यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नार्सिसिज्म
२ तिमोथी 3 : 1 – 7
1 तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्।
2 किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
3 स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,
4 विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने,
5 भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस।
6 किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्ना अधीनमा पार्छन्।
7 जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्।
१ पत्रुस 5 : 5 – 6
5 त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
6 यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
हितोपदेश 18 : 12
12 आफ्नो पतनको अघि मानिसको हृदय घमण्डी हुन्छ, तर आदर आउन अघि नम्रता आउँछ।
फिलिप्पी 2 : 1 – 30
1 यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने,
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर।
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5 तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
6 परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
8 स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
9 त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
10 कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।
14 गनगन अथवा वाद-विवाद नगरी सबै काम गर्दैजाओ,
15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ।
16 जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ, र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्न सकूँ।
17 यदि तिमीहरूका विश्वासको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित छु, र तिमीहरू सबैसँग म रमाउँछु।
18 त्यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।
19 म तिमीहरूकहाँ तिमोथीलाई चाँड़ै पठाउन प्रभुमा आशा गर्दछु, ताकि तिमीहरूको समाचार पाएर म पनि प्रसन्न हुन सकूँ।
20 तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन।
21 येशू ख्रीष्टका कुराको वास्ता नगरी, तिनीहरू सबै आफ्नै स्वार्थ खोज्छन्।
22 तर तिमोथीको योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे।
23 यसकारण मेरो निम्ति के-कसो हुन्छ सो बुझ्ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु।
24 अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।
25 इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु,
26 किनकि तिनले तिमीहरू सबैका निम्ति अति तृष्णा गरिरहेका छन्। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्याकुल भएका छन्।
27 तिनी साँच्चै मरणान्त बिरामी थिए, तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया गर्नुभयो।
28 यसकारण म तिनलाई पठाउन झन् बढ़ी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्ता पनि कम हुनेछ।
29 त्यसैले ज्यादै आनन्दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्ता मानिसहरूलाई आदर गर।
30 किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्टका कामको निम्ति तिनी मृत्युको मुखैमा पुगेका थिए।
मत्ती 7 : 1 – 5
1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ।
3 “किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
4 अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’
5 ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
मत्ती 7 : 16
16 तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र?
मत्ती 18 : 15 – 17
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो।
16 तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्येक कुरा पक्का होस्।
17 यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने, मण्डलीलाई भन। त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने, त्यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्।
भजनसंग्रह 36 : 1 – 3
1 सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] दुष्टका पापको सम्बन्धमा मेरो हृदयमा एउटा ईश्वरवाणी छ, त्यसका आँखाअगि परमेश्वरको डर हुँदैन।
2 किनकि त्यसले आफ्नो यति प्रशंसा गर्छ कि आफ्नो पाप त्यसले फेला पार्दैन र घृणा गर्दैन।
3 त्यसको मुखका कुराहरू दुष्ट र छली छन्। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्यसले छोडिसकेको छ।
तीतस 1 : 16
16 तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।
हितोपदेश 4 : 16
16 किनभने दुष्टहरू खराब काम नगरुञ्जेल सुत्न सक्दैनन्, कसैको पतन नगरुञ्जेल तिनीहरूलाई निद्रै लाग्दैन।
१ यूहन्ना 2 : 1 – 29
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।
2 उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि।
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं।
4 जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन।
5 तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं।
6 उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।
7 प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ।
9 जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै पनि अन्धकारमा नै छ।
10 जसले आफ्नो भाइलाई प्रेम गर्छ, त्यो ज्योतिमा रहन्छ, र त्यसमा ठक्करको कारण हुँदैन।
11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ, र अँध्यारोमा हिँड्छ, र त्यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ।
12 मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
14 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
17 संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।
18 ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्। यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो।
19 तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।
20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
21 तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
22 झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
23 पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।
24 जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्त जीवन।
26 तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्तछु।
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।
28 साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्।
29 उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ।
एफिसी 6 : 4
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
याकूब 1 : 1 – 27
1 परमेश्वर र प्रभु येशू ख्रीष्टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्ट भएका बाह्र कुललाई, अभिवादन।
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
3 किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।
4 धैर्यलाई त्यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण होओ।
5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।
6 तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
7 त्यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ।
9 दीन अवस्थाको भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्,
10 र धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्तै ओइलिजानेछ।
11 किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्छ। फूल झर्छ र त्यसको शोभा नष्ट हुन्छ। त्यसरी नै धनी मानिस पनि आफ्नै कामधन्धामा नष्ट भएर जान्छ।
12 त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न।
14 तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।
16 मेरा प्यारा भाइ हो, धोकामा नपर।
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।
18 उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्टिको एक अगौटे फलजस्तो बन्न सकौं।
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
20 किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन।
21 यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ।
22 तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।
23 कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो, त्यो तुरुन्तै बिर्सिहाल्छ।
25 तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ।
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ।
27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
हितोपदेश 16 : 18
18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ।
यर्मिया 17 : 9
9 मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र?
Leave a Reply