यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चिहानका ढुङ्गाहरू
२ राजाहरू 23 : 17
17 राजाले सोधे, “मैले देखेको त्यो स्मारकचाहिँ केको हो त?” त्यस सहरका मानिसहरूले भने, “त्यो त ती परमेश्वरका जनको चिहानको चिन्ह हो, जसले यहूदाबाट आएर बेथेलका वेदीको विरुद्धमा तपाईंले गर्नुभएका सबै कामको अगमवाणी गरेका थिए।”
२ तिमोथी 3 : 16
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
यहोशू 1 : 1 – 18
1 परमप्रभुका दास मोशाको मृत्युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो,
2 “मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।
3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु।
4 मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै [1] तिमीहरूको सिमाना हुनेछ।
5 तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खड़ा हुन सक्नेछैन। जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैनँ।
6 “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्।
7 बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्।
8 व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
10 तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे,
11 “छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, ‘आ-आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारि जानुपर्छ’।”
12 तर यहोशूले रूबेनी, गादी र मनश्शेको आधा कुललाई भने,
13 “परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएको आज्ञा, अर्थात् ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्राम दिनुहुन्छ र तिमीहरूलाई यो जमिन दिनुभएको छ,’ भन्ने वचन सम्झ।
14 तिमीहरूका स्त्रीहरू, बालबच्चाहरू र गाईबस्तुहरू मोशाले तिमीहरूलाई यर्दनको पूर्वपट्टि दिएको देशमा रहन सक्नेछन्। तर तिमीहरूका सबै योद्धाहरू हतियार भिरी आ-आफ्ना दाजुभाइहरूका अगिअगि पारि जानुपर्छ।
15 अनि जबसम्म तिमीहरूलाई झैँ परमप्रभुले उनीहरूलाई पनि विश्राम दिनुहुन्न र परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश उनीहरूले जबसम्म अधिकार गर्नेछैनन् तिमीहरूले उनीहरूलाई मदत गर्नुपर्छ। त्यसपछि परमप्रभुका दास मोशाले यर्दन वारि पूर्वतिर तिमीहरूलाई दिएको देशमा फर्केर त्यसको अधिकार गर्न सक्नेछौ।”
16 अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ त्यो हामी गर्नेछौं, र तपाईंले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, हामी त्यहाँ जानेछौं।
17 जसरी हामीले मोशाका सबै कुरा मान्थ्यौं त्यसरी हामी तपाईंलाई पनि मान्नेछौं। परमप्रभु तपाईंका परमेश्वर जसरी मोशाका साथमा हुनुहुन्थ्यो, त्यसरी तपाईंका साथमा पनि रहून्।
18 तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्।”
यशैया 66 : 1 – 24
1 परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ?
2 के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्नुहुन्छ। “जो आत्मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु।
3 तर गोरुको बलि गर्नेचाहिँ मान्छे मार्नेजस्तै हो। थुमा बलिदान चढ़ाउनेचाहिँ कुकुरको घिच्रो भाँच्नेजस्तै हो। जसले अन्नबलि चढ़ाउँछ, त्यो सुँगुरको रगत चढ़ाउनेजस्तै हो। जसले सम्झना स्वरूप धूप बाल्छ, त्यो मूर्तिलाई पूजा गरेजस्तै हो। तिनीहरूले आफ्नै बाटो चुनेका छन् र तिनीहरूका प्राण आफ्नै घिनलाग्दा कामहरूमा खुशी हुन्छन्।
4 यसैले म पनि तिनीहरूसित कड़ा व्यवहार गर्नेछु, र तिनीहरूले डरले मानेका कुरा तिनीहरूमाथि ल्याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन। जब म बोलें, कसैले ध्यानै दिएन। जे मेरो दृष्टिमा खराब थियो, तिनीहरूले त्यही गरे, र जुन कुरा मलाई मन पर्दैन, त्यही तिनीहरूले चुने।”
5 तिमीहरू, जो परमप्रभुको वचनमा काम्दछौ, उहाँको वचन सुन: “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्, जसले तिमीहरूलाई मेरो नाउँको खातिर बहिष्कार गर्छन्, तिनीहरूले यसो भनेका छन्, ‘परमप्रभुको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्द हेरौं!’ तापनि तिनीहरू लज्जित हुनेछन्।
6 सहरबाट निस्केको त्यो ठूलो हल्ला सुन! मन्दिरबाट निस्केको आवाज सुन। यो आफ्ना शत्रुहरूलाई उचित बदला दिनुहुने परमप्रभुको सोर हो!
7 “प्रसववेदनामा पर्नुभन्दा पहिले नै त्यसले जन्माउँछे। सुत्केरी व्यथा लाग्नुभन्दा पहिले नै त्यसले एउटा छोरा जन्माउँछे।
8 यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के एकै दिनमा एउटा देश उत्पन्न हुन्छ र? अथवा के एकै क्षणमा एउटा जाति निकाल्न सकिन्छ र? तापनि सियोनले त प्रसववेदना लाग्ने बित्तिकै बालकहरू जन्माउँछे।
9 के जन्माउने समयसम्म ल्याएर जन्माउनेचाहिँ नतुल्याऊँ?” परमप्रभु भन्नुहुन्छ। “के म, जसले जन्माउन लाउँछु, म गर्भ थुन्छु र?” तेरा परमेश्वर भन्नुहुन्छ।
10 “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ। हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ।
11 किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ।”
12 किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढ़ाउनेछु। तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँड़ामा खेलाइनेछौ।
13 आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु। र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ।
14 जब तिमीहरूले यो देख्नेछौ तब तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ भरिला हुनेछौ। परमप्रभुको हात आफ्ना दासहरूतिर पसारेको तर उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूमाथि भएको थाहा गराइनेछ।
15 हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन्। आफ्नो रीस झोँकसित र आफ्नो हप्काइ आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ।
16 किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन्।
17 “ती, जसले आफूलाई पवित्र र शुद्ध पारेर बगैँचामा सुँगुर र मूसा तथा अन्य घिनलाग्दा कुरा खानेमध्ये कसैलाई पछ्याउँछन्, तिनीहरू सबैको एकैसाथ अन्त हुनेछ,” परमप्रभु भन्नुहुन्छ।
18 “तिनीहरूका काम र तिनीहरूका कल्पनाको कारण म सारा जातिहरू र विभिन्न भाषा बोल्नेहरूलाई जम्मा गर्न आउनेछु, र तिनीहरू आएर मेरो महिमा देख्नेछन्।
19 “म तिनीहरूका बीचमा एउटा चिन्ह राख्नेछु, र तिनीहरूमध्ये बाँचेकाहरूलाई म जाति-जातिहरूकहाँ पठाउनेछु— अर्थात् तर्शीशमा, लिबियाली तथा लूदीहरू, जसले धनु धारण गर्छन्, तूबल र ग्रीसमा, र टाढ़ाका टापूहरूमा, जसले मेरो कीर्ति सुनेका छैनन् र मेरो महिमा देखेका छैनन्। तिनीहरूले मेरो महिमा जाति-जातिहरूका बीचमा घोषणा गर्नेछन्।
20 अनि तिनीहरूले सारा जाति-जातिहरूबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोड़ाहरू, रथहरू, पालकीहरू, खच्चरहरू र ऊँटहरूमा चढ़ाएर मेरो पवित्र पर्वत यरूशलेममा परमप्रभुको निम्ति बलिजस्तै ल्याउनेछन्,” परमप्रभु भन्नुहुन्छ। “इस्राएलका सन्तानले आफ्नो अन्नबलि चोखो भाँड़ामा परमप्रभुको मन्दिरमा ल्याएझैँ तिनीहरूले यिनीहरूलाई ल्याउनेछन्,
21 अनि तिनीहरूमध्येका कति जनालाई पनि पूजाहारी र लेवीहरू हुन म चुन्नेछु,” परमप्रभु भन्नुहुन्छ।
22 “जसरी नयाँ आकाश र नयाँ पृथ्वी, जो म बनाउनेछु, ती मेरै सामुन्ने रहिरहनेछन्,” परमप्रभु भन्नुहुन्छ, “त्यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्तान रहिरहनेछन्।
23 एक औंसीदेखि अर्को औंसी र एक शबाथदेखि अर्को शबाथसम्म, सबै मानिस-जाति आएर मेरो सामुन्ने निहुरनेछन्,” परमप्रभु भन्नुहुन्छ।
24 “अनि तिनीहरूले निस्केर मेरो विरुद्धमा बागी हुने मानिसहरूका मृत शरीरलाई हेर्नेछन्। तिनीहरूको कीरा मर्नेछैन, तिनीहरूको आगो निभ्नेछैन, र तिनीहरू सबै मानिस-जातिका निम्ति घृणित हुनेछन्।”
प्रकाश 20 : 13
13 समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो।
भजनसंग्रह 90 : 12
12 हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं।
प्रेरित 2 : 29
29 “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ।
Leave a Reply