यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अगाडि बढ्दै
रोमी 8 : 18
18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्।
फिलिप्पी 3 : 14
14 ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु।
फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
रोमी 12 : 9
9 प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।
भजनसंग्रह 91 : 1 – 16
1 जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ।
2 परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।”
3 निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4 उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले छोप्नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6 न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7 एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन।
8 तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ।
9 यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ—
10 तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11 किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12 तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्।
13 तिमीले सिंह र गोमनलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
14 परमप्रभु भन्नुहुन्छ, “त्यसले मलाई प्रेम गरेको हुनाले, म त्यसलाई छुटाउनेछु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु।
15 त्यसले मेरो पुकारा गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु। त्यसका दु:खको घड़ीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
16 लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु, र त्यसलाई म उद्धारको दर्शन दिनेछु।”
मत्ती 7 : 15
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्।
यशैया 40 : 29 – 31
29 उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।
30 युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्।
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
२ थेसलोनिकी 1 : 1 – 12
1 पावल, सिलास र तिमोथीबाट, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई:
2 परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
3 भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढ़ाउन हामी बाध्य छौं। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ।
4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौं।
5 परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो, कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ।
6 परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ,
7 र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।
8 परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ।
9 तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्,
10 जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ।
11 यस हेतुले हामी तिमीहरू सबैका निम्ति निरन्तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्नो बोलावटको योग्य बनाऊन्, र हरेक असल उद्देश्य र विश्वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्,
12 ताकि हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहअनुसार हाम्रा प्रभु येशूको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा।
१ यूहन्ना 2 : 1 – 29
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।
2 उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि।
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं।
4 जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन।
5 तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं।
6 उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।
7 प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ।
9 जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै पनि अन्धकारमा नै छ।
10 जसले आफ्नो भाइलाई प्रेम गर्छ, त्यो ज्योतिमा रहन्छ, र त्यसमा ठक्करको कारण हुँदैन।
11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ, र अँध्यारोमा हिँड्छ, र त्यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ।
12 मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
14 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
17 संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।
18 ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्ट विरोधी आएका छन्। यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो।
19 तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्।
20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।
21 तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
22 झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
23 पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।
24 जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्त जीवन।
26 तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्तछु।
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टमा रहिरहो।
28 साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्।
29 उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ।
रोमी 1 : 1 – 32
1 म पावल, येशू ख्रीष्टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ,
2 जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो।
3 यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो।
4 येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो।
5 उहाँका नाउँको खातिर विश्वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं।
6 तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्टका हुन बोलाइएका छौ।
7 रोममा भएका तिमीहरू सबै, परमेश्वरका प्रियहरू, जो सन्त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
8 सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्वासको कुरा सारा संसारमा प्रचार भएको छ।
9 म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि कसरी म निरन्तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु।
10 अनि यो माग्दछु, कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ।
11 किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु।
12 यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउन सकौं।
13 भाइ हो, तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु, कि म तिमीहरूका र बाँकी अन्यजातिहरूका बीचमा पनि केही फल बटुल्न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्ट इच्छा गरें। तर म अहिलेसम्म रोकिएको छु।
14 ग्रीक होस् वा अरू असभ्य जाति, बुद्धिमान् होस् वा निर्बुद्धि, सबैको म ऋणी छु।
15 यसैले सकेसम्म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु।
16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।
17 किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ।”
18 परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्।
19 परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ।
20 उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
21 किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढ़ाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो।
22 बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,
23 र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे।
24 यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्।
25 किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
26 यसैकारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे,
27 र त्यसरी नै स्त्रीतर्फको स्वाभाविक व्यवहार त्यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्ज काम गरे, र आफ्नै शरीरमा आफ्ना कसूरको उचित दण्ड भोगे।
28 यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो।
29 तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाह, हत्या, झैँझगड़ा, छल, बदख्वाइँले भरिएका हुन्छन्, र तिनीहरू कुरौटे,
30 र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा-बुबाको आज्ञापालन नगर्ने,
31 मूर्ख, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्।
32 यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक-विधान जान्दाजान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्।
Leave a Reply