यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशू दया
यूहन्ना 12 : 1 – 50
1 निस्तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो।
2 तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एक जना थिए।
3 तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्ना केशले पुछिन्, र अत्तरको बास्नाले घर भरियो।
4 तर उहाँका चेलाहरूमध्ये एक जना, अर्थात् उहाँलाई पक्राउन खोज्ने यहूदा इस्करियोतले भन्यो,
5 “यो अत्तर तीन सय चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो?”
6 तर त्यसले गरीबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि त्यो चोर थियो, र पैसाको थैलो त्यसैले राख्थ्यो, अनि त्यहाँबाट चोर्ने गर्थ्यो।
7 येशूले भन्नुभयो, “यिनलाई केही नभन, मेरो दफन-दिनको लागि यिनलाई त्यो राखिछोड्न देऊ।
8 किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुन्नँ।”
9 यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए।
10 यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे।
11 किनभने तिनैले गर्दा यहूदीहरूमध्ये धेरै जना छुटिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए।
12 भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो,
13 र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
14 अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
15 “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”
16 यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे।
17 उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे।
18 उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो।
19 तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
20 चाड़मा आराधना गर्न जानेहरूमध्ये कोही-कोही ग्रीकहरू पनि थिए।
21 तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्ती गरे, “हजूर, हामी येशूलाई भेट्न चाहन्छौ।”
22 फिलिपले गएर अन्द्रियासलाई भने, र अन्द्रियास र फिलिप गएर येशूलाई भने।
23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ।
24 साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ।
25 आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ
26 कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।
27 “अब मेरो प्राण व्याकुल भएको छ, र म के भनूँ? ‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्’? होइन, यसै कारणले नै म यस घड़ीसम्म आइपुगेको छु।
28 हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस्।” तब स्वर्गबाट यस्तो एउटा आवाज आयो, “मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु।”
29 त्यहाँ खड़ा भएको भीड़ले यो सुनेर भन्यो, “यो मेघ गर्जन हो!” अरूहरूले भने, “स्वर्गदूत उनीसँग बोलेका हुन्!”
30 येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्ति भएको होइन, तर तिमीहरूका निम्ति हो।
31 अब यस संसारको न्याय हुन्छ। यस संसारको शासक बाहिर फालिनेछ।
32 अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबै मानिसलाई आफूतिर खिँच्नेछु।”
33 उहाँको मृत्यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्नुभएको थियो।
34 भीड़ले उहाँलाई सोध्यो, “ख्रीष्ट सदासर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौं। तपाईं कसरी भन्न सक्नुहुन्छ, मानिसको पुत्र उचालिनैपर्छ? यो मानिसको पुत्रचाहिँ को हो?”
35 येशूले तिनीहरूलाई भन्नुभयो, “अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग छ। ज्योति तिमीहरूसँग छउञ्जेल हिँड्डुल गर, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। कोही अन्धकारमा हिँड्डुल गर्छ भने, त्यसले आफू कहाँ गइरहेछु, सो थाहा पाउँदैन।
36 जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर, र तिमीहरू ज्योतिका सन्तान होओ।” यी कुरा भन्नुभएपछि, येशू त्यहाँबाट जानुभयो, र तिनीहरूबाट लुकेर बस्नुभयो।
37 उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्।
38 यो आवश्यक थियो, कि यशैया अगमवक्ताको वचन पूरा होस्, “हे परमप्रभु, हाम्रो सन्देश कसले विश्वास गर्यो? अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?”
39 यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यशैयाले फेरि यसो भनेका छन्,
40 “उहाँले तिनीहरूका आँखा बन्द गरिदिनुभएको छ, र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, यसरी तिनीहरूले आँखाले नदेखून्, अनि हृदयले नबुझून्, नत्रता तिनीहरू फर्कनेछन् र मैले तिनीहरूलाई निको पार्नुपर्छ।”
41 यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे, र उहाँको विषयमा भने।
42 तरै पनि शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे, तर फरिसीहरूको डरले गर्दा, र तिनीहरूले सभाघरबाट निकालिदिन्छन् भन्ने डरले त्यो स्वीकार गरेनन्।
43 किनभने परमेश्वरको प्रशंसाभन्दा मानिसको प्रशंसा तिनीहरू बढ़ी रुचाउँथे।
44 येशूले उच्च स्वरले भन्नुभयो, “मलाई विश्वास गर्नेले मलाई होइन, तर मलाई पठाउनुहुनेमाथि विश्वास गर्दछ।
45 जसले मलाई देख्तछ, त्यसले मलाई पठाउनुहुनेलाई देख्तछ।
46 म संसारमा ज्योति भएर आएको छु, ताकि ममाथि विश्वास गर्ने अन्धकारमा नरहोस्।
47 “कसैले मेरा वाणी सुन्छ, र ती पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ। किनभने म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ।
48 मलाई इन्कार गर्ने र मेरा वाणी ग्रहण नगर्नेको लागि एक जना न्यायाधीश छन्। जो वचन मैले बोलें त्यसैले अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ।
49 किनभने मैले आफ्नै तर्फबाट बोलिनँ, तर मैले के भन्नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउनुहुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ।
50 म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो। यसकारण म जे बोल्दछु, पिताले मलाई भन्नुभएअनुसार बोल्दछु।”
हिब्रू 12 : 1 – 29
1 यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं।
2 हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।
3 पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।
4 पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ।
5 के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ,
6 किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताड़ना दिनुहुन्छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।”
7 ताड़नाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ। परमेश्वरले तिमीहरूसँग छोरालाई झैँ व्यवहार गर्नुहुन्छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्छ र?
8 तर यदि सबै जना सहभागी भएको त्यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्ना बाबुका खास छोराहरू होइनौ, तर व्यभिचारमा जन्मेका छोराहरू हौ।
9 यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्यौं। के झन् बढ़ी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र?
10 किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्ति उहाँले ताड़ना दिनुहुन्छ।
11 सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ।
12 यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ।
13 तिमीहरू हिँड्ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्कोस्, तर निको होस्।
14 सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन।
15 ध्यान देओ, कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्यसले फूट नल्याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्।
16 कोही पनि दुराचारी वा एसावजस्तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो।
17 तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो। किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो।
18 तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्ड अग्नि, कालो बादल, घोर अन्धकार अथवा आँधीको नजिक पनि आएका छैनौ।
19 तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्द सुन्नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्” भनी बिन्ती गरे।
20 किनभने “यदि कुनै जनावरले त्यो पर्वत छोए, त्यसलाई ढुङ्गाले हानेर मार्नू” भन्ने आज्ञा तिनीहरूले सहन सकेनन्।
21 र त्यहाँको दृश्य यस्तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्दछु” भनेका थिए।
22 तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा, र असंख्य स्वर्गदूतहरूको आनन्द-उत्सवमा आएका छौ।
23 स्वर्गमा नाउँ दर्ता भएका पहिला जन्मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्माका बीचमा,
24 र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्दा अझ उत्तम वचन बोल्दछ।
25 होशियार बस, जो बोल्दैहुनुहुन्छ, उहाँलाई तिमीहरू इन्कार नगर। किनकि यदि पृथ्वीमा चेताउनी दिनुहुनेलाई इन्कार गर्नेहरू उम्केनन् भने स्वर्गबाट चेताउनी दिनुहुनेलाई अस्वीकार गर्यौं भने हामी कसरी उम्कन सक्छौं?
26 उहाँको सोरले त्यस बेला पृथ्वी काम्यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्ट, पृथ्वी मात्र होइन, तर स्वर्गलाई समेत म हल्लाउनेछु।”
27 “अझ एक पल्ट” भन्ने वचनले यो देखाउँछ, कि हल्लाउन सकिने कुराहरू, अर्थात् सृष्टि भएका कुराहरू हटाइनेछन्, तर हल्लाउन नसकिने कुराहरू स्थिर रहनेछन्।
28 यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ होऔं। त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणयोग्य हुने आराधना चढ़ाऔं।
29 किनभने हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ।
यूहन्ना 8 : 1 – 59
1 तर येशू जैतून डाँड़ामा जानुभयो।
2 उहाँ एकाबिहानै फेरि मन्दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो।
3 शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए, र त्यसलाई माझमा उभ्याए।
4 तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी।
5 व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईं यसको बारेमा के भन्नुहुन्छ?”
6 तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो।
7 तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।”
8 अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्नुभयो।
9 तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्म एक-एक गरेर गए, र येशू त्यस स्त्रीसँग एकलै छोडिनुभयो, अनि त्यो स्त्रीचाहिँ उहाँको अगि उभिरही।
10 येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन?”
11 त्यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।”]
12 येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
13 तब फरिसीहरूले उहाँलाई भने, “तिमी आफ्नै विषयमा गवाही दिइरहेछौ। तिम्रो गवाही सत्य ठहर्दैन।”
14 येशूले जवाफ दिनुभयो, “म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ। म जान्दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु। तर तिमीहरू जान्दैनौ, म कहाँबाट आउँछु, वा कहाँ गइरहेछु।
15 तिमीहरू मानव दृष्टिले न्याय गर्दछौ। म कसैको न्याय गर्दिनँ।
16 मैले न्याय गरें भने पनि, मेरो न्याय सत्य ठहरिन्छ। किनभने न्याय गर्ने म एकलै छैनँ, तर म छु, र मलाई पठाउनुहुने पिता हुनुहुन्छ।
17 तिमीहरूको व्यवस्थामा पनि दुई मानिसको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।
18 आफ्नो विषयमा म आफै गवाही दिन्छु, र मलाई पठाउनुहुने पिताले मेरो विषयमा गवाही दिनुहुन्छ।”
19 तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।”
20 यी कुरा उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्नुभएको हो। अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन।
21 उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म गइहाल्छु, र तिमीहरूले मलाई खोज्नेछौ, र तिमीहरू आफ्ना पापमा मर्नेछौ। जहाँ म जान्छु, तिमीहरू आउन सक्दैनौ।”
22 यहूदीहरूले भने, “यिनले त आत्महत्या पो गर्ने हुन् कि क्या हो? किनभने यिनले ‘जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ’ भनी भन्छन्।”
23 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ। म माथिको हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइनँ।
24 मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने आफ्ना पापमा मर्नेछौ’।”
25 तिनीहरूले उहाँलाई सोधे, “तिमी को हौ त?” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ, जो मैले तिमीहरूलाई सुरुदेखि नै भन्दैछु।
26 मैले तिमीहरूका विषयमा भन्नु र न्याय गर्नु धेरै नै छ। तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ, र उहाँबाट मैले जे सुनें ती नै कुरा म संसारलाई भन्दछु।”
27 पिताको विषयमा उहाँले भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्।
28 यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्दछु भनी जान्नेछौ।
29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ। उहाँले मलाई एकलै छोड्नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।”
30 उहाँले यी कुरा बोल्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे।
31 येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ।
32 तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तान हौं, र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौं। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी कसरी भन्छौ?”
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो।
35 कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ।
36 यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ।
37 म जान्दछु, तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न खोज्दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन।
38 जे-जे मैले मेरा पिताको उपस्थितिमा देखेको छु, त्यही म भन्दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्यही गर्दछौ।”
39 तिनीहरूले उहाँलाई भने, “हाम्रा पिता त अब्राहाम हुन्।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, अब्राहामले जे काम गरे त्यही गर्नेथियौ।
40 मैले परमेश्वरबाट सुनेको सत्य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मार्न खोज्दछौ। अब्राहामले यस्तो काम गरेनन्।
41 तिमीहरूका पिताले जे गरे तिमीहरू त्यही काम गर्दछौ।” तिनीहरूले उहाँलाई भने, “हामी व्यभिचारमा जन्मिएका होइनौं! हाम्रा पिता एउटै हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ।”
42 येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्वरबाट निस्किआएँ। म आफ्नै इच्छाले आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो।
43 मैले भनेको तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्न सक्दैनौ।
44 तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो।
45 म सत्य बोल्दछु, तर तिमीहरू मलाई विश्वास गर्दैनौ।
46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ? यदि म सत्य बोल्दछु भने, किन तिमीहरू ममाथि विश्वास गर्दैनौ?
47 जो परमेश्वरको हो, त्यसले परमेश्वरका वाणी सुन्दछ। तिमीहरू परमेश्वरका होइनौ, यसैकारण तिमीहरू सुन्दैनौ।”
48 यहूदीहरूले उहाँलाई जवाफ दिए, “के हाम्रो यो भनाइ ठीक होइन, कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ?”
49 येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु, र तिमीहरू मेरो अनादर गर्दछौ।
50 तर म आफ्नै महिमा खोज्दिनँ, एक जना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ।
51 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”
52 यहूदीहरूले उहाँलाई भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत लागेकै हो। अब्राहामको मृत्यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्दछौ, ‘कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु चाख्नेछैन।’
53 के हाम्रा पुर्खा अब्राहामभन्दा तिमी महान् हौ? उनको मृत्यु भयो, अनि अगमवक्ताहरू पनि मरे। तिमीचाहिँ आफैलाई को हुँ भनी दाबी गर्छौ?”
54 येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरें भने मेरो महिमा व्यर्थै हुन्छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू ‘हाम्रा परमेश्वर’ भन्दछौ।
55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु। म उहाँलाई चिन्दिनँ भन्छु भने म तिमीहरूसरह झूटा ठहरिनेछु। तर म उहाँलाई चिन्दछु, र उहाँको वचन पालन गर्दछु।
56 तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए, र तिनले देखे अनि रमाए।”
57 यसकारण यहूदीहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहामलाई देखेका छौ?”
58 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु।”
59 तब तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो।
यूहन्ना 9 : 1 – 41
1 त्यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्मैको अन्धालाई देख्नुभयो।
2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?”
3 येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्।
4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन।
5 म संसारमा रहुञ्जेल म संसारको ज्योति हुँ।”
6 यी कुरा भनेर उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो।
7 अनि उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्यसले गएर पखाल्यो, र देख्ने भएर फर्क्यो।
8 त्यसका छिमेकीहरू र त्यसलाई भीख मागेको देख्नेहरूले भने, “बसेर भीख माग्ने मान्छे के यही होइन?”
9 कसै-कसैले भने, “यो त्यही हो।” अरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ।” त्यसले भन्यो, “म त्यही हुँ।”
10 तब तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
11 त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्ने भएँ।”
12 तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन् त?” त्यसले भन्यो, “म जान्दिनँ।”
13 अघि अन्धो हुने त्यस मान्छेलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।
14 जुन दिन येशूले माटोको लेप बनाएर त्यसका आँखा खोलिदिनुभएको थियो त्यो शबाथ-दिन थियो।
15 फरिसीहरूले त्यसलाई सोधे, “तँ कसरी देख्ने भइस्?” त्यसले तिनीहरूलाई भन्यो, “उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनुभयो, अनि मैले पखालें र देख्ने भएँ।”
16 फरिसीहरूमध्ये कुनै-कुनैले भने, “त्यो मानिस परमेश्वरबाट आएको होइन, किनकि त्यसले शबाथ-दिन पालन गर्दैन।” तर अरूहरूले भने, “कसरी पापी मानिसले यस्ता चिन्हहरू गर्न सक्तछ?” र तिनीहरूका बीचमा फाटो हुन गयो।
17 तिनीहरूले त्यस अन्धालाई फेरि सोधे, “उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा तँ के भन्छस्?” त्यसले जवाफ दियो, “उहाँ अगमवक्ता हुनुहुन्छ।”
18 दृष्टि पाउने मानिसका आमा-बाबुलाई बोलाएर नसोधुञ्जेल यहूदीहरूले त्यो अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेनन्।
19 तब तिनीहरूले उनीहरूलाई सोधे, “के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मेको थियो भनी तिमीहरू भन्छौ? त अब कसरी त्यो देख्न सक्ने भयो?”
20 त्यसका आमा-बुबाले तिनीहरूलाई भने, “हामी जान्दछौ यो हाम्रो छोरो हो, र अन्धो जन्मेको थियो।
21 तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौं, अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौं। यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा त्यो आफै बोल्नेछ।”
22 त्यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्ट भनी स्वीकार गर्यो भने, त्यसलाई सभाघरबाट निकाल्नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए।
23 यसैकारण त्यसका आमा-बुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।”
24 तब तिनीहरूले त्यस अन्धो मानिसलाई दोस्रो पल्ट बोलाएर भने, “परमेश्वरलाई महिमा दे। हामी जान्दछौं यो मान्छे पापी हो।”
25 त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ। एउटै कुरा मात्र म जान्दछु कि म अन्धो थिएँ, तर अब देख्दछु।”
26 तब तिनीहरूले त्यसलाई भने, “उसले तँलाई के गर्यो? उसले तेरा आँखा कसरी खोलिदियो?”
27 त्यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ कि कसो?”
28 तिनीहरूले त्यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं।
29 हामीलाई थाहा छ मोशासँग परमेश्वरले बोल्नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।”
30 त्यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्यो, “कस्तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्नुहुन्न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो।
31 हामी जान्दछौ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ।
32 संसार सुरु भएदेखि यसो जन्मैको अन्धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्यै सुनिएन।
33 यदि यी मानिस परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
34 तिनीहरूले त्यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्छस्?” अनि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
35 तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएर भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?”
36 त्यसले जवाफ दिई भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्वास गर्नेछु?”
37 येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्ने उही नै हो।”
38 तब त्यसले भन्यो, “प्रभु, म विश्वास गर्दछु”, र त्यसले उहाँलाई दण्डवत् गर्यो।
39 अनि येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, कि नदेख्नेहरूले देखून् र देख्नेहरूचाहिँ अन्धा होऊन्।”
40 यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्धा हौं त?”
41 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अन्धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्छौं’ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।”
Leave a Reply