विभिन्न धर्म

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विभिन्न धर्म

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

प्रकाश 20 : 11 – 15
11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्‍नेबाट पृथ्‍वी र आकाश भागेर गए, र तिनीहरूका निम्‍ति कतै ठाउँ पाइएन।
12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्‍साफ भयो।
13 समुद्रले त्‍यसमा भएका मृतकहरू दिइहाल्‍यो, अनि मृत्‍यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्‍येकको आ-आफ्‍ना कामअनुसार इन्‍साफ भयो।
14 मृत्‍यु र पाताल अग्‍नि-कुण्‍डमा फालिए। यो अग्‍नि-कुण्‍ड दोस्रो मृत्‍यु हो।
15 जसको नाउँ जीवनको पुस्‍तकमा लेखिएको भेट्टाइएन त्‍यो अग्‍नि-कुण्‍डमा फालियो।

लूका 10 : 25 – 37
25 व्‍यवस्‍थाका एक जना पण्‍डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्‍न गरे, “गुरुज्‍यू, अनन्‍त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”
26 उहाँले तिनलाई भन्‍नुभयो, “व्‍यवस्‍थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”
27 तिनले भने, “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।”
28 उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्‍यसै गर, र तिमी जिउनेछौ।”
29 तर तिनले आफूलाई धार्मिक देखाउने इच्‍छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
30 येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31 संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो।
32 त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33 तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो।
34 र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो।
35 भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36 येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37 तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

मर्कूस 16 : 16
16 विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

मत्ती 16 : 18
18 म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली [1] यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।

यूहन्‍ना 1 : 1
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

मत्ती 5 : 17 – 18
17 “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।
18 किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन।

उत्‍पत्ति 1 : 1 – 31
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।
2 पृथ्‍वी आकारविनाको र शून्‍य थियो। अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो।
3 अनि परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो होस्‌।” तब उज्‍यालो भयो।
4 र परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो। उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो।
5 परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।
6 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”
7 परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्‍यस्‍तै भइहाल्‍यो।
8 परमेश्‍वरले यस अन्‍तरिक्षलाई आकाश भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— दोस्रो दिन।
9 अनि परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्‍मा होस्‌ र ओबानो भूमि देखा परोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
10 परमेश्‍वरले ओबानो भूमिलाई “पृथ्‍वी” भन्‍नुभयो, र जम्‍मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
11 अनि परमेश्‍वरले भन्‍नुभयो, “भूमिले वनस्‍पति, बीउ हुने बोट-बिरुवाहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू पृथ्‍वीमा उमारोस्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
12 भूमिले वनस्‍पति, बीउ हुने बोटहरू र आ-आफ्‍नो किसिमको बीउ हुने फल फल्‍ने वृक्षहरू उमार्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
13 साँझ पर्‍यो र बिहान भयो— तेस्रो दिन।
14 अनि परमेश्‍वरले भन्‍नुभयो, “अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌।
15 र पृथ्‍वीमा प्रकाश दिनलाई अन्‍तरिक्षमा ती ज्‍योतिहरू होऊन्‌।” तब त्‍यस्‍तै भइहाल्‍यो।
16 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो— ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
17 अनि परमेश्‍वरले पृथ्‍वीमा प्रकाश दिनलाई,
18 दिन र रातमाथि प्रभुत्‍व गर्न अनि उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्‍नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
19 साँझ पर्‍यो र बिहान भयो— चौथो दिन।
20 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
22 अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”
23 अनि साँझ पर्‍यो र बिहान भयो— पाँचौँ दिन।
24 अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्‍वीले जात-जातका जीवित प्राणीहरू, अर्थात्‌ जात-जातका पाल्तु पशुहरू, घस्रने जन्‍तुहरू र जात-जातका वन-पशुहरू उत्‍पन्‍न गरोस्‌। तब त्‍यस्‍तै भयो।
25 परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
29 अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌।
30 अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो।
31 आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *