यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राजा डेभिड
२ शमूएल 7 : 4 – 29
4 त्यही रात परमप्रभुको यो वचन नातानकहाँ आयो:
5 “गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: के मेरो निम्ति तैंले नै एउटा घर बनाउनेछस् र?
6 इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि आजको दिनसम्म म कहिल्यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्दैआएको छु।
7 म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्ये कुनै शासकलाई “मेरो निम्ति देवदारुको घर किन बनाइनस्?” भनेर सोधें र?’
8 “यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्नबाट बोलाएँ।
9 जहाँ-जहाँ तँ गइस् म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ। अब पृथ्वीका प्रतिष्ठित व्यक्तिहरूका बीचमा म तेरो नाउँ महान् बनाउनेछु।
10 म मेरो प्रजा इस्राएलको निम्ति एउटा स्थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्नै एउटा वासस्थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ,
11 अनि मेरो प्रजा इस्राएलमाथि न्यायकर्ताहरू [1] नियुक्त गरेको समयदेखि यसो, तिनीहरूलाई दुष्ट मानिसहरूले अत्याचार गर्नेछैनन्। म तँलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु। “‘परमप्रभुले तेरो राजघराना स्थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्नुभएको छ।
12 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्तानमध्येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्यसको राज्य स्थिर गराउनेछु।
13 त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु।
14 म त्यसका पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। त्यसले अधर्म गर्यो भने, मानिसको लट्ठीले म त्यसलाई सजाय दिनेछु, र मानिसहरूद्वारा त्यसलाई कोर्राबाजीको प्रहार गर्नेछु।
15 तर मैले मेरो प्रेम शाऊलबाट हटाएझैँ, जसलाई मैले तेरो बाटोदेखि पन्छाएँ, म मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ।
16 तेरो घराना र तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्थिर हुनेछ’।”
17 आफूलाई दर्शनमा भनिएका सबै कुरा नातानले दाऊदलाई सुनाइदिए।
18 तब दाऊद राजा परमप्रभुको उपस्थितिमा हाजिर भए, र त्यहाँ बसेर भने: “हे परमप्रभु परमेश्वर, म को हुँ, मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभयो?
19 यो सबैचाहिँ तपाईंको दृष्टिमा एउटा सानो विषयजस्तो ठानेर तपाईंले त आफ्नो दासलाई त्यसको घरानाको भविष्य नै बताइदिनुभयो। हे परमप्रभु परमेश्वर, के यो सब तपाईंले सधैँ नै गर्ने व्यवहार हो र?
20 “अनि अब दाऊद अरू बढ्ता के भन्न सक्छ र? किनभने तपाईंले आफ्नो दासलाई राम्ररी चिन्नुहुन्छ, हे परमप्रभु परमेश्वर!
21 तपाईंका वचनको खातिर र आफ्नो इच्छाअनुसार नै तपाईंले यो महान् काम गर्नुभएको छ र आफ्नो दासलाई यो बताउनुभएको छ।
22 “हे परमप्रभु परमेश्वर, तपाईं साँच्चै महान् हुनुहुन्छ। तपाईंजस्तै अरू कसैको विषयमा हामीले कहिल्यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्वर छैन।
23 अनि तपाईंको आफ्नै जाति इस्राएलजस्तो अरू को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान् डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो।
24 तपाईंले आफ्नै प्रजा इस्राएललाई सदासर्वदाको निम्ति आफ्नै तुल्याउनलाई स्थिर गर्नुभएको छ, अनि हे परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभएको छ।
25 अब हे परमप्रभु परमेश्वर, आफ्नो दास र त्यसको घरानासित गर्नुभएको प्रतिज्ञाअनुसार सधैँभरि गर्नुहोस्। तपाईंले भन्नुभएजस्तै गर्नुहोस्,
26 ताकि तपाईंको ख्याति सदासर्वदै महान् होस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलमाथि परमेश्वर हुनुहुन्छ।’ अनि आफ्नो दास दाऊदको घराना तपाईंको सामु स्थिर भइरहनेछ।
27 “हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो दासलाई, मलाई, यसो भनेर आफ्नो अभिप्राय देखाउनुभयो, ‘म तेरो निम्ति एउटा घरानाको निर्माण गर्नेछु’। यसैकारण साहससँग म तपाईंकहाँ यो प्रार्थना चढ़ाइरहेछु।
28 हे परमप्रभु परमेश्वर, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंका वचन विश्वासयोग्य छन्, अनि तपाईंले आफ्नो दाससँग यी उत्तम प्रतिज्ञाहरू गर्नुभएको छ।
29 यसैले अब आफ्नो दासको घरानालाई आशिष् दिनुहोस्, र त्यो तपाईंको नजर अगि रहिरहोस्। किनकि हे परमप्रभु परमेश्वर, तपाईंले बोल्नुभएको छ, र तपाईंका आशिष्द्वारा नै तपाईंको दासको घरानाले सदासर्वदाको आशिष् पाउनेछ।”
१ राजाहरू 1 : 1 – 53
1 जब दाऊद राजा वृद्ध भएर तिनको उमेर ढल्किसकेको थियो, तिनलाई लुगा ओढ़ाइदिँदा पनि तिनी तातिँदैनथे।
2 यसैकारण तिनका सेवकहरूले तिनलाई भने, “हजूरको सेवा-टहल र हजूरको हेरचाह गर्नलाई कुनै एउटी कन्ये-केटी हामी खोज्छौं। त्यसले हाम्रा महाराजालाई न्यानो पार्न त्यो हजूरसँगै सुतोस्।”
3 तब तिनीहरूले सारा इस्राएल देशभरि खोज्दा एउटी सुन्दरी कुमारी शूनम्मी अबीशगलाई भेट्टाए, र त्यसलाई राजाकहाँ ल्याए।
4 त्यो अत्यन्त सुन्दरी थिई। त्यसले राजाको सेवा-टहल र हेरचाह गर्न लागी। तर राजाले त्यससँग सहवास गरेनन्।
5 तब हग्गीतका छोरा अदोनियाहले “म नै राजा हुनेछु” भनी आफैलाई अगि सार्न लागे। यसैले उनले पचास जना मानिसहरू, घोड़चढ़ीहरू र रथहरूसमेत आफ्नो अगिअगि दगुर्न तयार गरे।
6 उनका पिताले उनलाई “तँ किन यस्तो व्यवहार गर्छस्?” भनेर सम्झाएनन्। अदोनियाह पनि एक अत्यन्तै सुन्दर मानिस थिए र उमेरमा अब्शालोमभन्दा पछि जन्मेका थिए।
7 अदोनियाहले सरूयाहका छोरा योआब र अबियाथार पूजाहारीसँग सल्लाह लिए र उनीहरूले उनलाई सहायता दिए।
8 तर सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका विशेष अङ्गरक्षकहरूचाहिँ अदोनियाहतर्फ लागेनन्।
9 तब अदोनियाहले एन-रोगेलनेरको जोहेलेत भन्ने ढुङ्गामा भेड़ाहरू, गाई-गोरुहरू र पोसिएका बाछाहरू बलिदान चढ़ाए। उनले आफ्ना सबै राजकुमार भाइहरू र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्तो दिए,
10 तर उनले नातान अगमवक्ता, बनायाह, विशेष अङ्गरक्षकहरू र आफ्ना भाइ सोलोमनलाई निम्तो दिएनन्।
11 तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के तपाईंले सुन्नुभएको छैन, कि हाम्रा मालिक दाऊदले थाहा नपाईकनै हग्गीतका छोरा अदोनियाह राजा भएछन्।
12 अब सुन्नुहोस्, तपाईंको आफ्नै र तपाईंका छोरा सोलोमनको ज्यान कसरी बचाउन सकिन्छ सो म तपाईंलाई सल्लाह दिनेछु।
13 गएर दाऊद राजासँग भेटेर उहाँलाई यसो भन्नुहोस्, ‘हे प्रभु मेरा महाराजा, के हजूरले आफ्नी दासीसँग यसो भनेर शपथ खानुभएको थिएन, “निश्चय नै तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ र त्यो नै मेरो सिंहासनमा बस्नेछ? तब किन अदोनियाह राजा भयो त?”
14 जब तपाईं राजासँग कुरा गरिरहनुभएको हुन्छ त्यसै बेलामा म भित्र आउनेछु, र तपाईंले भन्नुभएको कुराको पुष्टि गरिदिनेछु।”
15 तब बतशेबा वृद्ध राजासित भेट गर्न कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहारसुसार गर्दैथिई।
16 बतशेबा निहुरेर राजाको सामु घुँड़ा टेकिन्। राजाले भने, “तिमीलाई के चाहियो?”
17 तिनले राजालाई भनिन्, “हे मेरा प्रभु, हजूरले आफ्नी दासीसँग परमप्रभु हजूरका परमेश्वरको नाउँमा यस्तो शपथ खानुभएको थियो, ‘मपछि तिम्रो छोरो सोलोमन राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्नेछ’।
18 तर अहिले अदोनियाह पो राजा भइसकेछ। यो कुरा प्रभु मेरा महाराजालाई थाहै छैन।
19 त्यसले धेरै संख्यामा गाईबस्तुहरू र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएको छ, र सबै राजकुमारहरू अबियाथार पूजाहारी र सेनापति योआबलाई निम्तो दिएछ, तर हजूरको दास सोलोमनलाई चाहिँ निम्तो दिएनछ।
20 अब हे मेरा प्रभु महाराजा, हजूरपछि सिंहासनमा को विराजमान हुनेछ भनेर हजूरबाट जान्नलाई सारा इस्राएलले हजूरलाई हेरिरहेका छन्।
21 नत्रता जब हजूर आफ्ना पितृहरूसित सुतिजानुहुनेछ, तब म र मेरो छोरो सोलोमनलाई अपराधीझैँ व्यवहार गरिनेछ।”
22 तिनी राजासँग कुरा गरिरहेकै बेलामा नातान अगमवक्ता आइपुगे।
23 “नातान आएका छन्” भनी तिनीहरूले राजालाई सुनाइदिए। तब नातान आएर भूइँसम्मै निहुरेर राजालाई दण्डवत् गरे।
24 नातानले भने, “हे मेरा प्रभु महाराजा, के अदोनियाह हजूरपछि राजा हुनेछन्, र हजूरको सिंहासनमा उनी नै बस्नेछन् भनी हजूरले घोषणा गर्नुभएको हो?
25 उनले आज तल गएर धेरै गाई-गोरु र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएका छन्। उनले सबै राजकुमारहरू, सेनापतिहरू र अबियाथार पूजाहारीलाई भोजमा निम्तो दिएका छन्। अनि अहिले यसै बेला उनीहरू उनीसँगै खाँदै, पिउँदै र यसो भनिरहेका छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्।’
26 तर उनले हजूरको दास मलाई र सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह र हजूरको दास सोलोमनलाई निम्तो दिएनन्।
27 के यो हजूरको आज्ञाद्वारा भएको हो? अनि हामी हजूरका दासहरूलाई चाहिँ हजूरपछि सिंहासनमा को बस्ने हो भनी हजूरले थाहा नै दिनुभएको छैन?”
28 तब दाऊद राजाले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसैले तिनी राजाको सामुन्ने आएर उभिन्।
29 तब राजाले यसो भनेर शपथ खाए, “मेरा सबै दु:खबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु:
30 परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा मैले शपथ खाएर तिमीलाई भनेको थिएँ, ‘तिम्रो छोरो सोलोमन नै मपछि राजा हुनेछ, र मेरो सिंहासनमा मेरो सट्टामा बस्नेछ’। आजको दिन म यो शपथलाई पूरा गर्नेछु।”
31 तब बतशेबाले राजाको सामुन्ने घुँड़ा टेकेर निहुरेर भूइँमा घोप्टो परी भनिन्, “मेरा प्रभु महाराजा दाऊद दीर्घायु होऊन्।”
32 दाऊद राजाले भने, “सादोक पूजाहारी, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु हाजिर भए,
33 राजाले तिनीहरूलाई भने, “तिमीहरूका प्रभुका सेवकहरूलाई तिमीहरूसँग लैजाओ र मेरो छोरो सोलोमनलाई राजाको खच्चरमा सवार गराएर गीहोनसम्म साथै लैजाओ।
34 त्यहाँ सादोक पूजाहारी र नातान अगमवक्ताले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तुरही बजाओ र यसो भनेर कराओ, “राजा सोलोमन अमर रहोस्।”
35 तब तिमीहरू त्योसँग उक्लेर आओ, र त्यो भित्र पसेर मेरो सिंहासनमा बसोस्, र मेरो सट्टामा त्यसले राज्य गरोस्। इस्राएल र यहूदामाथि शासन गर्नलाई मैले त्यसलाई नियुक्त गरेको हो।”
36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! परमप्रभु मेरा मालिक महाराजाका परमेश्वरले यस्तै घोषणा गरून्।
37 जसरी मेरा महाराजासँग परमप्रभु हुनुहुन्थ्यो, त्यसरी नै उहाँ सोलोमनसँग पनि होऊन्, र तिनको सिंहासन मेरा प्रभु महाराजा दाऊदको सिंहासनभन्दा पनि उच्च बनाऊन्।”
38 तब सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरू तल झरेर सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराए, र तिनलाई गीहोनसम्म साथ दिए।
39 सादोक पूजाहारीले पवित्र पालबाट तेल राख्ने सीङ लिएर सोलोमनलाई तेलले अभिषेक गरे। तब तिनीहरूले तुरही फुके, र सबै मानिसहरूले कराएर भने, “राजा सोलोमन अमर रहून्।”
40 अनि सबै मानिसहरू अत्यन्त हर्ष मनाउँदै, बाँसुरी बजाउँदै तिनको पछिपछि माथि उक्ले। तिनीहरूको हल्लाले जमिनै थर्क्यो।
41 अदोनियाह र उनका अतिथिहरूले खाइसकेका मात्र थिए, तब उनीहरूले त्यो हल्ला सुने। तुरहीको आवाज सुनेर योआबले सोधे, “सहरमा यो केको हल्ला हो?”
42 जब उनी यसो भनेर बोल्दैथिए, अबियाथार पूजाहारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्ता योग्य मानिसले असल समाचार ल्याएको हुनुपर्छ।”
43 जोनाथनले जवाफ दिए, “अँहँ, होइन। साँच्चै, हाम्रा प्रभु राजा दाऊदले सोलोमनलाई राजा तुल्याउनुभएको छ।
44 तिनका साथमा सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरूलाई पठाउनुभएको छ, र तिनीहरूले तिनलाई राजाको खच्चरमा सवार गराए,
45 अनि सादोक पूजाहारी र नातान अगमवक्ताले तिनलाई गीहोनमा राजा अभिषेक गरेका छन्। त्यहाँबाट तिनीहरूले तिनलाई अहिले धूमधामसाथ आनन्द मनाउँदै माथि पुर्याएका छन्, र सहरमा हल्ला भइरहेछ। त्यही आवाज तपाईंहरूले सुन्नुभएको हो।
46 त्यसभन्दा अझ बढ़ी के भयो भने, राजाको सिंहासनमा सोलोमन विराजमान भएका छन्।
47 अनि राजकीय अधिकारीहरू पनि हाम्रा प्रभु दाऊद महाराजालाई यसो भनेर अभिवादन गर्नलाई गएका छन्, ‘हजूरका परमेश्वरले हजूरका छोरा सोलोमनको नाउँ हजूरको भन्दा अझ प्रसिद्ध गराऊन्, र उहाँको सिंहासन हजूरको भन्दा पनि अझ प्रतापी बनाऊन्।’ अनि राजाले आफ्नो पलङ्गमा बसेर नै दण्डवत् गरेर भने,
48 ‘परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मलाई मेरा आँखाले आज मेरो सिंहासनमा एउटा उत्तराधिकारीलाई हेर्न दिनुभयो’।”
49 यसैले अदोनियाहका अतिथि सबै तर्सेर जर्याकजुरुक उठेर तितरबितर भए।
50 तर अदोनियाह आफैचाहिँ सोलोमनदेखि डराएर उठे, र गएर वेदीका सीङहरू समाते।
51 तब कसैले गएर यो समाचार सोलोमनलाई सुनाए, “अदोनियाह सोलोमन राजादेखि डराएका छन्, र उनले वेदीका सीङहरू समातिराखेका छन्। उनी भन्छन्, ‘राजा सोलोमनले आफ्नो दासलाई “म तरवारले मार्नेछैनँ,” भनी आज शपथ खाएर मलाई भनून्’।”
52 सोलोमनले जवाफ दिए, “यदि उनले आफूलाई एक योग्य मानिस हुन् भनी प्रमाण दिन सके भने उनको कपालको एउटा केश पनि भूइँमा खस्नेछैन। तर उनमा दुष्टता पाइयो भनेता उनी निश्चय नै मारिनेछन्।”
53 तब सोलोमन राजाले मानिसहरू पठाएर उनलाई वेदीबाट तल ल्याए। अनि अदोनियाह आएर राजा सोलोमनलाई दण्डवत् गरे। सोलोमनले भने, “तिमी आफ्नो घरमा जाऊ।”
यूहन्ना 14 : 26
26 तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।
२ शमूएल 12 : 1 – 31
1 परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो, र तिनी दाऊदको उपस्थितिमा हाजिर भएर तिनले भने, “एक पल्ट एउटा सहरमा दुई जना मानिस थिए, एक जना धनी र अर्कोचाहिँ गरीब।
2 धनी मानिसका धेरै भेड़ाबाख्राका बगाल र गाई-गोरुका बथान थिए,
3 तर त्यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालनपोषण गर्यो, र आफ्नै घरमा आफ्नै छोराछोरीसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो, र उसकै कचौरामा पिउँथ्यो, र उसकै काखमा सुत्दथ्यो। त्यसलाई उसले आफ्नो छोरीलाई जस्तै गर्थ्यो।
4 “एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो, अनि त्यस धनी मानिसले पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, तर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो।”
5 दाऊदलाई त्यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ!
6 त्यसले दयामाया नगरेर यस्तो काम गरेबापत त्यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।”
7 तब नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ।
8 मैले तँलाई तेरा मालिकको घर र त्यसका पत्नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ।
9 तर तैंले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई तुच्छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्यसकी पत्नीलाई आफ्नी बनाउन लगिस्। तैंले त्यस मानिसलाई अम्मोनीहरूको तरवारले मर्न दिइस्।
10 तैंले मलाई तुच्छ ठानेको हुनाले र हित्ती उरियाहकी पत्नीलाई तैंले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले, तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन’।
11 “परमप्रभु भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाभित्रबाट तँमाथि विपद् ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाको सामुन्ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्यो दिउँसै तिनीहरूसित सुत्नेछ।
12 तैंले जे गरिस् त्यो गुप्तमा गरिस्, तर म योचाहिँ सारा इस्राएलले देख्ने गरी दिनको उज्यालोमा गर्नेछु’।”
13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन।
14 तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्मेको छोरोचाहिँ मर्नेछ।”
15 नातान आफ्नो घरमा गएपछि उरियाहकी पत्नीले दाऊदबाट जन्माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्यो बिरामी पर्यो।
16 दाऊदले त्यस बालकको निम्ति परमप्रभुसित बिन्ती गरे। तिनी उपवास बसे, र आफ्नो घरभित्र गएर भूइँमा लड़ेर रात बिताए।
17 घरका ठूलाबड़ाहरूले तिनलाई भूइँबाट उठाउने चेष्टा गरे, तर तिनले इन्कार गरे, र तिनीहरूसित केही पनि खाने मन गरेनन्।
18 सातौँ दिनमा बालक मर्यो। दाऊदका नोकरहरूले तिनलाई बालक मरेको कुरा बताउन डराए। तिनीहरूले भने, “बालक जिउँदो हुँदा हामीले उहाँलाई भन्यौं, अनि उहाँले हाम्रो कुरा सुन्नुभएन। अब हामी उहाँलाई कसरी बालक मरेको खबर दिनु? उहाँले आफ्नो केही हानि गर्नुहुन्छ होला।”
19 तर आफ्ना नोकरहरूले साउती गरिरहेका दाऊदले देखे, र बालक मरेछ भनी अनुमान लगाए। तिनले सोधे, “बालक मर्यो?” अनि तिनीहरूले जवाफ दिए, “हो, तिनी मरे।”
20 तब दाऊद भूइँबाट उठे, स्नान गरेर तेल लाए, वस्त्र फेरे। अनि परमप्रभुको भवनमा गएर तिनी घोप्टो परेर दण्डवत् गरे। त्यसपछि तिनी घर गए, भोजन ल्याउने हुकुम गरे र त्यो तयार भएपछि तिनले खाए।
21 तिनका नोकरहरूले तिनलाई सोधे, “यो के हो? जब बालक जिउँदा थिए तब तिनको निम्ति हजूर उपवास बस्नुभयो, र विलाप गर्नुभयो। तर अब तिनी मरे, र हजूर त उठेर भोजन गर्नुहुन्छ।”
22 तिनले जवाफ दिए, “जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्छ र बालक बाँच्छ होला भनी विचार गरेर म उपवास बसें, र रोएँ।
23 तर अब त्यो मरिहाल्यो, त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काई ल्याउन सक्छु र? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउनेछैन।”
24 तब दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए। दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ सोलोमन राखियो। परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो,
25 अनि परमप्रभुले त्यसलाई प्रेम गर्नुभएको हुनाले त्यसको नाउँ यददीयाह राखिओस् भनी नातान अगमवक्ताद्वारा उहाँले दाऊदलाई समाचार पठाउनुभयो।
26 त्यसपछि योआबले अम्मोनीहरूको सहर रब्बालाई चढ़ाइ गरेर राजाको किल्ला कब्जा गरे।
27 तिनले यस्तो खबर दिएर मानिसहरू दाऊदकहाँ पठाए, “मैले रब्बालाई चढ़ाइ गरेर त्यसको जलस्रोत लिएँ।
28 तपाईंले बाँकी सेनालाई जम्मा गरेर आफैले सहरलाई घेरा हालेर त्यो लिनुहोस्। नत्रता म त्यस सहरलाई लिनेछु, र मेरै नाउँले त्यो कहलाइनेछ।”
29 त्यसैकारण दाऊदले सारा सेना जम्मा गरे, र रब्बा सहरमा गए, अनि त्यसलाई आक्रमण गरेर लिए।
30 तिनले उनीहरूका राजाको शिरबाट शिरपेच उतारे। त्यो एउटा बहुमूल्य रत्न जड़ेको सुनको थियो, र त्यसको ओजन एक तोड़ा [1] थियो, अनि त्यो दाऊदको शिरमा राखियो। तिनले सहरबाट औधी धेरै लूटका माल ल्याए।
31 तिनले त्यहाँका बासिन्दाहरूलाई लगेर आरा, र फलामका अरू किसिमका हतियारहरू र बन्चराहरूले काम गर्न लगाए, अनि इँटका भट्टीहरूमा पनि इँट बनाउन लाए। दाऊदले अम्मोनीहरूका सबै सहरहरूमा यस्ता काम गर्न लगाए। त्यसपछि दाऊद र तिनका सबै फौज यरूशलेममा फर्के।
भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ।
भजनसंग्रह 46 : 1
1 सङ्गीत-निर्देशकको निम्ति अलामोत [1] नामक कोरहवंशीको भजन [1] परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता।
Leave a Reply