यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दोषी महसुस गर्दै
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
१ यूहन्ना 4 : 18
18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।
रोमी 8 : 1 – 39
1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।
2 पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ।
3 पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो,
4 यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभावअनुसार होइन, तर पवित्र आत्माअनुसार चल्दछौं।
5 किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।
6 किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
7 किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ।
8 पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
9 यदि साँच्चै परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, तिमीहरू पापमय स्वभावमा होइन, तर पवित्र आत्मामा हुन्छौ। तर कुनै मानिसमा ख्रीष्टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन।
10 यदि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्मा धार्मिकताको कारणले जिउँदा हुन्छन्।
11 तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
12 यसैले त भाइ हो, पापमय स्वभावअनुसार जिउनलाई हामी पापमय स्वभावप्रति बाध्य छैनौं।
13 किनकि पापमय स्वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने, तिमीहरू जिउनेछौ।
14 किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्।
15 किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्छौं,
16 त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो।
17 र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।
18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्।
19 सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।
20 सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा,
21 कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ।
22 हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।
23 सृष्टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई, अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।
24 किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?
25 तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौं।
26 त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।
27 र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ।
28 हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्ये उहाँचाहिँ ज्येष्ठ होऊन् भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
30 जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।
31 हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ?
32 जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
33 परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने,
34 दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ।
35 कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले?
36 यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।”
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं।
38 किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।
भजनसंग्रह 51 : 2 – 4
2 मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्।
3 किनकि मेरा अपराधहरू म जान्दछु, र मेरो पाप सदा मेरो सामुन्ने छ।
4 तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ, र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ।
भजनसंग्रह 51 : 7 – 12
7 हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।
8 मलाई हर्ष र उल्लास सुन्न दिनुहोस्, र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्दित होऊन्।
9 मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्।
10 हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।
11 मलाई तपाईंको उपस्थितिबाट नहटाउनुहोस्, न त मबाट तपाईंका पवित्र आत्मा लैजानुहोस्।
12 तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्ने इच्छुक आत्मा दिनुहोस्।
भजनसंग्रह 32 : 1 – 6
1 दाऊदको मस्किल भन्ने भजन [1] धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्।
2 त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जसको मनमा छलकपट छैन।
3 जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्दनले मेरा हाड़हरू खिइएर गए।
4 किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। सेला
5 तब मैले आफ्नो पाप तपाईंको सामुन्ने स्वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
6 यसकारण हरेक भक्तजनले, जबसम्म तपाईंलाई प्राप्त गर्न सकिन्छ, तपाईंमा प्रार्थना गरोस्। अनि दु:ख-कष्ट र उर्लेको भेलले त्यसलाई छुनेछैन।
१ कोरिन्थी 6 : 9 – 11
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
11 तिमीहरू कोही यस्तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहराइयौ।
लूका 6 : 27 – 38
27 “तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,
28 सराप्नेहरूलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।
29 तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्टो खोस्नेलाई तिम्रो दौरा पनि लान देओ।
30 तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग।
31 जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर।
32 “तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्।
33 तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्यसै गर्दछन्।
34 यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्।
35 तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ।
36 तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।
37 “अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”
हिब्रू 13 : 8
8 येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
१ यूहन्ना 1 : 5
5 जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।
लूका 15 : 1 – 32
1 कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए।
2 “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे।
3 तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो:
4 “तिमीहरूमध्ये कुन मानिस होला, जसको एक सय भेड़ामध्ये एउटा हराउँदा उनान्सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्जेल त्यसको खोजी गर्दैन?
5 हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ,
6 र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्छ, ‘मसँग रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा पाएको छु।’
7 म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि स्वर्गमा अझ बढ़ी आनन्द हुनेछ।
8 “कुन स्त्री होली जसको दश चाँदीका सिक्कामध्ये एउटा हरायो भने बत्ती बालेर उसले त्यो नपाउञ्जेल घर बढ़ारिकन मेहनतसँग खोज्दिन?
9 हराएको सिक्का पाएपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्का पाएकी छु।’
10 म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चात्ताप गर्ने एक जना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द हुन्छ।”
11 उहाँले भन्नुभयो, “कुनै मानिसका दुई छोरा थिए।
12 कान्छोचाहिँले बाबुलाई भन्यो, ‘पिताज्यू, मेरो भागमा पर्ने धन-सम्पत्तिको हिस्सा मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँड़िदिए।
13 “धेरै दिन बित्दा नबित्दै सबै धन-सम्पत्ति बटुलेर कान्छो छोरो टाढ़ा देशमा गयो, र त्यहाँ भोग-विलासमा आफ्नो सम्पत्ति उड़ायो।
14 त्यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो।
15 त्यो गयो, र त्यस देशको एक जना नागरिककहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो।
16 सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो।
17 “जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।
18 म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु।
19 अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।”
20 तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो। “तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे।
21 “छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्यको छैनँ।’
22 “तर बाबुचाहिँले आफ्ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,
23 र पुस्टाइराखेको पशु मार, र हामी खाएर आनन्द मनाऔं।
24 किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्द मनाउन लागे।
25 “त्यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो।
26 त्यसले चाकरहरूमध्ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्यो।
27 उसले त्यसलाई भन्यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्वस्थ फर्किआएका भेट्टाउनुभयो।’
28 “तर त्यो रिसायो, र भित्र जान मानेन, र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे।
29 तर त्यसले बाबुलाई भन्यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ, तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन।
30 तर तपाईंको सम्पत्ति वेश्याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो।’
31 “तब तिनले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्पत्ति तेरै हो।
32 तर हामीले आनन्द मनाउनु र खुसी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ’।”
याकूब 2 : 10
10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ।
यूहन्ना 16 : 13
13 जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
लूका 7 : 48 – 49
48 अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रा पाप क्षमा भएका छन्।”
49 खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?”
Leave a Reply