बीउ र फसल समय

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बीउ र फसल समय

उत्‍पत्ति 8 : 22
22 “पृथ्‍वी रहुञ्‍जेल बीउ छर्ने र फसल काट्‌ने समय, जाडो र गर्मी, ग्रीष्‍म र शिशिर, र दिन र रातको अन्‍त हुनेछैन।”

गलाती 6 : 7
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।

मर्कूस 4 : 26 – 29
26 उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य यस्‍तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ,
27 र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्‍यो बीउचाहिँ टुसाउँछ र बढ्‌छ, तर त्‍यो कसरी बढ्‌छ, सो उसले जान्‍दैन।
28 जमिन आफैले उमार्छ, पहिले टुसा, त्‍यसपछि बाला, तब बालामा पूरा दाना लाग्‍छ।
29 तर जब अन्‍न पाक्‍छ, तब तुरुन्‍तै उसले हँसिया लगाउन थाल्‍छ, किनभने फसलको बेला आइपुगेको हुन्‍छ।”

लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

भजनसंग्रह 65 : 11
11 आफ्‍नो प्रशस्‍तताले वर्षलाई तपाईंले मुकुट पहिराउनुहुन्‍छ, तपाईंका गाडाहरू प्रचुरताले भरिएर पोखिन्‍छन्‌।

मत्ती 13 : 12
12 किनकि जससँग छ, त्‍यसलाई दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन, त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।

मत्ती 13 : 38
38 खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो।

मत्ती 13 : 1 – 58
1 त्‍यही दिन येशू घरबाट निस्‍केर समुद्रको किनारमा बस्‍नुभयो।
2 अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्‍नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए।
3 उहाँले तिनीहरूलाई दृष्‍टान्‍तमा धेरै कुरा भन्‍नुभयो। उहाँले भन्‍नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो।
4 अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।
5 केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे।
6 तर जब घाम लाग्‍यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।
7 अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।
8 अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
9 जसको कान छ, त्‍यसले सुनोस्‌।”
10 अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्‍टान्‍तहरूमा बोल्‍नुहुन्‍छ?”
11 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्‍वर्ग-राज्‍यका रहस्‍यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन।
12 किनकि जससँग छ, त्‍यसलाई दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन, त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
13 यसैकारण म तिनीहरूसँग दृष्‍टान्‍तमा बोल्‍दछु: ‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन्, तर सुनेर बुझ्‍दैनन्‌।’
14 यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।
15 किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्‍ना आँखा बन्‍द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्‍नेथिए, कानले सुन्‍नेथिए, हृदयले बुझ्‍नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
16 तर तिमीहरूका आँखा धन्‍य हुन्, किनकि तिनले देख्‍तछन्‌। तिमीहरूका कान धन्‍य हुन्, किनकि तिनले सुन्‍छन्‌।
17 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्‍कट इच्‍छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्‍न उत्‍कट इच्‍छा गरेथे, तर सुनेनन्‌।
18 “बीउ छर्नेको दृष्‍टान्‍त सुन।
19 जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो।
20 ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ।
21 तर त्‍यसको आफ्‍नै जरा नभएकोले त्‍यो थोरै बेर मात्र टिक्‍छ, र वचनको कारणले कष्‍ट कि सतावट परिआउने बित्तिकै त्‍यो पछि हट्‌छ।
22 काँढ़ाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ, र त्‍यो फल नदिने हुन्‍छ।
23 तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”
24 येशूले फेरि तिनीहरूलाई अर्को दृष्‍टान्‍त सुनाउनुभयो: “स्‍वर्गको राज्‍य एक जना मानिसजस्‍तो हो, जसले आफ्‍नो खेतमा असल बीउ छर्‍यो।
25 तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो।
26 जब बोट निस्‍केर त्‍यसमा दाना लागे, तब सामा पनि देखा पर्‍यो।
27 “घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्‍नो खेतमा असल बीउ छर्नुभएको होइन? त्‍यहाँ सामा कहाँबाट आयो?’
28 “घरको मालिकले तिनीहरूलाई भन्‍यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’
29 “तर उसले भन्‍यो, ‘त्‍यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्‍दा गहूँसमेत उखेल्नेछौ।
30 फसलको समयसम्‍म दुवैलाई सँगसँगै बढ्‌न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्‍नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।”
31 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो।
32 त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ। आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड़ लाउँछन्‌।”
33 उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलोग्राम पीठोमा मिसाई, र त्‍यो जम्‍मै खमिरले फुलिएर ठीक नभएसम्‍म त्‍यसलाई एक ठाउँमा राखी।”
34 येशूले यी सबै कुरा मानिसहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो। विनादृष्‍टान्‍त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन।
35 अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्‍नो मुख दृष्‍टान्‍तहरूमा खोल्‍नेछु, संसारको उत्‍पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।”
36 तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।”
37 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो।
38 खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो।
39 सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌।
40 “जसरी सामा उखेलेर आगोमा भस्‍म गरिन्‍छ, युगको अन्‍त्‍यमा पनि त्‍यस्‍तै हुनेछ।
41 मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्,
42 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।
43 तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌।
44 “स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ।
45 “फेरि स्‍वर्गको राज्‍य असल मोतीहरू खोज्‍ने एउटा व्‍यापारीजस्‍तो हो।
46 त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो।
47 “स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌।
48 अनि जाल भरिएपछि मानिसहरूले त्‍यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्‍मा गरे, र खराब जतिलाई बाहिर फाले।
49 युगको अन्‍त्‍यमा यस्‍तै हुनेछ, स्‍वर्गदूतहरूले आएर दुष्‍टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्,
50 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”
51 येशूले सोध्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा बुझ्‍यौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्‍यौं।”
52 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्‍वर्गका राज्‍यको शिक्षा पाएको हरेक शास्‍त्री एक जना घरको मालिकजस्‍तो हो, जसले आफ्‍नो ढुकुटीबाट नयाँ र पुराना मूल्‍यवान्‌ सामानहरू बाहिर झिक्‍तछ।”
53 यी दृष्‍टान्‍तहरू बताइसक्‍नुभएपछि येशू त्‍यहाँबाट जानुभयो।
54 अनि आफ्‍नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्‍तो शिक्षा दिनुभयो, कि छक्‍क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्‍मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्‍त भयो?
55 के यिनी सिकर्मीका छोरा होइनन्‌? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्‌?
56 के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन्‌ र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्‍त भयो?”
57 अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नै निज मुलुक र आफ्‍नै निज घरमा बाहेक अन्‍यत्र सबै ठाउँमा आदर हुन्‍छ।”
58 अनि तिनीहरूको अविश्‍वासले गर्दा उहाँले त्‍यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।

प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्‍ति येशू ख्रीष्‍टको नाउँमा तिमीहरू प्रत्‍येकले बप्‍तिस्‍मा लेऊ, र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ।

लूका 8 : 1 – 56
1 त्‍यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्‍वरका राज्‍यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्‍नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।
2 कतिपय स्‍त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्‍टात्‍मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्‍दलिनी भन्‍ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,
3 हेरोदका कारिन्‍दा खुजासकी पत्‍नी योअन्‍ना, र सुसन्‍ना। यिनीहरू र अरूहरूले आफ्‍ना धनले उहाँको सेवा गर्दथे।
4 जब ठूलो भीड जम्‍मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो।
5 “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो, र छर्दाहुँदि केही बाटोको छेउमा परे, र ती मानिसका खुट्टाले कुल्‍चिए, र आकाशका पक्षीले खाइहाले।
6 अरू बीउ ढुङ्गेनी जमिनमा परे, र ती उम्रने बित्तिकै सुके, किनभने त्‍यो जमिन ओबानो थियो।
7 कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्‌न दिएन।
8 कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।” यत्ति भनेपछि उहाँले उच्‍च सोरले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।”
9 उहाँका चेलाहरूले यस दृष्‍टान्‍तको अर्थ के हो भनी उहाँलाई सोधे।
10 उहाँले भन्‍नुभयो, “तिमीहरूलाई त परमेश्‍वरका राज्‍यको भेद जान्‍ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्‍टान्‍तमा बोल्‍दछु, कि ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्‌।’
11 अब दृष्‍टान्‍त यो हो: बीउचाहिँ परमेश्‍वरको वचन हो।
12 बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर वचन सुनेर विश्‍वास नगरून्‌ र नबाँचून्‌ भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्‍छ।
13 ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्‍यो ग्रहण गर्छन्‌। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्‍वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्‍छ।
14 काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्‍छन्, तर पछि यस जीवनका चिन्‍ता, धन, सुख-चैनमा परेर बढ्‌न पाउँदैनन्, र तिनका फल पाक्‍न पाउँदैनन्‌।
15 तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।
16 “कसैले बत्ती बालेर भाँड़ाले छोप्‍दैन, कि खाटमुनि राख्‍दैन, तर भित्र आउनेहरूलाई उज्‍यालो होस्‌ भनी सामदानमा राख्‍तछ।
17 कुनै कुरा लुकाएर राख्‍न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्‍तमा रहँदैन जो थाहा लाग्‍दैन वा प्रकाशमा आउँदैन।
18 यसकारण होशियार रहो, तिमीहरू कसरी सुन्‍छौ, किनकि जससँग छ, त्‍यसलाई अझ दिइनेछ, र जससँग छैन, त्‍यससँग जे छ भनी त्‍यसले ठान्‍छ, त्‍यो पनि त्‍यसबाट खोसिनेछ।”
19 उहाँका आमा र भाइहरू उहाँकहाँ आए, तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्‌।
20 उहाँलाई कसैले भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट गर्ने इच्‍छाले बाहिर उभिरहेका छन्‌।”
21 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्‍वरको वचन सुन्‍छन्, र त्‍यो पालन गर्छन्‌।”
22 एक दिन उहाँ आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढ़ी जानुभयो।
23 डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्‍न लाग्‍यो। डुङ्गा पानीले भरिन लाग्‍यो, र तिनीहरू आपत्‌मा परे।
24 अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्‍दै ब्‍यूँझाए, “गुरुज्‍यू, गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं।” उहाँले उठेर बतास र प्रचण्‍ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्‍त भयो।
25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्‍चर्यचकित भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्‍छन्, अनि तिनीहरू यिनको आज्ञा मान्‍छन्‌।”
26 उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्‍नुभयो, जो गालीलको पारिपट्टि छ।
27 जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्‌नुभयो, जसलाई भूत लागेको थियो। त्‍यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्‍यो चिहानहरू हुँदो बस्‍दथ्‍यो।
28 त्‍यसले येशूलाई देख्‍यो, र चिच्‍च्‍याएर उहाँको सामु घोप्‍टो परी उच्‍च सोरले भन्‍यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंको मसँग के काम? बिन्‍ती गर्दछु, मलाई नसताउनुहोस्‌।”
29 किनभने उहाँले अशुद्ध आत्‍मालाई त्‍यस मानिसबाट निस्‍केर जाने आज्ञा दिनुभएको थियो। त्‍यसलाई धेरै पल्‍ट भूतले पक्रेको थियो। त्‍यो पहरामा राखिएको थियो। त्‍यो साङ्‌ला र नेलले बाँधिन्‍थ्‍यो, तर त्‍यसले ती बन्‍धन छिनालिहाल्‍थ्‍यो। अनि भूतले त्‍यसलाई मरुभूमि हुँदो लैजान्‍थ्‍यो।
30 येशूले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले भन्‍यो, “फौज।” किनभने धेरै भूतहरू त्‍यसमा पसेका थिए।
31 तिनीहरूलाई अतल-कुण्‍डमा नपठाऊन्‌ भनी तिनीहरूले उहाँलाई बिन्‍ती गरे।
32 नजिकको डाँड़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्‍न दिनुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे, र उहाँले मन्‍जूर गर्नुभयो।
33 अनि भूतहरू त्‍यस मानिसबाट निस्‍केर ती सुँगुरहरूभित्र पसे, र त्‍यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैं गए र डुबेर मरे।
34 अब जे भएको थियो त्‍यो देखेर सुँगुर चराउनेहरू भागे, र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए।
35 अनि जे भएको थियो त्‍यो हेर्नलाई मानिसहरू येशूकहाँ आए, र जुन मानिसबाट भूतहरू निस्‍केका थिए, त्‍यसलाई लुगा लाएर सद्दे मनको भई येशूका चरणमा बसिरहेको भेट्टाए, र तिनीहरू भयभीत भए।
36 देख्‍नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए।
37 गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्‍नुहोस्‌ भनी बिन्‍ती गरे, किनभने तिनीहरू ज्‍यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढ़ेर फर्कनुभयो।
38 तर जुन मानिसबाट भूतहरू निस्‍केका थिए, त्‍यसले ‘उहाँको साथमा जान पाऊँ’ भनी उहाँलाई बिन्‍ती गर्न लाग्‍यो। तर येशूले त्‍यसलाई यसो भनेर बिदा दिनुभयो,
39 “तिमी आफ्‍नो घर फर्क, र परमेश्‍वरले तिम्रो निम्‍ति कति ठूलो काम गर्नुभयो, सो घोषणा गर।” तब त्‍यो गयो, र येशूले त्‍यसको निम्‍ति कति ठूलो काम गर्नुभएको थियो, सो सारा सहरभरि प्रचार गर्न लाग्‍यो।
40 येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्‍वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए।
41 याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे,
42 किनकि बाह्र वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिई, जो मर्नै लागेकी थिई। येशू जाँदैगर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए।
43 बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्‍त्री, जसलाई कसैले निको पार्न सकेको थिएन,
44 त्‍यसले पछिल्‍तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्‍तै त्‍यसको रक्तस्राव बन्‍द भयो।
45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्‍कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्‍यू, भीड़ले तपाईंलाई घेरेर ठेल्‍दैछन्‌।”
46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्‍केर गएको मैले थाहा पाएँ।”
47 अब आफू लुकिरहन नसक्‍ने कुरा थाहा पाएर त्‍यो स्‍त्री काम्‍दै आई र उहाँको सामुन्‍ने घोप्‍टो परी, र किन त्‍यसले उहाँलाई छोई, अनि कसरी तुरुन्‍तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई।
48 उहाँले त्‍यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ, शान्‍तिसँग जाऊ।”
49 उहाँ बोल्‍दैहुनुहुन्‍थ्‍यो, सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्‍यो, र भन्‍यो, “तपाईंकी छोरी मरी। अब गुरुलाई कष्‍ट नदिनुहोस्‌।”
50 तर येशूले यो सुनेर याइरसलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र त्‍यो निको हुनेछे।”
51 जब उहाँ घरमा पुग्‍नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्‍ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
52 सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्‍यो मरेकी छैन, तर सुतेकी छे।”
53 त्‍यो मरिसकेकी छे भन्‍ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे।
54 तर उहाँले त्‍यसको हात समातेर यसो भनेर बोलाउनुभयो, “नानी, उठ।”
55 अनि त्‍यसको प्राण फर्केर आयो, र त्‍यो तुरुन्‍तै उठी, र उहाँले त्‍यसलाई केही खान दिनू भन्‍ने आज्ञा गर्नुभयो।
56 त्‍यसका आमा-बुबा आश्‍चर्यचकित भए, तर जे भएको थियो त्‍यो कसैलाई नभन्‍नू भन्‍ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *