मध्य पूर्वमा शान्ति

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मध्य पूर्वमा शान्ति

जकरिया 14 : 12
12 जत्ति जातिहरूले यरूशलेमको विरुद्धमा लड़ाइँ गरे, ती सबैलाई परमप्रभुले यस्‍तो महामारीद्वारा प्रहार गर्नुहुनेछ: तिनीहरू आफ्‍ना खुट्टामा खड़ा भएर उभिएकैमा तिनीहरूको मासु कुहेर जानेछ, तिनीहरूका आँखा तिनीहरूकै खोपिल्‍टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूका मुखैमा कुहिजानेछन्‌।

दानिएल 11 : 1 – 45
1 “मादी दाराको प्रथम वर्षमा उनलाई मदत गर्न र रक्षा गर्न म खड़ा भएँ।
2 “अब म तिमीलाई सत्‍य कुरा बताउँछु: फारसका अरू तीन राजाहरू देखा पर्नेछन्‌ र त्‍यसपछि ती सबैभन्‍दा धनी अर्का चौथा पनि निस्‍कनेछन्‌। जब उनले आफ्‍नो सम्‍पत्तिद्वारा शक्ति प्राप्‍त गर्नेछन्, उनले सबैलाई ग्रीस राज्‍यको विरुद्ध उक्‍साउनेछन्‌।
3 त्‍यसपछि एक जना शक्तिशाली राजा खड़ा हुनेछन्, जसले आफ्‍नो ठूलो शक्तिसाथ शासन गर्नेछन्‌ र जे मन लाग्‍यो त्‍यही गर्नेछन्‌।
4 उनी खड़ा भएपछि, उनको साम्राज्‍य टुक्रिनेछ र स्‍वर्गका चार बतासतिर बाँड़िनेछ। त्‍यो उनका सन्‍तानहरूले पाउनेछैनन्, न त उनले चलाएको अधिकार त्‍यसको हुनेछ, किनभने उनको साम्राज्‍य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।
5 “दक्षिणका राजा बलिया हुनेछन्, तर उनका सेनापतिहरूमध्‍ये एक जना उनीभन्‍दा अझ बलिया हुनेछन्‌ र ठूलो शक्तिसाथ तिनले आफ्‍नै राज्‍यको शासन गर्नेछन्‌।
6 केही वर्षपछि उनीहरू मित्र बन्‍नेछन्‌। एउटा सन्‍धि गर्नका लागि दक्षिणका राजाकी छोरी उत्तरका राजाकहाँ जानेछिन्, तर तिनले आफ्‍नो शक्ति कायम गर्नेछैनन्, र उनी र उनको शक्ति दिगो रहनेछैनन्‌। ती दिनमा तिनका राजकीय रक्षकहरू र तिनका पिता र तिनका समर्थकका साथ तिनी सुम्‍पिइनेछिन्‌।
7 “तिनको स्‍थान लिनका निम्‍ति एक जना तिनको वंशबाट उठ्‌नेछन्‌। उनले उत्तरका राजाको सैन्‍य शक्तिमाथि आक्रमण गर्नेछन्‌ र उनको किल्‍लाभित्र प्रवेश गर्नेछन्‌। उनले तिनीहरूका विरुद्ध लड़ाइँ गर्नेछन्‌ र विजयी हुनेछन्‌।
8 उनले तिनीहरूका देवताहरू, तिनीहरूका फलामे मूर्तिहरू र चाँदी र सुनका बहुमूल्‍य भाँड़ाकुँड़ाहरू पनि जफत गर्नेछन्‌ र मिश्रदेशतिर लैजानेछन्‌। केही वर्षका लागि उनले उत्तरका राजालाई छोड्‌नेछन्‌।
9 तब उत्तरका राजाले दक्षिणका राजाको राज्‍यमाथि हमला गर्नेछन्‌ तर उनी आफ्‍नै देशमा फर्कनेछन्‌।
10 उनका छोराहरूले लड़ाइँको लागि तयार गर्नेछन्‌ र विशाल सेना जम्‍मा गर्नेछन्, जसले रोक्‍न नसक्‍ने बाढ़ले झैँ जित्‍दै किल्‍लासम्‍मै लड़ाइँ पुर्‍याउनेछ।
11 “तब दक्षिणका राजा क्रोधित भएर उत्तरका राजाको विरुद्धमा लड़ाइँ गर्न निस्‍कनेछन्, जसले ठूलो सेना उठाउनेछन्‌ तर त्‍यो सेना हार्नेछ।
12 जब त्‍यो सेना लगिन्‍छ, दक्षिणका राजाले घमण्‍डले फुलेर हजारौँलाई मार्नेछन्, तैपनि उनी विजयी रहनेछैनन्‌।
13 किनभने उत्तरका राजाले पहिलोभन्‍दा ठूलो सेना तयार गर्नेछन्‌ र केही वर्षपछि उसले सामानले सुसज्‍जित एउटा ठूलो भयङ्कर सेनासित अगि बढ्‌नेछन्‌।
14 “ती दिनहरूमा धेरै जना दक्षिणका राजाको विरुद्धमा उठ्‌नेछन्‌। यो दर्शन पूरा गर्न तिम्रो आफ्‍नै जातिका मानिसहरूमध्‍येबाटै हिंसात्‍मक मानिसहरू निस्‍कनेछन्‌ तर सफल हुनेछैनन्‌।
15 त्‍यसपछि उत्तरका राजा आएर घेरा मचान बनाई पर्खालले घेरिएको सहरलाई कब्‍जा गर्नेछन्‌। दक्षिणको सेना त्‍यसको सामना गर्न शक्तिहीन हुनेछ, तिनीहरूका उत्‍कृष्‍ट टोलीहरू पनि खड़ा हुन सक्‍नेछैनन्‌।
16 आक्रमणकारीले इच्‍छा लागेअनुसार गर्नेछन्, कोही पनि उनको विरुद्ध खड़ा हुन सक्‍नेछैन। उनले आफैलाई त्‍यो सुन्‍दर देशमा बसाल्‍नेछन्‌ र उनीसित त्‍यसलाई नाश गर्ने शक्ति हुनेछ।
17 उनले आफ्‍नो सम्‍पूर्ण राज्‍यको शक्तिसाथ आउने निर्णय गर्नेछन्‌ र दक्षिणका राजासँग सन्‍धि गर्नेछन्‌। अनि त्‍यो राज्‍य पराजित गर्नलाई उनले आफ्‍नी छोरी तिनलाई विवाह गर्न दिनेछन्, तर उनको योजना सफल हुनेछैन न त उनलाई मदत नै हुनेछ।
18 तब उनले आफ्‍नो ध्‍यान समुद्री किनारका देशहरूतिर लगाउनेछन्‌ र तीमध्‍ये धेरैलाई लिनेछन्, तर एक जना सेनापतिले उनको उच्‍चोपनको अन्‍त गर्नेछन्‌ र उनको उच्‍चोपन उनीमाथि नै फर्काउनेछन्‌।
19 यसपछि उनी आफ्‍नै देशका किल्‍लाहरूतर्फ फर्कनेछन्, तर फेरि कहिल्‍यै नदेखिने गरी उनी ठेस खानेछन्‌ र पतित हुनेछन्‌।
20 राजकीय वैभवलाई कायम राख्‍न उनका उत्तराधिकारीले एक जना कर उठाउने व्‍यक्तिलाई पठाउनेछन्‌। तर केही वर्षमा नै कुनै रीसभाव वा लड़ाइँमा नपरीकनै यिनी नाश गरिनेछन्‌।
21 “राजकीय सम्‍मान नपाएको एक तिरस्‍कृत व्‍यक्तिद्वारा उनको स्‍थान लिइनेछ। जब मानिसहरूले सुरक्षाको महसूस गरिरहेका हुनेछन्, त्‍यसले त्‍यस राज्‍यमाथि आक्रमण गर्नेछ र त्‍यसले षड्‌यन्‍त्रद्वारा त्‍यस राज्‍यलाई लिनेछ।
22 त्‍यसपछि त्‍यसको सामु एक जना शक्तिशाली सेना खतम पारिनेछ, र साथै करारका राजकुमार पनि नाश गरिनेछन्‌।
23 त्‍यससँग सन्‍धि गरिसकेपछि त्‍यसले छलपूर्ण तरीकाले काम गर्नेछ र थोरै मानिसहरूसहित त्‍यसले अधिकार जमाउनेछ।
24 सबैभन्‍दा धनी प्रान्‍तहरूले सुरक्षाको महसूस गरिराखेको बेला त्‍यसले तिनीहरूमाथि आक्रमण गर्नेछ, र त्‍यसका पिता-पुर्खाहरूले नगरेका काम त्‍यसले गर्नेछ। त्‍यसले लुटेका सामान र सम्‍पत्तिहरू आफ्‍नो पछि लाग्‍नेहरूका बीचमा बाँड्‌नेछ। त्‍यसले किल्‍लाहरूका हारको निम्‍ति षड्‌यन्‍त्र गर्नेछ— तर थोरै समयको लागि मात्र।
25 “ठूलो सेनाका साथ दक्षिणका राजाको विरुद्ध त्‍यसले आफ्‍नो बल र साहसलाई उत्तेजित पार्नेछ। दक्षिणका राजाले एक विशाल र अत्‍यन्‍तै शक्तिशाली सेना उठाएर लड़ाइँ गर्नेछन्, तर उनको विरुद्धमा रचिएका षड्‌यन्‍त्रको कारण उनी खड़ा हुन सक्‍नेछैनन्‌।
26 उनकै खाना खानेहरूले उनलाई नष्‍ट पार्न प्रयत्‍न गर्नेछन्‌। उनको सेना परास्‍त गरिनेछ र धेरै जना लड़ाइँमा मर्नेछन्‌।
27 ती दुई राजाहरू दुष्‍ट हृदय लिएर एउटै टेबिलमा बसेर एक-अर्कासँग झूट बोल्‍नेछन्, तर कुनै लाभ मिल्‍नेछैन, किनभने अन्‍तको दिनचाहिँ तोकिएको समयमा नै आउनेछ।
28 ठूलो सम्‍पत्तिको साथ उत्तरको राजा आफ्‍नै देशमा फर्कनेछ, तर त्‍यसको हृदय पवित्र करारको विरुद्ध हुनेछ। त्‍यसले यसको विरुद्ध काम गर्नेछ, अनि आफ्‍नै देशमा फर्कनेछ।
29 “तोकिएको समयमा त्‍यसले फेरि दक्षिणमा हमला गर्नेछ, तर यस पल्‍टको परिणाम पहिलाको भन्‍दा फरक हुनेछ।
30 पश्‍चिमी किनारका देशहरूबाट त्‍यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्‍यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्‍यसले आफ्‍नो रीस पोख्‍नेछ। त्‍यो फर्कनेछ र त्‍यसले पवित्र करार त्‍याग्‍नेहरूलाई कृपा देखाउनेछ।
31 “त्‍यसको सशस्‍त्र सेना मन्‍दिरको किल्‍लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्‍नेछ। त्‍यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्‍थापना गर्नेछन्‌।
32 करार भङ्ग गर्नेहरूलाई त्‍यसले झूठो प्रशंसा गरेर भ्रष्‍ट पार्नेछ, तर आफ्‍ना परमेश्‍वरलाई चिन्‍नेहरूले दृढ़तासाथ त्‍यसको विरोध गर्नेछन्‌।
33 “जो बुद्धिमान्‌ छन्, तिनीहरूले धेरै मानिहरूलाई शिक्षा दिनेछन्, यद्यपि केही समयको लागि तिनीहरू तरवारको शिकार बन्‍नेछन्‌ वा आगोले जलाइनेछन्‌ वा कैदमा पर्नेछन्‌ वा लुटिनेछन्‌।
34 जब तिनीहरू यसमा लड्‌नेछन्, तिनीहरूले थोरै सहायता पाउनेछन्, र जो ईमानदार छैनन्, उनीहरू सामेल हुनेछन्‌।
35 बुद्धिमान्‌हरूमध्‍ये केहीले ठेस खानेछन्, यसरी तिनीहरू अन्‍तको दिनसम्‍मको लागि खारिऊन्, शुद्ध पारिऊन्‌ र दागरहित बनाइऊन्, किनभने त्‍यो दिन तोकिएको समयमा आउनेछ।
36 “त्‍यस राजाले जे मन लाग्‍यो त्‍यही गर्नेछ। उसले आफैलाई हरेक देवभन्‍दा माथि उचाल्‍नेछ र देवहरूका पनि परमेश्‍वरको विरुद्धमा कहिल्‍यै नसुनिएका कुरा गर्नेछ। क्रोधको समय समाप्‍त नहोउञ्‍जेल त्‍यो सफल हुनेछ, किनभने जे निश्‍चय गरिएको छ, त्‍यो पूरा हुनैपर्छ।
37 आफ्‍ना पिता-पुर्खाहरूका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवको पनि उसले वास्‍ता गर्नेछैन, न त उसले कुनै पनि देवको वास्‍ता गर्छ, तर त्‍यसले आफैलाई ती सबैभन्‍दामाथि उचाल्‍नेछ।
38 तिनीहरूका सट्टा उसले किल्‍लाहरूको एउटा देवतालाई मान गर्नेछ, आफ्‍ना पिता-पुर्खाले नजानेको देवतालाई सुन र चाँदी, बहुमूल्‍य पत्‍थरहरू र दामी उपहारहरू चढ़ाएर मान गर्नेछ।
39 उसले एक विदेशी देवताको सहायताले सबैभन्‍दा शक्तिशाली किल्‍लाहरूमाथि आक्रमण गर्नेछ र उसलाई मान्‍नेहरूलाई उसले ठूलो सम्‍मान गर्नेछ। उसले उनीहरूलाई धेरै मानिसहरूमाथि शासकहरू तुल्‍याउनेछ र एउटा मूल्‍यमा जमिन वितरण गर्नेछ।
40 “अन्‍तको समयमा दक्षिणका राजाले ऊसँग लड़ाइँ गर्नेछन्, र उत्तरको राजा रथहरू, घोड़चढ़ीहरू र धेरै जहाजहरू लिएर उनको विरुद्धमा आँधीझैँ आउनेछ। उसले धेरै देशहरूलाई आक्रमण गर्नेछ, ऊ बाढ़ीझैँ तिनीहरूमाथि बग्‍नेछ।
41 उसले त्‍यस सुन्‍दर देशलाई पनि हमला गर्नेछ। धेरै देशहरूको पतन हुनेछ, तर एदोम, मोआब र अम्‍मोनका अगुवाहरूचाहिँ उसको हातबाट बचाइनेछन्‌।
42 उसले धेरै देशहरूमाथि आफ्‍नो शक्ति फैलाउनेछ, मिश्रदेश उम्‍कनेछैन।
43 उसले लिबियालीहरू र कूशीहरूलाई अधीनमा पारेर मिश्रदेशका सुन र चाँदी र सबै सम्‍पत्तिहरू आफ्‍नो नियन्‍त्रणमा लिनेछ।
44 तर पूर्व र उत्तरबाट आएका खबरहरूले उसलाई तर्साउनेछन्‌ र ऊ अति क्रोधित भएर धेरैलाई विनाश र नामेट पार्न अगि बढ्‌नेछ।
45 उसले त्‍यस सुन्‍दर पवित्र पर्वतमा समुद्रहरूका बीचमा आफ्‍ना राजकीय पालहरू खड़ा गर्नेछ। तापनि उसको अन्‍त हुनेछ र कसैले पनि उसलाई सहायता गर्नेछैन।

मर्कूस 16 : 15
15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।

मत्ती 24 : 1 – 51
1 त्‍यसपछि येशू मन्‍दिरबाट निस्‍केर जान लाग्‍नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्‍दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए।
2 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।”
3 येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?”
4 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌।
5 किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्‌।
6 तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।
7 किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।
8 तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
9 “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌।
10 तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ।
11 धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌।
12 दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
13 तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।
14 अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।
15 “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्‍थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्‌),
16 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।
17 कौसीमा हुनेहरू आफ्‍ना घरमा भएका सामान निकाल्‍नलाई तल नझरून्‌।
18 खेतबारीमा हुने आफ्‍नो खास्‍टो लिन फर्की नआऊन्‌।
19 हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा।
20 तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्‍न नपरोस्‌ भनी प्रार्थना गर।
21 किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ।
22 ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌।
23 तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ छन्, कि त्‍यहाँ छन्‌’ भन्‍यो भने विश्‍वास नगर।
24 किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।
25 याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु।
26 “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्‍थानमा छन्’ भनी भन्‍छन्‌ भने बाहिर निस्‍केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्‍वास नगर।
27 किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।
28 जहाँ सिनु हुन्‍छ, त्‍यहाँ गिद्धहरू पनि जम्‍मा हुन्‍छन्‌।
29 “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌।
30 तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।
31 उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌।
32 “तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ।
33 त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।
34 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन।
35 स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।
37 मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ।
38 किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,
39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ।
40 त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ।
41 दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ।
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।
43 तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन।
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
45 “विश्‍वासी र बुद्धिमान्‌ नोकर को हो, जसलाई त्‍यसको मालिकले आफ्‍ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस्‌ भनी खटाएको हुन्‍छ?
46 त्‍यो नोकर धन्‍य हो, जसलाई मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछ।
47 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मालिकले त्‍यसलाई आफ्‍नो सारा सम्‍पत्तिमाथि जिम्‍मेवार नियुक्त गर्नेछ।
48 तर यदि त्‍यस दुष्‍ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,
49 आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्‌न र मतवालाहरूसँग खान र पिउन लाग्‍यो भने,
50 त्‍यस नोकरको मालिक त्‍यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्‍नेछ।
51 अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *