कादेश बर्ने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कादेश बर्ने

व्यवस्था 9 : 1 – 29
1 हे इस्राएली हो, सुन, तिमीहरूभन्‍दा महान्‌ र शक्तिशाली जातिहरू, र आकाश छुने पर्खाल लाएका ठूला-ठूला सहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जान लागेको छौ।
2 त्‍यहाँका मानिस अनाकीहरू हुन्, जसको बारेमा तिमीहरू जान्‍दछौ। उनीहरू बलिया र अल्‍गा-अल्‍गा छन्‌। “अनाकीहरूका सामु को खड़ा हुन सक्‍छ?” भन्‍ने उक्ति तिमीहरूले सुनेका छौ।
3 तर आज यो कुरा निश्‍चय नै जानी राख, कि भस्‍म गर्ने आगोझैँ तिमीहरूका अगिअगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले उनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिमीहरूको अधीनमा ल्‍याउनुहुनेछ। परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले उनीहरूलाई धपाएर चाँड़ै नष्‍ट पार्नेछौ।
4 परमप्रभुले तिमीहरूका सामुन्‍नेबाट उनीहरूलाई निकालिसक्‍नुभएपछि तिमीहरूले आफ्‍नो मनमा यसो नभन्‍नू, “हाम्रो धार्मिकताको कारणले नै परमप्रभुले यो देश अधिकार गर्न हामीलाई ल्‍याउनुभएको हो।” बरु यी जातिहरूको दुष्‍टताले गर्दा नै परमप्रभुले उनीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुन्‍छ।
5 तिमीहरूको धार्मिकता वा ईमानदारीको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ। तर यी जातिको दुष्‍टताले गर्दा तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले यिनीहरूलाई तिमीहरूका सामुबाट निकाल्‍नुहुनेछ।
6 यसकारण याद राख, कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको होइन। किनभने तिमीहरू त हठी मानिसहरू हौ।
7 उजाड़-स्‍थानमा तिमीहरूले कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरलाई रीस उठायौ, यो कुराको सम्‍झना गर, र कहिल्‍यै नबिर्स। मिश्रबाट निक्‍लेको दिनदेखि यस ठाउँमा आइपुगुञ्‍जेल तिमीहरूले परमप्रभुको विरोध गरी नै रहेका छौ।
8 होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रीस उठायौ, र तिमीहरूलाई नाशै गर्नेसम्‍म परमप्रभु क्रुद्ध हुनुभएको थियो।
9 परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारका शिला-पाटी लिनलाई जब म पर्वतमा उक्‍लेको थिएँ, तब म त्‍यस पर्वतमा चालीस दिन र चालीस रात रहें। मैले रोटी वा पानी खाइनँ।
10 अनि परमप्रभुले परमेश्‍वरका हातले लेख्‍नुभएका दुई वटा शिला-पाटी मलाई सुम्‍पनुभयो। पर्वतमाथि अग्‍निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए।
11 परमप्रभुले चालीस दिन र चालीस रातको अन्‍तमा करारका ती दुई शिला-पाटी मलाई दिनुभयो।
12 त्‍यसपछि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, झट्टै यहाँबाट ओर्लिहाल्, किनभने तैंले मिश्रबाट ल्‍याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्‌। जुन आज्ञा मैले तिनीहरूलाई दिएको थिएँ, त्‍यसबाट तिनीहरू चाँड़ै तर्किगएर आफ्‍ना निम्‍ति ढलौटे मूर्ति बनाएका छन्‌।”
13 फेरि परमप्रभुले मलाई भन्‍नुभयो, “मैले यी मानिसहरूलाई हेरें, र यिनीहरू त हठी मानिसहरू रहेछन्‌।
14 अब मलाई एकलै छोड़िदे, र म तिनीहरूलाई नाश गर्नेछु, र तिनीहरूको नाउँ स्‍वर्गमुनिबाट मेटिदिनेछु। अनि तँबाट नै तिनीहरूभन्‍दा शक्तिशाली र बढ़ी संख्‍याको जाति बनाउनेछु।”
15 तब म पर्वतबाट तल ओर्लें। त्‍यस बेला पर्वत अग्‍निले बलिरहेको थियो, र करारका दुई पाटी मेरा दुई हातमा थिए।
16 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेर आफ्‍ना निम्‍ति बाछाको ढलौटे मूर्ति बनाएका मैले देखें। परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू यति छिट्टै तर्केर गएथ्‍यौ।
17 यसकारण मैले ती दुवै पाटी लिएर हातबाट फ्‍याँकी तिमीहरूका आँखाकै सामु फुटाइदिएँ।
18 परमप्रभुको दृष्‍टिमा कुकर्म गरी तिमीहरूले आफ्‍ना सबै पापको कारण उहाँलाई क्रोधित तुल्‍याएका हुनाले म पहिलेझैँ चालीस दिन र चालीस रातसम्‍म परमप्रभुको अगि लम्‍पसार परिरहें। मैले रोटी वा पानी खाइनँ।
19 परमप्रभुको रीस र क्रोधदेखि मलाई डर लाग्‍यो, किनकि तिमीहरूलाई नाशै गर्ने गरी उहाँ तिमीहरूसँग रिसाउनुभएको थियो। तर यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो।
20 हारूनलाई पनि नाश पार्नेसम्‍म गरी परमप्रभु तिनीसँग रिसाउनुभएको थियो, तर मैले त्‍यस बेला हारूनको निम्‍ति पनि प्रार्थना गरें।
21 त्‍यसपछि मैले तिमीहरूको त्‍यो पापमय वस्‍तु, तिमीहरूले बनाएको त्‍यो बाछो लिएर आगोमा जलाइदिएँ र त्‍यसलाई चकनाचूर पारेर धूलोपीठो बनाएँ, र त्‍यो धूलो पर्वतबाट झर्ने खोलामा फालिदिएँ।
22 तिमीहरूले तबेरा, मस्‍साह र किब्रोथ-हत्तावामा पनि परमप्रभुलाई क्रुद्ध तुल्‍यायौ।
23 अनि परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेबाट यसो भनेर पठाउनुभयो, “गएर मैले तिमीहरूलाई दिएको देश अधिकार गर।” तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरोध गर्‍यौ, र तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको कुरा पनि मानेनौ।
24 मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरोधमा चलेका छौ।
25 परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्‍नुभएकोले परमप्रभुको अगि म चालीस दिन र चालीस रात पस्रिरहें।
26 मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, “हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्‍याउनुभएको आफ्‍नो प्रजा र आफ्‍नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्‌।
27 आफ्‍ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्‍झनुहोस्‌। यी मानिसहरूका हठ, दुष्‍टता र पापतिर नहेर्नुहोस्,
28 नत्रता हामीलाई जुन देशबाट तपाईंले निकालेर ल्‍याउनुभयो त्‍यसले भन्‍ला, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशभित्र तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र तिनीहरूलाई घृणा गर्नुभएकोले उहाँले तिनीहरूलाई उजाड़-स्‍थानमा मार्न लैजानुभयो।”
29 तर आफ्‍नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्‍याउनुभएको तिनीहरू तपाईंको प्रजा र तपाईंकै निज उत्तराधिकार हुन्‌।”

यहोशू 14 : 7
7 परमप्रभुका दास मोशाले कादेश-बर्नेबाट यस देशको भेद लिन मलाई पठाउँदा म चालीस वर्षको थिएँ, र मैले आफूले बुझेअनुसारको समाचार तिनलाई ल्‍याइदिएँ।

व्यवस्था 2 : 14
14 परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्‍ट नहोउञ्‍जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्‍म आइपुग्‍न हामीलाई अठतीस वर्ष लाग्‍यो।

प्रस्‍थान 12 : 40
40 इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो।

२ थेसलोनिकी 1 : 1 – 12
1 पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई:
2 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति।
3 भाइ हो, तिमीहरूका निम्‍ति परमेश्‍वरलाई सधैँ धन्‍यवाद चढ़ाउन हामी बाध्‍य छौं। यो योग्‍य पनि छ, किनकि तिमीहरूको विश्‍वास प्रशस्‍त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ।
4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्‍टहरूका बीचमा तिमीहरूका स्‍थिरता र विश्‍वासको निम्‍ति परमेश्‍वरका मण्‍डलीहरूका माझमा हामी ज्‍यादै गर्व गर्छौं।
5 परमेश्‍वरको धार्मिक इन्‍साफको साक्षी यही हो, कि तिमीहरू परमेश्‍वरका राज्‍यको योग्‍य ठहरिन सक, जसको निम्‍ति तिमीहरू दुःख भोगिरहेछौ।
6 परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्‍छ,
7 र तिमी कष्‍ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्‍छ। यो तब हुन्‍छ, जब प्रभु येशू आफ्‍ना शक्तिशाली स्‍वर्गदूतहरूसँग बल्‍दो आगोमा स्‍वर्गबाट प्रकट हुनुहुनेछ।
8 परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।
9 तिनीहरूले अनन्‍त विनाशको दण्‍ड तथा प्रभुको उपस्‍थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्‍ड भोग्‍नेछन्,
10 जब त्‍यस दिन उहाँका सन्‍तहरूमा महिमा पाउन र विश्‍वास गर्नेहरू सबैलाई आश्‍चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्‍वास गर्‍यौ।
11 यस हेतुले हामी तिमीहरू सबैका निम्‍ति निरन्‍तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो बोलावटको योग्‍य बनाऊन्, र हरेक असल उद्देश्‍य र विश्‍वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्,
12 ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार हाम्रा प्रभु येशूको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा।

व्यवस्था 9 : 23
23 अनि परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेबाट यसो भनेर पठाउनुभयो, “गएर मैले तिमीहरूलाई दिएको देश अधिकार गर।” तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरोध गर्‍यौ, र तिमीहरूले उहाँमाथि भरोसा राखेनौ, र उहाँको कुरा पनि मानेनौ।

कलस्सी 1 : 1 – 29
1 परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,
2 ख्रीष्‍टमा भएका कलस्‍सेका सन्‍तहरू र विश्‍वासी भाइहरूलाई: परमेश्‍वर हाम्रा पिताबाट अनुग्रह र शान्‍ति।
3 तिमीहरूका निम्‍ति प्रार्थना गर्दा हामी आफ्‍ना प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई सधैँ धन्‍यवाद चढ़ाउँछौं,
4 किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं,
5 जुनचाहिँ तिमीहरूका निम्‍ति स्‍वर्गमा राखिएका आशाको कारणले नै हो। यस विषयमा तिमीहरूले अघि नै सत्‍यको वचन, अर्थात्‌ सुसमाचारमा सुनेका छौ।
6 यो सुसमाचार तिमीहरूकहाँ आएको छ, र साँच्‍चै सारा संसारमा फलदायी भई बढ़िरहेछ। सत्‍यतामा परमेश्‍वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूका बीचमा पनि त्‍यसरी नै काम गरिरहेछ,
7 जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्‍यौ। तिनी हाम्रा पक्षमा ख्रीष्‍टका एक विश्‍वासी सेवक हुन्‌।
8 तिनले पवित्र आत्‍मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्‌।
9 यसैकारण हामीले त्‍यो सुनेको दिनदेखि उहाँको इच्‍छाको ज्ञानले सारा आत्‍मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्‍ती गर्दै तिमीहरूका निम्‍ति प्रार्थना गर्न छोड़ेका छैनौं,
10 र उहाँलाई पूर्ण रूपले प्रसन्‍न पार्ने प्रभुको योग्‍य जीवन बिताउँदै र प्रत्‍येक असल काममा फलवन्‍त हुँदै परमेश्‍वरको ज्ञानमा बढ्‌दैजान सक।
11 उहाँको महिमित शक्तिअनुसार आनन्‍दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।
12 ज्‍योतिमा सन्‍तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्‍याउनुहुने पितालाई धन्‍यवाद चढ़ाओ।
13 उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ।
14 उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ।
15 उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ,
16 किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।
17 उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।
18 उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ, उहाँ नै सुरु हुनुहुन्‍छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्‍येष्‍ठ हुनुहुन्‍छ, ताकि प्रत्‍येक कुरामाथि उहाँ सर्वोच्‍च होऊन्‌।
19 किनकि उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा वास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो,
20 र परमेश्‍वरले उहाँका क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्‌ वा स्‍वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो।
21 बितेका समयमा दुष्‍ट काम गरेर तिमीहरू बिराना भई आफ्‍नो मनमा विरोधी भएका थियौ।
22 तर आफ्‍नो सामुन्‍ने तिमीहरूलाई पवित्र, निष्‍खोट र निर्दोष प्रस्‍तुत गर्न ख्रीष्‍टका मासुको शरीरमा उहाँको मृत्‍युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्‍याउनुभएको छ—
23 यदि तिमीहरू आफ्‍ना विश्‍वासमा अचल र स्‍थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्‍यो सुसमाचार हो, जो स्‍वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।
24 अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्‍द मनाउँदछु, र ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात्‌ उहाँको मण्‍डलीको खातिर म आफ्‍नो देहमा पूरा गर्दछु।
25 तिमीहरूका खातिर मलाई दिइएको ईश्‍वरीय कार्यअनुसार परमेश्‍वरको वचन सम्‍पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ—
26 युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य अब उहाँका सन्‍तहरूलाई प्रकट भएको छ।
27 यस रहस्‍यको महिमामय सम्‍पत्ति अन्‍यजातिहरूमा कति महान्‌ छ, त्‍यो कुरा आफ्‍ना सन्‍तहरूलाई प्रकट गर्न परमेश्‍वरले चुन्‍नुभयो। यो रहस्‍य ख्रीष्‍ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।
28 प्रत्‍येक मानिसलाई चेताउनी दिँदै, र प्रत्‍येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्‍येक मानिसलाई ख्रीष्‍टमा परिपक्‍व बनाई प्रस्‍तुत गर्न सकौं।
29 मेरो अन्‍तस्‍करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्‍ति कठोर परिश्रम गर्दछु।

गन्ती 20 : 1 – 29
1 इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्‍थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्‍यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्‍यहीँ नै गाड़े।
2 समुदायको निम्‍ति त्‍यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्‍मा भए।
3 तिनीहरूले मोशासित झगड़ा गरेर यसो भने, “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुनेथियो,
4 किनभने अब हाम्रा गाईबस्‍तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्‍थानमा ल्‍याउनुभयो?
5 मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्‍याउनुभयो? यस ठाउँमा अन्‍न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्‌। यहाँ पिउने पानी पनि छैन।”
6 तब मोशा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्‍टो परे, र परमप्रभुको महिमा तिनीहरूकहाँ देखा पर्‍यो।
7 परमप्रभुले मोशालाई भन्‍नुभयो,
8 “यो लहुरो लिएर तँ र तेरो दाजु हारून गएर समुदायलाई जम्‍मा गर। तिनीहरूका आँखाकै सामुन्‍ने यस चट्टानलाई हुकुम गर्‌ र चट्टानबाट पानी निस्‍कनेछ, र तैंले यस चट्टानबाट तिनीहरूका निम्‍ति पानी निकाल्‍नेछस्‌। यसरी तैंले समुदाय र तिनका गाईबस्‍तुहरूलाई पानी दिनेछस्‌।”
9 तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा लहुरो लिएर उहाँको सामुन्‍नेबाट गए,
10 अनि मोशा र हारूनले चट्टानको सामुन्‍ने समुदायलाई जम्‍मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्‍ति पानी निकालिदिऔँ?”
11 अनि मोशाले आफ्‍नो हात उठाएर दुई पल्‍ट आफ्‍नो लहुरोले चट्टान हिर्काए। तब त्‍यहाँबाट प्रशस्‍त पानी फुटेर निस्‍क्‍यो, अनि समुदाय र तिनीहरूका गाईबस्‍तुले पिए।
12 तर परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्‍याउनलाई तिमीहरूले ममाथि विश्‍वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्‍याउन पाउनेछैनौ।”
13 यसैलाई मेरीबाका [1] पानी भनिन्‍छ। यहीँ नै इस्राएलीहरूले परमप्रभुसँग झगड़ा गरे, र तिनीहरूका बीचमा उहाँ पवित्र प्रकट हुनुभयो।
14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए: “तपाईंको भाइ इस्राएल यो भन्‍छ, हामीलाई परिआएका विपत्ति तपाईंलाई थाहै छ।
15 हाम्रा पुर्खाहरू मिश्रदेशमा गएका थिए, र हामी धेरै समयसम्‍म मिश्रदेशमा रह्यौं, अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई कुव्‍यवहार गरे।
16 जब हामीले परमप्रभुमा पुकारा गर्‍यौं, तब उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो, र एउटा स्‍वर्गदूत पठाउनु भएर हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभयो। “अहिले तपाईंका देशको सिमानानेरको कादेश सहरमा हामी छौं।
17 बिन्‍ती छ, हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्‌। हामी खेत अथवा दाखबारी भएर जानेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी खानेछैनौं। हामी मूलबाटो भएर जानेछौं। तपाईंको सिमाना नकाटेसम्‍म हामी दाहिने-देब्रे लाग्‍नेछैनौं।”
18 तर एदोमले तिनीहरूलाई भने, “यस देश भएर तिमीहरू जान पाउँदैनौ, नत्रता तरवार लिएर हामी तिमीहरूमाथि आक्रमण गर्नेछौं।”
19 इस्राएलीहरूले उत्तर दिए, “हामी मूलबाटै भएर जानेछौं। हामी र हाम्रा गाईबस्‍तुले तपाईंको पानी पियौं भने त्‍यसको मोल हामी तिर्नेछौं। केवल हामीलाई तपाईंको देश भएर जान दिनुहोस्‌।”
20 फेरि एदोमले भने, “तिमीहरू जान पाउँदैनौ” तब एदोम तिनीहरूका विरुद्धमा ठूलो सेना लिएर आए।
21 यसरी इस्राएलीहरूलाई आफ्‍नो सिमाना छिचलेर जान दिन एदोमले इन्‍कार गरे। यसकारण इस्राएलीहरू त्‍यहाँबाट फर्के।
22 सारा समुदाय कादेशबाट यात्रा गरेर होर पर्वतमा आइपुगे।
23 परमप्रभुले एदोम देशको सिमानानेर होर पर्वतमा मोशा र हारूनलाई यसो भन्‍नुभयो,
24 “हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ। तिमीहरू दुवै मेरीबाका पानीमा मेरो वचनको विरुद्धमा गएका हुनाले, मैले इस्राएलीहरूलाई दिने देशमा त्‍यो पस्‍न पाउनेछैन।
25 हारून र त्‍यसको छोरा एलाजारलाई होर पर्वतमा लिएर जा।
26 हारूनका पोशाक फुकालेर त्‍यसको छोरा एलाजारलाई लगाइदे। त्‍यसपछि हारून आफ्‍ना पुर्खाहरूकहाँ गएर मिल्‍नेछ, र त्‍यहीँ मर्नेछ।”
27 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, र सबै समुदायका आँखाको अगि तिनीहरू होर पर्वतमा उक्‍ले।
28 मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्‍यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्‍त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले।
29 जब समुदायलाई हारूनको मृत्‍यु भएको थाहा भयो, तब सबै इस्राएलीहरूले तीस दिनसम्‍म शोक मनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *