कर सङ्कलनकर्ताहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कर सङ्कलनकर्ताहरू

लूका 3 : 12 – 13
12 कर उठाउनेहरू पनि बप्‍तिस्‍मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्‍यू, हामीले के गर्ने?”
13 तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्‍दा बेसी नलेओ।”

मत्ती 11 : 19
19 मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्‍दछन्, ‘हेर, घिचुवा, पियक्‍कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्‍ने कुरा त्‍यसका कामहरूबाटै प्रमाणित हुन्‍छ।”

लूका 15 : 1 – 32
1 कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्‍नलाई उहाँको नजिक आइरहेका थिए।
2 “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्‍त्रीहरू गनगनाउन लागे।
3 तब उहाँले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो:
4 “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको एक सय भेड़ामध्‍ये एउटा हराउँदा उनान्‍सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्‍जेल त्‍यसको खोजी गर्दैन?
5 हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्‍यसलाई आफ्‍नो काँधमा राख्‍छ,
6 र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’
7 म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ।
8 “कुन स्‍त्री होली जसको दश चाँदीका सिक्‍कामध्‍ये एउटा हरायो भने बत्ती बालेर उसले त्‍यो नपाउञ्‍जेल घर बढ़ारिकन मेहनतसँग खोज्‍दिन?
9 हराएको सिक्‍का पाएपछि उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्‍छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्‍का पाएकी छु।’
10 म तिमीहरूलाई भन्‍दछु, यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीको लागि परमेश्‍वरका स्‍वर्गदूतहरूका सामुन्‍ने आनन्‍द हुन्‍छ।”
11 उहाँले भन्‍नुभयो, “कुनै मानिसका दुई छोरा थिए।
12 कान्‍छोचाहिँले बाबुलाई भन्‍यो, ‘पिताज्‍यू, मेरो भागमा पर्ने धन-सम्‍पत्तिको हिस्‍सा मलाई दिनुहोस्‌।’ तब तिनले आफ्‍नो सम्‍पत्ति तिनीहरूलाई बाँड़िदिए।
13 “धेरै दिन बित्‍दा नबित्‍दै सबै धन-सम्‍पत्ति बटुलेर कान्‍छो छोरो टाढ़ा देशमा गयो, र त्‍यहाँ भोग-विलासमा आफ्‍नो सम्‍पत्ति उड़ायो।
14 त्‍यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्‍यसै बेला त्‍यस देशमा ठूलो अनिकाल पर्‍यो, र त्‍यसलाई अभाव हुन थाल्‍यो।
15 त्‍यो गयो, र त्‍यस देशको एक जना नागरिककहाँ त्‍यसले काम माग्‍यो। उसले त्‍यसलाई आफ्‍नो खेतमा सुँगुरहरू चराउन पठायो।
16 सुँगुरले खाने चारोले त्‍यसले आफ्‍नो पेट भर्न चाहन्‍थ्‍यो, अनि कसैले त्‍यसलाई केही दिँदैनथियो।
17 “जब त्‍यसको चेत खुल्‍यो, त्‍यसले भन्‍यो, ‘मेरा बाबुका धेरै ज्‍यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।
18 म उठेर आफ्‍ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, “बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु।
19 अब उप्रान्‍त म तपाईंको छोरो भनिने योग्‍यको छैनँ। मलाई तपाईंका ज्‍यालादारी चाकरहरूमध्‍ये एउटासरह तुल्‍याउनुहोस्‌’।”
20 तब त्‍यो उठेर आफ्‍ना बाबुकहाँ गयो। “तर त्‍यो धेरै टाढ़ा छँदा त्‍यसका बाबुले त्‍यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्‍यसलाई अँगालो हालेर त्‍यसलाई चुम्‍बन गरे।
21 “छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्‍यको छैनँ।’
22 “तर बाबुचाहिँले आफ्‍ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्‍दा असल वस्‍त्र ल्‍याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,
23 र पुस्‍टाइराखेको पशु मार, र हामी खाएर आनन्‍द मनाऔं।
24 किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्‍द मनाउन लागे।
25 “त्‍यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्‍यो घरको नजिक आइपुग्‍दा त्‍यसले नाचगानको आवाज सुन्‍यो।
26 त्‍यसले चाकरहरूमध्‍ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्‍यो।
27 उसले त्‍यसलाई भन्‍यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्‍वस्‍थ फर्किआएका भेट्टाउनुभयो।’
28 “तर त्‍यो रिसायो, र भित्र जान मानेन, र त्‍यसको बाबुले बाहिर गएर त्‍यसलाई मनाउन लागे।
29 तर त्‍यसले बाबुलाई भन्‍यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्‍यै उल्‍लङ्घन गरिनँ, तापनि मैले आफ्‍ना साथीहरूसँग आनन्‍द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्‍यै दिनुभएन।
30 तर तपाईंको सम्‍पत्ति वेश्‍याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्‍यसको निम्‍ति मार्नुभयो।’
31 “तब तिनले त्‍यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्‍पत्ति तेरै हो।
32 तर हामीले आनन्‍द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।”

लूका 18 : 9 – 14
9 आफैमाथि भरोसा राख्‍नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्‍छ ठान्‍नेहरू कसै-कसैलाई उहाँले यो दृष्‍टान्‍त सुनाउनुभयो:
10 “दुई जना मानिस प्रार्थना गर्न मन्‍दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
11 फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, म अरू मानिसहरूजस्‍तो धुताहा, अन्‍यायी, व्‍यभिचारी, अथवा यही कर उठाउनेजस्‍तो पनि छैनँ।
12 म हप्‍तामा दुई पल्‍ट उपवास बस्‍तछु। मैले पाएका सबै थोकको दशांश म दिन्‍छु।’
13 “तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्‍वर्गतिर आँखा पनि नउठाई यसो भन्‍दै आफ्‍नो छाती पिट्यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्‌!’
14 “म तिमीहरूलाई भन्‍दछु, योचाहिँ मानिस त्‍यस अर्काभन्‍दा धर्मी ठहरिएर आफ्‍नो घरतिर लाग्‍यो। किनभने हरेक जसले आफूलाई उच्‍च पार्दछ, त्‍यो होच्‍याइनेछ, तर जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ।”

लूका 7 : 34
34 मानिसको पुत्र आयो, अनि उसले खायो र पियो, अनि तिमीहरू भन्‍दछौ, ‘हेर, एउटा घिचुवा र पियक्‍कड़, कर उठाउनेहरू र पापीहरूको मित्र!’

मत्ती 21 : 31 – 32
31 “अब यी दुईमा कुनचाहिँले बाबुको इच्‍छा पालन गर्‍यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्‍दा अघि परमेश्‍वरको राज्‍यमा प्रवेश गर्छन्‌।
32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्‍वास गरेनौ। तर कर उठाउनेहरू र वेश्‍याहरूले उनीमाथि विश्‍वास गरे। तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेनौ, अनि उनीमाथि विश्‍वास गरेनौ।”

लूका 19 : 1 – 10
1 येशू यरीहोमा प्रवेश गरेर त्‍यहाँबाट जाँदैहुनुहुन्‍थ्‍यो।
2 त्‍यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए।
3 येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्‍थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्‍न सकेनन्‌।
4 तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्‍जीरको रूखमा चढ़े। किनकि येशू त्‍यही बाटो भएर जान लाग्‍नुभएको थियो।
5 जब येशू त्‍यस ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले मास्‍तिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्‍नुपरेको छ।”
6 तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्‍कार गरे।
7 जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्‍न गए।”
8 जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्‍ना सम्‍पत्तिको आधा भाग गरीबहरूलाई दिन्‍छु, र कोहीबाट अन्‍यायपूर्वक केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता गरिदिनेछु।”
9 तब येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्‌।
10 किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो।”

रोमी 13 : 6 – 7
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।

मत्ती 17 : 24 – 27
24 जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्‍दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्‌?”
25 तिनले भने, “हो, तिर्नुहुन्‍छ।” पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्‍वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्‌? आफ्‍ना छोराहरूबाट कि अरूहरूबाट?”
26 “अरूहरूबाट,” पत्रुसले जवाफ दिए। येशूले तिनलाई भन्‍नुभयो, “उसो भए छोराहरूले त छुट पाएका रहेछन्‌।
27 तर तिनीहरू हामीबाट नचिढ़िऊन्‌ भन्‍ने हेतुले, समुद्रमा गएर बल्‍छी हान, र पहिले परेको माछा ल्‍याऊ। त्‍यसको मुख खोल्‍दा तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्‍यो लगेर तिम्रो र मेरो निम्‍ति तिनीहरूलाई देऊ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *