यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दिमाग नियन्त्रण
मत्ती 4 : 1 – 25
1 तब दियाबलसद्वारा [1] परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो।
2 उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो।
3 तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”
4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।”
5 तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खड़ा गरायो,
6 र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, ‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ र तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”
7 येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।”
8 फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो,
9 र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।”
10 तब येशूले त्यसलाई भन्नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
11 तब दियाबलस उहाँलाई छोड़ेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।
12 यूहन्ना थुनामा परे भन्ने सुनेर येशू गालीलतिर लाग्नुभयो,
13 र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।
14 यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो:
15 “जबूलूनको मुलुक र नप्तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्यजातिहरूको गालील,
16 अन्धकारमा बस्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युका छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ।”
17 त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।”
18 गालील-समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए।
19 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।”
20 तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे।
21 त्यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो।
22 तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे।
23 अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो।
24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।
25 अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।
१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
व्यवस्था 28 : 1 – 68
1 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ।
2 परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्:
3 तिमीहरूले सहरमा आशिष् पाउनेछौ, र गाउँ-बस्तीमा आशिष् पाउनेछौ।
4 तिमीहरूका सन्तानमाथि आशिष् पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा आशिष् पर्नेछ।
6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ।
7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन्।
8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष् दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
9 परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ।
10 तब पृथ्वीका समस्त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन् र तिमीहरूसँग डराउनेछन्।
11 तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्तान, गाईबस्तु र भूमिको उब्जनीमाथि परमप्रभुले प्रशस्त उन्नति दिनुहुनेछ।
12 परमप्रभुले आकाश, आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
15 तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन् र तिमीहरूलाई उछिन्नेछन्:
16 तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्तीमा श्राप पर्नेछ।
17 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा श्राप पर्नेछ।
18 तिमीहरूका सन्तानमाथि, साथै खेतको उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
19 भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
20 उहाँलाई त्यागेर तिमीहरूले गरेका दुष्ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्जेल र खतम नहोउञ्जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्की पठाउनुहुनेछ।
21 तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ।
22 क्षयरोग, जरो, सूज, प्रचण्ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्याएर तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।
23 अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्तै हुनेछन्।
24 परमप्रभुले तिमीहरूको देशको वृष्टि धूलोपीठोमा बदल्नुहुनेछ। तिमीहरू नष्ट नभएसम्म आकाशबाट त्यो तिमीहरूमाथि आउनेछ।
25 परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रुहरूका अगि पराजित तुल्याउनुहुनेछ। उनीहरूसित लड्न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्नेछौ। पृथ्वीका सबै राज्यमा तिमीहरू तिरस्कृत हुनेछौ।
26 तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन।
27 निको हुन नसक्ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्यथाले प्रहार गर्नुहुनेछ।
28 परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ।
29 अन्धाले अन्धकारमा छामछुम गरेझैँ मध्यदिनमा तिमीहरू हिँड्नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्तर शोषणमा परी लुटिनेछौ।
30 तिमीहरूसँग मगनी भएकी केटीलाई अन्य मानिसले लानेछ र भ्रष्ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्यसको फल अलिकति पनि आफै चाख्न पाउनेछैनौ।
31 तिमीहरूका आँखाअगि ढालेको आफ्नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।
32 तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्। तर तिनीहरूको प्रवास रोक्ने तिमीहरूसँग शक्ति हुनेछैन।
33 तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ।
34 तिमीहरूका आँखाले देख्नुपरेको दृश्य हेर्दा तिमीहरू बौलाहा हुनेछौ।
35 परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्पादेखि पैतालासम्म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्याउनुहुनेछ।
36 तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ।
37 परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्कार, हेला र गिल्लाका पात्र बन्नेछौ।
38 तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्नेछौ, किनकि सलहहरूले त्यो स्वाहा पार्नेछन्।
39 तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्।
40 तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्।
41 तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्।
42 तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्वाहा पार्नेछन्।
43 तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि चढ्नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ।
44 त्यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्यसलाई ऋण दिनेछैनौ। त्योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ।
45 परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्ट नभएसम्म यी सराप तिमीहरूमाथि आइपर्नेछन्। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्नेछन्।
46 तिमीहरू र तिमीहरूका सन्तानमाथि सधैँको निम्ति ती चिन्ह र उदेकका कुरा हुनेछन्।
47 तिमीहरूसँग सबै चीज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्यास, नग्नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
49 परमप्रभुले टाढ़ाबाट, पृथ्वीको पल्लो छेउदेखि वेगसित गरुडले तल झम्टिएझैँ तिमीहरूले नबुझ्ने भाषा बोल्ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्याउनुहुनेछ,
50 एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन।
51 अनि उनीहरूले तिमीहरूका गाईबस्तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्ट हुने गरी खाइदिनेछन्। तिमीहरू खतम हुने गरी अन्न, नयाँ दाखमद्य, तेल, गाईबस्तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्नेछैनन्।
52 तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्ला पर्खालहरू उनीहरूले भत्काउनेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्।
53 घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्टले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएका सन्तान, आफ्नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।
54 तिमीहरूमध्ये सबैभन्दा कोमल र अति भद्र मानिसले पनि आफ्नै भाइ, आफूले प्रेम गरेकी पत्नी र आफ्ना बाँकी रहेका बालबच्चालाई टिठ्याउनेछैन,
55 यहाँसम्म कि उसले खाँदैगरेको आफ्ना बालबच्चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्टमा त्यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।
56 तिमीहरूमध्ये कोमल र शिष्ट स्त्री, जसले कोमलता र शिष्टताको कारणले भूइँमा आफ्नो पैतालोले टेक्न पनि चाहँदिनथिई, त्यस्ती स्त्रीले त्यसका पति र आफ्नै छोराछोरीलाई
57 त्यसको कोखबाट निस्केको साल र त्यसले जन्माएका बालकहरूको मासु पनि खान दिन मान्नेछैन। उसको दृष्टि खराब हुनेछ, किनकि त्यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्याउने सङ्कष्टमा त्यसले गुप्तमा त्यो मासु आफै खाने इच्छा गर्नेछे।
58 यदि परमप्रभु तिमीहरूका परमेश्वरको गौरवमय भययोग्य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने,
59 परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्चामाथि डरलाग्दो, असहाय र रहिरहने कष्टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्याउनुहुनेछ।
60 मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्।
61 यस व्यवस्थाको पुस्तकमा उल्लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूमाथि ल्याउनुहुनेछ।
62 तिमीहरू, जो अघि संख्यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन मानेनौ।
63 जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्यसरी नै तिमीहरूलाई खुशीसाथ ध्वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
64 तब पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरू तिमीहरूले पुज्नेछौ।
65 ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्यहाँ परमप्रभुले तिमीहरूलाई चिन्तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
66 तिमीहरूको जीवन निरन्तर दोधारमा झुण्डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन।
67 तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्यले गर्दा बिहान तिमीहरूले भन्नेछौ, “बेलुकी भएदेखि हुन्थ्यो!” अनि बेलुकी भन्नेछौ, “बिहान भएदेखि हुन्थ्यो!”
68 अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्यो देख्नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्नेछैन।
मत्ती 5 : 38 – 39
38 “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’
39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ।
प्रस्थान 20 : 1 – 26
1 अनि यी सब कुरा परमेश्वरले भन्नुभयो:
2 “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
4 “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
7 “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
8 “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू।
9 छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।
12 “आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्।
13 “हत्या नगर्नू।
14 “व्यभिचार नगर्नू।
15 “चोरी नगर्नू।
16 “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
17 “आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।”
18 जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।
19 तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौं, तर परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20 मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्वर तिमीहरूलाई जाँच्नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21 मानिसहरू टाढ़ै उभिरहे। परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोशा गए।
22 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्नू: स्वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।
23 मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू।
24 “मेरो निम्ति माटोको वेदी बनाएर त्यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्यहाँ-त्यहाँ आएर म तिमीहरूलाई आशिष् दिनेछु।
25 तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्यसलाई अशुद्ध पार्नेछौ।
26 र मेरै वेदीमा खुट्किलो बनाएर नउक्लनू। किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता उघ्रनेछ।
२ इतिहास 17 : 1 – 19
1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्ने अठोट गरे।
2 तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्ति छाउनीहरू राखे।
3 तिनी आफ्ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्,
4 तर तिनले आफ्ना पिताका परमेश्वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्।
5 परमप्रभुले तिनको शासनमुनि तिनको राज्य स्थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्पत्ति र ख्याति साह्रै बढ़्यो।
6 परमप्रभुका मार्गमा हिँड्न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए।
7 आफ्नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए।
8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात् शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।
9 परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।
10 यहूदाको वरिपरि भएका देशका राज्यहरूमाथि परमप्रभुको भय पर्यो, र उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्।
11 कुनै-कुनै पलिश्तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्याए।
12 यहोशापात झन् शक्तिशाली भए। तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए।
13 यहूदाका सहरहरूमा तिनले प्रशस्त खानेकुरा सञ्चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए।
14 तिनीहरू आ-आफ्नो परिवारअनुसार यसरी भर्ती भएका थिए: यहूदाबाट सेनानीहरू: सेनापति अदनाह र तिनका साथमा तीन लाखको फौज।
15 तिनीपछि सेनापति येहोहानान र तिनका साथमा दुई लाख असी हजारको फौज।
16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले परमप्रभुका सेवाको निम्ति स्वयंसेवकको काम गर्थे। तिनका साथमा दुई लाखको फौज थियो।
17 बेन्यामीनबाट: एक जना वीर योद्धा एल्यादा र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज।
18 तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्जित भएका एक लाख असी हजारको फौज।
19 यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
२ तिमोथी 3 : 16 – 17
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
17 ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।
प्रस्थान 22 : 1 – 31
1 यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्यसलाई मार्यो कि बेच्यो भने, त्यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्।
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्यो भने र त्यसलाई पिट्दा त्यो मर्यो भने, त्यसको हत्याको दोष पिट्नेलाई लाग्नेछैन।
3 तर घाम झुल्किसकेको भए, त्यो दोषी हुनेछ। चोरले नोक्सानी भरिदिनुपर्छ। तर त्यससँग केही छैन भने, चोरीको निम्ति त्यो बेचिओस्।”
4 “यदि चोरीको माल त्यससँग जीवित पाइयो भने— त्यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्यसको निम्ति दुई गुणा तिर्नुपर्छ।”
5 “कसैले आफ्नो पशुलाई चराउँदा छोड़िदियो र त्यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्यसले आफ्नो खेत र दाखबारीको सबैभन्दा असल उब्जनी त्यसको सट्टा देओस्।”
6 “यदि झाड़ीमा आगलागी भएर अन्नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्म गर्यो भने, त्यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”
7 “कसैले आफ्नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्नलाई दियो, र त्यो त्यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्यो भने, त्यस चोरले दोबर तिरोस्।
8 तर चोरचाहिँ पक्राउ परेन भने, त्यस घरको मालिकले आफ्नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्यायकर्ताहरूकहाँ त्यो आओस्।
9 जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्तु देखाएर कसैले त्यो मेरो हो भन्यो भने, दुवै जना न्यायकर्ताहरूका अगि आऊन्। न्यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्यसले नै आफ्नो छिमेकीलाई दोबर देओस्।”
10 “यदि कुनै मानिसले आफ्नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्न दियो, र त्यो कसैले नदेखीकन मर्यो अथवा त्यसलाई चोट लाग्यो वा त्यो खेदेर भगाइयो भने,
11 ती दुवैका बीचको झगड़ा आफ्नो छिमेकीको सम्पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्। तब त्यसको मालिकले त्यो कुरा स्वीकार गरोस्, र त्यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।
12 तर त्यो छिमेकीबाट चोरिएको हो भनेता, त्यसको मालिकलाई भर्ना दिनुपर्नेछ।
13 त्यो जङ्गली पशुले छिन्नभिन्न पारेको छ भने, त्यसले त्यो गवाहीको निम्ति ल्याओस्, र त्यो छिन्नभिन्न भएको कारण त्यसले भर्ना तिर्नुपर्दैन।”
14 “यदि कसैले आफ्नो छिमेकीबाट पशुको पैँचो लियो, र त्यसको मालिक साथमा नहुँदा त्यसलाई चोट लाग्यो कि मर्यो भने, त्यसले त्यसको भर्ना देओस्।
15 तर त्यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्यसको भर्ना दिनुपर्नेछैन। त्यो पशु ज्यालाको हो भने, ज्यालाको लागि तिरेको रकमले सो नोक्सानी बेहोर्छ।”
16 “यदि कसैले मगनी नभएकी कन्ये-केटीलाई फकाएर त्यससित सुत्यो भने, त्यस मानिसले दुलहीको दाम दिएर त्यसलाई आफ्नी पत्नी तुल्याओस्।
17 तर त्यस केटीको बुबाले त्यो केटी त्यसलाई दिन इन्कार गर्यो भने, त्यसले कन्ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।
18 “जादुगरी गर्ने स्त्रीलाई जीवित नराख।
19 जसले पशुसित यौन सम्बन्ध राख्छ, त्यो मारिनैपर्छ।
20 जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्यो बिलकुलै नष्ट पारिओस्।
21 परदेशीलाई नसताओ, त्यसलाई अत्याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ।
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।
23 फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्चय नै तिनीहरूको पुकारा सुन्नेछु।
24 मेरो क्रोध दन्कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्।
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्यसप्रति साहुकारजस्तै नहोओ। त्यससित ब्याज पनि नलेओ।
26 तिमीहरूका छिमेकीको खास्टो बन्धकमा लिएका छौ भने, सूर्यास्त हुन अघि नै त्यो त्यसलाई फर्काइदेओ,
27 किनकि त्यो त्यसको एउटै मात्र ओढ्ने हो। त्यसबाहेक त्यो केमा सुत्छ? त्यसले मेरो पुकारा गर्यो भने म त्यसको पुकारा सुन्नेछु, किनकि म कृपालु छु।
28 “परमेश्वरको विरुद्धमा निन्दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप।
29 “आफ्नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्ब नगर। “तिमीहरूका छोराहरूमध्ये जेठोचाहिँ मेरो निम्ति देओ।
30 त्यस्तै गरी तिमीहरूका गाईबस्तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्म ती आफ्ना माउसित रहून्। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्ति देओ।”
31 “तिमीहरू मेरो निम्ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।”
यूहन्ना 14 : 26
26 तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।
लूका 10 : 27
27 तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।”
हिब्रू 13 : 8
8 येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
मत्ती 26 : 52 – 54
52 तब येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्।
53 तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढ़ी मेरो निम्ति पठाइदिनुहुन्न र?
54 तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ।
रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।
मलाकी 3 : 6
6 “म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।
हितोपदेश 25 : 26
26 दुष्टको कुरामा लाग्ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।
Leave a Reply