ाको शिरमाथि आ-आफ्‍ना हात राखून्‌।
20 तब भेड़ालाई बलि गरेर त्‍यसको रगतबाट केही लिएर हारूनको दाहिने कानको र त्‍यसका छोराहरूका दाहिने कानका लोतीमा, र तिनीहरूका दाहिने-दाहिने हातका बूढ़ी औँला र दाहिने-दाहिने खुट्टाका बूढ़ी औँलामा लगाउनू। त्‍यसपछि रगत वेदीमा वरिपरि छर्कनू।
21 अनि वेदीमा भएको रगत र अभिषेक गर्ने तेलबाट अलि-अलि लिएर हारून र त्‍यसका पोशाकहरू र त्‍यसका छोराहरूमाथि र छोराहरूका पोशाकहरूमाथि छर्कनू। यसरी त्‍यो, त्‍यसका छोराहरू र तिनीहरू सबैका पोशाकहरूसमेत पवित्र हुनेछन्‌।”
22 “तैंले त्‍यस भेड़ाको बोसो र बोसेपुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र कलेजाको मासु र बोसोसमेतको दुवै मिर्गौला र दाहिने साँप्रो लिनू। (त्‍योचाहिँ नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा हो।)
23 परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट एउटा रोटी र तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिएर
24 ती सबै हारून र त्‍यसका छोराहरूका हातमा राख्‍नू। ती परमप्रभुको सामुन्‍ने डोलाइने बलिको रूपमा डोलाउनू।
25 तब तिनीहरूका हातबाट ती लिएर परमप्रभुलाई मन पर्ने बास्‍नाको निम्‍ति होमबलिका साथ वेदीमा जलाइदिनू। यो परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको बलि हो।
26 अनि हारूनका अर्पणको भेड़ाको ह्याकुलो लिएर परमप्रभुको सामुन्‍ने डोलाइने बलिको रूपमा डोलाउनू। त्‍योचाहिँ तेरो भाग हुनेछ।”
27 “अर्पणको भेड़ाबाट हारून र त्‍यसका छोराहरूका निम्‍ति हुने डोलाएको ह्याकुला र चढ़ाइएको साँप्रो पवित्र गर्नू।
28 हारून र त्‍यसका छोराहरूका निम्‍ति इस्राएलीहरूले सधैँ दिनुपर्ने भाग यही होस्, किनभने इस्राएलीहरूले आफ्‍नो मेलबलिहरूबाट परमप्रभुलाई चढ़ाउनुपर्ने भाग त्‍यही हो।”
29 “हारूनका पवित्र पोशाकहरू त्‍यसका सन्‍तानहरूका निम्‍ति होऊन्, र तिनीहरू ती पहिरेर अभिषेक भई नियुक्त गरिऊन्‌।
30 त्‍यसको सट्टामा पूजाहारी हुने छोरो भेट हुने पालमा पवित्रस्‍थानभित्र सेवा गर्नलाई आउँदा, सात दिनसम्‍म त्‍यसले ती पहिरोस्‌।
31 नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा लिएर त्‍यसको मासु एक पवित्र ठाउँमा पकाउनू।
32 त्‍यसपछि हारून र त्‍यसका छोराहरूले त्‍यस भेड़ाको मासु र डालोमा भएको रोटी भेट हुने पालको ढोकानेर खाऊन्‌।
33 तिनीहरूलाई नियुक्त र पवित्र गर्नलाई जुन-जुन थोकद्वारा प्रायश्‍चित गरिएको थियो, ती तिनीहरूले खाऊन्‌। तर कुनै अन्‍य मानिसहरूले चाहिँ नखाऊन्, किनभने ती पवित्र हुन्‌।
34 अर्पणको भेड़ाको मासु अथवा रोटीमध्‍येको केही बिहानसम्‍म उब्‍र्यो भने त्‍यो उब्रेको भाग आगोमा जलाइदिनू। त्‍यो नखानू, किनभने त्‍यो पवित्र हो।
35 “तँलाई मैले दिएका सबै आज्ञाबमोजिम हारून र त्‍यसका छोराहरूलाई गर्नू। सात दिन लगाएर तिनीहरूलाई नियुक्त गर्नू।
36 प्रायश्‍चितको निम्‍ति पापबलिको साँढ़े दिनहुँ तैंले चढ़ाउनू। जब वेदीको लागि प्रायश्‍चित गर्लास्, तब पवित्र गर्नका निम्‍ति त्‍यसलाई अभिषेक गर्नू।
37 सात दिनसम्‍म तैंले वेदीको निम्‍ति प्रायश्‍चित गर्दैरहनू, र त्‍यसलाई पवित्र पार्नू। यसरी वेदी महा पवित्र हुनेछ। जे-जेले त्‍यो वेदी छोला त्‍यो पवित्र हुनेछ।”
38 “अब वेदीमा दिनहुँ तैंले निरन्‍तर चढ़ाउनुपर्ने कुरो यही हो: दुई वटा एक वर्षका थुमा।
39 एउटा थुमा बिहान चढ़ाउनू र अर्को बेलुकी।
40 पहिलो थुमासित एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र अर्घ-बलिको निम्‍ति चाहिँ एक लिटर दाखमद्य चढ़ाउनू।
41 अर्कोचाहिँ थुमा बेलुकी चढ़ाउनू, र त्‍यससँग बिहानको जस्‍तै अन्‍नबलि र अर्घबलि होस्‌। परमप्रभुको निम्‍ति मीठो बास्‍ना भएको, आगोद्वारा चढ़ाइएको बलि त्‍यो होस्‌।”
42 “तिमीहरूका पुस्‍ता-पुस्‍ताका निम्‍ति परमप्रभुको सामुन्‍ने भेट हुने पालको ढोकानेर त्‍यो निरन्‍तरको होमबलि होस्‌। त्‍यही ठाउँमा म तँसित कुरा गर्नलाई तँसँग भेट गर्नेछु।
43 इस्राएलीहरूसित म त्‍यहीँ नै भेट गर्नेछु, र त्‍यो पाल मेरो महिमाले पवित्र हुनेछ।
44 “म भेट हुने पाल र वेदीलाई पवित्र गर्नेछु। हारून र त्‍यसका छोराहरूलाई पनि मेरो निम्‍ति पूजाहारी पदमा मेरो सेवा गर्नलाई पवित्र गर्नेछु।
45 म इस्राएलीहरूका बीचमा वास गर्नेछु, र तिनीहरूका परमेश्‍वर हुनेछु।
46 तिनीहरूका मध्‍यमा बस्‍न भनी तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्‌। म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।”

२ शमूएल 6 : 14
14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्‍ने पूरा शक्तिको साथ नाचे।

प्रस्‍थान 28 : 4
4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्‌: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्‍यसका छोराहरूका निम्‍ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्‍त्र बनाऊन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *