प्रेमको कमी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् प्रेमको कमी

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

१ यूहन्‍ना 4 : 16
16 यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ।

१ यूहन्‍ना 4 : 7 – 8
7 प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ।
8 प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ।

१ पत्रुस 4 : 8
8 सबैभन्‍दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्‌। किनकि प्रेमले नै असंख्‍य पापहरू ढाक्‍तछ।

१ यूहन्‍ना 5 : 2
2 जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्‍वरका सन्‍तानलाई प्रेम गर्छौं।

२ तिमोथी 2 : 24 – 25
24 प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्‍य शिक्षक, सहनशील,
25 र नम्रतासाथ आफ्‍ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने, सत्‍यतालाई बुझ्‍ने मन दिनुहुनेछ,

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *