यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विवाहहरू
उत्पत्ति 2 : 18 – 25
18 फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”
19 परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्यही-त्यही नै त्यसको नाउँ भयो।
20 यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे। तर आदमको [1] निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन।
21 यसैकारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्येको एउटा निकाल्नुभई त्यसको ठाउँमा मासु भरिदिनुभयो।
22 जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो।
23 मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।”
24 यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्।
25 मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, र लजाउँदैनथे।
उत्पत्ति 6 : 1 – 22
1 जब मानिसहरूको संख्या पृथ्वीमा बढ्दैगयो र तिनीहरूका छोरीहरू जन्मे,
2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आ-आफ्ना रुचिका पत्नीहरू ल्याए।
3 तब परमप्रभुले भन्नुभयो, “मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्यो मरणशील हो। त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।”
4 त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलीमहरू थिए। परमेश्वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।
5 पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।
6 पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो।
7 त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”
8 तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।
9 नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे।
10 नोआका तीन जना छोराहरू जन्मे— शेम, हाम र येपेत।
11 परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।
12 जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए।
13 यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु।
14 तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नू।
15 तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्।
16 जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्यसको एकापट्टि राख्नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनू।
17 जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ।
18 तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्।
19 सबै जीवित प्राणीमध्ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्।
20 पक्षीहरूमध्ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्।
21 हरेक किसिमका आहारा पनि तैंले आफ्नो साथमा जम्मा गरेर राख्नू। ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन्।”
22 परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।
१ पत्रुस 3 : 1 – 10
1 पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ।
2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ।
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे।
6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
7 पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस, र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्।
8 अन्त्यमा तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ।
9 खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक।
10 किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्।
Leave a Reply