रानीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रानीहरू

एस्‍तर 1 : 11
11 मानिसहरू र भारदारहरूका सामु रानी वश्‍तीको सौन्‍दर्य देखाउनलाई राजसी शिरपेच पहिरेर ल्‍याउनू भनी हुकुम गरे, किनभने तिनी असाध्‍य सुन्‍दरी थिइन्‌।

१ राजाहरू 10 : 1 – 13
1 जब शेबाकी रानीले सोलोमनको कीर्ति र परमप्रभुका नाउँप्रतिको तिनको सम्‍बन्‍धबारे सुनिन्, गाह्रो-गाह्रो प्रश्‍नहरू लिएर सोलोमनको जाँच गर्नलाई तिनी आइन्‌।
2 तिनी एक साह्रै ठूलो लावालश्‍करसाथ यरूशलेममा आइन्‌— मसलाहरू, धेरै सुन र बहुमूल्‍य रत्‍नहरू लदाएर बोकेका ऊँटहरूका साथमा— तिनी सोलोमनकहाँ आइन्, र आफ्‍नो मनमा भएका सबै कुराहरूका विषयमा सोलोमनसित कुरा गरिन्‌।
3 सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए। ती व्‍याख्‍या गर्न राजालाई केही पनि गाह्रो भएन।
4 जब शेबाकी रानीले सोलोमनको सबै बुद्धि, तिनले निर्माण गरेको राजमहल
5 तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्‍ने अधिकारीहरू, आफ्‍ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्‍दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक्‌ भइन्‌।
6 तिनले राजालाई भनिन्, “तपाईंका उपलब्‍धिहरू र बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ।
7 तर आएर आफ्‍नै आँखाले नदेखुञ्‍जेल मैले पत्‍याएकी थिइनँ। साँच्‍चै, यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र धन-सम्‍पत्ति मैले सुनेको कुराभन्‍दा त धेरै ज्‍यादा रहेछन्‌।
8 तपाईंका मानिसहरू कति खुशी होलान्‌! तपाईंको सामुन्‍ने निरन्‍तर उभिने र तपाईंको बुद्धि सुन्‍न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी होलान्‌!
9 तपाईंसित प्रसन्‍न भएर इस्राएलको सिंहासनमा तपाईंलाई विराजमान गराउनुहुने परमप्रभु तपाईंका परमेश्‍वरलाई प्रशंसा होस्‌। इस्राएलको निम्‍ति उहाँको अनन्‍त प्रेम भएको हुनाले न्‍याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई राजा तुल्‍याउनुभएको छ।”
10 त्‍यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌। शेबाकी रानीले सोलोमन राजालाई दिएको जत्तिकै धेरै मसला फेरि कहिल्‍यै ल्‍याइएन।
11 हीरामका जहाजहरूले ओपीरबाट सुन ल्‍याउँथे। त्‍यहाँबाट तिनीहरूले चन्‍दनको काठ र बहुमूल्‍य पत्‍थरहरू जहाजमा पनि ल्‍याउँथे।
12 राजाले यी चन्‍दनका काठहरूबाट परमप्रभुको मन्‍दिर र तिनका राजमहलको निम्‍ति अड़्याउने खम्‍बाहरू बनाए, अनि गाउनेहरूका निम्‍ति वीणा र सारङ्गी यी नै काठका पनि बनाए। यति धेरै चन्‍दनको काठ कहिल्‍यै पैठारी गरिएका थिएनन्, र त्‍यस बेलादेखि यसो देखिएको पनि छैन।
13 सोलोमन राजाले शेबाकी रानीलाई राजाले आफ्‍नो राजकीय उदारताले दिएका सबै कुराहरूबाहेक तिनले इच्‍छा गरेर मागेका सबै कुरा दिए। त्‍यसपछि तिनी लावालश्‍करसाथ आफ्‍नो देशमा फर्किन्‌।

प्रेरित 8 : 27
27 अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्‍दाकीका ठूला पदाधिकारी र समस्‍त सम्‍पत्तिका कोषाध्‍यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए।

एस्‍तर 1 : 10 – 22
10 सातौँ दिनमा जब राजा दाखमद्य पिएर मस्‍त भएका थिए, तब तिनले आफ्‍नो घरको व्‍यवस्‍था मिलाउने सात जना नपुंसक सेवकहरू, अर्थात्‌ महूमान, बिज्‍था, हर्बोना, बिग्‍ता, अबगथा, जेथेर र कर्कासलाई,
11 मानिसहरू र भारदारहरूका सामु रानी वश्‍तीको सौन्‍दर्य देखाउनलाई राजसी शिरपेच पहिरेर ल्‍याउनू भनी हुकुम गरे, किनभने तिनी असाध्‍य सुन्‍दरी थिइन्‌।
12 तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्‍तीले इन्‍कार गरिन्‌। यसले गर्दा राजा अत्‍यन्‍त क्रोधित भए। उनी रीसले आगो भए।
13 राजाले यस्‍तो दुराचरणसम्‍बन्‍धी राजसी चलनअनुसार कानून र न्‍यायमा पोख्‍त र ज्ञानी सल्‍लाहकारहरूसँग सल्‍लाह लिए।
14 तीमध्‍ये हालको परिस्‍थिति बुझ्‍ने फारस र मादीका सात जना भारदार, कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान थिए। उनीहरू राजाको नजिकका थिए। उनीहरूलाई राजाको उपस्‍थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो। उनीहरूले राज्‍यमा विशेष स्‍थान पाएका थिए।
15 राजाले उनीहरूलाई सोधे, “नपुंसकद्वारा दिइएको राजा अहासूरसको हुकुम इन्‍कार गरेकोमा रानी वश्‍तीलाई कस्‍तो व्‍यवहार गर्नुपर्छ? कानूनले के भन्‍छ?”
16 तब ममूकानले राजा र भारदारहरूका सामुन्‍ने यो जवाफ दिए: “रानी वश्‍तीले केवल राजाको मात्र होइन तर राजा अहासूरसका सारा प्रान्‍तका सबै भारदारहरू र मानिसहरूको अनादर गर्नुभयो।
17 रानीले गर्नुभएको काम सबै स्‍त्रीले थाहा पाउनेछन्, र त्‍यसले गर्दा तिनीहरूले आफ्‍ना पतिहरूलाई तुच्‍छ ठान्‍नेछन्‌। तिनीहरूले यसो भन्‍नेछन्, ‘राजा अहासूरसले रानी वश्‍तीलाई आफ्‍नो सामु ल्‍याउन हुकुम गर्नुभएको थियो, तर उहाँ आउनुभएन’।
18 रानीका व्‍यवहारको विषयमा सुन्‍ने फारस र मादीका ठूला घरानाका स्‍त्रीहरूले राजाका सबै भारदारहरूसित आजका दिनको कुरा गर्नेछन्, र यसले गर्दा अनादर र अशिष्‍टताको सीमा रहनेछैन।
19 “यदि हजूरको इच्‍छा भए ‘वश्‍तीले फेरि कहिल्‍यै राजा अहासूरसको सामुन्‍ने देखा पर्न नपाऊन्‌’ भन्‍ने हजूरबाट एउटा राजकीय उर्दी निकालिबक्‍सिओस्‌ र त्‍यो फरिसी र मादीहरूको ऐनमा कहिल्‍यै रद्द नहुने गरी लेखिओस्‌। अनि राजाले उहाँको सट्टामा उहाँभन्‍दा अझै योग्‍यकी स्‍त्रीलाई रानीको स्‍थान दिइबक्‍सिओस्‌।
20 यसरी जब यो राजकीय उर्दी राज्‍यको चारैतिर सुनिन्‍छ, तब ठूला र साना दर्जाका सबै स्‍त्रीहरूले आफ्‍ना पतिहरूको आदर गर्नेछन्‌।”
21 ममूकानको सल्‍लाहलाई भारदारहरू सबैले असल ठाने, र तिनको प्रस्‍ताव राजाले स्‍वीकार गरे।
22 तब हरेक मानिस आफ्‍नो घरको मालिक भएर आफ्‍नो सबै परिवारमाथि अधिकार चलाओस्‌ भनेर राज्‍यको चारैतिर हरेक प्रदेशमा आ-आफ्‍नो लिपिबमोजिम र हरेक जातिलाई आ-आफ्‍नो भाषामा पत्रहरू पठाइए।

एस्‍तर 2 : 17
17 राजालाई अरू सबै स्‍त्रीहरूभन्‍दा एस्‍तरलाई नै मन पर्‍यो। अनि राजाले अरू कन्‍ये-केटीहरूभन्‍दा तिनलाई निगाह र स्‍वीकृति देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए, र वश्‍तीको सट्टामा तिनलाई आफ्‍नी रानी तुल्‍याए।

एस्‍तर 1 : 9
9 यसबाहेक रानी वश्‍तीले पनि राजा अहासूरसकै राजमहलमा स्‍त्रीहरूलाई एउटा ठूलो भोज दिइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *