यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् परमेश्वरको आज्ञाकारिता
यूहन्ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
लूका 6 : 46
46 “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ?
रोमी 6 : 16
16 के तिमीहरू जान्दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्यसको कमारा पनि हुन्छौ? कि त मृत्युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?
मत्ती 7 : 21
21 “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
याकूब 1 : 22
22 तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।
यहोशू 1 : 8
8 व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
१ शमूएल 15 : 22
22 तर शमूएलले भने, “होमबलि र बलिदानभन्दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु भेड़ाको बोसोभन्दा असल हो।
यशैया 1 : 19
19 यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ।
एफिसी 6 : 5 – 9
5 कमारा हो, डर र कम्पसाथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।
6 मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्टका दासहरूझैँ साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर।
7 मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर,
8 यो जानेर कि चाहे त्यो कमारा होस्, चाहे फुक्का, जसले असल काम गर्दछ, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।
9 मालिक हो, आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर, र धम्की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा पक्षपात छैन।
रोमी 8 : 28
28 हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
याकूब 2 : 24
24 तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन।
२ थेसलोनिकी 1 : 8
8 परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ।
मत्ती 7 : 14
14 किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्।
लूका 5 : 1 – 39
1 मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो।
2 उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्ना जालहरू धोइरहेका थिए।
3 ती दुईमध्ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्नुभयो।
4 बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।”
5 तर सिमोनले भने, ‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।”
6 अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे।
7 तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्म कि डुङ्गाहरू डुब्न लागे।
8 तब यो देखेर येशूको पाउमा घोप्टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।”
9 यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्म माने।
10 त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्ना पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अब उप्रान्त तिमीले मानिसहरूलाई पक्रनेछौ।”
11 अनि जब तिनीहरूले आफ्ना डुङ्गाहरू पाखामा ल्याए, तिनीहरूले सबै थोक त्यागे, र उहाँको पछि लागे।
12 जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो, तब कुष्ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्टो परी बिन्ती गर्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।”
13 उहाँले हात पसारेर “म इच्छा गर्दछु, तिमी निको होइजाऊ” भन्दै त्यसलाई छुनुभयो, र तुरुन्तै त्यसको कुष्ठरोग त्यसबाट हटिहाल्यो।
14 उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्ति भेटी चढ़ाऊ।”
15 तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्न र आफ्ना-आफ्ना रोगहरूबाट निको हुन जम्मा हुन्थे।
16 तर येशूचाहिँ निर्जन स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।
17 एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो।
18 मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्याए, र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे।
19 तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्यसलाई खाटैसमेत येशूको सामुन्ने ओरालिदिए।
20 अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।”
21 तब शास्त्रीहरू र फरिसीहरूले प्रश्न गर्न लागे, “ईश्वर-निन्दा गर्ने यो को हो? पाप त परमेश्वरले मात्र क्षमा गर्न सक्नुहुन्छ।”
22 तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन प्रश्न गर्दछौ?
23 ‘तिम्रा पाप क्षमा भयो’ भन्नु कि ‘उठेर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ?
24 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान। त्यसपछि उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो खाट उठाएर घर जाऊ।”
25 अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो, र जुन खाटमा त्यो पड़िरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो।
26 तब सबै जना आश्चर्यमा परे, र तिनीहरूले परमेश्वरको महिमा गरे, र भयभीत भएर यसो भने, “आज हामीले अनौठा कुरा देख्यौं।”
27 अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
28 तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे।
29 लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँहरूसँग भोजमा बसेका थिए।
30 फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?”
31 तर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र।
32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।”
33 तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू बारम्बार उपवास बस्तछन् र प्रार्थना गर्दछन्। फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्छन् र पिउँछन्।”
34 येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा साथमा छउञ्जेल जन्तीहरूलाई उपवास बस्न लाउन सक्छौ?
35 तर यस्ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्। तब तिनीहरू ती दिनमा उपवास बस्नेछन्।”
36 उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्रता त्यसले नयाँलाई फटाउँछ, र नयाँ टालो पुरानोसँग मिल्दैन पनि।
37 कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता नयाँ मद्यले छाला फाट्छ, र दाखमद्य पोखिन्छ, र मशक पनि नष्ट हुन्छ।
38 नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्नुपर्दछ।
39 कुनै मानिसले पुरानो दाखमद्य पिएर नयाँको चाह गर्दैन, किनकि त्यसले भन्छ, ‘पुरानै असल छ’।”
हिब्रू 12 : 5 – 6
5 के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ,
6 किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताड़ना दिनुहुन्छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।”
२ कोरिन्थी 2 : 9
9 यसैकारणले नै तिमीहरूलाई जाँच्न, र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने थाहा पाउनका निम्ति मैले तिमीहरूलाई लेखेथें।
यूहन्ना 14 : 21
21 मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु।”
हिब्रू 5 : 9
9 र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो।
प्रेरित 2 : 38
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।
Leave a Reply