बेबीलोन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेबीलोन

यर्मिया 51 : 58
58 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको चौड़ा पर्खाल सम्‍म पारिनेछ, र त्‍यसका अल्‍गा मूल ढोकाहरू आगोले जलाइनेछन्‌। मानिसहरू व्‍यर्थमा आफूलाई थकित तुल्‍याउँछन्‌। जाति-जातिका परिश्रम ज्‍वालाको निम्‍ति इन्‍धन मात्र हुन्‍छन्‌।”

यर्मिया 50 : 1 – 46
1 बेबिलोन र बेबिलोनीहरूको देशका विषयमा यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएको वचन यही हो:
2 “जाति-जातिहरूका बीचमा यो कुराको सूचना दे, र घोषणा गर्‌। झन्‍डा खड़ा गरेर घोषणा गर्, केही कुरा नलुका, तर भन्, ‘बेबिलोन लिइनेछ, बेल लाजमा पारिनेछ, मरोदक त्रासले भरिनेछ। त्‍यसका प्रतिमाहरू लाजमा पारिनेछन्, त्‍यसका मूर्तिहरू पनि त्रासले भरिनेछन्‌।’
3 उत्तर दिशाबाट एउटा जातिले त्‍यसलाई आक्रमण गर्नेछ, र त्‍यसको देश उजाड़ पार्नेछ। त्‍यसमा कोही पनि बस्‍नेछैन, मानिसहरू र पशुहरू दुवै भागिजानेछन्‌।
4 “ती दिनहरूमा, त्‍यस बेला इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू सँगसँगै रुँदै आफ्‍ना परमेश्‍वरलाई खोज्‍न जानेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
5 “तिनीहरूले सियोनतिर जाने बाटो कुन हो भनी सोध्‍नेछन्‌ र आफ्‍ना मोहड़ा त्‍यतैतिर फर्काउनेछन्‌। तिनीहरू आएर स्‍वयम्‌ परमप्रभुकहाँ कहिल्‍यै नर्बिसने अनन्‍तको करारमा बाँधिनेछन्‌।
6 “मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्‌। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन्, र पहाड़मा तिनीहरूलाई घुम्‍न लगाएका छन्‌। तिनीहरू डाँड़ातिर र पहाड़तिर घुम्‍न लागे र तिनीहरूले आफ्‍नो गोठलाई भुले।
7 तिनीहरूलाई भेट्टाउनेहरूले तिनीहरूलाई खाइहाले। तिनीहरूका शत्रुहरूले भने, ‘हामी दोषी छैनौं, किनकि तिनीहरूले तिनीहरूको साँचो खर्क, परमप्रभु, तिनीहरूका पिता-पुर्खाहरूको आशा, परमप्रभुको विरुद्धमा पाप गरे’।
8 “बेबिलोनबाट भाग, बेबिलोनीहरूको देश छोड़, र बगाललाई बाटो देखाउने बोकाहरूझैँ होओ।
9 किनकि म उत्तरको देशबाट ठूला जातिहरूको एउटा मित्रराष्‍ट्रको दललाई बेबिलोनको विरुद्धमा सुर्‍याउनेछु। उनीहरूले त्‍यसको विरुद्धमा युद्धको लागि तयार गर्नेछन्, र उत्तरबाट त्‍यसलाई लिनेछन्‌। उनीहरूका काँड़ निपुण योद्धाहरूजस्‍तै हुनेछन्, जो रित्तो हात फर्कंदैनन्‌।
10 यसरी बेबिलोनिया लुटिनेछ। त्‍यसलाई लुट्‌ने सबै तृप्‍त हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
11 “हे मेरो उत्तराधिकारलाई सखाप पार्नेहरू हो, तिमीहरूले रमाहट गरेका र हर्ष मनाएका हुनाले, दाइँ गर्ने कोरलीझैँ मस्‍त भएकाले, र जवान घोड़ाहरूझैँ हिनहिनाएकाले,
12 तिमीहरूकी आमा अति लज्‍जित हुनेछे, तिमीहरूलाई जन्‍म दिने शर्ममा पर्नेछे। जाति-जातिहरूमा त्‍यो सबैभन्‍दा नीच हुनेछे, उजाड़-स्‍थान, सुक्‍खा जमिन र मरुभूमिझैँ त्‍यो हुनेछे।
13 परमप्रभुका क्रोधको कारण त्‍यसमा कोही वास गर्नेछैन, तर त्‍यो बिलकुलै नष्‍ट हुनेछे। बेबिलोनबाट भएर जाने सबै छक्‍क पर्नेछन्, र त्‍यसका चोटहरू देखेर उनीहरू तर्सनेछन्‌।
14 “हे सबै धनुर्धारी हो, बेबिलोनका चारैतिर तिमीहरू युद्धको लागि तयार भएर बस। एउटै काँड़ पनि बाँकी नराखेर त्‍यसलाई हान। किनकि त्‍यसले परमप्रभुको विरुद्धमा पाप गरेकी छ।
15 त्‍यसका चारैतिर बसेर चर्को सोरले कराओ। त्‍यसले आत्‍मसमर्पण गर्छे, त्‍यसका धरहराहरू ढल्‍छन्, त्‍यसका पर्खालहरू भत्‍काइन्‍छन्‌। त्‍यसमाथि बदला लेओ, किनभने परमप्रभुको बदला यही नै हो। त्‍यसले अरूहरूलाई गरेजस्‍तै त्‍यसलाई पनि त्‍यसै गर।
16 बीउ छर्ने र हँसियाले फसल काट्‌ने दुवैलाई बेबिलोनबाट नष्‍ट गर। अत्‍याचारीको तरवारको कारणले हरेकलाई आफ्‍नै जातिकहाँ फर्केर जान देओ, हरेकलाई आफ्‍नै देशमा भागेर जान देओ।
17 “इस्राएल त सिंहहरूले खेदेर छरपष्‍ट भएका भेड़ाको बगालझैँ छ। त्‍यसलाई पहिले अश्‍शूरको राजाले निल्‍यो, र सबैभन्‍दा पछि बेबिलोनको राजा नबूकदनेसरले त्‍यसका हड्डीहरू चूरचूर पार्‍यो।”
18 यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “म बेबिलोनको राजा र त्‍यसको देशलाई अश्‍शूरको राजालाई दण्‍ड दिएझैँ दण्‍ड दिनेछु।
19 तर म इस्राएललाई त्‍यसको आफ्‍नै खर्कमा फर्काएर ल्‍याउनेछु, र त्‍यो कर्मेल र बाशानमा चर्नेछ। एफ्राइम र गिलादका पहाड़हरूमा त्‍यसको भोक तृप्‍त हुनेछ।”
20 परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनहरूमा, त्‍यस बेला इस्राएलको दोष खोजे तापनि केही पनि पाइनेछैन। यहूदाका पाप खोजे तापनि पाइनेछैन, किनकि मैले बचाइराखेको बाँकी भागलाई म क्षमा गर्नेछु।
21 “मरातैम देश र पकोदमा बस्‍नेहरूलाई आक्रमण गर। तिनीहरूलाई लखेट, मार, र बिलकुलै नाश गर,” परमप्रभु भन्‍नुहुन्‍छ। “मैले तिमीहरूलाई आज्ञा दिएझैँ सबै काम पूरा गर।
22 देशमा लड़ाइँ र ठूलो नाशको होहल्‍ला छ।
23 सारा पृथ्‍वीको घन भाँचिएको र चकनाचूर भएको छ! जातिहरूका बीचमा बेबिलोन कस्‍तो उजाड़ भयो!
24 हे बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको थिएँ, र तैंले चाल पाउन अघि नै तँ त्‍यसमा परिस्‌। तँलाई फेला पारियो र समातियो, किनभने तँ परमप्रभुको विरुद्धमा खड़ा भइस्‌।
25 परमप्रभुले आफ्‍नो गट्ठाघर खोल्‍नुभएको छ, र उहाँले आफ्‍नो क्रोधका हतियारहरू निकाल्‍नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरले गर्नुपर्ने काम छ।
26 टाढ़ाटाढ़ाबाट त्‍यसको विरुद्धमा आओ। त्‍यसका अन्‍नका ढुकुटीहरू फुटाएर खोल। अन्‍न थुपारेझैँ त्‍यसलाई थुपार। त्‍यसलाई बिलकुलै सर्वनाश गर। त्‍यसको केही पनि बाँकी नरहोस्‌।
27 त्‍यसका सबै साँढ़ेहरू मार। ती काटिनलाई लैजाऊन्‌। हाय, तिनीहरूलाई! किनभने तिनीहरूको दिन आइपुग्‍यो, तिनीहरूलाई दण्‍ड दिने समय आइपुग्‍यो।
28 परमप्रभु हाम्रा परमेश्‍वरले उहाँका मन्‍दिरको निम्‍ति कसरी बदला लिनुभएको छ भनी सियोनमा घोषणा गर्ने बेबिलोनबाट आएका भगुवाहरू र शरणार्थीहरूका कुरा सुन।
29 “बेबिलोनको विरुद्धमा काँड़ हान्‍नेहरूलाई आह्वान गर, धनुर्धारीहरू सबैलाई! त्‍यसका चारैतिर छाउनी बनाएर घेरा लगाओ। कोही पनि उम्‍कन नपाओस्‌। त्‍यसका कामअनुसार त्‍यससँग बदला लेओ, त्‍यसले गरेझैँ त्‍यसलाई गर, किनकि त्‍यसले परमप्रभु इस्राएलका परमपवित्रलाई निन्‍दा गर्‍यो।
30 यसैकारण त्‍यसका जवान मानिसहरू गल्‍लीहरूमा लोट्‌नेछन्, र त्‍यसका सबै सिपाहीहरू त्‍यस दिन चूप लाग्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
31 “हे अहङ्कारी, हेर्, म तेरो विरुद्धमा छु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तेरो दिन आइपुगेको छ, मैले तँलाई दण्‍ड दिने दिन।
32 अहङ्कारीचाहिँ ठक्‍कर खाएर लोट्‌नेछ। त्‍यसलाई उठाउने कोही हुनेछैन। म त्‍यसका नगरहरूमा आगो लगाइदिनेछु,’ त्‍यसले त्‍यसका चारैतिर हुनेहरू सबैलाई भस्‍म पार्नेछ।”
33 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “इस्राएलीहरू अत्‍याचारमा परेका छन्, र तिनका साथमा यहूदाका मानिसहरू पनि। तिनीहरूलाई कैद गरेर लाने सबैले तिमीहरूलाई बलियो गरी समातिराखेका छन्‌। उनीहरू तिनीहरूलाई छोड़िदिन इन्‍कार गर्छन्‌।
34 तापनि तिनीहरूका उद्धारक सामर्थी हुनुहुन्‍छ। उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो। उहाँले सामर्थ्‍यसाथ तिनीहरूको रक्षा गर्नुहुनेछ, ताकि उहाँले तिनीहरूको देशमा विश्राम ल्‍याउन सकून्‌। तर उहाँले बेबिलोनमा बस्‍नेहरूलाई चाहिँ बेचैनमा पार्नुहुनेछ।”
35 परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनीहरूका विरुद्धमा एउटा तरवार परेको छ, बेबिलोनमा बस्‍नेहरू, त्‍यसका पदाधिकारीहरू र बुद्धिमान्‌हरूमाथि पनि!
36 त्‍यसका झूटा अगमवक्ताहरूमाथि पनि एउटा तरवार चलेको छ! तिनीहरू मूर्ख हुनेछन्‌। त्‍यसका योद्धाहरूमाथि पनि तरवार परेको छ! तिनीहरू त्रासले भरिनेछन्‌।
37 त्‍यसका घोड़ाहरू र रथहरू र त्‍यसका बीचमा भएका सारा विदेशी फौजहरूका विरुद्धमा तरवार परेको छ! तिनीहरू स्‍त्रीहरूझैँ हुनेछन्‌। ती लुटिऊन्‌ भनेर तरवार त्‍यसका धनको विरुद्धमा परेको छ!
38 त्‍यसका पानी सुकिजाओस्‌ भनेर खड़ेरी परेको छ। किनकि त्‍यो मूर्तिहरूको देश हो, र त्‍यसका देवताहरू डरले पागल हुनेछन्‌।
39 “यसैले त्‍यहाँ मरुभूमिका जनावरहरू र हुँड़ारहरू बस्नेछन्, र शुतुरमुर्गहरू त्‍यसमा वास गर्नेछन्‌। त्‍यसमा अब फेरि कहिल्‍यै कोही वास गर्नेछैन। पुस्‍ता-पुस्‍तासम्‍म त्‍यसमा कोही वस्‍नेछैन।”
40 परमप्रभु भन्‍नुहुन्‍छ, “सदोम र गमोरा र तिनका छेउछाउका नगरहरूलाई परमेश्‍वरले पल्‍टाइदिनुभएझैँ बेबिलोनमा कोही मानिस बस्‍नेछैन। कुनै मानिसले त्‍यहाँ प्रवास गर्नेछैन।
41 “हेर, एउटा सेना उत्तर दिशाबाट आउँदैछ, एउटा ठूलो जाति र धेरै राजाहरू पृथ्‍वीको पल्‍लो छेउबाट सुरिँदैछन्‌!
42 उनीहरू धनु र भालाले सुसज्‍जित छन्‌। उनीहरू कठोर र निर्दयी छन्‌। उनीहरू घोड़ाहरूमा सवार भएर आउँदा समुद्र गर्जेझैँ गर्जन्‍छन्‌। हे बेबिलोनकी छोरी, तँलाई आक्रमण गर्नलाई लड़ाइँको लागि पङ्‌क्ति बाँधेर आएका मानिसहरूजस्‍तै ती आउँछन्‌।
43 बेबिलोनको राजाले उनीहरूका विषयमा सुन्‍यो, र त्‍यसको हात फतक्‍क गलिहाल्‍यो। प्रसववेदनामा परेकी स्‍त्रीलाई झैँ त्‍यसलाई फिक्री र पीडा पर्‍यो।
44 यर्दनका झाड़ीहरूबाट धेरै खर्क भएको ठाउँमा सिंह आएझैँ, म बेबिलोनलाई एकै छिनमा त्‍यसको देशबाट खेद्‌नेछु। यसको निम्‍ति मैले नियुक्त गर्ने चुनिएको जनचाहिँ को हो? को मजस्‍तो छ र? मलाई कसले हाँक दिन सक्‍छ र? कुनचाहिँ गोठालो मेरो विरुद्धमा खड़ा हुन सक्‍छ?”
45 यसैकारण बेबिलोनको विरुद्धमा परमप्रभुले रच्‍नुभएको योजना, र बेबिलोनीहरूका देशको विरुद्धमा उहाँको अभिप्राय कस्‍तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्‍स्‍याएर लगिनेछन्‌। तिनीहरूको कारण त्‍यसले तिनीहरूको खर्क बिलकुलै रूपले सर्वनाश पारिदिनेछ।
46 बेबिलोन कब्‍जा गरिँदा सुनिएको आवाजले पृथ्‍वी काम्‍नेछ। त्‍यसको रुवाबासी जाति-जातिहरूका बीचमा सुनिनेछ।

प्रकाश 17 : 1 – 18
1 ती सात कचौरा लिने सात स्‍वर्गदूतहरूमध्‍ये एक जनाले मकहाँ आएर मलाई भने, “यता आऊ, म तिमीलाई धेरै पानीहरूमा बसेकी त्‍यस महा वेश्‍यालाई दिइएको इन्‍साफ देखाउनेछु।
2 त्‍यससँग पृथ्‍वीका राजाहरूले व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका बासिन्‍दाहरू त्‍यसका व्‍यभिचारको मद्यले मातेका छन्‌।
3 अनि तिनले मलाई आत्‍मामा बोकेर एउटा उजाड-स्‍थानभित्र लगे। त्‍यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्‍वर-निन्‍दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखें।
4 त्‍यस स्‍त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्‍यो सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्‍दा कुरा, अर्थात्‌ त्‍यसका व्‍यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्‍याला हातमा लिएकी थिई।
5 त्‍यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान्‌ बेबिलोन।
6 अनि मैले त्‍यस स्‍त्रीलाई सन्‍तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्‍यसलाई देखेर म साह्रै अचम्‍मित भएँ।
7 तब ती स्‍वर्गदूतले मलाई भने, “तिमी किन अचम्‍म मान्‍दछौ? त्‍यो स्‍त्री र त्‍यसलाई बोक्‍ने सात शिर र दश सीङ भएको पशुको रहस्‍य म तिमीलाई बताउनेछु।
8 तिमीले देखेको त्‍यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्‍डबाट त्‍यो माथि उक्‍लन लागेको छ। अनि पृथ्‍वीका बासिन्‍दाहरू, जसका नाउँ संसारको उत्‍पत्तिदेखि जीवनको पुस्‍तकमा लेखिएका छैनन्, तिनीहरू त्‍यस पशुलाई देखेर अचम्‍म मान्‍नेछन्, किनकि त्‍यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।
9 “बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्‍यो स्‍त्री बसेकी छे।
10 तिनीहरू सात राजाहरू पनि हुन्‌— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्‍यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।
11 त्‍यो पशु, जो एक समय थियो, तर अब छैन, त्‍योचाहिँ आठौँ हो। सातमध्‍येको त्‍यो एक हो, तर त्‍यसको सर्वनाश हुनेछ।
12 “तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्‍म राजकीय शक्ति पाएका छैनन्‌। तर तिनीहरूले त्‍यस पशुसँग छोटो समयको निम्‍ति राजाकै अधिकार पाउनेछन्‌।
13 तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्‍नो शक्ति र अधिकार त्‍यस पशुलाई सुम्‍पनेछन्‌।
14 तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्‍वासयोग्‍य हुन्‌।”
15 ती स्‍वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्‍यो वेश्‍या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्‌।
16 अनि तिमीले देखेका ती दश सीङ र त्‍यस पशुले त्‍यस वेश्‍यालाई घृणा गर्नेछन्, र त्‍यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्‍यसको मासु खानेछन्, र त्‍यसलाई आगोमा भस्‍म पारिदिनेछन्‌।
17 किनकि परमेश्‍वरको वचन पूरा नहोउञ्‍जेल एक मनका भई तिनीहरूले आफ्‍नो राजकीय शक्ति त्‍यस पशुलाई दिएर उहाँको अभिप्राय पूरा गर्न परमेश्‍वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो!
18 तिमीले देखेको त्‍यो स्‍त्रीचाहिँ त्‍यो महानगरी हो, जसले पृथ्‍वीका राजाहरूमाथि प्रभुत्‍व गर्छ।

प्रकाश 16 : 19
19 त्‍यो महानगरी तीन भागमा टुक्रा-टुक्रा भयो, र देश-देशका सहरहरू ध्‍वंस-विध्‍वंस भए। परमेश्‍वरलाई महान्‌ बेबिलोनको याद आयो, र उहाँले आफ्‍नो क्रोधको भयानक मद्यले भरिएको कचौरो त्‍यसलाई पिउन दिनुभयो।

प्रकाश 18 : 1 – 24
1 यसपछि ठूलो अधिकार भएका अर्का एउटा स्‍वर्गदूत स्‍वर्गबाट तल आइरहेका मैले देखें। तिनको वैभवले पृथ्‍वी उज्‍यालो भयो।
2 तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्‍थान, हरेक अशुद्ध आत्‍मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ।
3 किनकि सबै जातिहरूले त्‍यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्‍वीका राजाहरूले त्‍यससँग व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको विलासिताको प्रभावले धनी भएका छन्‌।”
4 तब मैले स्‍वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्‍यसबाट निस्‍केर आओ, नत्रता त्‍यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्‍यसका विपत्तिहरू तिमीहरू भोग्‍नेछौ,
5 किनकि त्‍यसका पापहरू स्‍वर्गसम्‍मै थुप्रो लागेका छन्, र परमेश्‍वरले त्‍यसका अधर्महरू सम्‍झनुभएको छ।
6 त्‍यसले जे गरेकी थिई त्‍यही त्‍यसलाई देओ, त्‍यसले गरेका कामको दोबर त्‍यसलाई फर्काइदेओ त्‍यसले प्‍यालामा जे भरेकी थिई, त्‍यसको दोबर कड़ा हुने गरी त्‍यसलाई देओ।
7 त्‍यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्‍यत्तिकै त्‍यसलाई यातना र शोक देओ। किनकि त्‍यसले मनमा भन्‍दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्‍यै शोक गर्नुपर्नेछैन।’
8 ‘यसकारण एकै दिनमा त्‍यसमाथि विपत्तिहरू आउनेछन्‌— मृत्‍यु, शोक र अनिकाल। आगोले त्‍यो भस्‍म पारिनेछे, किनकि त्‍यसको इन्‍साफ गर्ने परमप्रभु परमेश्‍वर शक्तिशाली हुनुहुन्‍छ।”
9 त्‍यससँग व्‍यभिचार गर्ने र सुख-विलासमा रहने पृथ्‍वीका राजाहरू त्‍यो जलेको धूवाँ देखेर त्‍यसको निम्‍ति रुनेछन्‌ र बिलौना गर्नेछन्‌।
10 त्‍यसको यातनाको डरले टाढ़ै उभिएर तिनीहरूले यसो भन्‍नेछन्, “हाय! हाय! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन! एकै छिनमा नै तेरो दण्‍ड तँमाथि पर्‍यो।”
11 पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको निम्‍ति रुनेछन्‌ र बिलौना गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्‍यापारका मालसामान फेरि कहिल्‍यै किन्‍दैनन्,
12 अर्थात्‌ सुन, चाँदी, रत्‍न, मोती र मलमलका कपड़ाहरू, बैजनी कपड़ा, रेशम र चहकिलो रातो रङ्गका कपड़ाहरू, र सबै किसिमका सुगन्‍धित काठ, हरेक किसिमका हस्‍ति-हाड़का सामग्रीहरू, र हरेक बहुमूल्‍य काठका, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू,
13 र दालचिनी, मसला, सुगन्‍धित धूप, मूर्र, सेतो-धूप, मद्य, तेल, मसिनो पीठो, गहूँ, गाई-भैँसी, भेड़ाहरू, घोडाहरू, रथहरू, कमारा-कमारीहरू, अर्थात्‌ मानिसहरूका आत्‍मा।
14 तिनीहरूले भन्‍नेछन्, “ए बेबिलोन, तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्‍वादिष्‍ठ भोजनहरू र समस्‍त चमकदमक तैंले गुमाइस्, र ती फेरि कहिल्‍यै प्राप्‍त हुनेछैनन्‌।”
15 यी सामानका व्‍यापारीहरू जसले त्‍यस नगरीमा व्‍यापार गरेर धन कमाएका थिए, त्‍यसमाथि परिआउने यातनाको डरले टाढ़ै उभिएर यसो भन्‍दै तिनीहरू ठूलो सोरले रुनेछन्‌ र विलाप गर्नेछन्,
16 “हाय! हाय! त्‍यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्‍त्र लगाएर सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई।
17 किनभने एकै घड़ीमा यति धेरै धन नष्‍ट भएको छ।” हरेक जहाजको कप्‍तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्‍यापारीहरू टाढ़ै उभिए,
18 र त्‍यो महानगरी जलेर निस्‍केको धूवाँ देखेर यसो भनी कराए, “त्‍यो महानगरीजस्‍तो कुन सहर थियो?”
19 अनि तिनीहरूले आ-आफ्‍ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए, “हाय! हाय! त्‍यो महानगरी जहाँ समुद्रमा जहाज हुने सबै जना त्‍यसको सम्‍पत्तिद्वारा धनी भएका थिए। एकै छिनमा त्‍यो नष्‍ट भएको छ।
20 हे स्‍वर्ग, त्‍यसको इन्‍साफमा रमाओ! हे सन्‍तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्‍यायको निम्‍ति परमेश्‍वरले त्‍यसको इन्‍साफ गर्नुभएको छ।”
21 तब एउटा शक्तिशाली स्‍वर्गदूतले ठूलो जाँतोजस्‍तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्‍यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्‍यो फेरि कहिल्‍यै पाइनेछैन।
22 वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूका धुन तँमा कहिल्‍यै सुनिनेछैन। र कुनै पनि शिल्‍पको शिल्‍पकार तँमा कहिल्‍यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन।
23 बत्तीको उज्‍यालो तँमा कहिल्‍यै चम्‍कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्‍यै सुनिनेछैन। किनकि तेरा व्‍यापारीहरू पृथ्‍वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्‍त्रतन्‍त्रले जाति-जातिहरू ठगिएका थिए।
24 त्‍यसमा नै अगमवक्ताहरू, सन्‍तहरू र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”

२ राजाहरू 24 : 7
7 मिश्रदेशका राजा उनको आफ्‍नै देश छोड़ेर फेरि आएनन्, किनभने बेबिलोनका राजाले मिश्रको खोलादेखि लिएर यूफ्रेटिस नदीसम्‍म उनका सबै इलाकाहरू उनीबाट लिएका थिए।

भजनसंग्रह 137 : 8
8 विनाश निश्‍चित भएकी हे बेबिलोनकी छोरी, तैंले हामीमाथि जे गरिस्‌, त्‍यसको लागि तँमाथि प्रतिशोध लिने धन्‍यको हो,

यर्मिया 32 : 28
28 यसैकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: म यो सहर बेबिलोनीहरूका हातमा र बेबिलोनका नबूकदनेसरको हातमा दिनै लागेको छु, र त्‍यसले यसलाई लिनेछ।

यर्मिया 46 : 13 – 26
13 बेबिलोनका राजा नबूकदनेसरले आएर मिश्रदेशलाई आक्रमण गर्ने विषयमा परमप्रभुले यर्मिया अगमवक्तालाई यो सन्‍देश दिनुभएको छ:
14 “मिश्रदेशमा सूचना देओ। मिग्‍दोलमा घोषणा गर, नोप र तहपनेसमा पनि घोषणा गर: ‘तयार भएर आ-आफ्‍नो स्‍थान लिएर खड़ा होओ, किनकि तरवार तिमीहरूका चारैतिर निल्‍दैछ’।
15 तेरा योद्धाहरू किन सोतर हुनेछन्‌? तिनीहरू खड़ा हुन सक्‍दैनन्, किनभने परमप्रभुले तिनीहरूलाई तलतिर घचेटिदिनुहुनेछ।
16 तेरा योद्धाहरू बारम्‍बार ठक्‍कर खाएर एक-अर्कामाथि लोट्‌नेछन्, तिनीहरूले भन्‍नेछन्, ‘उठ, अत्‍याचारको तरवारदेखि भागेर हामीहरू आफ्‍नै मानिसकहाँ र आफ्‍नै जन्‍म-देशमा फर्केर जाऔं’।
17 त्‍यहाँ तिनीहरू कराउनेछन्, मिश्रको राजा फारो ठूलो हल्‍ला गर्ने आवाज मात्र हो। त्‍यसले आफ्‍नो मौका गुमाएको छ।’
18 “जस्‍तो म जीवित छु,” राजाले भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो, “पहाड़हरूमध्‍ये तबोरजस्‍तै एक जना आउनेछ, समुद्रको किनारको कर्मेलझैँ त्‍यो आउनेछ।
19 हे मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा जानलाई तिम्रा आफ्‍ना झिटीमिटी पोको पार। किनकि नोप उजाड़ हुनेछ। निर्जन भएर त्‍यो भग्‍नावशेष हुनेछ।
20 “मिश्र एउटी सुन्‍दरी कोरली हो, तर उत्तर दिशाबाट एउटा डाँस त्‍यसको विरुद्धमा आइरहेछ।
21 त्‍यसका ज्‍यालादार सिपाहीहरू पोसिएका बाछाहरूझैँ छन्, तिनीहरू एकैसाथ पीठ फर्काएर भाग्‍नेछन्, तिनीहरू अड्‌नेछैनन्, किनकि तिनीहरूमाथि सर्वनाशको दिन, तिनीहरूका सजायको दिन आइरहेछ।
22 शत्रुहरू जबरदस्‍तसाथ अगि बढ्‌दैआउँदा, भाग्‍ने सर्पको जस्‍तै आवाज मिश्रदेशले निकाल्‍नेछ। उनीहरू त्‍यसको विरुद्धमा बन्‍चरो लिएर रूख काट्‌ने मानिसहरूझैँ आउनेछन्‌।
23 त्‍यसका वनहरू घना भए तापनि उनीहरूले ती ढाल्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “संख्‍यामा उनीहरू सलहभन्‍दा पनि धेरै छन्, उनीहरू अनगन्‍ती छन्‌।
24 मिश्रदेशकी छोरी लाजमा पारिनेछे। उत्तर दिशाबाट आएका मानिसहरूका हातमा त्‍यो सुम्‍पिइनेछे।”
25 सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: “हेर, म नोको अमोन देवता, फारो, मिश्रदेश र त्‍यसका देवताहरू र राजाहरू भनी फारोमाथि भर पर्नेहरूमाथि दण्‍ड ल्‍याउन लागेको छु।
26 म तिनीहरूलाई तिनीहरूका ज्‍यान लिन खोज्‍नेहरूका हातमा, अर्थात्‌ बेबिलोनको राजा नबूकदनेसर र त्‍यसका अधिकृतहरूका हातमा सुम्‍पिदिनेछु। तर त्‍यसपछि मिश्रदेश अघिझैँ फेरि आबादी हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।

उत्‍पत्ति 10 : 10
10 उनको राज्यको सुरु बाबेल, एरेक, अक्‍कद र कल्‍नेहबाट भयो, जुन शिनार देशमा छन्‌।

दानिएल 3 : 1
1 राजा नबूकदनेसरले तीस मिटर अग्‍लो र तीन मिटर चौड़ा भएको सुनको एक मूर्ति बनाए र त्‍यसलाई बेबिलोनको प्रदेशमा स्‍थित दूरा नाम गरेको मैदानमा स्‍थापना गरे।

दानिएल 2 : 21 – 38
21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्‍छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्‍छ र उनीहरूलाई अपदस्‍थ गर्नुहुन्‍छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्‍छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्‍छ।
22 उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्‍छ, उहाँले अन्‍धकारमा के छ भनी जान्‍नुहुन्‍छ, र ज्‍योतिले उहाँमा वास गर्छ।
23 हे मेरा पिता-पुर्खाका परमेश्‍वर, तपाईंलाई म धन्‍यवाद दिँदछु र तपाईंको प्रशंसा गर्दछु, तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले मागेको कुरा तपाईंले मलाई प्रकट गर्नुभयो, तपाईंले हामीलाई राजाको सपना प्रकट गर्नुभयो।”
24 तब दानिएल बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न भनी राजाले खटाएका अर्योककहाँ गएर उनलाई भने, “बेबिलोनका ज्ञानी पुरुषहरूलाई नमार्नुहोस्‌। मलाई राजाकहाँ लैजानुहोस्‌ र म उहाँलाई उहाँको सपनाको अर्थ बताइदिनेछु।”
25 अनि अर्योकले दानिएललाई तुरुन्‍तै राजाकहाँ लगे र भने, “यहूदाबाट आएका प्रवासीहरूमध्‍ये एक जना मानिसलाई मैले भेट्टाएको छु, जसले राजालाई सपनाको अर्थ बताउन सक्‍छ।”
26 राजाले दानिएललाई (जसको नाउँ बेलतसजर पनि हो) सोधे, “के तिमी मेरो सपना र त्‍यसको अर्थ बताउन सक्‍छौ?”
27 दानिएलले जवाफ दिए, “महाराजाले सोध्‍नुभएको रहस्‍यको कुरा कुनै पनि ज्ञानी पुरुष, मन्‍त्रतन्‍त्र गर्ने, जादूगर वा जोखना हेर्नेले बताउन सक्‍दैन,
28 तर स्‍वर्गमा एक परमेश्‍वर हुनुहुन्‍छ, जसले रहस्‍यका कुराहरू प्रकट गर्नुहुन्‍छ। उहाँले महाराजा नबूकदनेसरलाई भविष्‍यमा हुने कुराहरू देखाउनुभएको छ। हजूर ओछ्यानमा ढल्‍किरहनुहुँदा हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्‌:
29 “हे महाराजा, हजूर ओछ्यानमा ढल्‍किरहनुभएको बेला हजूरको मन भविष्‍यमा के हुने होला भन्‍ने तर्फ गयो, र रहस्‍य प्रकट गर्नुहुनेले भविष्‍यमा हुने कुरा देखाउनुभएको छ।
30 तर जसै मलाई यो रहस्‍य खोलिएको छ, अरू जीवित प्राणीहरूभन्‍दा ममा बढ्‌ता बुद्धि भएको कारणले होइन तर यसैकारण कि हजूर महाराजालाई सपनाको अर्थ खोलिओस्‌ र हजूरको आफ्‍नो मनमा भएका कुरा बुझ्‍न सक्‍नुभएको होस्‌ भनेर हो।
31 “हे महाराजा, हजूरले हेरिरहनुहुँदा एउटा ठूलो सालिक उभिएको देख्‍नुभयो। यो सालिक विशाल र अत्‍यन्‍तै चहकिलो देखिन्‍थ्‍यो र त्‍यसको रूप भयानक थियो।
32 त्‍यस सालिकको टाउको निक्‍खर सुनको, त्‍यसका छाती र हातहरू चाँदीका, त्‍यसका पेट र तिघ्राहरू काँसाका,
33 त्‍यसका गोड़ाहरू फलामका, र त्‍यसका खुट्टाहरू केही फलाम र केही माटोका थिए।
34 हजूरले हेरिरहनुहुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो, तर मानिसको हातद्वारा होइन। यसले त्‍यस सालिकका फलाम र माटोले बनेका खुट्टालाई हान्‍यो र ती चकनाचूर पारिदियो।
35 त्‍यसपछि त्‍यो फलाम, काँसो, चाँदी र सुन सबै एकै चोटि धूलोपीठो भए, र ग्रीष्‍म ऋतुमा अन्‍न चुट्‌ने खलाबाट भुसलाई उड़ाएझैँ बतासले त्‍यसलाई नाउँनिशानै नहुने गरी उड़ाएर लग्‍यो। तर त्‍यस सालिकलाई हान्‍ने त्‍यो ढुङ्गा बढ्‌दैगएर ठूलो पहाड़ बन्‍यो र पूरै पृथ्‍वीलाई ढाकिदियो।
36 “सपना यही थियो, र अब महाराजालाई यसको अर्थ बताउनेछौं।
37 हजूर नै राजाहरूका महाराजा हुनुहुन्‍छ। स्‍वर्गका परमेश्‍वरले हजूरलाई राज्‍य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ।
38 हजूरको हातमा उहाँले सारा पृथ्‍वीका मानिसहरू र पशुहरू र आकाशका पक्षीहरू दिनुभएको छ। जहाँ-जहाँ उनीहरू बस्‍छन्, उहाँले हजूरलाई उनीहरूमाथि अधिकार गर्न दिनुभएको छ। हजूर नै त्‍यो सुनको टाउको हुनुहुन्‍छ।

१ पत्रुस 5 : 13
13 बेबिलोनमा भएकी तिमीहरूजस्‍तै चुनिएकीले, र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *