यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आर्थिक श्राप
मलाकी 3 : 6 – 10
6 “म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।
7 तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं?’
8 “के कुनै मानिसले परमेश्वरलाई लुट्छ र? तापनि तिमीहरू मलाई लुट्दछौ। “तर तिमीहरू सोध्छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा।
9 सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्पूर्ण जातिले।
10 सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
२ कोरिन्थी 9 : 6
6 तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।
२ कोरिन्थी 8 : 1 – 24
1 भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं।
2 कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए।
3 किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए।
4 तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे।
5 हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए।
6 यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं।
7 तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त होओ।
8 मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ।
9 किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।
10 अब यस विषयमा चाहिँ मेरो सल्लाह यही छ— एक वर्षअघि जुन दिने काम तिमीहरूले सुरु गरेका मात्र होइन, तर त्यो गर्ने उत्कट इच्छा पनि गरेका थियौ, त्यसलाई अब पूरा गर्नु तिमीहरूका निम्ति असल हुन्छ।
11 इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो त्यसैमुताबिक आफ्नो औकातअनुसार दिएर यस कामलाई पूरा गर।
12 किनभने दिने तत्परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्य हुन्छ, नभएअनुसारको होइन।
13 तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर मैले यो भनेको होइनँ,
14 तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस्, र तिनीहरूको प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्,
15 जसो लेखिएको छ, “धेरै बटुल्नेसित बढ़ी केही रहेन, र कम बटुल्नेहरूलाई अभाव भएन।”
16 तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्ति त्यही फिक्री राखिदिनुभयो।
17 किनकि तिनले हाम्रो अनुरोधलाई मानेको मात्र होइन, तर आफै पनि साह्रै उत्साही भएर आफ्नै इच्छाले तिमीहरूकहाँ आउँदैछन्।
18 अनि हामी तिनीसँग त्यस भाइलाई पठाउँदैछौं, जो सुसमाचारको प्रचारमा सबै मण्डलीका बीचमा प्रख्यात छन्।
19 अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्ति र हाम्रो सद्भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्डलीद्वारा तिनी नियुक्त भएका छन्।
20 उदार-चित्तले दिएको यो दान सञ्चालन गर्दा त्यस विषयमा कसैले हामीलाई दोष नदेओस् भन्ने हामी चाहन्छौं।
21 किनकि हामी प्रभुको दृष्टिमा मात्र होइन, तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ त्यो गर्ने लक्ष्य राख्दछौं।
22 तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौं, जसलाई हामीले धेरै पल्ट जाँचेर धेरै कुरामा जोशिला भेट्टाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढ़ी जोशिला भएका छन्।
23 तीतसचाहिँ मेरा सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरूचाहिँ मण्डलीहरूका दूतहरू र ख्रीष्टका महिमा हुन्।
24 तिमीहरूको प्रेम र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको प्रमाण मण्डलीहरूको सामुन्ने यी मानिसहरूलाई देओ।
मर्कूस 12 : 41 – 44
41 अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।
42 अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।
43 आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई।
44 किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”
२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
Leave a Reply