यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मुस्कान
हितोपदेश 15 : 13 – 14
13 आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ।
14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ।
हितोपदेश 17 : 22
22 प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।
भजनसंग्रह 139 : 1 – 24
1 सङ्गीत निर्देशकको निम्ति दाऊदको भजन [1] हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ।
2 तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, टाढ़ैबाट मेरो विचार बुझ्नुहुन्छ।
3 तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुनुहुन्छ।
4 मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै, हे परमप्रभु, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ।
5 तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्नो बाहुली ममाथि राख्नुभएको छ।
6 यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, यो प्राप्त गर्न मेरो निम्ति अति गाह्रो छ।
7 तपाईंका आत्माबाट म कहाँ अलग्ग जान सक्छु? अथवा तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु?
8 म आकाशमा गएँ भने, तपाईं त्यहाँ हुनुहुन्छ, गहिराइमा आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।
9 प्रभातको पखेटामा उड़ेर समुद्रको पल्लो किनारमा गएर बसें भने पनि,
10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ।
11 यदि म भनूँ, “अँध्यारोले मलाई छोप्नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ,”
12 तापनि अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन, रात त दिनको उज्यालोजस्तै चम्कनेछ, किनभने अन्धकार तपाईंको निम्ति ज्योतिजस्तै हो।
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
15 जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
17 हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति बहुमूल्य छन्! तिनको सङ्ख्या कति महान् छ!
18 तिनलाई मैले गन्नुपरेमा, ती बालुवाका कणहरूभन्दा बढ़ी हुनेथिए। जब म बिउँझन्छु, तब म तपाईंसँगै हुन्छु।
19 हे परमेश्वर, दुष्टहरूलाई विनाश गर्नुभए कति असल हुनेथियो! हे रक्तपिपासु मानिस हो, मबाट दूर होओ!
20 तिनीहरू तपाईंको विरुद्धमा दुष्ट नियतले बोल्छन्, र तपाईंका शत्रुहरूले तपाईंका नाउँको दुरुपयोग गर्छन्।
21 हे परमप्रभु, तपाईंलाई घृणा गर्नेलाई के म घृणा गर्दिनँ? र तपाईंको विरुद्धमा उठ्नेहरूलाई, के म हेलाको दृष्टिले हेर्दिनँ?
22 तिनीहरूका निम्ति मेरो हृदयमा घृणाबाहेक अरू केही छैन, म तिनीहरूलाई मेरा शत्रु ठान्दछु।
23 हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्। मलाई जाँच्नुहोस्, र मेरा चिन्ताहरूलाई जान्नुहोस्।
24 हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोर्याइदिनुहोस्।
उत्पत्ति 6 : 1 – 22
1 जब मानिसहरूको संख्या पृथ्वीमा बढ्दैगयो र तिनीहरूका छोरीहरू जन्मे,
2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आ-आफ्ना रुचिका पत्नीहरू ल्याए।
3 तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।”
4 त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलीमहरू थिए। परमेश्वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।
5 पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।
6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो।
7 त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”
8 तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।
9 नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे।
10 नोआका तीन जना छोराहरू जन्मे— शेम, हाम र येपेत।
11 परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।
12 जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए।
13 यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु।
14 तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नू।
15 तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्।
16 जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्यसको एकापट्टि राख्नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनू।
17 जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ।
18 तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्।
19 सबै जीवित प्राणीमध्ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्।
20 पक्षीहरूमध्ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्।
21 हरेक किसिमका आहारा पनि तैंले आफ्नो साथमा जम्मा गरेर राख्नू। ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन्।”
22 परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।
यशैया 51 : 11
11 परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गीत गाउँदै पस्नेछन्, र तिनीहरूका शिरको मुकुट सदासर्वदाको आनन्द हुनेछ। तिनीहरूले आनन्द र हर्ष प्राप्त गर्नेछन्। अनि शोक र सुस्केरा दूर हुनेछ।
२ शमूएल 1 : 1 – 27
1 अमालेकीहरूमाथिको विजयपछि दाऊद फर्के र तिनले दुई दिन सिक्लगमा बिताए।
2 शाऊलका मृत्युको तेस्रो दिन आफ्नो लुगा च्यातेको र टाउकोमा धूलो हालेको एक जना मान्छे शाऊलको शिविरबाट आयो। जब त्यो दाऊदको सामु आइपुग्यो, त्यसले भूइँमा घोप्टो परेर दाऊदलाई दण्डवत् गर्यो।
3 दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलको शिविरबाट उम्केर आएको हुँ।”
4 अनि दाऊदले त्यसलाई फेरि सोधे, “समाचार के छ त?” “मलाई भन्।” त्यसले भन्यो, “सेना रणभूमिबाट खेदियो, र लड़ाइँमा धेरै जना मारिए। शाऊल र उनका छोरा जोनाथन पनि मारिए।”
5 दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई सोधे, “शाऊल र जोनाथन मारिए भनी तैंले कसरी जानिस्?”
6 त्यस मानिसले भन्यो, “म गिल्बो डाँड़ामा थिएँ, अनि शाऊल आफ्नो भालामाथि झुकेका मैले देखें। अनि रथहरू र घोड़चढ़ीहरू उनको ठीक पछि मात्र थिए।
7 पछि फर्केर हेर्दा उनले मलाई देखे, र मलाई बोलाए। मैले भनें, ‘हजूर, के हो?’
8 “उनले मलाई ‘तँ को होस्?’ भनी सोधे। मैले ‘म एक अमालेकी हुँ’ भनें।
9 “तब उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई खतम गर्। म जिउँदै छु, तरै पनि मृत्युको मुखैमा पुगिसकेको छु’।
10 “यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्दैनन् भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्याएको छु।”
11 यो कुरा सुनेर दाऊदले आफ्नो लुगा च्याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे।
12 अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्मै उपवास बसे।
13 तब दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म एक विदेशीको छोरो, एक अमालेकी हुँ।”
14 दाऊदले भने, “परमप्रभुका अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन?”
15 तब तिनले आफ्ना मानिसहरूमध्येको एक जनालाई त्यस मानिसलाई प्रहार गर्ने हुकुम गरे। यसैले त्यस मानिसले त्यसलाई हिर्काएर मार्यो।
16 किनकि दाऊदले त्यसलाई यसो भनेका थिए, “तेरो रगत तेरै शिरमाथि परोस्। जब तैंले भनिस्, ‘मैले परमप्रभुका अभिषिक्त जनलाई मारें,’ तब आफ्नै मुखले तैंले आफैलाई दोषी ठहराइस्।”
17 त्यसपछि शाऊल र उनका छोरा जोनाथनका निम्ति दाऊदले यसरी विलाप गरे,
18 अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे। याशारको पुस्तकमा यो गीत लेखिएको छ:
19 “हे इस्राएल, तिम्रो महिमा डाँड़ाहरूमा मरी ढलेको छ। महावीरहरू कसरी ढले!
20 “गातमा यो कुरा नसुनाऊ, अश्कलोनका सड़कहरूमा यो कुरा प्रचार नगर, नत्रता पलिश्तीका छोरीहरू रमाउनेछन्, नत्रता खतना नभएकाहरूका छोरीहरू हर्षित हुनेछन्।
21 “हे गिल्बोका डाँड़ाहरू हो, तिमीहरूमाथि शीत कि पानी नपरोस्, न त तिमीहरूमा अन्न दिने खेत नै होऊन्। किनभने योद्धाको ढाल त्यहाँ अशुद्ध भयो, शाऊलको ढाल तेलविनै निस्तेज भयो।
22 शत्रुको छातीबाट, मारिएकाहरूको रगतबाट जोनाथनको धनु कहिल्यै पछि फर्केन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केन।
23 “शाऊल र जोनाथन जीवित हुँदा मनपर्दा र मयालु थिए। मृत्युमा पनि उनीहरू अलग भएनन्। उनीहरू गरुडहरूभन्दा पनि तीव्र थिए, सिंहहरूभन्दा पनि बलिया थिए।
24 “हे इस्राएलका छोरी हो, शाऊलको निम्ति रोओ। जसले तिमीहरूलाई राता-राता दामी बुट्टादार लुगाहरूले पहिराउँथे, जसले तिमीहरूका लुगाहरू सुनका गहनाहरूले चहकिला पार्थे।
25 “महावीरहरू रणभूमिमा कसरी ढले! जोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्।
26 हे जोनाथन, मेरा भाइ, तिम्रो निम्ति म विलाप गर्दछु। तिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्मको थियो, स्त्रीको प्रेमलाई जित्ने।
27 “महावीरहरू कसरी ढले! युद्धका हतियारहरू नष्ट भए।”
Leave a Reply