यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् पछिको जीवन
लूका 23 : 43
43 उहाँले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
मत्ती 25 : 46
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
यूहन्ना 14 : 2
2 मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु?
लूका 16 : 19 – 31
19 “एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो।
20 उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो।
21 त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे।
22 “त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो।
23 नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
24 अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’
25 “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।
26 यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’
27 “उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,
28 किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’
29 “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’
30 “तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
31 “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।”
प्रकाश 6 : 9 – 11
9 जब उहाँले पाँचौँ मोहोर तोड्नुभयो, तब वेदीमुन्तिर मैले तिनीहरूका आत्माहरू देखें, जो परमेश्वरका वचनको निम्ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए।
10 अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान् पवित्र र सत्य प्रभु, अझै कहिलेसम्म तपाईंले पृथ्वीमा रहनेहरूको इन्साफ गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?”
11 तिनीहरू प्रत्येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै मारिएर संख्यामा पूरा नभएसम्म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।
मत्ती 25 : 41
41 “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।
प्रकाश 1 : 1 – 20
1 येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँड़ै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाउनुभएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनुभयो।
2 यूहन्नाले देखेका सबै कुराहरूको, अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको गवाही दिए।
3 त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्च स्वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।
4 यूहन्नाबाट एशियामा भएका सात वटा मण्डलीहरूलाई: [1] उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्माबाट,
5 विश्वासयोग्य साक्षी येशू ख्रीष्टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई,
6 हामीलाई एउटा राज्य, उहाँका पिता र परमेश्वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।
7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्। आमेन।
8 “अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ।
9 म यूहन्ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र सहनशीलतामा सहभागी छु। परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको खातिर म पत्मोस भन्ने टापूमा थिएँ।
10 प्रभुको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,
11 “तिमी जे देख्तछौ, सो एउटा पुस्तकमा लेख, र सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई।”
12 मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान
13 र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें।
14 उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए।
15 उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो।
16 उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो।
17 जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, “नडराऊ, आदि र अन्त्य
18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।
19 यसकारण तिमीले जे देख्छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।
20 मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य यो हो: सात तारा सात मण्डलीका स्वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्डलीहरू हुन्।”
Leave a Reply