यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् द्वारपालहरू
यशैया 62 : 6 – 10
6 मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन्। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ,
7 र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ।
8 परमप्रभुले आफ्नो दाहिने हात र आफ्नो शक्तिशाली बाहुबलको शपथ खानुभएको छ, “म फेरि कहिल्यै तेरो अन्न तेरा शत्रुहरूलाई खान दिनेछैनँ, र जुन नयाँ दाखमद्यको निम्ति तैंले परिश्रम गरेको थिइस्, त्यो विदेशीले कहिल्यै खान पाउनेछैनन्।
9 तर जसले अन्न कटनी गर्छन्, तिनीहरूले त्यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्। र जसले दाख जम्मा गर्छन्, तिनीहरूले मेरो पवित्रस्थानको चोकमा त्यो पिउनेछन्।”
10 जाओ, मूल ढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार गर। बनाओ, राजपथ बनाओ। त्यहाँबाट ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झन्डा खड़ा गर।
मलाकी 3 : 1 – 18
1 “हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्। तब एक्कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
2 तर उहाँको आउने दिनमा को उभिन सक्छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्तै हुनुहुनेछ।
3 उहाँ चाँदी खार्ने र सफा गर्नेजस्तो गरी बस्नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्याउनेछन्।
4 तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्य हुनेछन्।
5 “यसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्यभिचारीहरू र झूटो गवाही बक्नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, र मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
6 “म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।
7 तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं?’
8 “के कुनै मानिसले परमेश्वरलाई लुट्छ र? तापनि तिमीहरू मलाई लुट्दछौ। “तर तिमीहरू सोध्छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा।
9 सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्पूर्ण जातिले।
10 सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
11 “म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
12 “तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्य भन्नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
13 “तिमीहरूले मेरो विरुद्धमा कड़ा वचन बोलेका छौ,” परमप्रभु भन्नुहुन्छ। “तरै पनि तिमीहरू सोध्छौ, ‘कुन विषयमा हामीले तपाईंको विरुद्धमा कुरा गरेका छौं र?’
14 “तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँको आज्ञापालन गरेर, अनि सर्वशक्तिमान् परमप्रभुको अगि मरेकाहरूका लागि विलाप गरेझैँ हिँड़ेर हामीलाई के लाभ भयो र?
15 तर अब त हामी हठीहरूलाई नै सुखी भन्छौं। निश्चय नै दुष्ट काम गर्नेहरू सफल भएका छन्, र परमेश्वरलाई हाँक दिनेहरू उम्कन्छन्।”
16 तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो। परमप्रभुको डर मान्नेहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्झनाको पत्र मुट्ठामा उहाँकै उपस्थितिमा लेखियो।
17 “जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “जसरी कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्नेछु।
18 अनि धर्मात्मा र दुष्ट, परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्नेछौ।”
मलाकी 3 : 1
1 “हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्। तब एक्कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
नहेम्याह 11 : 19
19 द्वारपालहरू: अक्कूब, तल्मोन र तिनीहरूका सहयोगीहरू सबै जम्मा १७२ जना थिए। तिनीहरू मूल ढोकामा पहरा बस्थे।
याकूब 5 : 1 – 20
1 धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रोओ र विलाप गर।
2 तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्।
3 तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ।
4 जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ, र ती बाली काट्नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्मै पुगेको छ।
5 तिमीहरू यस पृथ्वीका सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफैलाई पुष्टाई राखेका छौ।
6 तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ।
7 यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ।
8 तिमीहरूले पनि धैर्य धारण गर। आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।
9 भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ।
10 भाइ हो, कष्ट-भोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर।
11 हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।
12 मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्।
13 के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।
14 के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्,
15 र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ।
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
17 एलिया पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन।
18 तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो।
19 मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट बरालिएर जाँदा कसैले त्यसलाई फर्काएर ल्यायो भने,
20 त्यसले जानोस् कि जसले एक जना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ, र असंख्य पापलाई ढाक्नेछ।
कलस्सी 1 : 1 – 29
1 परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,
2 ख्रीष्टमा भएका कलस्सेका सन्तहरू र विश्वासी भाइहरूलाई: परमेश्वर हाम्रा पिताबाट अनुग्रह र शान्ति।
3 तिमीहरूका निम्ति प्रार्थना गर्दा हामी आफ्ना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढ़ाउँछौं,
4 किनकि ख्रीष्ट येशूमा तिमीहरूका विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं,
5 जुनचाहिँ तिमीहरूका निम्ति स्वर्गमा राखिएका आशाको कारणले नै हो। यस विषयमा तिमीहरूले अघि नै सत्यको वचन, अर्थात् सुसमाचारमा सुनेका छौ।
6 यो सुसमाचार तिमीहरूकहाँ आएको छ, र साँच्चै सारा संसारमा फलदायी भई बढ़िरहेछ। सत्यतामा परमेश्वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूका बीचमा पनि त्यसरी नै काम गरिरहेछ,
7 जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्यौ। तिनी हाम्रा पक्षमा ख्रीष्टका एक विश्वासी सेवक हुन्।
8 तिनले पवित्र आत्मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्।
9 यसैकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोड़ेका छैनौं,
10 र उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दैजान सक।
11 उहाँको महिमित शक्तिअनुसार आनन्दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।
12 ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनुहुने पितालाई धन्यवाद चढ़ाओ।
13 उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ।
14 उहाँमा हाम्रो उद्धार, अर्थात् पापको क्षमा छ।
15 उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ,
16 किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।
17 उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्।
18 उहाँ शरीर, अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होऊन्।
19 किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो,
20 र परमेश्वरले उहाँका क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।
21 बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ।
22 तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ—
23 यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।
24 अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्द मनाउँदछु, र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु।
25 तिमीहरूका खातिर मलाई दिइएको ईश्वरीय कार्यअनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ—
26 युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ।
27 यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान् छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।
28 प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं।
29 मेरो अन्तस्करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु।
भजनसंग्रह 118 : 1 – 29
1 परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ, र उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
2 इस्राएलले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
3 हारूनको वंशले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
4 परमप्रभुको भय मान्नेहरूले भनून्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
5 मनको वेदनामा मैले परमप्रभुलाई पुकारें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मुक्त गर्नुभयो।
6 परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्छ र?
7 परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु।
8 परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।
9 परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।
10 सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
11 तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
12 तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
13 म बलपूर्वक पछाडि घचेटिएँ र लड्न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
14 परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्छ, र उहाँ मेरो उद्धार हुनुभएको छ।
15 धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्जन हुन्छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!
16 परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।”
17 म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु।
18 परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्युको वशमा सुम्पनुभएको छैन।
19 मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्, तीभित्र प्रवेश गरेर म परमप्रभुमा धन्यवाद चढ़ाउनेछु।
20 परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्।
21 तपाईंले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्ति म तपाईंलाई धन्यवाद दिनेछु, तपाईं मेरो उद्धार हुनुभएको छ।
22 जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो,
23 यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ।
24 आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं।
25 हे परमप्रभु, हामीलाई बचाउनुहोस्, हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्।
26 परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौं।
27 परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँले हामीमाथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा वेदीका सीङहरूसम्म हर्षसाथ जाओ।
28 तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंमा धन्यवाद चढ़ाउनेछु। तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई उच्च पार्नेछु।
29 परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
नहेम्याह 10 : 1 – 39
1 सहीछाप लाउनेहरूमध्ये यिनै थिए: हकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह,
2 सरायाह, अजर्याह, यर्मिया,
3 पशहूर, अमर्याह, मल्कियाह,
4 हत्तूश, शबन्याह, मल्लूक,
5 हारीम, मरेमोत, ओबदिया,
6 दानिएल, गिन्नतोन, बारूक,
7 मशुल्लाम, अबिया, मियामीन,
8 माज्याह, बिल्गै, र शमायाह। यिनीहरूचाहिँ पूजाहारी थिए।
9 लेवीहरू: अजन्याहका छोरा येशूअ, हेनादादका छोरा बिन्नूई, कादमीएल,
10 र तिनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलीता, पलयाह, हानान,
11 मीयका, रहोब, हशब्याह,
12 जक्कूर, शरेबियाह, शबन्याह,
13 होदियाह, बानी, र बनीनू।
14 मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी
15 बुन्नी, अज्गाद, बेबै,
16 अदोनियाह, बिग्वै, आदीन,
17 आतेर, हिजकिया, अज्जूर,
18 होदियाह, हाशूम, बेजै,
19 हारीप, अनातोत, नेबै,
20 मग्पीआस, मशुल्लाम, हेजीर,
21 मशेजेबेल, सादोक, यदूअ,
22 पलत्याह, हानान, अनायाह,
23 होशिया, हनन्याह, हश्शूब,
24 हल्लोहेश, पिल्हा, शोबक,
25 रेहूम, हशब्ना, मासेयाह,
26 अहिया, हानान, आनान,
27 मल्लूक, हारीम र बानाह।
28 “बाँकी मानिसहरू— पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिरका सेवकहरू, र परमेश्वरका व्यवस्थाको खातिर आ-आफूलाई छिमेकका मानिसहरूबाट अलग गरेकाहरू, सबै आ-आफ्ना पत्नीहरू र छोराछोरीहरूसाथ जो बुझ्न सक्तछन्—
29 तिनीहरू सबैले आफ्ना भारदार दाजुभाइहरूसित मिलेर परमेश्वरका दास मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्था मान्न र परमप्रभु हाम्रा परमेश्वरका सबै आज्ञा, नियम र धर्म-विधिहरू पालन गर्न आफूमाथि सरापको बन्धन राखी शपथ खाए।
30 “हामी आफ्ना छोरीहरू वरिपरिका मानिसहरूसित विवाह गरिदिनेछैनौं, अथवा हाम्रा छोराहरूका निम्ति उनीहरूका छोरीहरू ल्याउनेछैनौं।
31 “यदि शबाथमा यी मानिसहरूले व्यापारका माल वा अन्न बेच्न ल्याए भने, हामी शबाथ अथवा अरू कुनै पवित्र दिनमा उनीहरूबाट किन्नेछैनौं। प्रत्येक सातौँ वर्ष हामी खेतबारीमा उब्जनीको काम गर्नेछैनौं, र सबै ऋणहरू माफी गरिदिनेछौं।
32 “हाम्रा परमेश्वरको भवनका सेवाको निम्ति, अर्थात् टेबिलमा राखिने रोटीको निम्ति, नियमित अन्नबलि र होमबलिका निम्ति, तथा शबाथ, औंसीको चाड़ र अरू ठहराइएका चाड़हरूका भेटीका निम्ति, पवित्र-दानहरू तथा इस्राएलका प्रायश्चितको लागि पापबलि र परमप्रभुका भवनको लागि गरिने अरू सबै कामका निम्ति
33 हामी वर्षैपिच्छे शेकेलको [1] एक तिहाइ दिन आफ्नो दायित्व स्वीकार गर्छौं।
34 “हामी पूजाहारीहरू, लेवीहरू र मानिसहरूले व्यवस्थामा लेखिएअनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदीमा जलाउन वर्षैपिच्छे ठहराइएको समयमा पालैपालो परिवार-परिवार गरी हाम्रा परमेश्वरको भवनमा दाउरा ल्याउनका निम्ति चिट्ठा हालेका छौं।
35 “परमप्रभु परमेश्वरको भवनमा वर्षैपिच्छे हाम्रो जमिनको फसल र फल फलाउने हरेक रूखको अगौटे फल ल्याउने जिम्मेवारी हामीले लिएका छौं।
36 “हाम्रा परमेश्वरको भवनमा, त्यहाँ सेवा गर्ने पूजाहारीहरूकहाँ व्यवस्थामा तोकिएअनुसार हाम्रा छोराहरू, गाईबस्तुहरू र भेड़ाबाख्राहरूका पहिले बियाएका ल्याउन हामी प्रतिज्ञा गर्छौं।
37 “तीबाहेक पूजाहारीहरूकहाँ हाम्रा पहिलो पिँधेको पीठो र अन्नबलि, हरेक रूखको अगौटे फल, नयाँ दाखमद्य र नयाँ तेल परमप्रभुका भवनको भण्डारमा ल्याउन, अनि लेवीहरूकहाँ हाम्रो जमिनको दशौँ अंश ल्याउन हामी प्रतिज्ञा गर्छौं— किनभने हाम्रा खेतीपाती गरिने बस्तीहरूको दशौँ अंश उठाउनेचाहिँ लेवीहरू नै हुन्।
38 दशौँ अंश उठाउँदा हारूनको वंशका एक जना पूजाहारी लेवीहरूका साथमा हुनेछन्। अनि लेवीहरूले दशांशको दशौँ भाग परमेश्वरका भवनको भण्डारका कोठाहरूमा ल्याउनेछन्।
39 इस्राएलीहरूले, लेवीहरूले समेत अन्न, नयाँ दाखमद्य र तेलका दान पवित्रस्थानका भाँड़ाहरू राख्ने कोठाहरूमा र त्यहाँ सेवा गर्ने पूजाहारीहरू, द्वारपालहरू र गवैयाहरू बस्ने ठाउँमा ल्याउनेछन्। हामी परमेश्वरका भवनको अवहेलना गर्नेछैनौं।”
Leave a Reply