यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानिसहरूले तपाईंलाई चोट पुर्याउँछन्
मत्ती 6 : 1 – 34
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
4 तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
5 “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्।
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
7 र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्।
8 यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।
9 “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्।
10 तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
11 हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
16 “जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
17 तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ।
18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
19 “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्।
20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।
21 किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।
22 “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ।
23 तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ!
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
25 “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र?
27 तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?
28 “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
29 तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
34 यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।”
हिब्रू 10 : 17
17 तब उहाँ भन्नुहुन्छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झनेछैनँ।”
रोमी 12 : 1 – 21
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्।
4 किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,
5 त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं।
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार,
7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
9 प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
13 सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।
14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।
15 आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ।
16 एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ।
18 हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस।
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
यशैया 1 : 1 – 31
1 यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।
2 हे आकाश, सुन्! हे पृथ्वी, कान थाप्! किनकि परमप्रभुले भन्नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्।
3 गोरुले आफ्नो मालिक चिन्छ, र गधाले आफ्नो स्वामीको डूँड़ चिन्छ, तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
4 हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार गर्नेहरूका सन्तान। तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्नो पिठिउँ फर्काएका छन्।
5 तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ।
6 पैतालादेखि टुपीसम्मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्ला घाउहरू मात्र छन्। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्।
7 तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्। तिमीहरूको जमिन तिमीहरूकै सामुन्ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्यो उजाड़ पारिएको छ।
8 सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ।
9 यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति केही बाँचेकाहरू नछोड्नुभएको भए त हामी सदोमजस्तै हुनेथियौं, हामी गमोराजस्तै हुनेथियौं।
10 हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्वरको कानून ध्यान दिएर सुन!
11 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्नँ।
12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्छ र? मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न कसले तिमीहरूलाई भनेको छ र?
13 व्यर्थका बलिहरू नल्याओ। तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघटहरू म सहन सक्दिनँ।
14 तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्ति भार भएका छन्। ती बोक्दा-बोक्दा म थाकेको छु।
15 तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्।
16 आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़।
17 भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
18 परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्।
19 यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ।
20 तर तिमीहरू इन्कार गर्छौ र अटेरी हुन्छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो।
21 हेर त, विश्वासयोग्य सहर कसरी एउटी वेश्या भई त! उहिले त्यो न्यायले पूर्ण थियो। त्यसमा धार्मिकताले वास गर्थ्यो, तर अब त त्यो हत्याराहरूले भरिएको छ!
22 तेरो चाँदी मैला भएको छ, तेरो दाखमद्यमा पानी मिसाइएको छ।
23 तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्छन्। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्दैन।
24 यसैकारण प्रभु, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्नुहुन्छ, “मेरा दुश्मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु।
25 मेरो हात तेरो विरुद्धमा फर्काउनेछु, तेरो मैला जम्मै फालिदिनेछु, र तेरा सबै अशुद्धता हटाइदिनेछु।
26 म तेरा न्यायकर्ताहरूलाई पहिलेको जस्तै, र तेरा सल्लाहकारहरूलाई सुरुमा जस्तै फेरि नियुक्त गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर र विश्वासयोग्य सहर कहलाइनेछस्।”
27 न्यायसित सियोनको छुटकारा हुनेछ, र पश्चात्ताप गर्ने त्यहाँका बासिन्दाहरूको छुटकारा धार्मिकतासित हुनेछ।
28 तर अटेरीहरू र पापीहरू दुवै एकसाथ टुक्रिनेछन्, र परमप्रभुलाई त्याग्नेहरूचाहिँ नष्ट हुनेछन्।
29 “तिमीहरूले अति प्रसन्न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्जित हुनेछौ।
30 पात ओइलाइसकेको फलाँटको रूख र पानी नभएको बगैँचाजस्तै तिमीहरू हुनेछौ।
31 शक्तिशाली मानिसचाहिँ सनपाटका धुस्नुजस्तै, र त्यसको काम आगोको झिल्काजस्तै हुनेछ। ती दुवै एकैसाथ जल्नेछन्, र कसैले त्यस आगोलाई निभाउनेछैन।”
प्रस्थान 20 : 5
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
रोमी 7 : 1 – 25
1 भाइ हो, के तिमीहरू जान्दैनौ— म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु— कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ।
2 उदाहरणको लागि, एउटी विवाहिता स्त्री तिनको पति बाँचुञ्जेल आफ्नो पतिसँग कानूनले बाँधिएकी हुन्छिन्, तर यदि तिनको पति मर्यो भने पति सम्बन्धको कानूनबाट तिनी मुक्त हुन्छे।
3 यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छिन्। तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदिनन्।
4 यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लेखि मरेका छौ, ताकि तिमीहरू अर्को मानिस, अर्थात् मृत्युबाट जीवित हुनुभएका ख्रीष्टसँग एक होओ, र हामी परमेश्वरको निम्ति फल फलाऔं।
5 जब हामी पापमय स्वभावमा जीवन बिताइरहेका थियौं, तब मृत्युको फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराइएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे।
6 हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखि मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं, र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं।
7 हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन! यदि व्यवस्था नभए मैले पाप थाहा पाउनेथिइनँ, किनकि “तैंले लोभ नगर्” भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउनेथिइनँ।
8 तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्पन्न गरायो। व्यवस्थाविना त पाप मुर्दातुल्य हो।
9 व्यवस्थाविना रहँदा एक पल्ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागिउठ्यो, र मचाहिँ मरें।
10 जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो।
11 किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो, र त्यसैद्वारा मलाई मार्यो।
12 व्यवस्था पवित्र छ, र आज्ञा पवित्र, न्यायसङ्गत र असल छ।
13 त के जो असल छ, त्यसले मेरो निम्ति मृत्यु ल्यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस् भनेर असल कुराद्वारा पापले ममा मृत्यु उत्पन्न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्पूर्ण रूपले पापमय बनोस्।
14 किनकि हामी जान्दछौं कि व्यवस्था आत्मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु।
15 म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु।
16 गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु।
17 यसैले अब त्यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो।
18 किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन। जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ।
19 किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु।
20 अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।
21 यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु।
22 किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु,
23 तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ।
24 हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला?
25 येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा नै— परमेश्वरलाई धन्यवाद होस्। त्यसैले म स्वयम् आफ्नो मनले त परमेश्वरका व्यवस्थाको सेवा गर्दछु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापका व्यवस्थाको सेवा गर्दछु।
मत्ती 5 : 1 – 29
1 भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए।
2 उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो:
3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
4 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्।
7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्।
8 धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
10 धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
11 “धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्।
12 तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।
13 “तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
14 “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।
15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
16 यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
17 “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।
18 किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।
19 यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ।
20 किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’
22 तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
23 “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने,
24 तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।
25 “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ।
26 साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ।
27 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’
28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ।
यर्मिया 31 : 34
34 ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।”
Leave a Reply