सपना र दर्शनहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सपना र दर्शनहरू

प्रेरित 2 : 17
17 ‘आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌।

आमोस 3 : 7
7 निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न।

योएल 2 : 28
28 “त्‍यसपछि म मेरा आत्‍मा सबै मानिसमाथि खन्‍याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्‍नेछन्‌। तिमीहरूका बूढ़ा मानिसहरू स्‍वप्‍नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌।

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

हिब्रू 10 : 35
35 त्‍यसकारण आफ्‍नो यो भरोसा नत्‍याग, जसमा ठूलो इनामको प्रतिफल छ।

मत्ती 1 : 18 – 25
18 येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।
19 तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे।
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।
21 तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
22 अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌:
23 “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”
24 योसेफ निद्राबाट ब्‍यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा स्‍वीकार गरे।
25 मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।

दानिएल 1 : 17
17 यी चार जवान मानिसहरूलाई परमेश्‍वरले सब किसिमका साहित्‍य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्‍न सक्‍ने भए।

प्रेरित 2 : 1 – 47
1 जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।
2 अनि स्‍वर्गबाट अचानक ठूलो बतासको झोक्‍काजस्‍तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो।
3 आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।
4 अनि तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र पवित्र आत्‍माले तिनीहरूलाई दिनुभएको उच्‍चारणबमोजिम तिनीहरू अन्‍य भाषाहरूमा बोल्‍न लागे।
5 स्‍वर्गमुनि भएको हरेक देशबाट ईश्‍वरभक्त यहूदीहरू त्‍यस बेला यरूशलेममा बसेका थिए।
6 तब यो आवाज सुनेर भीड जम्‍मा भयो। तिनीहरू आश्‍चर्यचकित भए, किनकि हरेकले आ-आफ्‍ना भाषामा तिनीहरू बोलिरहेका सुन्‍यो।
7 तिनीहरू सबै आश्‍चर्यचकित भए, र अचम्‍म मानेर भन्‍न लागे, “के यी बोल्‍नेहरू सबै गालीलीहरू होइनन्‌ र?
8 त कसरी तिनीहरू हरेकले हाम्रा आफ्‍ना मातृभाषामा बोलेको हामी सुन्‍छौं?
9 हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्‍टस र एशियाका बासिन्‍दाहरू छौं।
10 अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्‍नेहरू दुवै छौं,
11 क्रेटका बासिन्‍दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्‍ना भाषामा परमेश्‍वरका महान्‌ कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्‍दैछौं।”
12 तिनीहरू सबै आश्‍चर्यचकित भए र अन्‍योलमा परेर एउटाले अर्कालाई यसो भन्‍न लागे, “यसको अर्थ के हो?”
13 तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्‌।”
14 तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्‍च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्‍मै बासिन्‍दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्‍नुहोस्‌।
15 किनभने तपाईंहरूले ठान्‍नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ।
16 तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो,
17 ‘आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌।
18 हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌।
19 माथि आकाशमा म अचम्‍मका काम र तल पृथ्‍वीमा चिन्‍हहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो, र धूवाँको मुस्‍लो।
20 परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।
21 अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्‍यसले उद्धार पाउनेछ।’
22 “इस्राएलका मानिस हो, यी कुरा सुन्‍नुहोस्, नासरतका येशू यस्‍ता व्‍यक्ति हुनुहुन्‍थ्‍यो, जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, अचम्‍मका कामहरू र चिन्‍हहरूद्वारा तपाईंहरूका सामुन्‍ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्‍वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो।
23 परमेश्‍वरले ठहराउनुभएको निश्‍चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो।
24 उहाँलाई परमेश्‍वरले मृत्‍युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्‍युको अधीनमा उहाँ भइरहनु असम्‍भव थियो,
25 किनकि दाऊदले उहाँको विषयमा भन्‍दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्‍छ।
26 यसकारण मेरो हृदय आनन्‍दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ।
27 किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
28 तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’
29 “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्‍छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्‍म उनको चिहान छँदैछ।
30 यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्‍दथिए कि परमेश्‍वरले शपथ खानुभएको थियो कि उनकै सन्‍तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्‍वरले बसाल्‍नुहुनेछ।
31 अघिबाटै यो देखेर उनले ख्रीष्‍टको पुनरुत्‍थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
32 यिनै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं।
33 यसैकारण परमेश्‍वरको दाहिने बाहुलीपट्टि उहाँ उच्‍च पारिनुभयो, र पिताबाट पवित्र आत्‍माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्‍याइदिनुभएको हो, जे तपाईंहरू देख्‍नु र सुन्‍नुहुन्‍छ।
34 किनकि दाऊद त स्‍वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्‍दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस
35 जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।’
36 “त्‍यसैकारण इस्राएलको सारा परिवारले यो पक्‍का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट बनाउनुभयो।”
37 यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?”
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।
39 किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति, तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।”
40 अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्‍ट पुस्‍ताबाट तिमीहरूले आफैलाई बचाओ।”
41 तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्‍तिस्‍मा लिए, र त्‍यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्‍यामा थपिए।
42 तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्‍न र प्रार्थनामा भक्तिसाथ लागिरहन्‍थे।
43 हरेकको हृदयमा भय उत्‍पन्‍न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्‍मका काम र चिन्‍हहरू भए।
44 विश्‍वास गर्नेहरू जति सबै एकसाथ बस्‍थे, र तिनीहरूका सबै थोक साझा थिए।
45 तिनीहरूले आफ्‍ना सम्‍पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो सबैलाई ती बाँड़िदिन्‍थे।
46 तिनीहरू एकै मनका भई मन्‍दिरमा एकसाथ उपस्‍थित हुन्‍थे, र घर-घरमा रोटी भाँच्‍थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्‍थे,
47 र परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्‍छा पाउँदै बस्‍थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्‍यामा थपिदिनुहुन्‍थ्‍यो।

याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

भजनसंग्रह 102 : 1 – 28
1 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌, सहायताको लागि मेरो प्रार्थना तपाईंको समीप पुगोस्‌।
2 मेरो सङ्कष्‍टको दिनमा आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌। तपाईंको कान मतिर फर्काउनुहोस्‌, मैले पुकारा गरेको दिन मलाई तुरुन्‍तै जवाफ दिनुहोस्‌।
3 किनभने मेरा दिनहरू धूवाँझैँ विलोप हुन्‍छन्‌, र मेरा हाड़हरू झरिला फिलिङ्गाजस्‍ता जल्‍छन्‌।
4 मेरो हृदय घाँसझैँ ओइलिएर सुकेको छ, म आफ्‍नो भोजन खान पनि बिर्सिन्‍छु।
5 मेरो गहिरो आर्तनादले गर्दा म हाड र छाला भइसकें।
6 मरुभूमिको लाटोकोसेरोजस्‍तै भइसकें, भग्‍नावशेषमा वास गर्ने एउटा लाटोकोसेरोझैँ।
7 अनिद्राले म जागा बस्‍छु, धुरीमाथिको एकलो चरोजस्‍तो भएको छु।
8 मेरा शत्रुहरूले दिनभरि मेरो ठट्टा उड़ाउँछन्‌, मलाई दिल्‍लगीमा उड़ाउनेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन्‌।
9 किनकि म खरानी भोजनझैँ खान्‍छु, र आँसु मिसिएको पानी पिउँछु।
10 किनकि तपाईंको क्रोधले गर्दा तपाईंले मलाई माथि उचालेर एकापट्टि फालिदिनुभएको छ,
11 मेरा दिनहरू बेलुकीको छायासमान छन्‌, म घाँसजस्‍तै ओइलिसकेको छु।
12 तर तपाईं हे परमप्रभु, सदाको निम्‍ति सिंहासनमा विराजमान हुनुहुन्‍छ। तपाईंको कीर्ति पुस्‍ता-पुस्‍तासम्‍म रहन्‍छ।
13 तपाईं उठ्‌नुहुनेछ र सियोनमाथि दया-दृष्‍टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ।
14 किनभने तपाईंका दासहरूले त्‍यहाँका ढुङ्गाहरूलाई माया गर्छन्‌, र त्‍यसका धूलाहरूलाई पनि तिनीहरू टिठ्याउँछन्‌।
15 जातिहरू परमप्रभुको नाउँले भयभीत हुनेछन्‌, पृथ्‍वीका सबै राजाहरूले तपाईंका महिमाको आदर गर्नेछन्‌।
16 किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ, अनि आफ्‍नो महिमामा उहाँ प्रकट हुनुहुनेछ।
17 उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्‍यान दिनुहुन्‍छ, उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्‍न।
18 अहिलेसम्‍म सृष्‍टि नगरिएका मानिसहरूले, परमप्रभुको प्रशंसा गरून्‌ भनेर यो कुरा भावी पुस्‍ताको निम्‍ति लेखिओस्‌:
19 “परमप्रभुले उच्‍च स्‍थानमा रहेको आफ्‍नो पवित्रस्‍थानबाट, स्‍वर्गबाट तल पृथ्‍वीमाथि दृष्‍टिपात गर्नुभयो,
20 यसरी कैदीहरूका आर्तनाद उहाँले सुन्‍न सकून्‌, र मृत्‍युदण्‍ड पाएकाहरूलाई मुक्त गर्न सकून्‌।”
21 यसरी सियोनमा परमप्रभुका नाउँको वर्णन गरिनेछ, र यरूशलेममा उहाँको प्रशंसा गरिनेछ,
22 जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्‍यहरू एकत्रित हुनेछन्‌।
23 उहाँले मेरो जीवन-यात्रामै मेरो ताकत तोडिदिनुभयो, र मेरो आयु घटाइदिनुभयो।
24 यसैले मैले भनें, “हे मेरा परमेश्‍वर, मलाई अल्‍प आयुमा नै नलैजानुहोस्‌। तपाईंका वर्षहरू त पुस्‍तौँसम्‍म रहन्‍छन्‌।
25 आदिकालमा तपाईंले पृथ्‍वीको जग बसाल्‍नुभयो, र स्‍वर्ग तपाईंकै बाहुलीको कृति हो।
26 तिनीहरू नष्‍ट हुनेछन्‌, तर तपाईं रहिरहनुहुन्‍छ, तिनीहरू सबै वस्‍त्रझैँ थोत्रा भइजानेछन्‌। लुगा फेरेझैँ तपाईंले तिनीहरूलाई फेर्नुहुनेछ, र ती फालिनेछन्‌!
27 तर तपाईं त एकैनासका हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य नै हुँदैन।
28 तपाईंका सेवकहरूका सन्‍तान तपाईंको सम्‍मुख वास गर्नेछन्‌, र तिनका सन्‍तान तपाईंको सामुन्‍ने स्‍थिर रहनेछन्‌।”

उत्‍पत्ति 37 : 5
5 एक पल्‍ट योसेफले एउटा सपना देखे। तिनले त्‍यो सपना आफ्‍ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन्‌ बढ़ी दुश्‍मनी राख्‍न लागे।

लूका 24 : 23
23 र येशूको शरीर भेट्टाएनन्‌। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्‍वर्गदूतहरूलाई देख्‍यौं, जसले येशू जीवित हुनुहुन्‍छ भने।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *