यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लागूपदार्थको लत
१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।
१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
हिब्रू 10 : 26
26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्यौं भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहँदैन,
१ कोरिन्थी 6 : 12
12 “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।
फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
मत्ती 6 : 13
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
१ कोरिन्थी 6 : 9 – 11
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
11 तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ।
हितोपदेश 20 : 1
1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्।
एफिसी 5 : 18
18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।
मत्ती 5 : 13 – 16
13 “तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
14 “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
16 यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
१ कोरिन्थी 6 : 10
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
हितोपदेश 23 : 20
20 बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्म मासु हसुर्नेहरूसँग सङ्गत नगर्,
१ कोरिन्थी 8 : 9
9 तर होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्।
रोमी 13 : 1 – 7
1 हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्वरबाटै नियुक्त भएका हुन्।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्डको आज्ञा पाउनेछन्।
3 किनभने सुकर्मको निम्ति होइन, तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ।
4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
5 यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।
भजनसंग्रह 69 : 1 – 36
1 सङ्गीत-निर्देशकको निम्ति “लिली फूल” को रागअनुसार दाऊदको भजन [1] हे परमेश्वर, मलाई बचाउनुहोस्, किनकि पानी मेरो गर्दनसम्म आइसकेको छ।
2 उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु, गहिरो पानीमा फसेको छु, बाढ़हरू ममाथि उर्लंदैछन्।
3 मदतको लागि कराउँदा-कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ। मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्।
4 विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपालभन्दा धेरै छन्। विनाकारण मेरा शत्रु हुनेहरू धेरै छन्, जसले मलाई मार्न खोज्छन्। मैले नलुटेका चीजहरू फिर्ता गर्न मलाई बाध्य भएको छ।
5 हे परमेश्वर, तपाईं मेरो मूर्खता जान्नुहुन्छ, र मेरा दोष तपाईंबाट लुकेको छैन।
6 तपाईंमा आशा राख्नेहरू मेरो कारणले अनादरमा नपरून्, हे परमप्रभु, सर्वशक्तिमान् परमप्रभु। हे इस्राएलका परमेश्वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले शर्ममा नपरून्।
7 किनभने तपाईंकै खातिर मैले तिरस्कार सहेको छु, र लाजले मेरो अनुहारलाई ढाकेको छ।
8 मेरा भाइहरूका बीचमा म बिरानो भएको छु, र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु।
9 किनकि तपाईंका भवनको जोशले मलाई जलाएको छ, तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि आइपरेको छ,
10 म रुँदा र उपवास बस्दा, मैले उपहास सहनुपर्दछ,
11 जब म भाङ्ग्राको लुगा लगाउँछु, मानिसहरू मेरो ठट्टा गर्दछन्।
12 मूल ढोकामा बस्नेहरू मलाई खिज्याउँछन्, र म त मतवालाहरूको गीत भएको छु।
13 तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान् प्रेममा, हे परमेश्वर, तपाईंको निश्चित उद्धारले मलाई उत्तर दिनुहोस्।
14 दलदलमा डुब्नुदेखि मलाई बचाउनुहोस्, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्।
15 पानीको बाढ़ले मलाई नछोपोस्, अथवा जलले मलाई ननिलोस्, वा चिहानले आफ्नो मुख ममाथि बन्द नगरोस्।
16 तपाईंका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, आफ्नो महान् कृपामा मतर्फ फर्कनुहोस्।
17 तपाईंको मुहार आफ्नो दासदेखि नफर्काउनुहोस्। मलाई झट्टै उत्तर दिनुहोस्, किनकि म दु:खमा परेको छु।
18 मेरो नजिक आउनुहोस् र मेरो उद्धार गरिदिनुहोस्, मेरा शत्रुहरूको कारण मलाई मोल तिरेर छुटाउनुहोस्।
19 मेरो तिरस्कार, मेरो शर्म र मेरो बेइज्जत तपाईंलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईंकै अगि छन्।
20 तिरस्कारले मेरो मन भाँचेको छ, र म निस्सहाय भएको छु। मलाई टिठ्याउने कोही छन् कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्त्वना दिनेहरू पनि, तर कोही थिएन।
21 तिनीहरूले मेरो खानामा पित्त हाले, र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए।
22 तिनीहरूका निम्ति राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्, यो नै प्रतिफल र धराप बनोस्।
23 तिनीहरूका आँखा धमिला होऊन् र देख्न नसक्ने बनून्, र तिनीहरूको कमर सदा कुप्रिरहोस्।
24 तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्, र तपाईंको दन्किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्।
25 तिनीहरूको छाउनी उजाड भइजाओस्। तिनीहरूका पालहरूमा कोही वास नगरून्।
26 किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, त्यसलाई नै तिनीहरू सताउँछन्, र जसलाई तपाईंले घायल पार्नुभएको छ, त्यसलाई तिनीहरू अझ बढ़ी कष्ट दिन्छन्।
27 तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस्, र तिनीहरू तपाईंका उद्धारको सहभागी हुन नपाऊन्।
28 जीवनको पुस्तकबाट तिनीहरूका नाउँ मेटिऊन्, र धर्मीहरूका साथमा नलेखिऊन्।
29 म त दु:ख र पीडामा छु, हे परमेश्वर, तपाईंको उद्धारले मलाई रक्षा गरोस्।
30 स्तुति गाएर म परमेश्वरका नाउँको प्रशंसा गर्नेछु, र धन्यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु।
31 बलिको साँढ़ेभन्दा यी कुराले परमप्रभुलाई बढ़ी प्रसन्न पार्नेछन्, सीङ र खुर भएको गोरुभन्दा पनि बढ़ी प्रसन्न पार्नेछन्।
32 यो देखेर थिचोमिचोमा परेकाहरू रमाउनेछन्— हे परमेश्वरलाई खोज्ने हो, तिमीहरूको हृदय जीवित होस्।
33 परमप्रभुले दरिद्रहरूको पुकारा सुन्नुहुन्छ, र बन्धनमा परेका आफ्ना जनलाई तुच्छ ठान्नुहुन्न।
34 स्वर्ग र पृथ्वी र समुद्र र तिनमा चलहल गर्ने साराले उहाँको प्रशंसा गरून्।
35 किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई फेरि निर्माण गर्नुहुनेछ। तब मानिसहरू त्यहाँ बस्नेछन् अनि त्यसलाई कब्जा गर्नेछन्।
36 उहाँका दासहरूका सन्तान त्यसको उत्तराधिकारी हुनेछन्, र उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ वास गर्नेछन्।
मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
Leave a Reply