यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भूल र कमीशन को पाप
याकूब 4 : 17
17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ।
लूका 13 : 3
3 म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।
१ यूहन्ना 3 : 4
4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो।
१ यूहन्ना 2 : 1 – 29
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।
2 उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि।
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं।
4 जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन।
5 तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं।
6 उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।
7 प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ।
9 जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै पनि अन्धकारमा नै छ।
10 जसले आफ्नो भाइलाई प्रेम गर्छ, त्यो ज्योतिमा रहन्छ, र त्यसमा ठक्करको कारण हुँदैन।
11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ, र अँध्यारोमा हिँड्छ, र त्यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ।
12 मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
14 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
17 संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।
18 ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्। यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो।
19 तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।
20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
21 तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
22 झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
23 पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।
24 जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्त जीवन।
26 तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्तछु।
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।
28 साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्।
29 उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ।
रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।
१ यूहन्ना 5 : 17
17 सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन।
प्रेरित 17 : 30
30 यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ।
गलाती 6 : 7 – 9
7 धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ।
8 जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।
यूहन्ना 3 : 1 – 36
1 फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्य थिए।
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।”
4 निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ?”
5 येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।
6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो।
7 मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान।
8 बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।”
9 निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्दछ?”
10 येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्दैनौ?
11 साँच्चै, म तिमीलाई भन्दछु, हामी जे जान्दछौं त्यो भन्दछौं, र हामीले जे देखेका छौं त्यसको गवाही दिन्छौं, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ।
12 मैले तिमीहरूलाई पृथ्वीका कुरा भनें, र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ?
13 स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन।
14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ,
15 र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ।
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
17 किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।
18 जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन।
19 फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए।
20 किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन्।
21 सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ।”
22 यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्तिस्मा दिनुभयो।
23 यूहन्नाले पनि सालीमको छेउ एनोनमा बप्तिस्मा दिन्थे, किनकि त्यहाँ प्रशस्त पानी थियो। त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे।
24 त्यस बेलासम्म यूहन्ना झ्यालखानमा परेका थिएनन्।
25 त्यसै बेला यूहन्नाका चेलाहरूको एक जना यहूदीसँग शुद्धीकरणको विषयमा वाद-विवाद भयो।
26 यूहन्नाकहाँ आएर तिनीहरूले उनलाई भने, “गुरुज्यू, यर्दन पारि जो तपाईंसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईंले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनुभएको छ, र सबै उहाँकहाँ जाँदैछन्।”
27 यूहन्नाले जवाफ दिए, “मानिसलाई स्वर्गबाट नदिइएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन।
28 ‘म ख्रीष्ट होइनँ, तर म उहाँभन्दा अगाडि पठाइएको हुँ’ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ।
29 जससँग दुलही छ, दुलहा त्यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्छ, उसको सोर सुनेर अत्यन्त आनन्दित हुन्छ। यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ।
30 उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।
31 “माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट हुने पृथ्वीकै हो, र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ।
32 उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन।
33 जसले उहाँको गवाही ग्रहण गरेको छ, त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ।
34 किनभने जसलाई परमेश्वरले पठाउनुभयो, त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले विनानाप पवित्र आत्मा दिनुहुन्छ।
35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा दिनुभएको छ।
36 जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।”
रोमी 14 : 1 – 23
1 विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।
2 कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ।
3 खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।
4 अर्काको चाकरलाई इन्साफ गर्ने तिमी को हौ? त्यो त आफ्नै मालिकको सामु खड़ा हुन्छ वा पतित हुन्छ। त्यो खड़ा गराइनेछ, किनभने, त्यसका मालिकले त्यसलाई खड़ा गराउन सक्छ।
5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ।
6 जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ।
7 हामी कोही पनि आफ्नै निम्ति बाँच्दैनौं र कोही पनि आफ्नै निम्ति मर्दैनौं।
8 यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै निम्ति मर्छौं।
9 चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्।
10 तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ? अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खड़ा हुनेछौं।
11 किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।”
12 यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं।
13 यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौं। बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं।
14 म जान्दछु, र प्रभु येशूमा मलाई निश्चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ, त्यसको निम्ति त्यो अशुद्धै हुन्छ।
15 यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्।
16 यसैकारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेओ।
17 किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
18 जसले यस किसिमले ख्रीष्टको सेवा गर्दछ, त्यो परमेश्वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्छ।
19 यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।
20 खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।
21 उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।
22 तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। धन्यको हो त्यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।
23 तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।
Leave a Reply