कायाकल्प

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कायाकल्प

भजनसंग्रह 103 : 1 – 22
1 दाऊदको भजन [1] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌।
2 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, र उहाँका सबै उपकारहरू नबिर्सी—
3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,
4 जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्‍छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्‍छ,
5 जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ, ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌।
6 थिचोमिचोमा परेकाहरू सबैका निम्‍ति परमप्रभुले धार्मिकता र न्‍यायको काम गर्नुहुन्‍छ।
7 उहाँले मोशालाई आफ्‍ना मार्ग, र इस्राएलीहरूलाई आफ्‍ना काम प्रकट गर्नुभयो।
8 परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्‍छ।
9 उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्‍नुहुन्‍न।
10 उहाँले हामीसँग हाम्रा पापअनुसारको व्‍यवहार गर्नुहुन्‍न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्‍ड दिनुहुन्‍न।
11 किनकि पृथ्‍वीबाट स्‍वर्ग जत्ति अग्‍लो छ, उहाँका भय मान्‍नेहरूमाथि उहाँको करुणा त्‍यत्तिकै महान्‌ छ।
12 पश्‍चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्‍यत्तिकै टाढ़ा हटाइदिनुभएको छ।
13 जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ।
14 किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ।
15 मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्‍यो ढकमक्‍क फुल्‍दछ,
16 अनि बतास त्‍यस फूलमाथि भएर जान्‍छ, र त्‍यो विलीन हुन्‍छ, र त्‍यसको ठाउँले पनि त्‍यसको याद गर्दैन।
17 तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ—
18 तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्‌, र उहाँका आदेशहरू पालन गर्न ख्‍याल गर्छन्‌।
19 परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ।
20 हे उहाँका स्‍वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर।
21 हे स्‍वर्गका सबै सेना हो, उहाँको इच्‍छाअनुसार काम गर्ने सेवक हो, परमप्रभुको प्रशंसा गर।
22 हे उहाँका सारा सृष्‍टि हो, उहाँका समस्‍त राज्‍यमा रहेका हो, परमप्रभुको प्रशंसा गर। ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!

१ तिमोथी 4 : 7 – 8
7 भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।
8 किनभने शारीरिक तालीम केहीसम्‍म लाभको हुन्‍छ, तर ईश्‍वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्‍छ, किनकि यसमा वर्तमान र भविष्‍यत्‌ जीवन दुवैको निम्‍ति प्रतिज्ञा रहेको हुन्‍छ।

उत्‍पत्ति 2 : 1 – 25
1 यसरी आकाशमण्डल र पृथ्‍वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए।
2 आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्‍वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।
3 अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्‍यसलाई पवित्र तुल्‍याउनुभयो, किनभने आफूले सृष्‍टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।
4 आकाश र पृथ्‍वीका सृष्‍टिको वृत्तान्‍त यही हो। परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको दिन
5 भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन।
6 तर पृथ्‍वीबाट खोलाहरू निस्‍की उठेर समस्‍त भूमिलाई भिजाउने गर्थे।
7 तब परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।
8 परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्‍यहीँ राख्‍नुभयो।
9 अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।
10 बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्‍केको थियो, र त्‍यहाँबाट छुट्टिएर त्‍यो चार वटा शाखा भएको थियो।
11 पहिलो नदीको नाउँ पीशोन हो। यो त्‍यही नदी हो, जुन हवीलाको समस्‍त मुलुकमा बग्छ, जहाँ सुन पाइन्‍छ।
12 त्‍यस देशको सुन असल हुन्‍छ। त्‍यहाँ खोटो र आनिक्‍सहरू छन्‌।
13 दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्‍त देशमा बग्ने नदी यही हो।
14 तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो अश्‍शूरको पूर्वतिर बग्छ र चौथो नदी यूफ्रेटिस हो।
15 परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्‍यसको गोड़गाड़ र हेरचाह गर्न राख्‍नुभयो।
16 अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्‍छ,
17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्‍यो खान्‍छस्‌ तँ निश्‍चय नै मर्नेछस्‌।
18 फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”
19 परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्‍दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्‍यही-त्‍यही नै त्‍यसको नाउँ भयो।
20 यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे। तर आदमको [1] निम्‍ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन।
21 यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो।
22 जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाउनुभई मानिसकहाँ ल्‍याउनुभयो।
23 मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्‍त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”
24 यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।
25 मानिस र तिनकी पत्‍नी दुवै नाङ्गा थिए, र लजाउँदैनथे।

लेवीहरू 23 : 1 – 44
1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
2 “इस्राएलीहरूलाई भन्‌: ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌।
3 “‘छ दिन काम गरिओस्, तर सातौँ दिनचाहिँ विशेष विश्राम को शबाथ, एक पवित्र सभाको दिन हो। त्‍यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि त्‍यो परमप्रभुको शबाथ हो।
4 “‘तोकिएका समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू, अर्थात्‌ पवित्र सभाहरू यी नै हुन्‌:
5 पहिलो महिनाको चौधौँ दिनको साँझमा परमप्रभुको निस्‍तार सुरु हुन्‍छ।
6 त्‍यसै महिनाको पन्‍ध्रौँ दिनमा परमप्रभुको निम्‍ति अखमिरी रोटीको चाड़ सुरु हुन्‍छ। सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू।
7 पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू।
8 सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। अनि सातौँ दिनमा पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू’।”
9 परमप्रभुले मोशालाई भन्‍नुभयो,
10 “इस्राएलीहरूलाई भन्‌: ‘मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्‍यहाँको बाली काटौला, तब तिमीहरूले आफ्‍नो बालीको पहिलो उब्‍जनीको एक बिटा पूजाहारीकहाँ ल्‍याउनू।
11 त्‍यो ग्रहण हुनलाई तिनले त्‍यो बिटा परमप्रभुको सामुन्‍ने डोलाऊन्‌। शबाथको भोलिपल्‍ट पूजाहारीले त्‍यो डोलाऊन्‌।
12 त्‍यो बिटा डोलाउन लगाएको दिन परमप्रभुको निम्‍ति होमबलिको लागि एउटा एक वर्षे निष्‍खोट थुमा तिमीहरूले चढ़ाउनू।
13 त्‍यससँगको अन्‍नबलिचाहिँ परमप्रभुको निम्‍ति एक मीठो बास्‍ना, आगोद्वारा चढ़ाइने बलि स्‍वरूप तेलमा मुछेको एक पाथी मसिनो पीठो होस्‌। अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस्‌।
14 तिमीहरू यो बलि आफ्‍ना परमेश्‍वरको निम्‍ति जुन दिनसम्‍म ल्‍याउँदैनौ त्‍यस दिनसम्‍म रोटी, भुटेको अन्‍न र हरियो बाला केही नखानू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।
15 “‘शबाथको भोलिपल्‍टदेखि, अर्थात्‌ तिमीहरूले डोलाइने बलिको बिटा ल्‍याएको दिनदेखि सात हप्‍ता तिमीहरूले गन्‍नू,
16 अर्थात्‌ सातौँ शबाथको भोलिपल्‍टसम्‍म पचास दिन गन्‍नू। त्‍यही दिन तिमीहरूले परमप्रभुको निम्‍ति नयाँ अन्‍नको बलि चढ़ाउनू।
17 तिमीहरूले आफ्‍नो घरदेखि एक पाथी मसिनो पीठोले बनाएका र खमिर मिलाएर पकाएका दुई वटा रोटी परमप्रभुको निम्‍ति अगौटे फलको बलि स्‍वरूप ल्‍याउनू।
18 ती रोटीसित एक वर्षे सात वटा निष्‍खोट थुमा र एउटा साँढ़े र दुई वटा भेड़ाहरू चढ़ाउनू। ती तिनीसँगका अन्‍नबलि र अर्घ-बलिसमेत परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने मीठो बास्‍नाको होमबलि होस्‌।
19 त्‍यसपछि तिमीहरूले पापबलिको निम्‍ति एउटा बोका र मेलबलिको निम्‍ति एक वर्षे दुई वटा थुमा चढ़ाउनू।
20 पूजाहारीले परमप्रभुको सामु, अगौटे फलको रोटीसँगसँगै डोलाइने बलिको निम्‍ति दुई वटा थुमा डोलाऊन्‌। पूजाहारीको हिस्‍सा हुनलाई त्‍यो परमप्रभुको निम्‍ति पवित्र बलि होस्‌।
21 त्‍यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।
22 “‘तिमीहरूले आफ्‍नो देशमा खेतको बाली काट्‌दा खेतका छेउ-छेउसम्‍म निखारेर नकाट्‌नू। तिमीहरूले आफ्‍नो बालीको शिला-बाला नबटुल्‍नू। ती तिमीहरूले गरीब र परदेशीहरूका निम्‍ति छोड़िदिनू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”
23 परमप्रभुले मोशालाई भन्‍नुभयो,
24 “इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्‍ति विशेष विश्रामको दिन होस्‌। त्‍यस दिन सम्‍झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस्‌।
25 तिमीहरूले त्‍यस दिनमा दैनिक काम नगर्नू, तर परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू’।”
26 परमप्रभुले मोशालाई भन्‍नुभयो,
27 “सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्‍चितको दिन होस्‌। त्‍यस दिन तिमीहरूले पवित्र सभा राख्‍नू। तिमीहरूले आफैलाई इन्‍कार गर्नू, [1] र तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू।
28 त्‍यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू, किनभने परमप्रभुको सामुन्‍ने तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिने यो प्रायश्‍चितको दिन हो।
29 त्‍यस दिन जसले आफूलाई इन्‍कार गर्दैन, त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।
30 त्‍यस दिन कुनै किसिमको काम गर्ने मान्‍छेलाई त्‍यसका मानिसहरूमध्‍येबाट म नाश गर्नेछु।
31 तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।
32 तिमीहरूका निम्‍ति यो विशेष विश्रामको शबाथ होस्, र तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। त्‍यस महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्‍ट साँझसम्‍म तिमीहरूले आफ्‍नो शबाथ पालन गर्नू।”
33 परमप्रभुले मोशालाई भन्‍नुभयो,
34 “इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाकै पन्‍ध्रौँ दिनदेखि सात दिनसम्‍म परमप्रभुको छाप्रो-वासको चाड़ होस्‌।
35 त्‍यसको पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले दैनिक काम नगर्नू।
36 सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। आठौँ दिनमा तिमीहरूले पवित्र सभा राख्‍नू, र तिमीहरूले परमप्रभुको निम्‍ति एउटा अग्‍नि-होम चढ़ाउनू। यो समाप्‍त गर्ने सभा हो। तिमीहरूले दैनिक काम नगर्नू।
37 (“ ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌। यी चाड़मा परमप्रभुको निम्‍ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्‍नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू।
38 परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्‍वेच्‍छा भेटीहरूबाहेक यी हुनुपर्छ।)
39 “‘सातौँ महिनाको पन्‍ध्रौँ दिनमा आफ्‍नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्‌।
40 पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने सात दिनसम्‍म खुशी मनाउनू।
41 तिमीहरूले वर्षमा सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍ताका लागि अनन्‍तको विधि होस्‌। यो तिमीहरूले सातौँ महिनामा मनाउनू।
42 सात दिनसम्‍म तिमीहरू झुप्राहरूमा बस्‍नू। सबै स्‍वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्,
43 र मैले मिश्रबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई झुप्रामा बस्‍न लाएको थिएँ भनी तिमीहरूका भावी सन्‍तानहरूले जानून्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”
44 यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुका तोकिएका चाड़हरू घोषणा गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *