भित्तामा पहरेदार

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भित्तामा पहरेदार

इजकिएल 3 : 17 – 19
17 “हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्‍याएको छु। यसैले मैले भनेको कुरा सुन्‌ अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे।
18 जब म एक जना दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय नै मर्नेछस्‌’ भनी भन्‍छु, तर त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌ भनेदेखि, त्‍यो मानिस पापको कारण मर्नेछ, र त्‍यसको रगतको लेखा म तँबाटै लिनेछु।
19 तर यदि तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो खराब चालदेखि फर्कंदैन भने, त्‍यो आफ्‍नो अधर्ममा नै मर्नेछ, तर तैंले चाहिँ आफ्‍नो प्राण बचाएको हुनेछस्‌।

यशैया 62 : 6
6 मैले तेरा पर्खालहरूमा पहरा बस्‍नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्‍नेछन्‌। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ,

इजकिएल 33 : 6
6 तर यदि तरवार आइरहेको देखेर पनि त्‍यस पहरादारले मानिसहरूलाई चेताउनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्‍यान लियो भने, त्‍यो मानिसचाहिँ आफ्‍नै पापको कारण लगिनेछ, तर म त्‍यस पहरादारलाई नै त्‍यसका रगतको जवाफदेही तुल्‍याउनेछु’।

आमोस 3 : 7
7 निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न।

इजकिएल 33 : 1 – 33
1 परमप्रभुको यो वचन मकहाँ आयो:
2 “हे मानिसको छोरो, आफ्‍ना देशवासीहरूसँग कुरा गर्, र भन्‌: ‘जब एउटा देशको विरुद्धमा म एउटा तरवार चलाउँछु, र त्‍यस देशका मानिसहरूले आफूमध्‍येको कुनै एक जनालाई पहरादार छान्‍छन्,
3 र त्‍यसले त्‍यस देशको विरुद्धमा तरवार आइरहेको देखेर तुरही बजाउँछ,
4 तब कसैले त्‍यो चेताउनीलाई सुनेर पनि ध्‍यान दिँदैन र तरवार आएर त्‍यसको ज्‍यान लियो भने त्‍यसका रगतको त्‍यो आफै जिम्‍मेवारी हुनेछ।
5 त्‍यसले तुरहीको आवाज सुनेर पनि चेताउनीको वास्‍ता नगरेको कारणले, त्‍यसको रगत त्‍यसकै शिरमा पर्नेछ। यदि त्‍यसले त्‍यो चेताउनी मानेको भए त्‍यो बाँच्‍नेथियो।
6 तर यदि तरवार आइरहेको देखेर पनि त्‍यस पहरादारले मानिसहरूलाई चेताउनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्‍यान लियो भने, त्‍यो मानिसचाहिँ आफ्‍नै पापको कारण लगिनेछ, तर म त्‍यस पहरादारलाई नै त्‍यसका रगतको जवाफदेही तुल्‍याउनेछु’।
7 “हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्‍याएको छु। यसैले मैले भनेको कुरा सुन्, र तिनीहरूलाई मबाट चेताउनी दे।
8 जब म दुष्‍ट मानिसलाई भन्‍छु, ‘ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस्,’ र यदि तैंले त्‍यसलाई आफ्‍नो चाल त्‍यागोस्‌ भनेर चेताउनी दिएनस्‌ भने’ त्‍यो दुष्‍ट मानिस आफ्‍नो पापको कारण मर्नेछ, र म तँलाई त्‍यसका रगतको जवाफदेही तुल्‍याउनेछु।
9 तर यदि त्‍यसले आफ्‍नो चाल त्‍यागोस्‌ भनेर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यसले आफ्‍नो चाल त्‍यागेन भने, त्‍यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले आफूलाई बचाउनेछस्‌।
10 “हे मानिसको छोरो, इस्राएलका घरानालाई भन्, ‘तिमीहरू यसो भनिरहेछौ: “हाम्रा पाप र अपराधले हामी थिचिएका छौं, र तिनको कारण हामी निर्बल हुँदैजादैछौं। हामी कसरी बाँच्‍ने त’?”
11 यसैले तिनीहरूलाई भन्, ‘जस्‍तो म जीवित छु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, दुष्‍टहरूको मृत्‍युमा म खुशी हुन्‍नँ, तर तिनीहरूले आफ्‍नो चाल त्‍यागेर बाँचून्‌ भनी म चाहन्‍छु। आफ्‍नो दुष्‍ट चाल त्‍याग! हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
12 “यसैकारण हे मानिसको छोरो, आफ्‍ना देशवासीहरूलाई भन्, ‘कुनै धर्मी मानिसले आज्ञापालन गरेन भने, त्‍यसको धार्मिकताले त्‍यसलाई बचाउन सक्‍दैन। कुनै दुष्‍ट मानिस आफ्‍नो दुष्‍ट चालबाट फर्क्‍यो भने, त्‍यसको दुष्‍ट्याइँले त्‍यसको पतन हुनेछैन। कुनै धर्मी मानिसले पाप गर्छ भने, त्‍यसको पहिलेको धार्मिकताको कारणले त्‍यो बाँच्‍न पाउनेछैन’।
13 यदि मैले त्‍यस धर्मी मानिसलाई ‘तँ निश्‍चय नै बाँच्‍नेछस्‌’ भनी भन्‍दा त्‍यसले आफ्‍नो धार्मिकतामा भर परेर दुष्‍ट्याइँ गर्‍यो भने, त्‍यसको कुनै पनि धार्मिकताका कामको सम्‍झना हुनेछैन। त्‍यसले गरेको दुष्‍ट्याइँको कारण त्‍यो मर्नेछ।
14 यदि मैले दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय नै मर्नेछस्‌’ भनी भन्‍दा त्‍यसले आफ्‍नो पाप त्‍यागेर न्‍यायसङ्गत र ठीक काम गर्‍यो भने—
15 यदि त्‍यसले कर्जामा राखेको धितो फर्काइदियो, आफूले चोरेर लगेको माल फर्काइदियो, र जीवन दिने विधिहरू मान्‍यो र दुष्‍ट्याइँ गरेन भने, त्‍यो निश्‍चय नै बाँच्‍नेछ, त्‍यो मर्नेछैन।
16 त्‍यसले गरेको कुनै पाप त्‍यसको विरुद्धमा सम्‍झना हुनेछैन। त्‍यसले न्‍यायसङ्गत र ठीक काम गरेको छ। त्‍यो निश्‍चय नै बाँच्‍नेछ।
17 “तापनि तेरा देशवासीहरूले भन्‍छन्, ‘परमप्रभुको चाल न्‍यायसङ्गत छैन’। तर वास्‍तवमा त तिनीहरूकै चाल पो न्‍यायसङ्गत छैन।
18 यदि कुनै धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍यागेर दुष्‍ट्याइँ गर्‍यो भने, त्‍यसो गर्नाले त्‍यो मर्नेछ।
19 यदि कुनै दुष्‍ट मानिसले आफ्‍नो दुष्‍ट्याइँ त्‍यागेर न्‍यायसङ्गत र ठीक काम गर्‍यो भने, त्‍यसो गर्नाले त्‍यो बाँच्‍नेछ।
20 तापनि हे इस्राएलका घराना, तिमीहरू भन्‍छौ, ‘परमप्रभुको चाल न्‍यायसङ्गत छैन’। तर म तिमीहरू हरेक मानिसको न्‍याय त्‍यसको चालअनुसार गर्दछु।”
21 हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा यरूशलेमबाट भागेर आएको एक जना मानिसले मकहाँ आएर भन्‍यो, “सहरको पतन भयो।”
22 अब त्‍यो मानिस आएको अघिल्‍लो साँझ परमप्रभुको हात ममाथि परेको थियो, र बिहान त्‍यो मानिस आइपुग्‍न अघि उहाँले मेरो मुख खोलिदिनुभयो। यसैले मेरो मुख खोलियो, र म त्‍यस उप्रान्‍त चूप बसिनँ।
23 तब परमप्रभुको यो वचन मकहाँ आयो:
24 “हे मानिसको छोरा, इस्राएलका देशमा भएका ती भग्‍नावशेषमा बस्‍ने मानिसहरू भन्‍छन्, ‘अब्राहाम त एकै जना मानिस मात्र थिए, तर तिनले यो देश अधिकार गरे। तर हामी त धेरै छौं। अवश्‍य हामीलाई यो देश अधिकार गर्न दिइएको हो’।
25 यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरू रगतैसित मासु खान्‍छौ, तिमीहरू आफ्‍ना मूर्तिहरूतिर हेर्छौ, तिमीहरू रगत बगाउँछौ, त के तिमीहरू देश अधिकार गर्छौ र?
26 तिमीहरू आफ्‍ना तरवारमा भरोसा गर्दछौ, तिमीहरू घिनलाग्‍दा काम गर्दछौ, तिमीहरू हरेकले अर्काकी पत्‍नीलाई अशुद्ध पार्दछौ, त के तिमीहरू देश अधिकार गर्छौ र?’
27 “तिनीहरूलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जस्‍तो म जीवित छु, भग्‍नावशेषमा छोड़िएकाहरू तरवारले ढल्‍नेछन्, र खुला मैदानमा हुनेहरूलाई म जङ्गली पशुहरूका आहाराको निम्‍ति दिनेछु। किल्‍लाहरू र गुफाहरूमा हुनेहरू रूढ़ीले मर्नेछन्‌।
28 म देशलाई निर्जन र उजाड़ तुल्‍याउनेछु, र त्‍यसको अहङ्कारी शक्ति खतम हुनेछ। इस्राएलका पहाड़हरू यति उजाड़ हुनेछन्, कि कोही पनि त्‍यहाँबाट वारपार गर्नेछैन।
29 जब म तिनीहरूले गरेका तिनीहरूका घिनलाग्‍दा कामहरूको कारणले देशलाई निर्जन र उजाड़ तुल्‍याइदिनेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।’
30 “हे मानिसको छोरा, तेरा देशवासीहरू एकसाथ बसेर तेरो विषयमा पर्खालहरू र ढोकाहरूका कुना-कुनामा उभिएर एउटाले अर्कालाई यसो भन्‍छ, ‘आऔं, परमप्रभुबाट आएको सन्‍देश के रहेछ सुनौं’।
31 तिनीहरूले सधैँ गरेजस्‍तै मेरा मानिसहरू तँकहाँ आउँछन्‌ र तेरा कुरा ध्‍यानसित सुन्‍नलाई तेरो अगि बस्‍छन्‌। तर तिनीहरू तीबमोजिम चल्‍दैनन्‌। मुखले त तिनीहरू भक्तिको कुरा गर्छन्, तर तिनीहरूका हृदय अधर्मसित कमाउनलाई लोभ गर्छन्‌।
32 तँ त तिनीहरूका निम्‍ति प्रेमको गीत गाउने सुरिलो सोर भएको गायक होस्, जो राम्रोसित बाजा बजाउँछ। तैंले भनेका कुरा त तिनीहरूले सुन्‍छन्, तर तीबमोजिम गर्दैनन्‌।
33 “जब त्‍यो सबै पूरा हुन आउँछ— त्‍यो निश्‍चय नै हुन आउनेछ— तब तिनीहरूका बीचमा एक जना अगमवक्ता आएको रहेछ भनी तिनीहरूले जान्‍नेछन्‌।”

रोमी 16 : 17
17 भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्‍तको विरुद्धमा फूट र बाधा-विघ्‍‌न सृष्‍टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्‍गै बस।

लूका 21 : 36
36 तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”

२ कोरिन्थी 2 : 11
11 ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्‍यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।

प्रकाश 17 : 1 – 18
1 ती सात कचौरा लिने सात स्‍वर्गदूतहरूमध्‍ये एक जनाले मकहाँ आएर मलाई भने, “यता आऊ, म तिमीलाई धेरै पानीहरूमा बसेकी त्‍यस महा वेश्‍यालाई दिइएको इन्‍साफ देखाउनेछु।
2 त्‍यससँग पृथ्‍वीका राजाहरूले व्‍यभिचार गरेका छन्, र पृथ्‍वीका बासिन्‍दाहरू त्‍यसका व्‍यभिचारको मद्यले मातेका छन्‌।
3 अनि तिनले मलाई आत्‍मामा बोकेर एउटा उजाड-स्‍थानभित्र लगे। त्‍यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्‍वर-निन्‍दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखें।
4 त्‍यस स्‍त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्‍यो सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्‍दा कुरा, अर्थात्‌ त्‍यसका व्‍यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्‍याला हातमा लिएकी थिई।
5 त्‍यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान्‌ बेबिलोन।
6 अनि मैले त्‍यस स्‍त्रीलाई सन्‍तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्‍यसलाई देखेर म साह्रै अचम्‍मित भएँ।
7 तब ती स्‍वर्गदूतले मलाई भने, “तिमी किन अचम्‍म मान्‍दछौ? त्‍यो स्‍त्री र त्‍यसलाई बोक्‍ने सात शिर र दश सीङ भएको पशुको रहस्‍य म तिमीलाई बताउनेछु।
8 तिमीले देखेको त्‍यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्‍डबाट त्‍यो माथि उक्‍लन लागेको छ। अनि पृथ्‍वीका बासिन्‍दाहरू, जसका नाउँ संसारको उत्‍पत्तिदेखि जीवनको पुस्‍तकमा लेखिएका छैनन्, तिनीहरू त्‍यस पशुलाई देखेर अचम्‍म मान्‍नेछन्, किनकि त्‍यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।
9 “बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्‍यो स्‍त्री बसेकी छे।
10 तिनीहरू सात राजाहरू पनि हुन्‌— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्‍यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।
11 त्‍यो पशु, जो एक समय थियो, तर अब छैन, त्‍योचाहिँ आठौँ हो। सातमध्‍येको त्‍यो एक हो, तर त्‍यसको सर्वनाश हुनेछ।
12 “तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्‍म राजकीय शक्ति पाएका छैनन्‌। तर तिनीहरूले त्‍यस पशुसँग छोटो समयको निम्‍ति राजाकै अधिकार पाउनेछन्‌।
13 तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्‍नो शक्ति र अधिकार त्‍यस पशुलाई सुम्‍पनेछन्‌।
14 तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्‍वासयोग्‍य हुन्‌।”
15 ती स्‍वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्‍यो वेश्‍या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्‌।
16 अनि तिमीले देखेका ती दश सीङ र त्‍यस पशुले त्‍यस वेश्‍यालाई घृणा गर्नेछन्, र त्‍यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्‍यसको मासु खानेछन्, र त्‍यसलाई आगोमा भस्‍म पारिदिनेछन्‌।
17 किनकि परमेश्‍वरको वचन पूरा नहोउञ्‍जेल एक मनका भई तिनीहरूले आफ्‍नो राजकीय शक्ति त्‍यस पशुलाई दिएर उहाँको अभिप्राय पूरा गर्न परमेश्‍वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो!
18 तिमीले देखेको त्‍यो स्‍त्रीचाहिँ त्‍यो महानगरी हो, जसले पृथ्‍वीका राजाहरूमाथि प्रभुत्‍व गर्छ।

एफिसी 5 : 14
14 यसैले यस्‍तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”

प्रकाश 3 : 8
8 मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्‍ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍न सक्‍दैन। तिमीसँग थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्‍कार गरेका छैनौ।

एफिसी 6 : 12
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।

१ कोरिन्थी 12 : 28
28 परमेश्‍वरले मण्‍डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्‍चर्य काम गर्नेहरू, र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्‍न भाषा बोल्‍नेहरू नियुक्त गर्नुभएको छ।

हिब्रू 13 : 17
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।

२ कोरिन्थी 2 : 17
17 किनकि धेरै मानिसहरूसरह हामी परमेश्‍वरको वचन व्‍यापार गर्ने होइनौं, तर परमेश्‍वरले पठाउनुभएको निष्‍कपट मानिसको रूपमा हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोल्‍दछौं।

प्रकाश 9 : 1 – 21
1 अनि पाँचौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्‍वर्गबाट पृथ्‍वीमा खसेको थियो। त्‍यस तारालाई अतल कुण्‍डको साँचो दिइयो।
2 त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो।
3 त्‍यस धूवाँबाट पृथ्‍वीमा सलहहरू निस्‍के, र पृथ्‍वीका बिच्‍छीहरूको जस्‍तो शक्ति तिनीहरूलाई दिइयो।
4 तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन।
5 तिनीहरूलाई मारी त नहाल्‍नू, तर पाँच महिनासम्‍म यातना दिनू भन्‍ने तिनीहरूलाई अख्‍तियार दिइयो, र मानिसलाई बिच्‍छीले डस्‍दा जस्‍तो पीडा हुन्‍छ, तिनीहरूले दिएको पीडा पनि त्‍यस्‍तै थियो।
6 ती दिनमा मानिसहरूले मृत्‍यु खोज्‍नेछन्, तर पाउनेछैनन्‌। तिनीहरूले मर्न इच्‍छा गर्नेछन्, तर मृत्‍यु तिनीहरूबाट भाग्‍नेछ।
7 ती सलहहरूको रूप लड़ाइँको निम्‍ति तयार गरिराखेका घोडाहरूको जस्‍तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्‍ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्‍तै थिए।
8 तिनीहरूका केश स्‍त्रीका केशजस्‍तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्‍ता थिए।
9 अनि तिनीहरूका छातीका कवच फलामका थिए, र तिनीहरूका पखेटाको आवाज लड़ाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्‍तै थियो।
10 तिनीहरूका पुच्‍छर र खील बिच्‍छीका जस्‍तै थिए। तिनीहरूका पुच्‍छरमा पाँच महिनासम्‍म मानिसलाई कष्‍ट दिने शक्ति थियो।
11 अतल कुण्‍डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्‍यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्‍यसको नाउँ अपोल्‍लियोन हो।
12 पहिलो विपत्ति गइहाल्‍यो। यसपछि फेरि दुई विपत्ति आउन बाँकी छन्‌।
13 अनि छैटौँ स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र मैले परमेश्‍वरको अगाडि रहेका सुनका वेदीका चार सीङबाट निस्‍केको एउटा आवाज सुनें।
14 तुरही लिने छैटौँ स्‍वर्गदूतलाई यसो भनेको मैले सुनें, “ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चार दूतलाई छोडिदेऊ।”
15 अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्‍यस घड़ी, त्‍यस दिन, त्‍यस महिना र त्‍यस वर्षको निम्‍ति तयार पारिराखिएका थिए।
16 ती घोड़सवार फौजको संख्‍या बीस करोड थियो।
17 मेरो दर्शनमा देखिएका घोडा र घोड़सवारहरू यस्‍ता थिए: तिनीहरूका छातीका कवचहरू आगोको, नीलमणि र गन्‍धकको रङ्गका थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरजस्‍ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्‍धक निस्‍कन्‍थे।
18 तिनीहरूका मुखबाट निस्‍केका आगो, धूवाँ र गन्‍धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो।
19 किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनभने तिनीहरूका पुच्‍छर सर्पजस्‍ता थिए, जसका टाउका थिए। तीद्वारा तिनीहरूले मानिसलाई चोट पार्थे।
20 यी विपत्तिद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्‍ना हातका कामबाट अझ पनि पश्‍चात्ताप गरेनन्‌। तिनीहरूले भूतहरूलाई र देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने र हिँड्‌न नसक्‍ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्‍न छोड़ेनन्‌।
21 तिनीहरूले आफूले गरेको हत्‍या, जादूगरी, व्‍यभिचार र चोरीको पश्‍चात्ताप गरेनन्‌।

रोमी 10 : 8 – 13
8 तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं।
9 किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍नो मुखले स्‍वीकार गर्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍नो हृदयमा विश्‍वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ।
10 किनकि मानिसले आफ्‍नो हृदयले विश्‍वास गर्छ र ऊ निर्दोष ठहरिन्‍छ, अनि उसले आफ्‍नो मुखले स्‍वीकार गर्छ र उद्धार पाउँछ।
11 धर्मशास्‍त्र भन्‍छ, “उहाँमाथि भरोसा राख्‍ने कोही लाजमा पर्नेछैन।”
12 किनकि यहूदी र अन्‍यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्‍छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्‍नो प्रशस्‍त आशिष्‌ दिनुहुन्‍छ।
13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

यशैया 30 : 10
10 दर्शन देख्‍नेहरूलाई तिनीहरू भन्‍दछन्, “अब उसो दर्शन नदेख!” तिनीहरू अगमवक्ताहरूलाई भन्‍दछन्, “हामीलाई ठीक कुराहरूको दर्शन नदेओ! हामीलाई मनपर्दा कुराहरू भन, भ्रमात्‍मक अगमवाणी कह।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *