आफ्नो हृदय परिवर्तन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो हृदय परिवर्तन

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

इजकिएल 36 : 26
26 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्‍मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्‍यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु।

रोमी 12 : 1 – 21
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।
4 किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्‍छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,
5 त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं।
6 हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्‍वासको परिमाणअनुसार,
7 सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
8 अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।
9 प्रेम निष्‍कपट होस्‌। जुन कुरा खराब छ, त्‍यसलाई घृणा गर। जुन कुरा असल छ, त्‍यसमा लागिरहो।
10 भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्‍दा बढ़ी अरूलाई आदर गर।
11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।
12 आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।
13 सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।
14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।
15 आनन्‍द गर्नेहरूसँग आनन्‍द गर। रुनेहरूसँग रोओ।
16 एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ।
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

एफिसी 1 : 18
18 म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक।

१ पत्रुस 2 : 1 – 25
1 यसकारण सबै दुष्‍टता, सबै छल-कपट र ईर्ष्‍या, र सबै निन्‍दाहरूलाई त्‍याग।
2 नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।
3 किनकि प्रभु कृपालु हुनुहुन्‍छ भन्‍ने कुराको स्‍वाद तिमीहरूले पाएका छौ।
4 उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ।
5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ।
6 किनभने धर्मशास्‍त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्‍य कुने-ढुङ्गो म बसाल्‍छु, र जसले उहाँमाथि विश्‍वास गर्छ त्‍यो शर्ममा पर्नेछैन।”
7 यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।”
8 र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो।
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
10 एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
12 अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।
13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्,
14 अथवा हाकिमहरूको होस्, जो दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्‍छन्‌।
15 किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।
16 स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।
17 सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।
18 कमारा हो, सम्‍पूर्ण आदरपूर्वक आफ्‍ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।
19 परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ।
20 किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ,
21 किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ।
22 “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
23 तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो।
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
25 किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्‍माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।

फिलिप्पी 1 : 6
6 मलाई यो दृढ़ विश्‍वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनमा त्‍यो पूरा गर्नुहुनेछ।

यूहन्‍ना 1 : 1 – 51
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।
2 उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
4 उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो।
5 त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।
6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो।
7 उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए।
8 उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए।
9 हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो।
10 उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।
11 उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌।
12 तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो।
13 तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌।
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।
15 यूहन्‍नाले उहाँको विषयमा गवाही दिँदै उच्‍च स्‍वरले भने, “उहाँ त्‍यही व्‍यक्ति हुनुहुन्‍छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो’।”
16 उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं।
17 किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।
18 परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
19 जब यरूशलेमबाट यहूदीहरूले पूजाहारीहरू र लेवीहरूलाई उनीकहाँ “तिमी को हौ?” भन्‍ने कुरा सोध्‍न पठाए, तब यूहन्‍नाको गवाही यो थियो।
20 उनले स्‍वीकार गरे, अनि इन्‍कार गरेनन्, र “म ख्रीष्‍ट होइनँ” भनी स्‍वीकार गरे।
21 तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?” उनले भने “म होइनँ।” “के तिमी त्‍यो अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइन।”
22 तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्‍नो विषयमा के भन्‍छौ?”
23 उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्‍थानमा कराउने एक व्‍यक्तिको म आवाज हुँ।”
24 तिनीहरूलाई फरिसीहरूले पठाएका थिए।
25 अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्‍ट पनि होइनौ, एलिया पनि होइनौ, त्‍यो अगमवक्ता पनि होइनौ भने, किन बप्‍तिस्‍मा दिन्‍छौ?”
26 यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्‍छ, जसलाई तिमीहरू चिन्‍दैनौ।
27 मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ। उहाँका जुत्ताको फित्ता खोल्‍ने योग्‍यको म छैनँ।”
28 यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए।
29 भोलिपल्‍ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!
30 उनी उहाँ नै हुनुहुन्‍छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्‍छ, जो मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो।’
31 म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै पानीले बप्‍तिस्‍मा दिँदै म आएँ।”
32 यूहन्‍नाले यसो भन्‍दै गवाही दिए, “मैले पवित्र आत्‍मालाई ढुकुरको रूपमा स्‍वर्गबाट ओर्लेर आई उहाँमाथि बस्‍नुभएको देखें।
33 मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्‍तिस्‍मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी पवित्र आत्‍मालाई ओर्लंदै र बस्‍दैगर्नुभएको देख्‍छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्‍छ।’
34 मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्‍वरका पुत्र उहाँ नै हुनुहुन्‍छ।”
35 फेरि अर्को दिन यूहन्‍ना उनका चेलाहरूमध्‍ये दुई जनासँग उभिरहेका थिए।
36 उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्‍वरका थुमा!”
37 उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे।
38 येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के खोज्‍दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्‍बी (जसको अर्थ हो, गुरुज्‍यू), तपाईं कहाँ बस्‍नुहुन्‍छ?”
39 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र तिमीहरूले देख्‍नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको स्‍थान देखे। तिनीहरू त्‍यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।
40 यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए।
41 तिनले पहिले आफ्‍ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्‍ट) भेट्टाएका छौं।”
42 तिनले सिमोनलाई येशूकहाँ ल्‍याए। येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।”
43 भोलिपल्‍ट उहाँले गालीलमा जाने निश्‍चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”
44 अन्‍द्रियास र पत्रुसजस्‍तै फिलिप पनि बेथसेदा सहरका नै थिए।
45 फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।”
46 नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।”
47 येशूले नथानेललाई आफूकहाँ आइरहेका देखेर तिनको विषयमा भन्‍नुभयो, “एक जना पक्‍का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन।”
48 नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्‍जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।”
49 नथानेलले उहाँलाई भने, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ, तपाईं इस्राएलका राजा हुनुहुन्‍छ।”
50 येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो “मैले तिमीलाई अञ्‍जीरको रूखमुनि देखें भनेकोले नै तिमी विश्‍वास गर्दछौ? तिमीले यीभन्‍दा अझ ठूला कुराहरू देख्‍नेछौ।”
51 अनि उहाँले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, तिमीहरूले स्‍वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्‍लँदै र ओर्लंदैगरेका देख्‍नेछौ।”

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

यशैया 2 : 1 – 22
1 आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो:
2 पछिल्‍ला दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्‍दा मुख्‍य रूपमा स्‍थापना हुनेछ। डाँड़ाहरूभन्‍दा माथि त्‍यो उच्‍च उठाइनेछ, र सबै जातिहरू त्‍यहीँ ओइरिएर आउनेछन्‌।
3 धेरै मानिसहरूले आएर भन्‍नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌।
4 उहाँले जातिहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्‌।
5 हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्‍योतिमा हिँड़ौं।
6 तपाईंले आफ्‍नो प्रजा, अर्थात्‌ याकूबको घरानालाई त्‍याग्‍नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्‍धविश्‍वासले भरिएका छन्‌। तिनीहरू पलिश्‍तीहरूझैँ जोखना हेराउँछन्‌। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्‌।
7 तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्‍तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्‍ती नै छैन।
8 तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्‍नै हातका कामलाई तिनीहरू पुज्‍दछन्, तिनीहरूका आफ्‍नै औँलाले बनाएका कुरालाई।
9 यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्‍याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्‌।
10 परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक!
11 मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ।
12 सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्‍नेहरूमाथि सर्वशक्तिमान्‌ परमप्रभुको यस्‍तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्‍याइनेछन्‌),
13 लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,
14 सबै पर्वतहरू, र अग्‍ला डाँड़ाहरूमाथि,
15 हरेक उच्‍च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि,
16 तर्शीशका सबै व्‍यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि।
17 मानिसको घमण्‍ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ,
18 र मूर्तिहरू बिलकुलै लोप हुनेछन्‌।
19 जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्‍वीका प्‍वालहरूभित्र पस्‍नेछन्‌।
20 त्‍यस दिन मानिसहरूले आफ्‍ना निम्‍ति पुज्‍नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्‍द्रा र चमेराका अगि फालिदिनेछन्‌।
21 जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्‍दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्‌।
22 नाकका प्‍वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्‍यसको मोल नै के छ र?

एफिसी 6 : 18
18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

१ थेसलोनिकी 1 : 2
2 हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्‍तर स्‍मरण गर्दै हामी परमेश्‍वरलाई तिमीहरू सबैका निम्‍ति धन्‍यवाद दिन्‍छौं।

१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *