बुद्धि र ज्ञान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बुद्धि र ज्ञान

याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

हितोपदेश 1 : 7
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।

भजनसंग्रह 111 : 10
10 परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्‍छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्‍छ।

हितोपदेश 2 : 1 – 22
1 हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस्‌ भने,
2 बुद्धिका कुराहरू ध्यान दिइस्‌ र तेरो हृदयलाई समझशक्तितिर लगाइस्‌ भने,
3 अन्‍तर्दृष्‍टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस्‌ भने,
4 यदि तैंले चाँदीझैँ त्‍यसलाई खोजिस्, र गाड़धनझैँ त्‍यो खनिस्‌ भने,
5 तैंले परमप्रभुको भय बुझ्‍नेछस्, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्‌।
6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌।
7 उहाँले ईमानदारको लागि आफ्‍नो भण्‍डारमा विजय साँचेर राख्‍नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ,
8 किनभने उहाँले न्‍यायको मार्ग रक्षा गर्नुहुन्‍छ, र आफ्‍ना विश्‍वासयोग्‍य भक्तजनहरूको बाटो सुरक्षित राख्‍नुहुन्‍छ।
9 तब धार्मिकता न्‍यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस्‌।
10 किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्‍ददायक हुनेछ।
11 विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।
12 बुद्धिले तँलाई दुष्‍ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।
13 त्‍यस्‍ताहरू ईमानदारीको चाल त्‍यागेर अन्‍धकारमा हिँड्‌डुल गर्छन्,
14 तिनीहरू खराब काम गर्नमा प्रसन्‍न हुन्‍छन्, र दुष्‍टको बदमाशीमा रमाउँछन्,
15 जसका बाटाहरू बाङ्गोटिङ्गो, र जसका आफ्‍नै चालहरू कुटिल छन्‌।
16 बुद्धिले तँलाई व्‍यभिचारिणी, र अनैतिक स्‍त्रीका लोभ्‍याउने कुराहरूबाट जोगाउनेछ,
17 जसले आफ्‍नो यौवनको पतिलाई त्‍यागेकी छे, र परमेश्‍वरको सामु आफूले बाँधेको करारको बेवास्‍ता गरेकी छे।
18 त्‍यसको घरभित्र पस्‍नेलाई मृत्‍युले ओह्रालो लैजान्‍छ, र त्‍यसको बाटोमा लाग्‍नेहरू मृतकहरूको देशमा पुग्‍छन्‌।
19 त्‍यस स्‍त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्‍यस्‍ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्‌।
20 यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्‌।
21 किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्‍यहाँ रहनेछन्‌।
22 तर दुष्‍टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्‍वासघातीहरू झारझैँ फ्‍याँकिनेछन्‌।

१ कोरिन्थी 3 : 19 – 20
19 किनकि संसारको बुद्धि परमेश्‍वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्‍छ।”
20 र फेरि, “बुद्धिमान्‌हरूका विचार व्‍यर्थ हुन्‌ भनी परमप्रभु जान्‍नुहुन्‍छ।”

उपदेशक 7 : 12
12 जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्‍यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्‍छ।

कलस्सी 2 : 8
8 ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।

१ तिमोथी 2 : 4
4 सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ।

हितोपदेश 4 : 1 – 27
1 हे मेरा छोराहरू हो, आफ्‍नो बुबाको अर्ती सुन, यसमा ध्‍यान देओ र समझशक्ति प्राप्‍त गर।
2 किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्‍छु, यसैकारण मेरो अर्तीलाई नत्‍याग।
3 जब म आफ्‍ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्‍थाको, र मेरी आमाको एकमात्र छोरा,
4 उहाँले मलाई शिक्षा दिनुभयो र भन्‍नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर्‌ र तँ जिउनेछस्‌।
5 बुद्धि प्राप्‍त गर्, समझशक्ति प्राप्‍त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा।
6 बुद्धिलाई नत्‍याग्, र त्‍यसले तँलाई सुरक्षित राख्‍नेछ। त्‍यसलाई प्रेम गर्, र त्‍यसले तँमाथि हेरचाह गर्नेछ।
7 बुद्धि अति श्रेष्‍ठ हो, त्‍यसैले बुद्धि प्राप्‍त गर्‌। तँसँग भएका सबै कुराले मूल्‍य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्‍त गर्‌।
8 त्‍यसलाई कदर गर्, र त्‍यसले तँलाई उच्‍च पार्नेछ। त्‍यसलाई अँगाल्, र त्‍यसले तँलाई आदर दिनेछ।
9 त्‍यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ, र महिमाको शिरपेच प्रदान गर्नेछ।”
10 सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ।
11 म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्‍याउँछु।
12 तँ हिँड्‌दा, तेरा पाइलाहरू अड्‌किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्‌।
13 अर्तीलाई समातिराख्, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्, किनभने त्‍यो तेरो जीवन हो।
14 दुष्‍टको मार्गमा खुट्टा नहाल्‌ अथवा दुष्‍ट मानिसको चालमा नहिँड्‌।
15 त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌।
16 किनभने दुष्‍टहरू खराब काम नगरुञ्‍जेल सुत्‍न सक्‍दैनन्, कसैको पतन नगरुञ्‍जेल तिनीहरूलाई निद्रै लाग्‍दैन।
17 दुष्‍टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो।
18 धर्मीको चाल प्रभातको प्रथम चमकजस्‍तै हो, त्‍यो मध्‍यदिन नहोउञ्‍जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्‍छ।
19 तर दुष्‍टको चालचाहिँ घोर अन्‍धकारजस्‍तो हो, केले आफ्‍नो पतन हुँदैछ सो तिनीहरू जान्‍दैनन्‌।
20 हे मेरो छोरा, मेरो कुरामा ध्‍यान दे, मेरा वचनहरू राम्ररी सुन्‌।
21 ती तेरो नजरबाट उम्‍केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्‌।
22 किनभने मेरो वचन पाउनेको निम्‍ति त्‍यो जीवन हो, र त्‍यसको सारा शरीरको निम्‍ति स्‍वास्‍थ्‍य हो।
23 सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।
24 कुवाक्‍य तेरो मुखबाट परै रहोस्, भ्रष्‍ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्‌।
25 तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्‍तिर सोझै एक टक लाएर हेरोस्‌।
26 तैंले पाइला चाल्‍नलाई नैतिकताको मार्ग तयार गर्‌। र ती मार्गहरू मात्रै रोज्‌ जुन निश्‍चित छन्‌।
27 दाहिने देब्रेतिर नलाग्, सबै दुष्‍ट कुराबाट आफ्‍ना खुट्टा अलग राख्‌।

यशैया 11 : 2
2 परमप्रभुका आत्‍मा उहाँमा रहनुहुनेछ— बुद्धि र समझका आत्‍मा, सल्‍लाह र शक्तिका आत्‍मा, ज्ञान र परमप्रभुको भयको आत्‍मा

मत्ती 7 : 7 – 8
7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।
8 किनकि जसले माग्‍छ, त्‍यसले पाउँछ, जसले खोज्‍छ, त्‍यसले भेट्टाउँछ, जसले ढकढक्‍याउँछ, त्‍यसको निम्‍ति ढोका उघारिनेछ।

१ कोरिन्थी 1 : 20
20 बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र?

भजनसंग्रह 91 : 1 – 16
1 जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ।
2 परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”
3 निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4 उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6 न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7 एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन।
8 तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ।
9 यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ—
10 तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11 किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12 तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।
13 तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
14 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु।
15 त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
16 लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”

२ इतिहास 1 : 7 – 12
7 त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्‌।”
8 सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान्‌ र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ।
9 अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्‍का गर्नुहोस्, किनभने पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती प्रजामाथि तपाईंले मलाई राजा तुल्‍याउनुभएको छ।
10 अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्‍छ र?”
11 परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “तेरो इच्‍छा यही भएको हुनाले, र तैंले धन-सम्‍पत्ति अथवा अधिकार वा मानमर्यादा वा आफ्‍ना शत्रुहरूको प्राण वा आफ्‍नो निम्‍ति दीर्घायु नमागेको तर मैले तँलाई राजा तुल्‍याएको यस प्रजामाथि शासन गर्ने बुद्धि र ज्ञान तैंले मागेको हुनाले,
12 बुद्धि र ज्ञान तँलाई दिइनेछन्‌। अनि म तँलाई यस्‍तो धन-सम्‍पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्‌।”

१ कोरिन्थी 1 : 18 – 29
18 किनकि नष्‍ट भइरहेकाहरूका निम्‍ति क्रूसको सन्‍देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्‍ति परमेश्‍वरको शक्ति हो।
19 किनभने लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट पार्नेछु, र चतुरहरूको चतुर्‍याइँ विफल तुल्‍याउनेछु।”
20 बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र?
21 संसारले आफ्‍नै बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्‍वास गर्नेहरूलाई बचाउन परमेश्‍वरले उचित ठहराउनुभयो।
22 किनकि यहूदीहरू चिन्‍ह माग्‍छन्‌ र ग्रीकहरू बुद्धिको खोजमा छन्‌।
23 तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्‍टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्‍ति बाधा र अन्‍यजातिहरूका निम्‍ति मूर्खता हो।
24 तर ती बोलावट भएकाहरूका निम्‍ति, चाहे यहूदीहरू होऊन्‌ वा ग्रीकहरू होऊन्, ख्रीष्‍ट नै परमेश्‍वरको शक्ति र बुद्धि हुनुहुन्‍छ।
25 किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ।
26 किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्‍ता थियौ? सो विचार गर। सांसारिक स्‍तरअनुसार तिमीहरूमध्‍ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ।
27 तर बुद्धिमान्‌हरूलाई शर्ममा पार्न परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई छान्‍नुभयो।
28 परमेश्‍वरले संसारका नीच र तुच्‍छ ठहरिएका कुराहरूलाई चुन्‍नुभयो। यहाँसम्‍म कि नगण्‍य कुराहरूलाई पनि चुन्‍नुभयो, यस हेतुले कि जुन कुरा छन्‌ ती व्‍यर्थ ठहरिऊन्,
29 यसैले कुनै प्राणीले परमेश्‍वरको सामुन्‍ने अहङ्कार नगरोस्‌।

हितोपदेश 20 : 15
15 सुन छ, मानिकहरू प्रशस्‍त छन्, तर ज्ञानको वचन बोल्‍ने ओठहरू दुर्लभ रत्‍न हुन्‌।

१ यूहन्‍ना 4 : 18
18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।

हितोपदेश 13 : 4
4 अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।

रोमी 1 : 22 – 25
22 बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,
23 र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।
24 यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌।
25 किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *