यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एस्थर
एस्तर 8 : 1 – 17
1 त्यसै दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानका घर र जग्गाजमिन एस्तरलाई दिए। अनि एस्तरले मोर्दकै तिनको आफ्नै पर्छ भनेकी हुनाले मोर्दकै राजाको उपस्थितिमा हाजिर भए।
2 तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्वरूप दिए। एस्तरले मोर्दकैलाई हामानको घर र जग्गा जमिनको जिम्मा दिइन्।
3 फेरि एस्तरले रुँदै राजाको पाउमा परेर अगागी हामानले यहूदीहरूका विरुद्धमा गरेको दुष्ट योजना टारिदिन भनी बिन्ती चढ़ाइन्।
4 राजाले एस्तरतिर सुनको राजदण्ड पसारे। तिनी उठिन् र राजाको सामु खड़ा भएर उभिन्।
5 एस्तरले भनिन्, “महाराजाको इच्छा भए, र यदि मैले हजूरको निगाह पाएकी छु भने, मैले दिन लागेको प्रस्ताव महाराजाले उचित सम्झिबक्सिए र मैले हजूरको स्वीकृति पाउन सके अगागी हम्मदाताको छोरा हामानले राजाका सबै प्रान्तहरूका यहूदीहरूलाई नाश गर्न योजना बनाएर लेखेका पत्रहरूलाई रद्द गर्न एउटा लिखित राजाज्ञा पठाइबक्सिओस्।
6 किनभने मेरा जात-भाइहरूमाथि परेको विपत्ति म कसरी सहन सकुँला? अथवा मेरो परिवारको विनाश म कसरी सहन सकुँला?”
7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “त्यसले यहूदीहरूलाई नाश गर्ने प्रयत्न गरेको हुनाले मैले हामानको सम्पत्ति एस्तरलाई दिएको छु, र त्योचाहिँ फाँसीको काठमा झुण्ड्याइयो।
8 अब यहूदीहरूका पक्षमा तिमीहरूलाई उचित लाग्ने एउटा अर्को राजउर्दी मेरो नाउँमा निकाल। त्यसमा राजकीय मोहोर लगाऊ, किनभने राजाको नाउँमा लेखिएको राजकीय मोहोर लगाइएको लिखित पत्र रद्द गर्न सकिँदैन।”
9 त्यसपछि तेस्रो महिना, अर्थात् सीवान महिनाको तेईसौँ दिनमा राजाका सचिवहरू बोलाइए। मोर्दकैले यहूदीहरूलाई दिएको हुकुमबमोजिम भारतदेखि कूश देशसम्मका एक सय सत्ताईस प्रान्तका बड़ाहाकिमहरू, राज्यपालहरू र भारदारहरूका निम्ति हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा, र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित राजाज्ञा निकालियो।
10 मोर्दकैले त्यो उर्दी राजा अहासूरसको नाउँमा लेखेर त्यसमा राजकीय मोहोर लगाए। त्यो उर्दी राजकीय अस्तबलका घोड़ाहरूमा सवार भएर समाचारवाहकहरूद्वारा पठाइयो।
11 यस राजउर्दीमा राजाले हरेक सहरमा यहूदीहरूलाई सङ्गठित भएर आफ्नो रक्षा गर्न, र तिनीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्त्र सेनाहरू जसले तिनीहरूका स्त्रीहरू र बालकहरूसमेत आक्रमण गर्छन्,
12 उनीहरूलाई एकै दिनमा, अर्थात् बाह्रौँ महिनाको वा अदार महिनाको तेह्रौँ दिनमा नाश गर्न, मार्न र नाउँनिशानै मेटिदिन, अनि अहासूरस राजाका सबै प्रान्तभरि नै उनीहरूका अधिकारको जग्गाजमिन लुट्न भनी मन्जूरी भयो।
13 यस आज्ञापत्रको एउटा नकल हरेक प्रान्तमा उर्दीको रूपमा निकालिने र सारा मानिसहरूका बीचमा प्रचार गरिने भयो। यहूदीहरूचाहिँ त्यस दिनमा आफ्ना शत्रुहरूमाथि साटो लिनका निम्ति तयार रहून् भन्ने यो आज्ञापत्र निकालिएको थियो।
14 यसैले ती समाचारवाहकहरू राजकीय घोड़ाहरूमा सवार भएर राजाको जरूरी उर्दी चाँड़ै लैजान पठाइए। यो उर्दी राजधानी शूशनमा पनि निकालियो।
15 तब मोर्दकै नीलो र सेतो राजकीय पोशाक र ठूलो सुनको मुकुट पहिरेर, मलमलको बैजनी वस्त्र लगाएर राजाको उपस्थितिबाट निस्के। अनि समस्त शूशन सहरले खुशी र आनन्द मनायो।
16 यहूदीहरूका निम्ति चाहिँ त्यो दिन आनन्द र खुशी, प्रसन्नता र इज्जतको दिन भयो।
17 उर्दी पुगेको, राजाको हरेक प्रान्त र हरेक सहरमा यहूदीहरूका निम्ति आनन्द र हर्ष, भोज र उत्सवको दिन भयो। अनि अरू जातिका धेरै मानिसहरू यहूदी भए, किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।
एस्तर 4 : 14
14 यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन्। शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”
एस्तर 5 : 1 – 14
1 तेस्रो दिन एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजमहलको भित्री आँगनमा उभिरहिन्। राजाचाहिँ सिंहासनमा बसेर मूल ढोकातिर फर्केका थिए।
2 जब राजाले एस्तर रानीलाई आँगनमा उभिरहेकी देखे, तब राजाको निगाह तिनीमाथि भयो, र आफ्नो साथमा लिइराखेको सुनको राजदण्ड उनले तिनीतिर पसारे। तब अगि बढ़ेर एस्तरले राजदण्डको टुप्पालाई छोइन्।
3 राजाले तिनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”
4 एस्तरले भनिन्, “हे महाराजा, हजूरलाई असल लागे हजूरको निम्ति मैले तयार गरेको भोजमा आज हामानको साथमा हजूरको सवारी होस्।”
5 एस्तरको इच्छा पूरा गर्न राजाले हामानलाई तुरुन्तै बोलाएर ल्याउने हुकुम गरे। तब एस्तरले तयार गरेको भोजमा राजा र हामान गए।
6 दाखमद्य पिउँदै राजाले एस्तरलाई फेरि भने, “तिमीले मलाई जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिम्रो माग के हो भन, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।”
7 जवाफमा एस्तरले भनिन्, “मेरो बिन्ती र अनुरोध यही छ:
8 यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्सिओस्। भोलि म महाराजालाई आफ्नो कुरा भन्नेछु।”
9 त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै गए। तर जब तिनले मोर्दकैलाई राजाको मूल ढोकामा र तिनको सामु खड़ा नभएका र नडराएका देखे, तब तिनी रीसले चूर भए।
10 तर आफैलाई सह्मालेर तिनी घर गए। त्यसपछि तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाइपठाए, र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति र धेरै छोराहरू भएको रवाफ,
11 र राजाले तिनलाई उच्च पद दिएका र अरू भारदारहरू र अधिकारीहरूमा आफूलाई बढ़ी मान दिएका कुरा बताए।
12 हामानले भने, “त्यति मात्र होइन, तर रानी एस्तरले तयार गर्नुभएको भोजमा राजासित जान मलाई मात्र रानीले निम्तो दिनुभयो। अनि राजासित जान भोलि पनि मलाई निम्तो दिनुभएको छ।
13 तापनि त्यस यहूदी मोर्दकैलाई राजदरबारको मूल ढोकामा बसिरहेको देख्दा यी सबैले सन्तोषै लाग्दैन।”
14 तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई भने, “पच्चीस मिटर अल्गो एउटा फाँसीको काठ खड़ा गर्नुहोस्, र बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित बिन्ती गर्नुहोस्। त्यसपछि खुशीसित राजाकहाँ भोजमा जानुहोस्।” हामानलाई यो कुरो साह्रै असल लाग्यो, र तिनले त्यो फाँसीको काठ खड़ा गर्न लगाए।
एस्तर 4 : 16
16 “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। तीन दिन र तीन रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्तै उपवास बस्नेछौं। त्यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्छ भने पनि होस्।”
एस्तर 9 : 1 – 32
1 बाह्रौँ महिना, अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको उर्दी पूरा गरिने दिन आइपुग्यो। त्यही दिन यहूदीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्नो अधीनमा पार्ने आशा गरेका थिए। तर त्यसको विपरीत तिनीहरूलाई घृणा गर्नेहरूलाई यहूदीहरूले अधीन गर्ने दिन भयो।
2 त्यस दिन तिनीहरूको सत्यनाश गर्न खोज्नेहरूमाथि आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तका सहरहरूमा यहूदीहरू सङ्गठित भएका थिए। तिनीहरूलाई कसैले विरोध गर्न सकेन, किनभने अरू सबै जातिका मानिसहरूमाथि तिनीहरूको डर परेको थियो।
3 र मोर्दकैको डर तिनीहरूमाथि भएकोले गर्दा प्रान्त-प्रान्तका सबै भारदारहरू, बड़ाहाकिमहरू, राज्यपालहरू र राजकीय अध्यक्षहरूले यहूदीहरूलाई सघाए।
4 राजदरबारमा मोर्दकै एक प्रमुख व्यक्ति भए, र उनी झन्-झन् शक्तिशाली भए र उनको ख्याति सबै प्रान्तहरूमा फिँजियो।
5 यसरी यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई ठूलो मारकाट र विनाश गरेर तरवारले मारे। आफूलाई घृणा गर्नेहरूमाथि तिनीहरूले आफूखुशी गरे।
6 राजधानी शूशनमा यहूदीहरूले पाँच सय पुरुषहरूलाई मारेर नाश गरे।
7 तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता,
8 पोराता, अदलिया, अरीदाता,
9 पर्मशता, अरीशै, अरीदै र बैजाता,
10 हम्मदाताको छोरा यहूदीहरूको शत्रु हामानका यी दशै जना छोराहरूलाई पनि मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्।
11 त्यसै दिन राजधानी शूशनमा मारिएकाहरूको संख्या राजालाई सुनाइयो।
12 राजाले रानी एस्तरलाई भने, “राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई र हामानका दशै जना छोराहरूलाई मारेर नाश पारेका छन्। राजाका अरू प्रान्तहरूमा तिनीहरूले के-के गरे होलान्? अझ भन, तिम्रो अरू बिन्ती के छ? त्यो तिमीलाई दिनेछु। तिमी के चाहन्छ्यौ, त्यो स्वीकार गरिनेछ।”
13 एस्तरले उनलाई जवाफ दिइन्, “महाराजाको इच्छा भए आजको उर्दीअनुसार भोलि पनि यसै गरी शूशनमा यहूदीहरूले गर्न पाऊन् भन्ने मन्जूरी दिइबक्सिओस्। र हामानका ती दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्ड्याइऊन्।”
14 तब त्यसो गर्ने राजाले हुकुम दिए। शूशनमा उर्दी निकालियो, र हामानका दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्ड्याइए।
15 अदार महिनाको चौधौँ दिनमा यहूदीहरू फेरि सङ्गठित भएर शूशनमा तीन सय जना मानिसहरूलाई मारे। तर तिनीहरूले लूटपीटमा हात लगाएनन्।
16 यसै बीचमा राजाका प्रान्तहरूका बाँकी यहूदीहरू आफूलाई रक्षा गर्न र आफ्ना शत्रुहरूबाट बचून् भनी सङ्गठित भएका थिए। तिनीहरूले पचहत्तर हजार जनालाई मारे, तर तिनीहरूले लूटपीटमा हात लगाएनन्।
17 योचाहिँ अदार महिनाको तेह्रौँ दिनमा गरियो। अनि चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। त्यो दिन एक चाड़ र हर्षको दिन मनाइयो।
18 शूशनका यहूदीहरूले चाहिँ त्यस महिनाको तेह्रौँ र चौधौँ दिनमा सङ्गठित भए र पन्ध्रौँ दिनमा विश्राम लिए, र त्यस दिनलाई चाड़ र हर्षको दिन ठहराए।
19 यसैले टाढ़ा-टाढ़ाका गाउँहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिन हर्ष र चाड़को दिन मनाउँछन्, र त्यस दिन तिनीहरू एक-अर्कालाई उपहारहरू पठाउँछन्।
20 मोर्दकैले यी कुरा लिखित रूपमा प्रतिवेदन गरे, र राजा अहासूरसका समस्त प्रान्तहरूका टाढ़ा र नजिकका सबै यहूदीहरूलाई उनले यस्तो लेखेर पत्रहरू पठाए, कि
21 वर्षेनी अदार महिनामा चौधौँ र पन्ध्रौँ दिन
22 आफ्ना शत्रुहरूदेखि विश्राम पाएका समयझैँ र तिनीहरूका निम्ति शोकबाट हर्ष र विलापबाट उत्सवमा परिवर्तन भएको महिनाझैँ मनाउनलाई स्थापित गरे। तिनीहरूले ती दिन चाड़ र हर्ष, एक-अर्कालाई खानेकुराको सौगात पठाउने र गरीबहरूलाई उपहार दिने दिनझैँ मनाउनुपर्छ भनी उनले लेखे।
23 यसैकारण मोर्दकैको पत्रअनुसार सुरु गरेको रीति कायम राख्नलाई यहूदीहरू सहमत भए।
24 यो तिनीहरूले यसकारण गरे, किनभने सबै यहूदीहरूको शत्रु अगागी हम्मदाताको छोरा हामानले यहूदीहरूलाई नष्ट पार्ने हेतुले षड्यन्त्र रचेर कुनै एउटा दिनको लागि चिट्ठा हालेको थियो। त्यसलाई “पूर” (अर्थात् चिट्ठा) भनिन्थ्यो।
25 तर जब यो षड्यन्त्र राजाकहाँ जाहेर भयो तब यहूदीहरूका विरुद्धमा हामानले रचेको त्यो खराब योजनालाई त्यसकै शिरमा राख्न र त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याउन राजाले लिखित हुकुम निकाले।
26 (त्यसैकारण यी दिनहरूलाई “पूर” शब्दअनुसार “पूरीम” भनिन्थ्यो।) त्यस पत्रमा लेखेअनुसार र त्यस विषयमा तिनीहरूले देखेका र अनुभव गरेका कुराले गर्दा,
27 यहूदीहरूले आफ्नै, आफ्ना सन्तानहरूका र तिनीहरूसँग मिल्नेहरू सबैका पक्षमा यी दुई दिनलाई वर्षेनी निर्दिष्ट रीतिबमोजिम र ठहराएको समयमा मनाउनुपर्छ,
28 र पुस्तौँसम्म हरेक घरानाले हरेक प्रान्त र सहरमा यहूदीहरूका बीचमा पूरीमका दिनहरू मान्नैपर्छ र तिनको सम्झना तिनीहरूका सन्तान-दरसन्तानहरूमा कहिल्यै नरोकिओस् भनी तिनीहरूले ठहराए।
29 तब अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पूरीम विषयमा दोस्रो पत्र पूर्ण अधिकारसहित लेखे।
30 यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूका निम्ति उर्दी दिएझैँ पूरीमका यी दिन तिनका ठहराएको समयमा मान्न बाध्य तुल्याउँदै राजा अहासूरसका एक सय सत्ताईस प्रान्तहरूमा शान्ति र सुरक्षाको शुभकामना प्रकट गर्दै सबै यहूदीहरूलाई पत्रहरू पठाए।
31 त्यसै गरी यहूदीहरूले आफ्नै निम्ति र आफ्ना सन्तानहरूका निम्ति उपवास र विलापका नियमहरू तोकिदिए।
32 पूरीमको निम्ति यी नियमहरू एस्तरको उर्दीले पक्का गराइए, र ती विवरण लिखित रूपमा पुस्तकमा लेखेर राखिए।
२ शमूएल 1 : 1 – 27
1 अमालेकीहरूमाथिको विजयपछि दाऊद फर्के र तिनले दुई दिन सिक्लगमा बिताए।
2 शाऊलका मृत्युको तेस्रो दिन आफ्नो लुगा च्यातेको र टाउकोमा धूलो हालेको एक जना मान्छे शाऊलको शिविरबाट आयो। जब त्यो दाऊदको सामु आइपुग्यो, त्यसले भूइँमा घोप्टो परेर दाऊदलाई दण्डवत् गर्यो।
3 दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलको शिविरबाट उम्केर आएको हुँ।”
4 अनि दाऊदले त्यसलाई फेरि सोधे, “समाचार के छ त?” “मलाई भन्।” त्यसले भन्यो, “सेना रणभूमिबाट खेदियो, र लड़ाइँमा धेरै जना मारिए। शाऊल र उनका छोरा जोनाथन पनि मारिए।”
5 दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई सोधे, “शाऊल र जोनाथन मारिए भनी तैंले कसरी जानिस्?”
6 त्यस मानिसले भन्यो, “म गिल्बो डाँड़ामा थिएँ, अनि शाऊल आफ्नो भालामाथि झुकेका मैले देखें। अनि रथहरू र घोड़चढ़ीहरू उनको ठीक पछि मात्र थिए।
7 पछि फर्केर हेर्दा उनले मलाई देखे, र मलाई बोलाए। मैले भनें, ‘हजूर, के हो?’
8 “उनले मलाई ‘तँ को होस्?’ भनी सोधे। मैले ‘म एक अमालेकी हुँ’ भनें।
9 “तब उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई खतम गर्। म जिउँदै छु, तरै पनि मृत्युको मुखैमा पुगिसकेको छु’।
10 “यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्दैनन् भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्याएको छु।”
11 यो कुरा सुनेर दाऊदले आफ्नो लुगा च्याते, अनि तिनीसँग भएका सबै मानिसहरूले पनि त्यसै गरे।
12 अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्मै उपवास बसे।
13 तब दाऊदले समाचार ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म एक विदेशीको छोरो, एक अमालेकी हुँ।”
14 दाऊदले भने, “परमप्रभुका अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन?”
15 तब तिनले आफ्ना मानिसहरूमध्येको एक जनालाई त्यस मानिसलाई प्रहार गर्ने हुकुम गरे। यसैले त्यस मानिसले त्यसलाई हिर्काएर मार्यो।
16 किनकि दाऊदले त्यसलाई यसो भनेका थिए, “तेरो रगत तेरै शिरमाथि परोस्। जब तैंले भनिस्, ‘मैले परमप्रभुका अभिषिक्त जनलाई मारें,’ तब आफ्नै मुखले तैंले आफैलाई दोषी ठहराइस्।”
17 त्यसपछि शाऊल र उनका छोरा जोनाथनका निम्ति दाऊदले यसरी विलाप गरे,
18 अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे। याशारको पुस्तकमा यो गीत लेखिएको छ:
19 “हे इस्राएल, तिम्रो महिमा डाँड़ाहरूमा मरी ढलेको छ। महावीरहरू कसरी ढले!
20 “गातमा यो कुरा नसुनाऊ, अश्कलोनका सड़कहरूमा यो कुरा प्रचार नगर, नत्रता पलिश्तीका छोरीहरू रमाउनेछन्, नत्रता खतना नभएकाहरूका छोरीहरू हर्षित हुनेछन्।
21 “हे गिल्बोका डाँड़ाहरू हो, तिमीहरूमाथि शीत कि पानी नपरोस्, न त तिमीहरूमा अन्न दिने खेत नै होऊन्। किनभने योद्धाको ढाल त्यहाँ अशुद्ध भयो, शाऊलको ढाल तेलविनै निस्तेज भयो।
22 शत्रुको छातीबाट, मारिएकाहरूको रगतबाट जोनाथनको धनु कहिल्यै पछि फर्केन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केन।
23 “शाऊल र जोनाथन जीवित हुँदा मनपर्दा र मयालु थिए। मृत्युमा पनि उनीहरू अलग भएनन्। उनीहरू गरुडहरूभन्दा पनि तीव्र थिए, सिंहहरूभन्दा पनि बलिया थिए।
24 “हे इस्राएलका छोरी हो, शाऊलको निम्ति रोओ। जसले तिमीहरूलाई राता-राता दामी बुट्टादार लुगाहरूले पहिराउँथे, जसले तिमीहरूका लुगाहरू सुनका गहनाहरूले चहकिला पार्थे।
25 “महावीरहरू रणभूमिमा कसरी ढले! जोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्।
26 हे जोनाथन, मेरा भाइ, तिम्रो निम्ति म विलाप गर्दछु। तिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्मको थियो, स्त्रीको प्रेमलाई जित्ने।
27 “महावीरहरू कसरी ढले! युद्धका हतियारहरू नष्ट भए।”
Leave a Reply